शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : पृथ्वीजयन्ती

पृथ्वीनारायणको दिव्योपदेशको प्रामाणिकता र सान्दर्भिकता कति ?

शुक्रबार, २७ पुस २०८०, १२ : ००
शुक्रबार, २७ पुस २०८०

वि.सं. १८०१ आश्विन १५ गते पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गरी विजय गरेर नेपाल एकीकरणको सुरुवात गरे । नुवाकोट त्यतिबेला कान्तिपुर राज्यअन्तर्गत थियो । नुवाकोट जितिसकेपछि त्यहीँ उनले राजधानी बनाएका थिए । विं सं. १८२५ आश्विन १३ गते कान्तिपुरमाथि विजय नभएसम्म राजधानी नुवाकोटमै रह्यो । पछि काठमाडौँमा राजधानी रहेता पनि वि.सं. १८३१ माघ १ गते पृथ्वीनारायणको मृत्यु नुवाकोटको देवीघाटमा हुन पुग्यो । यसैले नुवाकोटेहरू कतिले पृथ्वीनारायणको जन्मभूमि गोर्खा भएता पनि कर्मभूमि नुवाकोट हो भनेको पनि पाइन्छ । वास्तवमा यो कुरा सत्य पनि देखिन्छ । 

नुवाकोट जितिसकेपछि पृथ्वीनारायणलाई कान्तिपुर, भक्तपुर र पाटन जित्न करिब २५ वर्ष लागेको थियो । वि.सं १८२६ मार्ग १ गते भक्तपुर विजय गरेको केही सालपछि उनी पश्चिमतिरको अभियानमा लागे । सुरुमा केही सफलता प्राप्त भएता पनि निकै नोक्सान सही गोर्खालीहरु त्यहाँबाट धपिन बाध्य भए । त्यसपछि उनी पूर्वको अभियानमा लागे, अपेक्षाकृत सजिलैसँग टिष्टासम्म पृथ्वीनारायणको राज्य पुग्यो । पश्चिममा चेपेसम्म उनका पुर्खा द्रव्य शाहले पहिले नै जितिसकेका थिए । ५२ वर्षको उमेरमा पश्चिमपट्टिको अभियान गर्न भनेर नुवाकोटमा पुगेका बेला पृथ्वीनारायण अकस्मात बिरामी भए ।

तात्कालिक पर्वतका राजाले लेखेको चिठीले पनि यो कुरा पुष्टि गर्छ । उनले लेखेका छन्, ‘गोर्खाका राजा हामीमाथि दागा राखी हामीलाई हेल्न भनी नुवाकोटसम्म आइपुग्या थिया । भगवत इच्छा त आफैँ हेलिया ।’ यसरी पृथ्वीनारायण शाहको उपदेशमा आएका विषयले तात्कालीक परिवेश बोल्छन् र यो प्रामाणिक हो भन्ने पुष्टि गर्छन् ।

बिरामी भए पनि मेधावी स्वभावका उनी त्यति आत्तिएनन् । त्यतिबेला उनले आफ्ना भाइभारदार मुख्यमुख्य मान्छेलाई राखेर भनेका कुरालाई कसैले भाषण भने, कसैले वक्तव्य भने, कसैले विभिन्न नाम दिए, अहिले त्यसलाई दिव्योपदेश भनिएको छ । 

असनबाट मछिन्द्रबहाल जानेतिर तिलङ्गा घर छ, जसलाई काजी अभिमानसिंह बस्न्यातले वि.सं. १८३३ मा बनाएका हुन् । अभिमानसिंहका वंशज बखतमानसिंहले पुख्र्यौली सोही घरमा पृथ्वीनारायणको उपदेश भेटाए । बखतमानसिंहको भनाइ अनुसार, उनको घरको कारिन्दा कुनै नेवारले यो उपदेश पाएका थिए । बखतमानसिंहले उपदेशको पाण्डुलिपि पाएपछि प्रचार हुन थाल्यो । पछि उनले समुचित मूल्य लिएर त्यसलाई पुरातत्त्व विभागलाई समर्पण गरे । त्यो प्रति अहिले राष्ट्रिय अभिलेखालयमा छ ।  

पृथ्वीनारायणले आफ्नो शासनकालमा अत्यन्त महत्त्वपूर्ण ठानेका कुराहरू यस उपदेशमा आएका छन् । उपदेशमा उनले आफ्नो बाबुको नाम पनि लिएका छैनन् । तर जुन भाइहरूको परिश्रमले गरेर उनको राज्य जोडियो, यस सम्बन्धमा उनले हामी तीन खोपीका पाँच पाण्डवको अवतार भयाको थियौँ भनेका छन् । 

उपदेशमा उनले आफ्नो दोस्रो विवाहको उल्लेख गरेका छैनन् । पहिलो विवाह अर्थात् मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको असफल विवाहको बारेमा उनले उल्लेख गरेका छन् । विवाहपछि मकवानपुरेहरूले हेपेको अनुभूति भएपछि आफ्ना पुर्खाले गर्न खोजेको नेपाल एकीकरणको भावना उनीमा अझ बढी आएको देखिन्छ । 

कतिले पृथ्वीनारायणको दिव्योपदेशलाई नक्कली भनिरहेका छन् । कोही कोही अलिकति बढी विद्वान् भनिएकाले त रणबहादुर वा राजेन्द्रविक्रमको पालामा लेखियो होला भनेका छन् । अहिले हुँदाहुँदा राजा महेन्द्रकै पालामा लेखियो भन्नेहरू पनि आइसकेका छन् । पृथ्वीनारायणप्रति दुराग्रह राख्नेहरू र आफू कुन भुइँमा छु भन्ने नबुझेका मान्छेले यस्तो भनिरहेका छन् ।

पृथ्वीनारायणले आफ्नो शासनकालमा गरेका काम र आफूले इछ्याएका कामको उल्लेख समेत उपदेशमा आएका छन् । जस्तो : उनी भन्छन् — चीन बादशाहसित ठुलो घा राख्नु । उनले तिब्बतलाई पनि चीनअन्तर्गत पारेर कुरा गरेका छन् । दक्षिणपट्टि के भन्छन् भने— दक्षिणको बादशाहसित ठुलो घा त राख्नू, तर त्यो महाचतुर छ, एक दिन आउन्या छ । यसै गरेर किल्ला कसरी राख्ने, अङ्ग्रेजलाई कसरी हराइयो, मुसलमानी सेनालाई कसरी हराइयो आदि उल्लेख गरेका छन् । 

उनले आर्थिक नीतिका कुरा पनि गरेका छन् । घुस खान्या र घुस लिन्या राज्यका शत्रु हुन् भनेका छन् । यस्तै, उनले अदालतको पैसा दरबारमा नहुल्नु भनेका छन् । अदालतमा जो दण्ड गरिएको हुन्छ, त्यस्तो पैसा पातक हुन्छ । अर्को कुरा राजाले पनि प्रजालाई दण्ड गरेरै असुल्ने प्रवृत्ति बढ्छ । त्यसैले यस्तो पैसा पाठ–पूजामा वा योगी–संन्यासी आदिलाई दिनु, त्यसले गर्दा कुनै दोष लाग्दैन भनेका छन् । 

यस्तै उनले खानी भएको ठाउँ र खेती हुने ठाउँ नमास्नू भनेका छन् । यसरी उनले जति बुझेका थिए, ती किसिमको उपदेश उनले दिएका हुन् । 

dinesh-raj-panta-1

उनको उपदेश उनीपछि लगत्तै लागू भएन । आफूपछिका उत्तराधिकारीले जान्दैनन् र गर्न सक्दैनन् कि भन्ने उनको मनमा शंका उब्जेरै उपदेश दिएका हुन् जस्तो देखिन्छ । उनी भन्छन्— बूढा मरै भाषा सरै भनी भन्छन्, तिमीहरू सबैछेउ सुनाइगयाको भया तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाऊन र यो राज्य थामी खानन् । 

उनलाई आफ्नो राज्यको र आफ्नो सन्तानको पनि माया छ । उनले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज प्रतापसिंह शाह राजकाजका निमित्त योग्य छैनन् भन्ने देखेका थिए । आफ्नो छोरो तन्त्रमन्त्रमा लागेको र पाटनकी नेवार्नीको वशमा परेको कुरा उनलाई थाहा थियो । तर उनले बहादुर शाहलाई राज्य दिन सक्ने प्रचलन थिएन । 

पृथ्वीनारायणलाई जति कष्ट थियो, प्रतापसिंहलाई त्यति थिएन, प्रतापसिंहको पालामा पनि एकीकरण अभियान बढेन । पछि रणबहादुर शाह ठुला भए, उनले कहिले विधवा बाहुनीपट्टिको सन्तानलाई उत्तराधिकारी बनाउने, कहिले २३ वर्षमै बुढो भएँ भनेर राज्य छाड्ने, कहिले फेरि म राज्य गर्छु भन्ने, कहिले जोगी भएँ भन्ने आदि गरे । यसले गर्दा नेपालको एकीकरण केही काल रोकियो । यदि पृथ्वीनारायणकै नीतिअनुरूप चलेर नेपाल एकीकरण नरोकिएको भए, वि.सं. १८७१–७२ को नेपाल–अंग्रेज युद्ध हुने बेलासम्म नेपाल अझ बढी बलियो भइसकेको हुन्थ्यो ।

यहाँले प्रश्न गर्नुभयो, पृथ्वीनारायणका उपदेश उनकै शासनकालमा लागु भए कि भएनन् ? 

अघि नै आयो कि पृथ्वीनारायणले अदालतबाट उठेको पैसा राजकीय कोषमा नराख्नू, दानधर्ममा लगाउनू भनेका थिए । वि.सं. १८२६ को पृथ्वीनारायण शाहको लालमोहर पाइएको छ, त्यसमा पण्डु ब्राह्मणको अपुतालीलाई पृथ्वीनारायणले गोरखनाथ मठलाई दिएका छन् । यस्तै गरेर पृथ्वीनारायणले आफ्नो राज्यमा समसामयिक परिवर्तन पनि गर्दै जान्थे । 

एकपटक उनले आफ्ना मामा (पाल्पाली राजकुमार उद्धोत सेन)सँग सल्लाह लिएका थिए । उनलाई मामाले सोधे– भाञ्जा तिम्रो पल्टनमा कुन कुन जातका सैनिक छन् ? पृथ्वीनारायणले बाहुन, खस, मगर र ठकुरी आफ्ना सैनिक रहेको बताउँदै सोध्छन्– यीमध्येमा कसलाई सेनापति दिँदा उत्तम होला ? मामाले पृथ्वीनारायणलाई सल्लाह दिन्छन्– बाहुन भनेको बयल हो, बयललाई मा¥यो भने पातक लाग्छ । ठकुरी भनेको सिंह हो, अलिकति केही भयो भने पछिल्तिर फर्केर क्षति पु¥याउँछ । मगर भनेको टाँगन घोडा हो, बिस्तारै हिँड्छ । खस भनेको ताजी–तुर्की घोडा हो, त्यो फूर्तिसाथ हिँड्छ । त्यसैले सैन्यको मूल आदिपत्य चाहिँ खसलाई नै दिनु राम्रो हुन्छ । पृथ्वीनारायणले दिव्य उपदेशको पछिल्लो भागमा बाहुनको ठाउँमा गुरुङ राखेका छन् । यसको अर्थ बाहुनबाट भन्दा गुरुङबाट सैन्यको काम बढी हुन्छ भन्ने भावना उनलाई आएको देखिन्छ । यसरी पृथ्वीनारायणले आफ्ना केही नीतिहरू आफ््नो शासनकालमा पनि लागू गरेका थिए । 

अहिले पृथ्वीनारायणले उपदेशमा भनेअनुरूप सबै देश, काल र परिस्थति मिल्ने होइन, यसमा समसामयिक परिवर्तन गर्ने हो भने नेपालको उन्नतिका लागि आधारभूत ग्रन्थ यो बन्न सक्छ भन्ने मलाई लाग्छ ।

पृथ्वीनारायण शाह दानव पनि होइनन् देवता पनि होइनन् । अहिले कतिले पृथ्वीनारायणलाई देवत्वकरण गर्ने ढङ्गले कार्यक्रम गरिरहेका छन् । कतिले पृथ्वीनारायणको दिव्योपदेशलाई नक्कली पनि भनिरहेका छन् । कोही कोही अलिकति बढी विद्वान् भनिएकाले रणबहादुर वा राजेन्द्रविक्रमको पालामा लेखियो होला भनेका छन् । अहिले हुँदाहुँदा राजा महेन्द्रकै पालामा लेखियो भन्नेहरू पनि आइसकेका छन् । पृथ्वीनारायणप्रति दुराग्रह राख्नेहरू र आफू कुन भुइँमा छु भन्ने नबुझेका मान्छेहरूले यस्तो भनिरहेका छन् ।

वि.सं. १९९२ को दार्जिलिङबाट छापिएको सूर्यविक्रम ज्ञवालीको पृथ्वीनारायण शाह पुस्तकमा पृथ्वीनारायणको उपदेशको उल्लेख भइसकेको छ । अहिले पृथ्वीनारायणले उपदेशमा भनेअनुरूप सबै देश, काल र परिस्थति मिल्ने होइन, यसमा समसामयिक परिवर्तन गर्ने हो भने नेपालको उन्नतिका लागि आधारभूत ग्रन्थ यो बन्न सक्छ भन्ने मलाई लाग्छ । 

यहाँले जो प्रश्न गर्नुभयो, पृथ्वीनारायणको उपदेशलाई उनका भावी सन्तानले माने त ? यसमा के भयो भने उनका छोरा प्रतापसिंह विरोधी भए । नाति रणबहादुर अढाइ वर्षमा राजा भएका थिए, ती पनि मूर्ख खालका थिए । त्यसपछि डेढ वर्षमा राजा भएका गीर्वाणयुद्धविक्रमले के गरून् ? १९ वर्षको उमेरमै बिफरले उनको निधन भयो । 

गीर्वाणयुद्ध १८५४ सालमा विधवा बाहुनीबाट जन्मिएका हुन् । त्यसबेलाको सामान्य नियम अनुसार उनी राजगद्दीका लागि योग्य होइनन् । उनका सौतेनी आमाका छोरा वि.सं. १८५१ मा जन्मेका रणोद्धत शाह र वि.सं. १८५२ मा जन्मेका समरशेर शाह त थिए, उनीहरूले राज्य पाएनन् । 

तीन वर्षमा राजा भएका राजेन्द्र्रविक्रमबाट पनि अपेक्षा गर्न सकिँदैन । यसपछिका सुरेन्द्रविक्रमलाई स्वयं जंगबहादुरले राजा बनाइदिएका हुन् । राणाकालमा राजाहरूबाट अपेक्षा गर्न सक्ने अवस्था थिएन । राणाकालमा पृथ्वीनारायणको उपदेशलाई कुनै महत्त्व दिइएन । 

२००७ सालको परिवर्तनपछि योगी नरहरिनाथको पहलमा पृथ्वीजयन्ती मनाउन थालियो । पछि बिस्तारै कहिले पुरातत्व विभागले, कहिले गाउँ फर्क अभियानले, पछि प्रज्ञा प्रतिष्ठानले विभिन्न किसिमले पृथ्वीजयन्ती मनाउन थाले । पृथ्वीनारायणको गुणदोष परीक्षण गरेर जयन्ती मनाउन थालिएको थिएन । राजाहरूले पनि आफ्ना पुर्खाले बनाइदिएको राज्यमा हकदाबी खोजेका मात्रै हुन् । पृथ्वीनारायणले कति काम राम्रो गरे, कति काम राम्रो गरेनन् भनेर युनिभर्सिटीहरू र प्रज्ञा प्रतिष्ठानले अनुसन्धान गर्नुपर्छ ।

गणतन्त्रमा आएर पृथ्वीनारायणको सालिक तोड्ने, उनको विरोध गर्ने कुरा भए । अहिले हामीले विचार गर्नुपर्ने कुरा के हो भने नेपाल चाहिँदैन भनेको खण्डमा पृथ्वीनारायणलाई बिर्से हुन्छ, जबसम्म हामीलाई नेपाल चाहिन्छ, तबसम्म हामीले पृथ्वीनारायणलाई पूर्ण रूपमा सम्झनैपर्छ । हामीले यो पनि सम्झनुपर्छ कि पृथ्वीनारायणले गर्दा नै हामी आजको नेपाल देशमा नेपाली भएर रहेका छौँ । 

dinesh-raj-panta

अर्को कुरा, पृथ्वीनारायणमा पनि कमी–कमजोरी होलान् । उनले कमी–कमजोरी गरेका कारणले पनि हाम्रो एकीकरण अभियानले जुन गति लिनुपथ्र्यो, त्यो हुन सकेन होला । यतातिर केलाउनमा पनि हाम्रो प्रवृत्ति जानुपर्छ ।

नाक काटेको प्रसंग

पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाक काटेकामा कुनै सन्देह छैन । उनले १८२२ चैत्र ३ गते कीर्तिपुर जिते । यसपछि उनले १८२२ चैत्र २७ गते केही कीर्तिपुरेका नाक काटेको देखिन्छ । उनले यसो नगरेको भए सुनमा सुगन्ध हुने थियो । कुनै पनि विजित देशमा पृथ्वीनारायणले जति कम अत्याचार गरेको पाइँदैन । पृथ्वीनारायणले भक्तपुर जितेपछि त्यहाँका जनताले भनेका छन्— रणजित मल्ल जुजु हुँदा महँगी थियो, पृथ्वीनारायण जुजु भएपछि सस्तो भयो ।

कीर्तिपुरमा पृथ्वीनारायण दुई–दुईपटक पराजय भएका थिए । कीर्तिपुरसँगको लडाइँमा काजी कालु पाँडेको मृत्यु भएको थियो भने भाइ सुरप्रतापको एक आँखा घाइते भएको थियो । यस कारण पृथ्वीनारायण कीर्तिपुरमा अलि उत्तेजनामा गए । 

पृथ्वीनारायणका दरबारिया कवि ललितावल्लभले वि.सं. १८२७ मा लेखेको कवितामा पनि नाक काटेको प्रसङ्ग आएको छ । नेपाली भएर बाँच्न पृथ्वीनारायणको सटीक मूल्याङ््कन गरौँ, उनलाई देवता अथवा दानव नबनाऔँ । 

(इतिहासकार तथा प्राज्ञ दिनेशराज पन्तसँग रातोपाटीकर्मी ध्रुवसत्य परियाले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा. दिनेशराज पन्त
प्रा. दिनेशराज पन्त
लेखकबाट थप