आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प जोखिम न्यूनीकरण एवम् पूर्व तयारीमा जोड दिन आयोगको आग्रह

मङ्गलबार, ०२ माघ २०८०, १४ : ३१
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग सबै प्रकारका विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि एकजुट हुन अनुरोध गरेको छ । भूकम्प लगायतका विपद्बाट मानवीय एवम् भौतिक क्षतिको न्यूनीकरणका लागि पूर्व तयारी, राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सबै निकाय बिच प्रभावकारी समन्वय र सहकार्य गरी व्यक्तिको जीवनको अधिकारका साथै आवासको अधिकारको संरक्षण गर्न आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको हो ।

आयोगले २०७२ सालको विनाशकारी भूकम्प तथा हालै जाजरकोटमा गएको भूकम्पको क्रममा भूकम्प प्रभावितहरूको मानव अधिकार अवस्थाबारे अनुगमन गरी नेपाल सरकार तथा सरोकारवालालाई सिफारिस गरेको छ । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै हालैको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक संरचनाको क्षति भएको जानकारी दिएको छ । 

उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको छ भने पूर्ण र आंशिक गरी ६५ हजार बढी घरहरूमा क्षति पुगेको पाइएको छ । जाडो मौसममा न्यानो घर र न्यानो लुगाको अभावमा सुत्केरी महिला तथा शिशुहरू, बालबालिका, ज्येष्ठ नागरिकहरू र दीर्घ रोगीहरू अत्यन्त कठिन अवस्थाबाट गुज्रनु परिरहेको छ । चिसोका कारण रुघाखोकी, निमोनिया जस्ता रोगको सङ्क्रमण फैलिएको एवम् केही व्यक्तिको मृत्यु भएको समाचार सञ्चारमाध्यममा समेत प्रसारण भइरहेका छन् ।

नेपाल भूकम्पीय दृष्टिकोणले अति संवेदनशील र जोखिमयुक्त देशको रूपमा रहेको छ । यस अवस्थालाई मध्यनजर गरी नेपाल सरकारबाट विभिन्न आवधिक योजना, वार्षिक कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरू सञ्चालन, जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना एवम् कार्यक्रमहरू हुँदै आइरहेका 

छन् । यद्यपि भूकम्प पूर्वजोखिम न्यूनीकरण कार्यमा सरकारको पर्याप्त ध्यान पुग्न नसक्नु र भूकम्पपश्चात् राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा विभिन्न निकाय बिच प्रभावकारी समन्वय हुन नसक्दा सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको साथै भौतिक सम्पत्तिको क्षति व्यहोर्नुपरेको आयोगले यस अघि गरेको अनुगमनबाट देखिएको सहसचिव÷प्रवक्ता डा. टीकाराम पोखरेलको भनाई छ । 

 ‘नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्सा डिजाइन र निर्माण गरौँ । स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने आह्वानका साथ विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरी नेपालमा आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप