बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

'दोस्रो पुस्तालाई नेपाली लोक भाकाप्रति आकर्षित गराउनुपर्छ'

सोमबार, २३ पुस २०८०, १० : ५१
सोमबार, २३ पुस २०८०

लन्डन । वरिष्ठ संगीतकार, गीतकार तथा गायक वसन्त सापकोटा यतिबेला बेलायतमा छन् ।  बेलायत रहँदा उनी धेरै कार्यक्रममा पुगे, समुदायका अग्रजसँग भलाकुसारी गरे । बेलायत घुमिसकेपछि उनको निष्कर्ष छ, 'विदेशमा बस्ने नेपाली र विशेष गरी नयाँ पुस्तामाझ नेपाली गीतसंगीतलाई समयको माग अनुसार परिष्कृत गर्दै लैजान आवश्यक छ ।' 

सापकोटाले नेपाली गीतसंगीप्रति बेलायतमा बस्ने नेपालीहरूले देखाएको अभिरुचिले आफूलाई खुसी लागेको बताएका छन् । यहाँका नेपालीले नेपाली लोकसभाकालाई बढी रुचाएको अनुभव उनले सुनाए । नेपालको कला संस्कृति र टिपिकल लोक भाका मन पराउने नयाँ पुस्तालाई यसतर्फ प्रोत्साहन गर्दै रोल मोडलका रूपमा उनीहरूलाई नै अगाडि ल्याउनुपर्ने बताउँछन् सापकोटा । उनीहरूलाई आकर्षित गराउन नेपाली मात्र हैन अङ्ग्रेजी गीतलाई पनि नेपाली मेलोडीमा ढाल्न सकिने उनको धारणा छ । 

तर, समय र परिवेशअनुसार यसलाई परिष्कृत गर्नुपर्ने र भाषा तथा शब्द उच्चारणमा पनि महत्त्वपूर्ण ध्यान दिनुपर्ने उनले बताए । यहाँ जन्मेका र हुर्केका नेपालीलाई पनि नेपाली भाषा सिकाउन उनको आग्रह छ । विदेश भ्रमणका क्रममा गीतसंगीत र दर्शक श्रोताको मूल्याङ्कन गरेर आफूलाई सुधार्ने मौका मिल्नुका साथै उनीहरूको साथ र सपोर्टले कलाकारलाई आत्मबल र थप हौसला मिल्ने उनले बताए ।   

नेपाली गीतसंगीतमा लाग्ने स्रष्टाहरू ओझेलमा परेकोप्रति चिन्तित छन् उनी । गीतसंगीतको सृजना गर्नेहरूको नामसमेत नलिने परिपाटी बढेको देखेर उनले दुःख व्यक्त गरेका छन् ।  

कतिपयले त आफ्नै गीत भन्दै स्टेजमा चढेर अरूको गीत गाउने गरेकाले यस्ता गायकहरूलाई दर्शक श्रोताले पनि निरुत्साहित गर्नुपर्ने उनको सुझाव छ । गीतकार र संगीतकार मात्र नभई गायक पनि छायामा पर्दै गएकाले सम्बन्धित व्यक्तिसँगको सम्झौताबिना कुनै पनि कार्यक्रममा अरूको गीत गाउने प्रचलन अन्त्य हुनुपर्ने सापकोटाले बताए । 

कतिपय कलाकारहरूले आफूप्रति घमन्ड गरेको भन्दै कलाकारहरू घमन्ड हुन नहुने उनको धारणा छ । सबै कलाकारलाई सबैले नचिन्न सक्छन्, तसर्थ आफ्नो परिचय आफैँ दिने हो भन्दै उनले आफूलाई नचिनेकोमा अपमान भएको ठान्न नहुने पनि बताए ।

नेपाली गीतसंगीतमा करिब अढाई दशक लामो यात्रा गरिसकेका सापकोटाले एक हजार बढी गीतमा संगीत दिइसकेका छन् । १४० बढी चलचित्रका गीतमा संगीत दिइसकेका सापकोटाले डेढ सय हाराहारीमा गीत पनि लेखेका छन् । उनले आवाज दिएका गीतको सङ्ख्या पनि  दुई दर्जन बढी छ ।  

सागर सरि चोखो माया,डायमन्ड लाहुरे, सिम्पल सिम्पल कान्छी, गाला रातै गाला रातै, बट स्लोली स्लोली, ढल्क्यो ढल्क्यो, कम्मरमाथि पटुकी, उकालीमा जाँदा जाँदै, नाइँ नभन्नु ल जस्ता चलचित्रका लोकप्रिय गीत साथै पछिल्लो समय कान्छा तिमीलाई, पोखरेली झापाली, बनमा काफल, जुनी जुनी जस्ता गीतमा उनले संगीत दिएका छन् । वि.सं. २०५५ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा लागेका सापकोटा अझैपनि आफू सिक्ने क्रममै रहेको बताउँछन् । 

सांगीतिक करिअरमा सुरु ताका उनले ठुलो संघर्ष गरे । तर संघर्षको मिठो फल पाउँदा अहिले खुसी छन् उनी । 'संघर्ष सबैले गर्नुपर्छ, संघर्ष गरेर मात्र सफलताको महत्त्व बुझ्न सकिन्छ', उनले बताए ।  

नाम कमाउने उद्देश्यले यस क्षेत्रमा लागेका उनी अहिले नाम जोगाउन थप मिहिनेत गरिरहेको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप