शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
विमानस्थल सुरक्षा

सशस्त्र प्रहरी परिचालनपछि रोकिएला एयरपोर्टबाट हुने तस्करी ?

५ महिनामा साढे ८२ किलो सुन बरामद
बिहीबार, ०४ माघ २०८०, १४ : ४३
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । सुन तस्करी नरोकिएपछि अर्थ मन्त्रालयको अनुरोधमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरे । जसअनुसार विमानस्थलको भन्सार चेकजाँचमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

 सशस्त्र प्रहरीले यात्रु आगमनतर्फ व्यक्तिगत चेकजाँचको जिम्मा लिएको छ । भन्सार चेकजाँचमा खटिने सशस्त्रको टिम प्रमुख भन्सार प्रशासकको पूर्ण नियन्त्रण र निर्देशनमा परिचालित हुन्छन् । 

सशस्त्र परिचालनसँगै भन्सार कार्यालयका कर्मचारीले गर्ने व्यक्तिगत चेकजाँच सशस्त्रले गर्न थालेको छ । भन्सारका कर्मचारीहरू ब्यागेज चेकिङ र कार्गो भवनको सामान चेकिङमा केन्द्रित भएका छन् । भन्सारका कर्मचारीले आगमनतर्फ ३ सिफ्टमा काम गर्दै आएका थिए । भन्सार प्रशासन र चेकजाँच निजामतीकै जिम्मेवारीमा हुन्थ्यो । तर, सशस्त्र परिचालनपछि ‘सामान्य सुधार’ भएको जानकारहरू बताउँछन् । 

विमानस्थल भन्सार कार्यालयमा लामो समय काम गरेका एक जना पूर्व प्रमुख भन्सार प्रशासक भन्छन्, ‘सशस्त्र परिचालन समष्टिगत सुधार मध्येको सामान्य सुधार हो, सशस्त्र परिचालन मात्रै पर्याप्त होइन ।’

अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फ ब्यागेज चेकिङ र कार्गो भवनको चेकिङमा दक्ष जनशक्ति आवश्यक हुन्छ । अहिले एक्सरे मेशिनमा काम गर्ने कर्मचारीहरूको विज्ञताबारे प्रश्न उठ्ने गरेको छ । सामान्य तालिम लिएका कर्मचारीहरूले एक्सरे मेशिन चेकजाँच गर्दा तस्करहरूले फाइदा उठाउने गरेका छन् । 

भन्सारमा एक्सरे चेकजाँचमा ‘एक्सपर्ट’ आवश्यक हुने जानकारहरू बताउँछन् । अर्थ मन्त्रालयबाट अवकाश पाएका एक जना पूर्व सहसचिव भन्छन्, ‘सामान्य तालिम लिएका कर्मचारीलाई एक्सरे मेशिन जिम्मा दिएर हुँदैन, सामान चिन्न सक्ने विज्ञ चाहिन्छ ।’ 

पुस २६ मा उपप्रधानमन्त्री श्रेष्ठले सशस्त्र परिचालन गर्ने निर्णय गरेका हुन् । माघ १ बाट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट इन्स्पेक्टरको कमान्डमा टिम परिचालन भएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले रातोपाटीलाई बताए । 

सशस्त्र प्रहरीले २०६१ देखि नेपाल–भारत सिमाना जोडिएका भन्सार कार्यालयहरूसँग मिलेर काम गरिरहेको छ । प्रमुख भन्सार प्रशासकको कमान्डमा परिचालित हुने हुनाले सशस्त्रलाई भन्सारले कसरी हेर्छ गर्छ भन्नेमा धेरै कुरा निर्भर हुने बताउँछन्, सशस्त्रका पूर्व अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा । 

पूर्व एआईजी थापा भन्छन्, ‘भन्सारमा परिचालित सुरक्षाकर्मीहरु कसरी इमानदारीपूर्वक परिचालित हुन्छन् भन्नेमा पनि भर पर्छ ।  त्रिभुवन विमानस्थलमा सुरक्षाकर्मी खटाएर मात्रै तस्करी नियन्त्रण हुने अवस्था छैन । ’ विमानस्थलमा परिचालित सरकारका ५० भन्दा धेरै निकायहरूको ‘एकीकृत टिम’ बनाउनुपर्ने सशस्त्रका पूर्व एआईजी थापाले बताए । उनले भने, ‘एयरपोर्ट संसार जोड्ने नाका भएको हुनाले त्यहाँ सशस्त्रले मात्रै गर्न सम्भव हुँदैन । तस्करी, सामूहिक प्रयत्नमा नियन्त्रण हुने विषय हो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग राष्ट्रिय सुरक्षाको विषय जोडिएको हुनाले त्यहाँ एकीकृत टिम राख्नुपर्ने अर्थ मन्त्रालयका एक जना सहसचिवले बताए । उनले भने, ‘सुरक्षा चुनौतीसँग सम्बन्धित सामाग्रीको निगरानी गर्न डिटेक्ट मेशिन पनि राख्नुपर्छ ।’ 

५ महिनामा साढे ८२ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच महिनामा साढे ८२ केजी सुन बरामद गरिएको छ ।  भन्सार गेट बाहिरबाट साउन ३ मा ६० किलो सुन बरामद गरिएको थियो । राजस्व अनुसन्धान विभागले बरामद गरेको सो सुनबारे अहिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले छानबिन गरिरहेको छ ।

६० किलो सुन बरामद भएको ५ महिना भएको छ । मंसिर २१ मा राति एप्रोन एरियाबाट १४ किलो सुन बरामद गरिएको थियो । सो सुन गोरखाका चन्द्र घलेले दुबईबाट ल्याएका हुन् । 

त्यसपछि साढे ६ किलो सुन सहित ईजिप्टका सरिफ मोहम्मद लासिम पक्राउ परे । दुबईबाट काठमाडौँ ओर्लिएका उनलाई भन्सार एरिया पार गरिसकेको अवस्थामा पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए । मंसिर २१ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवाबाट ल्याएको २ केजी सुन नागढुंगाबाट बरामद गरेको थियो ।

सुन तस्करीको पर्दा पछाडि थुप्रै व्यक्तिहरू रहने हुनाले अपराधीले जोखिम उठाउने गरेको बताउँछन् पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी । उनले भने, ‘काठमाडौंमा सहज वातावरण भएको महसुस गरेर पोलिटकल एक्सेस र क्रिमिनल नेक्सको आधारमा तस्करी हुने गरेको छ ।’ 

पछिल्लो १० वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल र सडक मार्गबाट नेपाल ल्याएको ६९९ दशमलव २ किलो सुन बरामद गरिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०८०/०८१ सम्मको अवधिमा सो सुन बरामद भएको हो । सुन ओसापसारमा संलग्न ५ सय ९९ जना दश वर्षको अवधिमा पक्राउ परेका छन् । पूर्व एआईजी भण्डारीले राज्य संयन्त्रको सक्रियताले भन्दा पनि सूचना चुहिएको कारण सुन बरामद भएको बताए । उनले भने, ‘तस्करले कालो धनलाई सुनको माध्यमबाट चलायमान बनाउने गरेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप