सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
यात्रा–निबन्ध

नाम्चे पुग्ने बाटो : उकालै उकालो

शनिबार, २१ पुस २०८०, १४ : २९
शनिबार, २१ पुस २०८०

‘बिस्तारै बिस्तारै है । ओरालोमा छिटो हिँड्नु हुँदैन । लडेर गुल्टनबाजी खाइन्छ ।’ भारी बिसाएर बसेका भरियाहरूले भनिरहेका थिए ।

निकै तल, धेरै पर आफूले हिँडेर आएको बाटो हेर्दै मैले आफैँलाई उत्साहित पारिरहेको थिएँ । ‘मैले बाटो धेरै हिँडेँ । अब यो उकालो पनि यसरी नै हिँड्छु ।’ मनैमन यस्तै सोच्दै, सम्झाउँदै थिएँ । 

ओरालो झर्नेहरू दौडिँदै झरिरहेका थिए । उकालो चढ्नेहरू बिस्तारै पाइला चालिरहेका थिए । मानिसको यस्तो दौडादौड देखेर सायद प्रकृतिले गज्जब मानेर नियालिरहेको थियो । मैले सोँचे– ‘प्रकृतिलाई लाग्दो हो हेर्नुको तृष्णा बोकेर मान्छे बेतोड हिँड्छ र पुग्नुको सन्तुष्टिले प्रफुल्लित भएर फर्किंदा पनि उसरी नै हत्तारले वेग मार्छ ।’

वास्तवमा भुक्तभोगी भरियाले भने झैँ यस्तो उकालो बाटोबाट ओरालो झर्दा धेरै हतार गरेर हिँड्नु हुँदैन । लडियो भने ज्यान फेरि कहिल्यै नफर्किने बाटोमा जान्छ । तर यात्रीहरू उकालोलाई कठिनको ठानेर ओरालोलाई भने सहजै छिचोल्न हाम्फाल्दै थिए ।  

हुन पनि ‘एभरेस्ट बेस क्याम्प’ बाट फर्किएका यात्रीहरू ओरालोमा हाम्फाल्दै झरिरहेका थिए । सायद उनीहरू आजै लुक्ला पुग्नुपर्ने हतारो होला । भोलि बिहानैको हवाई टिकट होला । आज साँझ त जसरी पनि उनीहरू बास बस्न लुक्ला पुग्नै पर्ने हुन्छ । तर यसरी छिटो दौडिँदा लडेर गुल्टिन सकिने भनी सचेत गराउँदै थिए अनुभवी बटुवाहरू । 

उकालो उक्लिँदा जस्तै ओरालो झर्दा पनि सुस्तरी पाइला सार्नुपर्ने अनुभव उनीहरू सुनाइरहेका हुन्थे । तर हिँड्नेहरूले कान थापेर सुनेको खासै देखिएन । सुन्नेहरूले पनि बिस्तारै पाइला चालेका थिएनन् । उकालो चढ्नुभन्दा ओरालो झर्न पाएपछि कोही पनि यात्री बिस्तारै पाइला चाल्न चाहिरहेका थिएनन् ।

‘हिलारी पुल’ भनिने लामो झोलुङ्गे पुल तरेपछि नाम्चे पुग्नेबाटो ठाडै उकालै उकालो थियो । घना जङ्गलको एकलासको एकान्त थिएन उकालो । बाटैभरि पैदल यात्रीको लर्को लाइन । भरिभराउ भरियाको उस्तै ताँती । घोडा, चौँरीको उत्तिकै ओहोर दोहोर बाटोमा । 

नाम्चे पुग्ने यो उकालो बाटो निकै कठिनको थियो  । कतै ढुङ्गैढुङ्गा, कहीँ माटो, धुलाम्मे बाटो । बिस्तारै उबडखाबड बाटो उकालिँदै पल्लो कुनामा पुग्थ्यो । त्यहाँबाट उकालिँदै फेरि ओल्लो छेउमा फर्केर उकालिन्थ्यो । कतै कुनै समाउनेसमेत केही नभएको ठाडो नाङ्गो उकालो थियो । 

‘नाम्चे पुग्ने बाटो अब उकालै उकालो हो ?’ ठाडो उकालो जङ्गलतिर आँखा तन्काउँदै मैले एक जना मित्रलाई सोधेँ । ‘मेरो एउटा फोटो पनि खिचिदिनुस् है । बाटो र झोलुङ्गे पुल पनि आउने गरी ।’

IMG_20231104_143618

उनले मेरो भाषा नबुझे जस्तो मलाई लाग्यो । ट्वाल्ल परेर हेरेको देखेर मैले उनलाई फेरि उही कुरा दोहो¥याएँ । मेरो नजरमा उनी विदेशी फिटिक्कै देखिएका थिएनन् । ती व्यक्तिलाई मैले नेपाली नै भन्ठानेको थिएँ । तर तिनी त विदेशी यात्री पो परेछन् । खासगरी दक्षिण एसियाली मुलुका पर्यटकहरू नेपाली जस्तै देखिन्थे । अनुहारको पहिचानले मान्छे कुन देशको हो भन्न सकिन्न रहेछ ।

भिरालो बाटो निकै साहस र धैर्यले हिँड्नुपथ्र्यो । ढुङ्गैढुङ्गाको खुड्किला भएर चढ्नुपर्ने त्यो बाटो अत्यन्तै जोखिमपूर्ण लाग्थ्यो । तेर्सो आएपछि बाटो सजिलो हुन्थ्यो हिँड्नलाई र त्यहाँ बिसाउन मन लाग्थ्यो । 

‘आठ किलो’ को झोला पनि मेरा लागि ‘असी किलो’ को भारी भइरहेको थियो । ‘असी किलो’ को भारी बोक्ने भरियाहरू भने ‘आठ किलो’  को मानेर सजिलै उकालो चढिरहेका थिए । मलाई भने हलुकाको त्यो बोझ बोक्न हम्मेहम्मे भइरहेको थियो । गह्रौँ भारी बोकेर हिँड्ने बानी उनीहरूको पेसा नै यही भएपछि झन् बढी बोकेर ज्याला बढ्तै पाउन ज्यान फाल्ने रहेछन् । 

‘हैन कसरी यत्तिका गह्रौँ भारी बोकेर यत्रो बाटो हिँड्नुहुन्छ ?’ मैले भारी बिसाएर बसिरहेका भरिया भाइहरूलाई सोधेँ ।

‘बानी भइसक्यो यसरी हिँड्ने । त्यही भएर सजिलो भएको ।’ एक जना भाइले यति भने ।

अलि माथि लाइनै भरिया दाइहरू थिए । मैले उनीहरूलाई पनि यही प्रश्न तेस्र्याएँ ।

‘हामीलाई भारी बोक्ने बानी भइसक्यो । भारी नबोके त हामीले खान नै पाउँदैनौँ । हाम्रो कमाइ भन्नु, जागिर मान्नु र काम भन्नु पनि यही हो ।’ भिरालोमा भारीलाई तोक्माले टेको दिइरहेका भरियाहरूले एकसाथ यसो भने । 

यतातिर बटुवा, भरियाहरू सबै बाटो हिँड्दा, बिसाउँदा पूर्वेली लयमा गीत गाएको देखिएन, सुनिएन । यसको ठाउँमा क्यासेट घन्काउँदै मनपर्ने गीत बजाएर वनपाखा, बाटाघाटा नै गुञ्जायमान पारी हिँडेका भरिया बाटैभरि उकाली–ओराली गरिरहेको भेटिए । 

हुन पनि यो खुम्बु क्षेत्र, यो सगरमाथा जाने बाटोमा उहिल्यैदेखि यहाँका स्थानीयहरूको पेसा, व्यवसाय जे भने पनि भारी बोक्ने नै थियो । भरिया कामबाट मनग्यै आम्दानी हुन्थ्यो । आज पनि यहाँका मानिस खासगरी पुरूषहरू भारी बोकेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

‘हाम्रो रगतमै भरिया जीवनको कर्म, धर्म मिसिएर आएको छ । हाम्रा पुर्खाहरूले पनि यही पेसा गरे । तेन्जिङ शेर्पाले सगरमाथामा पहिलो पाइला राखेपछि हाम्रो व्यवसाय झन् विश्वासिलो भयो । खैरेहरूले पनि हामीलाई पत्याए । भारी बोक्ने मात्रै होइन हिमाल चढ्न पनि हामी शेर्पा जाति अगाडि नै भयौँ ।’

एकप्रकारले शेर्पाहरूको ‘भारी’ ले थिचिएको जिन्दगी र ‘जिन्दगी’ ले थिचिएको भारी । अनि हिमाल चढ्नु कुनै कठिनको काम भएन । युवा उमेरमै कैयौँचोटि हिमाल आरोहणमा सफलता पाउने शेर्पाहरू नै छन् ।

रमाइलोको के कुरा ? दृश्य वर्णनको के कुरा ? मान्छेको दोहोरीलतमा पनि बाटै छेउमा चारो टिपिरहेका चरा देखिन्थे । जङ्गली जन्तु यताउता गरिरहेका हुन्थे ।

सगरमाथा छिर्ने ‘गेटपास वे’ यो । यही मुख्य मार्ग भएर हजारौँ, लाखौँ यात्रीले यात्रा गर्छन् । संसारमा नेपालको प्राकृतिक सुन्दरताको प्रचार गर्छन् ।

‘हामीले विदेशी पाहुनासँग शिष्ट बोली र व्यवहार गर्नुपर्छ ।’ भन्दै गाइडहरू भरियालाई भनिरहेका हुन्थे । हाम्रो बोली र व्यवहार संसारमा फैलिएपछि पर्यटन प्रवर्धनमा पनि सकारात्मक प्रभाव स्वतः पर्ने छ ।

जीवनमा गरिएका हजारौँ यात्राहरूमध्ये यो यात्रा खास थियो । बाटोको व्यस्तता, प्रकृतिको विछट्टका छटा र खानेबस्नेको पर्याप्त सुविधा भएपछि हिँड्न मात्र हिम्मत भए पुग्ने रहेछ । आधार शिविरसम्मको सुदूर टाढाको गन्तव्यसम्म सुविधाका साथ पु¥याउन यिनै सुन्दरता, सुविधाहरू नै प्रशस्त थिए । 

यिनै दृश्यले डो¥याउँदै लैजान्थ्यो अगाडि । यस्तै दृश्य, बोली र व्यवहारले रहस्यको खोजमा पाइला पदचाप लम्किन्थ्यो उचाइतिर, हिमालतिर । 

अनौठो प्रकृतिको दर्शन गराउन एक झलक नै काफी यात्राले विश्राम नलिई अगाडि बढ्नका लागि । हिँडेर थाक्दाथाक्दै पनि अझ पाइला लम्काउनलाई बाटोघाटोको सुविस्ताको ठुलो भूमिका हुन्छ । यसका अतिरिक्त बाटोमा भेटिने, देखिने र आँखाले तृप्तिको आनन्दको महसुस गर्ने दृश्यहरू । मन लोभिने ठाउँहरू । आँखा भुलिरहने दृश्यहरू ।

बस् यति भए घुमन्तेलाई अरू के नै चाहियो र !? पाइला रोकिँदैन । अत्यासले मन आत्तिँदैन । जानुपर्ने ठाउँ ‘नजाने, पुग्यो अब फर्किने’ भन्ने निराशाजनक कुरा नै हुँदैन रहेछ ।

अलिकति तेर्सोबाटो हिँडेर भन्ज्याङ काटेपछि नाम्चेबजार देखियो । साँझको नाम्चेबजार झलमल्ल झकासको देखिन्थ्यो । दिनभरि हिँडाइको थकाइ नाम्चेको चहलपहलले मेटाइदियो । नाम्चे पुग्न मात्रै होइन नाम्चे बजार घुम्न पनि उकालो र ओरालो गर्नुपर्ने रहेछ । अर्को कुरा नाम्चे पुग्ने बाटो आधार शिविरबाट फर्किंदा पनि उकालै चढ्नुपर्ने रहेछ । लुक्लाबाट आउँदा पनि उकालै उकालो उक्लिनुपर्ने रहेछ ।

क्रमशः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप