आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी

किन रोकिएन विमानस्थलबाट सुन तस्करी ?

पोलिटकल एक्सेस र क्रिमिनल नेक्ससको आधारमा तस्करी हुन्छ : पूर्व एआईजी भण्डारी
सोमबार, २५ मङ्सिर २०८०, १० : ००
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गेट बाहिरबाट गत साउन ३ मा ६० किलो सुन बरामद गरिएको थियो । राजस्व अनुसन्धान विभागले बरामद गरेको सो सुनबारे अहिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले छानबिन गरिरहेको छ ।

६० किलो सुन बरामद भएको ५ महिना पुग्दै छ । यो अवधिमा भन्सार कार्यालय र प्रहरीले विमानस्थलबाट थप दुई पटक ठुलो परिमाणमा तस्करीको सुन बरामद गरेका छन् । मङ्सिर २१ गते राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डे आफैँ विमानस्थलको एप्रोन एरियामा पुगेर गोरखाका चन्द्र्र घलेलाई नियन्त्रणमा लिए । दुबईबाट आएका ४५ वर्षीय घलेले ज्याकेटमा लुकाएर ल्याएको अवस्थामा १४ किलो सुन भेटियो ।

शनिबार राति विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्टका सरिफ मोहम्मद लासिम पक्राउ परे । दुबईबाट काठमाडौँ ओर्लिएका उनलाई भन्सार एरिया पार गरिसकेको अवस्थामा पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए । दुई दिनमा मात्र साढे २० किलो तस्करीको सुन विमानस्थलमा आएको छ ।

मङ्सिर २१ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवाबाट ल्याएको २ केजी सुन नागढुंगाबाट बरामद गरेको थियो । सुन प्रकरणमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बरामद सुन ओसार पसारमा संलग्न देखिएपछि चिनियाँ नागरिक चेन झिउईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

पछिल्लो ५ महिनामा साढे ८२ केजी तस्करीको सुन काठमाडौँ उपत्यकाबाट बरामद गरिएको छ । नागढुंगाबाट बरामद दुई किलो बाहेक अरु सुन दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ । सुन तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएको सुरक्षा अधिकृतहरुको अनुसन्धान निष्कर्ष छ ।

सुन तस्करीको पर्दा पछाडि थुप्रै व्यक्ति रहने हुनाले अपराधीले जोखिम उठाउने गरेको बताउँछन् पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी । उनी भन्छन्, ‘काठमाडौँमा सहज वातावरण भएको महसुस गरेर पोलिटकल एक्सेस र क्रिमिनल नेक्ससको आधारमा तस्करी हुने गरेको छ ।’

मङ्सिर २१ मा चन्द्र घले आएको फ्लाई दुबईको एफ जेड–५७३ नम्बरको उडान र शनिबार इजिप्टका सरिफ मोहम्मद लासिम आएको विमान एउटै थियो । मोहम्मद लासिमसँगै आएका अरु दुई जना सुडानी नागरिकलाई पनि पक्राउ गरेर विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

‘टार्गेट’ भारतीय बजार

सुन तस्करले भारतीय बजारलाई ‘टार्गेट’ गरेर काठमाडौँलाई सुन तस्करीको ‘ट्रान्जिट’ बनाउने गरेको जानकारहरू बताउँछन् । नेपालमा बरामद सुनबारे लामो समयदेखि अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकृत भन्छन्, ‘अधिकांश तस्करले भारत लैजाने गरी दुबई र हङकङबाट सुन तस्करी गरेको देखिन्छ ।’

ती अधिकृतका अनुसार भारतमा सुनको ठुलो बजार र मूल्य महँगो भएकाले सुन तस्करले त्यही बजारलाई ‘टार्गेट’ गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा दक्ष जनशक्ति नहुँदा र त्यहाँ सक्रिय युनिटहरूको बिचमा समन्वय नहुँदा विमानस्थलबाट सुन तस्करी नरोकिएको जानकारहरू बताउँछन् । अर्थ मन्त्रालयमा कार्यरत एक जना सहसचिव भन्छन्, ‘अध्यागमन, प्रहरी र भन्सार तीनतिर छन्, हप्ता दिनको अन्तरमा कुनै व्यक्ति दुबई आउजाउ गर्छ भने अध्यागमनलाई थाहा हुन्छ तर, भन्सारलाई थाहा हुँदैन ।’

शंकास्पदहरुको विवरण अध्यागमनले नदिँदा निगरानीमा समस्या रहेको ती सहसचिवको भनाइ छ । उनी भन्छन्, ‘इन्टेलिजेन्स कमजोर छ, अहिलेसम्म विमानस्थलको इन्टेलिजेन्सले विकास गरेको सुराकबाट सुन पक्राउ गरेको मलाई थाहा छैन ।’

प्रहरीको इन्टेलिजेन्स युनिट केही सक्रिय भए पनि राष्ट्रिय अनुसन्धान विभागको संयन्त्रले कुनै सूचना सङ्कलन गर्न नसक्दा सुन तस्करी घटेको छैन । विमानस्थलबाट सुन तस्करी आगामी दिनमा नरोकिने बताउँछन् पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी । उनी भन्छन्, ‘तस्करले अहिलेकै जस्तो राजनीतिक संरक्षण पाएसम्म तस्करी रोकिने अवस्था रहँदैन ।’

राज्य संयन्त्रले आफ्नो सूचना संयन्त्र मजबुत बनाउन नसक्दा नेपाली व्यापारीहरूले नै दिएको सामान्य सूचनाको आधारमा विमानस्थलमा तस्करीको सुन बरामद हुने गरेको छ । त्यस्तोमा दुबईमा बसेर सुनको काम गर्नेहरूले दिने सूचना नै तस्करी नियन्त्रणको मुख्य स्रोत बन्ने गरेको छ । तस्करहरूको बिचमा बेमेल हुँदा त्यस्ता सूचना आउने र सुन बरामद हुने गरेको बताउँछन् पूर्व एआईजी भण्डारी ।

उनले भने, ‘अपराधीको बिचको सूचना चुहावटको आधारमा मात्र राज्य संयन्त्रले अहिले सुन पक्राउ गरिरहेको छ ।’

अफ्रिकनको प्रयोग

भारतीय सुन तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर सुनको कारोबार गरिरहेको अनुसन्धान अधिकृतहरू बताउँछन् । दुबईमा बस्ने भारतीयहरूले अफ्रिकन नागरिकलाई तस्करीमा प्रयोग गरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि पक्राउ परेका एक जना सुडानी नागरिकले आफूलाई नेपाली ३ लाख रुपैयाँ दिन्छु भनेर भारतीय नागरिकले दुबईबाट सुन दिएर काठमाडौँ पठाएको बयान दिएका थिए । विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृत भन्छन्, ‘दुबईमा सुन सस्तो पर्ने हुनाले नेपालबाट भन्सार छलेर खुला सिमाना हुँदै भारतीय तस्करले भारतीय बजारमा सुन लैजाने गरेको देखिन्छ ।’

शनिबार साढे ६ किलो सुन लिएर आएका इजिप्टका सरिफ मोहम्मद लासिमसँगै सुडानका दुई जना नागरिक पनि आएका थिए । उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए ।

सरिफ मोहम्मद लासिमले सो सुन ‘भारतीय नागरिकले दुबईबाट पठाएको’ प्रारम्भिक बयानमा खुलाएका छन् ।

भारत प्रवेश गर्ने बंगलादेश र पाकिस्तानको सिमानामा कडा चेकजाँच हुन्छ । त्यस्तोमा तस्करहरूले खुला सिमानाको फाइदा उठाउने गरेका छन् । अर्थ मन्त्रालयका एक जना उच्च अधिकारी भन्छन्, ‘काठमाडौँको विमानस्थल पार भएपछि भारतमा सुन लैजान सहज हुने हुनाले त्रिभुवन विमानस्थल सुन तस्करीको ट्रान्जिट बनेको छ ।’

सुन तस्करी नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समष्टिगत प्रणालीमा सुधार जरुरी रहेको जानकारहरू बताउँछन् । विदेशबाट आउँदा नेपाली महिलाले ५० ग्राम गहना र पुरुषले २५ ग्राम गहना ल्याउन पाउने कानुनी व्यवस्था छ । थप २ सय ग्रामसम्म भन्सार तिरेर सुन ल्याउन पाइन्छ । सुनको भन्सार प्रति १० ग्रामको ९ हजार लाग्छ ।

मङ्सिर २१ मा ल्याएको सुन गोरखाका मीन बहादुर घलेले ल्याउन भनेको चन्द्र घलेले बयान दिएका छन् ।

मीनबहादुर म्यानपावर व्यवसायी पनि हुन् । उनले यसअघि पनि सुन ल्याउने गरेको आशङ्का गरिएको छ । मण्डिखाटार बस्ने मीनबहादुरलाई प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयको जिम्मा लगाएको छ ।

चन्द्रलाई सो सुन विमानस्थलको डस्टबिनमा राख्न सुन तस्करहरूले अह्राएको अनुसन्धानबाट थाहा भएको छ । तर, डस्टबिनमा सुन हाल्नुअघि नै भन्सारका कर्मचारी र प्रहरीले नियन्त्रणमा लिएपछि तस्करको योजना विफल भएको थियो । डस्टबिनमा फालेर सुन बाहिर पठाउने योजना बनाएको अनुसन्धानबाट खुलेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले रातोपाटीलाई बताए ।

पछिल्लो १० वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल र सडकमार्गबाट नेपाल ल्याएको ६९९ दशमलव २ किलो सुन बरामद गरिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०८०/०८१ सम्मको अवधिमा सो सुन बरामद भएको हो । सुन ओसापसारमा संलग्न ५ सय ९९ जना दश वर्षको अवधिमा पक्राउ परेका छन् । पूर्व एआईजी भण्डारीले राज्य संयन्त्रको सक्रियताले भन्दा पनि सूचना चुहिएको कारण सुन बरामद भएको बताए । उनले भने, ‘तस्करले कालो धनलाई सुनको माध्यमबाट चलायमान बनाउने गरेका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप