आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?

आइतबार, २४ जेठ २०८३, १६ : ०७
आइतबार, २४ जेठ २०८३

सारांश

  • टाइम बैंक एक सामाजिक सेवा प्रदायक संस्था हो जसले नगदको सट्टा प्रत्यक्ष रूपमा सेवा वा श्रमको लेनदेन गर्दछ।
  • यसको अवधारणा जापानमा सुरु भए पनि अमेरिकाका एडगर चानले यसलाई विकसित गरी व्यावसायिक रूप दिएका हुन्।
  • टाइम बैंक गैरसरकारी संस्थाको रूपमा सञ्चालन हुन्छ जहाँ सेवा लिने र दिने दुवै आबद्ध हुन्छन् र एक घण्टाको सेवालाई एक युनिट मानिन्छ।

टाइम बैंक भनेको सामाजिक सेवा प्रदायक संस्था हो । यो नगद पैसा राख्ने, लगानी गर्ने, पैसा झिक्ने जस्तो बैंकिङ कारोबार गर्ने संस्था होइन । यो त प्रत्यक्ष रूपमा सेवा वा श्रमको लेनदेन वा साटफेर गर्ने सिद्धान्तमा आधारित सेवा प्रदायक संस्था हो । यसमा कुनै व्यक्तिले आफ्नो सक्रिय जीवनमा काम गरेको समयको लगानी वा दान गर्ने गरिन्छ । 

अनि आफू कुनै बेला बिरामी परेको समय वा वृद्ध अवस्थामा वा अन्य कुनै कारणले चाहिएको बेला त्यही लगानी गरेको समय झिकेर प्रयोग गर्ने गरिन्छ । यो एउटा विशुद्ध गैरमौद्रिक पद्धतिमा आधारित आर्थिक–सामाजिक क्रियाकलाप हो । यस्तो सेवाको आदान प्रदान सामाजिक प्रदायक संस्था टाइम बैंकबाट क्रेडिट कार्ड मार्फत गरिन्छ ।

टाइम बैंकको प्रारम्भ

टाइम बैकको प्रारम्भिक अवधारणा सन् १९७३ तिर नै जापानमा देखा परेको थियो भनिन्छ । तर यसको विकसितरूपको अवधारणा भने सन् १९८० मा अमेरिकाका नागरिक अधिकार सम्बन्धी अधिवक्ता एडगर चानले प्रतिपादन गरेको पाइन्छ । उनको विकसित अवधारण अनुसार सन् १९९५ मा यसलाई व्यवसायिक र व्यवहारिक रूपमा काम गर्न टाइम डलर इन्स्च्युट्युसन भन्ने नाम दिएर गैरमौद्रीक र गैरबैंकिङ सामाजिक संस्था स्थापना गरी काम सुरु गरेछन् ।

पछि यसैलाई टाइम बैंक यूएसए बनाइएको रहेछ । यसपछि मात्र अवधारणाले व्यापकता लिएको रहेछ । हाल यसको सञ्चालन र सहभागिता संसारभर बढ्दै गएको छ ।

कसरी सञ्चालन गरिन्छ ?

यो टाइम बैंकको क्रियाकलाप खास गरी गैरसरकारी संस्थाको रूपमा सञ्चालन हुन्छ । यसमा सेवा लिने र दिने दुवै व्यक्तिहरू आबद्ध हुनु पर्छ । सेवा लिनेले पनि सेवा लिने ठेगानासहित (घरमा वा अस्पताल कहाँ हो) टाइम बैंकमा निवेदन गर्दछन् । उक्त निवेदन अनुसार टाइम बैंकले पनि आफ्ना स्वयं सेवकलाई सोही स्थानमा पठाउँछ । यसै गरी सेवा दिनेले पनि आफ्नो अनुकूल अनुसार समय दिने ब्यहोरा जानकारी गराउँछन् । यो काम सबै अनलाइन वा टेलिफोन मार्फत हुने गर्छन् । 

यो समाज सेवा (टाइम बैंक) कृयाकलापमा आपूmले गरेको सेवाको समयलाई मूल पुँजीका रूपमा राखिन्छ । यसमा व्याज र बोनसको कुरा आउँदैन र मूल्यको घटबढको कुरा पनि हुँदैन । यस्तो समयको गणनालाई युनिटमा मापन गरिन्छ । एक घण्टाको समयलाई १ युनिट मानिन्छ । तर १ घण्टा भन्दा कम समयको हिसाब गरिँदैन । अनि यसै गरी सेवा लिने र दिनेका बिचमा सेवाको किसिम (चिकित्सकीय सेवा बाहेक), जात र लिङ्गको कुरा हुँदैन । सबै सेवाको समान हैसियत राखिएको हुन्छ । 

बरु यसमा क्षेत्र, एरिया वा दुरीको कुरा भने हुने रहेछ । सामान्य सहरी सुविधा (बिजुली, पानी, मोटरबाटो, फोन, स्वास्थ चौकी आदि) भएको स्थानमा यो सेवा सजिलोसँग सञ्चालन भएको पाइयो । सहरी क्षेत्र भएपनि कोर एरिया भन्दा धेरै टाढाको क्षेत्रमा यो सेवा सञ्चालन गर्न गाह्रो परेको बुझियो । भिन्न भिन्न सहरमा भिन्न–भिन्न टाइम बैंक सञ्चालन गरिँदो रहेछ । यसले गर्दा सेवा लिने र दिनेलाई आधा घण्टा वा सो भन्दा कम समयमा टाइम बैंकका स्वयम सेवक वा सेवा प्रदायकले सेवा लिन र दिन सकुन् ।

यो टाइम बैंकले जो व्यक्तिले सेवा प्रदान गर्छ, उसले गरेको सेवाको समयको हिसाब राख्छ र सेवा प्रदायकलाई क्रेडिटकार्ड उपलब्ध गराउँछ । जसले जति समय सेवा ग¥यो उति समय थपिँदै जान्छ । यसो हुँदै जाँदा जब सेवा प्रदायकको नै निष्क्रिय जीवन सुरु हुँदा वा विभिन्न कारणले उसलाई अरूको सेवाको आवश्यकता पर्दा उसले त्यही पहिलाको सेवा गरेको समयबाट खर्च हुने गरी सेवा लिन सक्छ । र, उसलाई दिएको क्रेडिट कार्डबाट सेवाको समय घट्दै जान्छ । केही विवाद भएमा कानुन अनुसार हेर्ने व्यवस्था हुँदो रहेछ ।

टाइम बैंक मार्फत यस्तो सेवा दिने र लिने काम हाल विश्वभर व्यापक हुँदै गएको छ । यसमा पनि धनी वा विकसित देशहरूमा बढीमात्रामा चलेको पाइन्छ । यो सेवा सञ्चालनको विषयमा उदाहरण दिनु पर्दा अमेरिका, स्वीजरल्याण्ड, जापानको नाम लिने गरिन्छ । यो सेवा हाल भारतमा पनि धेरै लोकप्रिय भएको पढ्न पाइन्छ । भारतमा यो सेवालाई ‘टाइम बैंक अफ इण्डिया ट्रस्ट’ ले सञ्चालन गरेको छ ।

कस्तो सेवा लिने र दिने ?

टाइम बैंक पद्धतिमा सामान्य हेरचाह सेवा दिइन्छ भने कुनै देशमा सामान्य नर्सिङ सेवा पनि प्रदान गरिन्छ । कुनै व्यक्तिले आफ्नो सक्रिय जीवनकालमा कोही बिरामी, अपाङ्ग वा वृद्ध/वृद्धाहरूलाई सामान्य हेरचाह सेवा दिन्छन् । जस्तै एक्लै रहेका वृद्ध÷वृद्धाहरूको साथी भइदिने, बजारबाट आवश्यक सामानहरू खरिद गरी ल्याइदिने, नुहाउने वा धुने जस्ता सफाइका कामहरूमा सहयोग गर्ने, खाना पकाइदिने र खाना खान सहयोग गर्ने आदि सेवा प्रदान गरिन्छ । 

यस्तो सेवा प्रदान गर्ने व्यक्तिले सामान्यतया यस विषयको तालीम लिने गर्छन् । सामाजिक सेवाका लागि तालीम लिएका मानिसहरू वा सेवा प्रदायकहरू मायालु, दयालु र परोपकारी भावनाका हुनु राम्रो मानिन्छ रे । यस्तो सामाजिक–आर्थिक क्रियाकलाप सञ्चालन भएको देशहरूमा सामाजिक सेवा विषयमा तालिम दिने तालीम केन्द्रहरू पनि सञ्चालन हुँदा रहेछन् । ती तालीम केन्द्रहरू पनि सामाजिक सेवा प्रदायक संस्था ‘टाइम बैंक’ मा आबद्ध हुने रहेछन् । 

सरकारले यस्तो क्रियाकलापलाई कानुनद्वारा सरकारी सामाजिक सुरक्षा निकायमा दर्ता गरी सञ्चालनको अनुमति दिँदोरहेछ । सामाजिक सेवाको यो विषयमा हाल संसार भरी नै अध्यापन हुँदै आएको छ । नेपालमा पनि सामाजिक सेवा विषयको पढाई व्यापकै रूपमा भएको छ । पैसाका माध्यमबाट हेरचाह सेवाको खरिद बिक्री गर्ने क्रियाकलाप पहिलेदेखि नै चलेको पाइन्छ । 

यस्तो हेरचाह सेवा लिनेमा धनी देशका नागरिकहरू देखिन्छन् भने सेवा दिनेमा गरिब तथा अल्पविकसित मुलुकका नागरीहरू देखिन्छन् । हेरचाह सेवाबाट भएको आम्दानी वा खर्चलाई हाल रेमिटन्स आय वा खर्च भन्ने गरिएको छ । हाल नेपालमा वैदेशिक रोजगार सेवा अन्तरगत यस्तो हेरचाह सेवाका लागि धेरै युवा युवतीहरू विदेशिएको पाइन्छ ।

नेपालमा टाइम बैंक

टाइम बैंकको अवधारणा नेपालका लागि नयाँ र नौलो हो । पैसाका माध्यमबाट सञ्चालन गरिने हेरचाह सेवा भने सुरक्षा संस्थाहरूले फाट्टफुट्ट चलेको पाइन्छ । तर यो सामाजिक सेवा प्रदायक संस्था (टाइम बैंक) का रूपमा भने हालसम्म नेपालमा सञ्चालन भएको पाइदैन । नेपालमा पनि यस्तो सेवाको नितान्त आवश्यकता भईसकेको छ । माथि भनिए जस्तै नेपालमा पनि वृद्ध/वृद्धा, अपाङ्ग, विरामीलाई यस्तो सेवा आवश्यक परिरहेको हुन्छ । 

अचेल त झन् वैदेशिक रोजगार सेवाले गर्दा धेरै युवा युवती विदेश गएका छन् । घरमा असक्त बाबु आमाहरू एक्लो जीवन निरस रूपले बिताइ रहेको पाइन्छ । नेपाली समाजमा बिचल्लीमा परेको बारेमा नेपाली समाचार माध्यमहरूले लेखिरहेको पाइन्छ । नेपालमा पनि यस्तो सेवा सञ्चालन हुने हो भने केही हदसम्म घरमा बिरामी भइरहेका, असक्त बृद्धबृद्धा, अपाङ्ग आदिले तत्काल सेवा पाउने थिए भने सक्रिय जीवनका मानिसहरूले पनि समय दान वा समय लगानी गर्न सक्ने थिए । 

सक्रिय जीवनका समय लगानी गर्नेहरूले पनि पछि आफूलाई चाहिएको समयमा टाइम बैंक मार्फत आफैले गरेको सेवा सट्टा भर्ना पाउने थिए । आशा गरौँ निकट भविष्यमै नेपालमा पनि यस्तो सेवाको अवधारणाले ठाउँ पाओस् र सञ्चालन होस् । 

नेपालमा यस्तो सेवाको सञ्चालन सक्रिय आमा समूह, सक्रिय बाबा समूह वा जुनै उमेरका युवा युवतीले पनि सञ्चालन गर्न सक्दछन् । यसका लागि शारीरिक रूपले धेरै परिश्रम गर्न पर्दैन । तर समय भने २४ सै घण्टा, सातै दिन, बाह्रै महिना वर्षौँवर्ष निरन्तर अनलाइन वा टेलिफोनमा भने रहिरहनु पर्छ । 

यसकालागि माथि भनिए झै यो सेवा सञ्चालनका लागि नेपाल सरकारले पहिला त अवधारणसहित कानुन नै बनाउनु पर्छ । अनि कानूनले तोकेको निकायमा त्यस्तो सामाजिक सेवा प्रदान गर्ने संस्था दर्ता र अनुमति दिने र लिने व्यवस्था हुनु पर्छ । यसका साथै सेवा लिने र दिनेको पनि आवश्यक करारनामा आवश्यक पर्छ । यो व्यवसायमा सरकार केवल अभिभावक, अनुगमन एवं निगरानी कर्ताका रूपमा मात्र रहन्छ भने टाइम बैंक, ग्राहक र सेवा प्रदायकबिच काम भइरहेको हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप