शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी

अनि किन नहोस् लगातार सुन तस्करी ?

एयरपोर्टमा अध्यागमन, प्रहरी र भन्सारबिच छैन समन्वय
सोमबार, २५ मङ्सिर २०८०, १५ : ५५
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । गोरखा जिल्लाको बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले पछिल्लो समय काठमाडौँ–दुबई आउजाउ गरिरहन्थे । तेस्रो पटक दुबई गएर सुन लिएर आउँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियामा पक्राउ परेका हुन् ।

मङ्सिर २१ गते राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डे नेतृत्वको टिमले एप्रोन एरियामा घलेलाई नियन्त्रणमा लिँदा उनको साथबाट १४ किलो सुन भेटियो । भित्री ज्याकेटमा सुन लुकाएर उनी ‘निर्धक्क’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

चन्द्र घले सुनको ‘भरिया’ भएको प्रहरी र भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरुको अनुसन्धान निष्कर्ष छ । चन्द्रले दुबईबाट सुन ल्याउँदा एक पटकमा ६० हजार पाउने गरेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

साउन यता लगातार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले सुन आइरहेको छ । २०८० साउनपछि विमानस्थलबाट ३ पटक ठुलो परिमाणमा तस्करीको सुन बरामद भएको छ । तर, तस्करी नियन्त्रण भने हुन सकेको छैन ।

सुन तस्करी नियन्त्रण नहुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन वटा निकायको बिचमा समन्वयको अभाव देखिन्छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय, विमानस्थल सुरक्षा कार्यालय र अध्यागमनको बिचमा समन्वय नहुँदा सुन तस्करी मौलाइरहेको जानकारहरू बताउँछन् ।

सामान्य आर्थिक अवस्था भएका चन्द्र घलेहरू लगातार दुबई र हङकङ आउजाउ गरेको तथ्याङ्क विमानस्थल अध्यागमन कार्यालयसँग हुन्छ । तर, सो सुराक अध्यागमनले प्रहरी र भन्सारलाई नदिँदा निगरानीमा समस्या हुने गरेको विमानस्थल भन्सारमा कार्यरत एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘सुराक र शंका लागेपछि म्यानुअल्ली पक्राउ गर्ने परिपाटीले गर्दा तस्करी नियन्त्रणमा समस्या देखिन्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्ष जनशक्ति नहुँदा र त्यहाँ सक्रिय युनिटहरूको बिचमा कोअर्डिनेशन नहुँदा विमानस्थलबाट सुन तस्करी नरोकिएको जानकारहरू बताउँछन् । अर्थ मन्त्रालयमा कार्यरत एकजना सह–सचिव भन्छन्, ‘अध्यागमन, प्रहरी र भन्सार तीनतिर छन्, हप्ता दिनको अन्तरमा कुनै व्यक्ति दुबई आउजाउ गर्छ भने अध्यागमनलाई थाहा हुन्छ तर, भन्सारलाई थाहा हुँदैन । अध्यागमनले त्यस्तो कुरा भन्सारलाई भन्दैन ।’

शंकास्पदहरुको विवरण अध्यागमनले नदिँदा निगरानीमा समस्या रहेको ती सह–सचिवको भनाइ छ । उनी भन्छन्, ‘इन्टेलिजेन्स कमजोर छ, अहिलेसम्म विमानस्थलको इन्टेलिजेन्सले विकास गरेको सुराकबाट सुन पक्राउ गरेको मलाई थाहा छैन ।’

प्रहरीको इन्टेलिजेन्स युनिट केही सक्रिय भए पनि राष्ट्रिय अनुसन्धान विभागको संयन्त्रले कुनै सूचना संकलन गर्न नसक्दा सुन तस्करी घटेको छैन । विमानस्थलबाट सुन तस्करी आगामी दिनमा नरोकिने बताउँछन् पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी । उनी भन्छन्, ‘तस्करले अहिलेकै जस्तो राजनीतिक संरक्षण पाएसम्म तस्करी रोकिने अवस्था रहँदैन ।’

राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन, भन्सार र प्रहरीले संयुक्त टिम बनाएर विमानस्थलबाट सुन सुन तस्करीविरुद्ध ‘इन्टेलिजेन्स’ विकास गर्न सकेका छैनन् । दुबईबाट नेपाली व्यापारीहरूले दिने सूचनामा भर परेकै भरमा अपरेसन चलाएर तस्करी नियन्त्रण नहुने अधिकारीहरू बताउँछन् ।

एकजना पूर्व अर्थ सचिवका अनुसार विमानस्थलमा ‘यात्रु विवरण प्रणाली’ व्यवस्थापन गर्न ढिला भइसकेको छ । उनी भन्छन्, ‘यात्रुको विवरणमा भन्सार र प्रहरीको पनि पहुँच भएमा तस्करी नियन्त्रण गर्न सहज हुन्छ ।’

नीतिगत सुधार आवश्यक

तस्करी बढ्नुमा नीतिगत समस्याले पनि काम गर्ने गरेको जानकारहरू बताउँछन् । अर्थ मन्त्रालयका एक जना पूर्व सचिव नीतिगत समस्याहरूबारे अध्ययन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकले व्यापारीलाई दिने सुनको कोटा थोरै भएका कारण पनि तस्करी बढेको हुनसक्छ । त्यसबारे अध्ययन गर्नुपर्छ ।’

नेपालबाट तेस्रो मुलुकमा सुन जान्छ वा जाँदैन भन्नेबारे पनि अध्ययन गर्नुपर्ने ती पूर्व सचिवले बताए ।

सुन तस्करीबारे अनुसन्धान गरिरहेका अधिकृतहरूका अनुसार नेपाललाई ट्रान्जिट बनाएर तस्करले भारतमा सुन पठाउने गरेका छन् । बंगलादेश र पाकिस्तानबाट भारतमा सुन ल्याउन कठिन हुने हुनाले तस्करले काठमाडौँलाई ट्रान्जिट बनाउने गरेका हुन् ।

भारतीय तस्करले अफ्रिकनहरुलाई प्रयोग गरेर दुबईबाट काठमाडौँसम्म सुन पठाउने गरेका छन् । काठमाडौँबाट भरिया परिवर्तन गरेर खुला सिमानाको फाइदा उठाउँदै भारततर्फ सुन तस्करी हुने गरेको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

त्यस कारण, नीतिगत र समष्टिगत प्रणालीमा सुधार गरेर मात्रै तस्करी नियन्त्रण गर्न सकिने जानकारहरू बताउँछन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गेट बाहिरबाट साउन ३ मा ६० किलो सुन बरामद गरिएको थियो । राजस्व अनुसन्धान विभागले बरामद गरेको सो सुनबारे अहिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले छानबिन गरिरहेको छ ।

६० किलो सुन बरामद भएको ५ महिना पुग्दै छ । पाँच महिनाभित्रै चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो र इजिप्टका सरिफ मोहम्मद लासिमले ल्याएको साढे ६ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।

दुबईबाट काठमाडौँ ओर्लिएका र इजिप्टका सरिफ मोहम्मद लासिमलाई भन्सार एरिया पार गरिसकेको अवस्थामा पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए ।

‘वाक थ्रु गेट’ पार गरेपछि शंका लागेर चेकजाँच गर्दा लासिमको साथमा सुन भेटिएको थियो । विमानस्थलमा चेकजाँच गर्ने उपकरण थपेर चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने विमानस्थल भन्सार कार्यालयका एक जना पूर्व भन्सार प्रशासकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप