आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
यात्रा–निबन्ध

मिलेका छिमेकी, हिँडेका यात्री

शनिबार, ०६ माघ २०८०, १२ : ५८
शनिबार, ०६ माघ २०८०

स्याङ्बोचेबाट बिदावारी भएर बिहानै बाटो लाग्न निकै मुस्किल भयो । स्याङ्बोचेबाट देखिएका सुन्दरताले मेरा पाइलालाई बाँधेर राख्न खोज्यो । त्यहाँबाट देखिएका दृश्यमै आँखा रमाइरह्यो । यति प्रीतिकर प्रकृतिको आकर्षणमा कैयौँ पर्यटक भुलिरहेका थिए । पैदल हिँडेर बेलुकाको बास बस्न कहाँ पुग्नुपर्ने तर अधिकांश पदयात्री हिमाल देखेर आफैँमा मक्ख परेर हराइरहेका थिए ।

‘जाने कि एकछिन बस्ने ?’ आ–आफ्ना कुम्लो कुटुरो निकालेर पनि होटलबाहिर आएपछि यात्रीहरू खासखुस गरिरहेका थिए । बिहानको चियाखाजा खाएर अघाएका पदयात्री हिमाली सुन्दरता हेरेर भने अघाएका थिएनन् । चाँदीजस्तै टल्किएका हिमाली ताँती देख्दा यात्रीहरूलाई पाइला सार्ने मन थिएन । खुलेको मौसममा टाढाको हिमाल एकदमै नजिक र सफा देखिएका थिए । पहाडका तरली पनि त्यत्तिकै सुन्दर ।

‘यही हेर्न आएका हामी, हेर्न पाउँदा–पाउँदै किन हिँड्न हतार गर्नुप¥यो ?’ केही विदेशी पर्यटकले कुरा गरेको सुन्छु ।

‘घुम्न आएका यात्री यसरी एकै ठाउँमा अलमलिरहनु हुँदैन नि,’ अर्को ग्रुपको गफ पनि मेरो कानमा पर्छ ।

‘यही ताल हो भने महिना दिनमा पनि बेस क्याम्प पुग्न सकिँदैन,’ गाइडले गनगन गरिरहेका थिए ।

IMG_20231104_085629

हुन त हेर्नुपर्ने छ । हिँडिहाल्नुपर्ने पनि छ । तथापि यस्तो सुन्दर संसारलाई छाडेर हिँडिहाल्न मन मान्दैन । नहिँडेर त्यहीँ बसिरहनु पनि भएन । कस्तो अन्योलको अप्ठेरो अवस्था आइप¥यो । हातका लट्ठीले औँल्याउँदै त्यो सगरमाथा, त्यो लोत्से, त्यो आमादब्लम भन्दै हिमालको उचाइ समेत उच्चारण गर्दै पथ प्रदर्शकले बताउँदै थिए ।

‘ऊ त्यो जङ्गलमाथि अलि–अलि घर देखिएको ठाउँ तेङ्बोचे हो । आज हामी त्यहाँसम्म पुग्नुपर्छ । तेङ्बोचेको उकालो निकै गाह्रो हुन सक्छ,’ तिनै गाइडले भने ।

बसिबियाँलो गरेर बसिरहनु थिएन । हिँडे आफ्नै बाटो छोटिने हो । बसिरहे आफ्नै बाटोले रात निम्त्याएर डर त्रास भित्र्याउने हो । अतः बुद्धिमानले बाटो तताउनै उत्तम हुने देखी मैले पाइला चालेँ । विदेशी पाहुनाहरू पनि स्याङ्बोचेलाई बिदा गरेर ओरालो झरे । सुनसान रहेको बाटो एकैछिनमा पदयात्रीको ओइरोले चलायमान भयो ।

भिरपाखामा चरिरहेका झारलहरू बटुवाका हल्लाखल्लाले भिरबाट फुत्त फड्को मार्थे । उकालो आइरहेका र ओरालो झरिरहेकाहरू कोही पनि एक्लैदोक्लै थिएनन् । हुलका हुल मिलेर यात्रामा हिँडेका थिए । बेकारी र बदमासी मानिस यात्रामा कोही थिएनन् । सबै सहयोगी साथी थिए । कुन देशका, कुन भाषा र जातिको भए तापनि एकै थातथलोका, एकै जाति र भाषाका जत्तिकै सबैमा घनिष्ठ मित्रता थियो । मिलेका छिमेकीजस्तै हिँडेका साथी थिए ।

शरद् ऋतुको घमाइलो मौसम । भर्खरै नेपालीको महान् पर्व दसैँ सिद्धिएर अर्को उत्सवको चाड तिहार आउँदै गरेको । त्यसैले पनि घरघरै फूल फुलेर तिहार निम्त्याउँदै थियो । जङ्गलका पाखापखेरामा पनि अनेक बनेली फूलहरू फुलेर मुस्कान पस्किरहेका । बाटोमा भेटिने जति सबै उत्साहले पदयात्राको मजा लिइरहेका । उत्साहले रमाउँदै, हाँस्दै, हँसाउँदै हिँडिरहेका भेटिन्थे यात्रीहरू सबै ।

कहिल्यै नभेटिएका, कहिल्यै नबोलिएका र यसअघि कहीँकतै नदेखिएका यात्रीहरूको सप्रेम भेट एउटा सुखद संयोग थियो यात्रामा । जो जहाँका भए पनि एउटै गन्तव्य भएपछि चिनाजानीले स्वतः नजिक्याउने रहेछ । मित्रताको ‘जुम्याहा हात’ स्वतः उठ्ने रहेछ ।

यस्तोमा पराइपनको आभास र ‘को हो, को हो’ को प्रश्न र शङ्का तथा ‘जोसुकै होस्’ को बेवास्ता पूर्णतः गायब हुँदोरहेछ । धेरै पुरानो र पहिलेकै मित्र–मिलन जस्तै हार्दिकताको ‘हस्त–मिलन’ स्वतः हुने । हरेक भेटमा ‘दन्तमोहनी’ मुस्कानको प्रफुस्टन आफैँ हुँदोरहेछ । 

विदेशीहरू मुस्कानसहित नेपाली भेट्दा अलि अनौठो उच्चारणमा ‘नमस्ते !’ भनिरहेका हुन्थे । हर्षको मिठास, खुसीको प्रभाव र हार्दिकताको आभास प्रत्येक यात्रीहरूसँगको जम्का भेटमा झल्किन्थ्यो । अनि पदयात्रा पाइलैपिच्छे बिरानो कहाँ बन्नु ! सबै आफन्त जस्ता । बाटो सधैँ हिँडिरहेको जस्तो । कसैलाई सोध्नुपर्दैन । बाटोले नै लैजाने रहेछ गन्तव्य । कसैसँग चिनारी गर्नैनपर्ने सबै चिरपरिचित जस्ता । 

सबैको एउटै गन्तव्य, एउटै लक्ष्य भएपछि सबै कुरा मिल्दोरहेछ । हिँडेका यात्री, मिलेका यात्री, भेटिएका यात्री, छुटिएका यात्री र देखिएका प्रकृति । अन्ततः यी सबैको प्रिय सम्झना सँगालेर हिँड्नुका आनन्द पनि बेग्लै आनन्दको हुने रहेछ ।

यति भएपछि यात्रा रमाइलो हुने नै भयो । एक्लै नियास्रिनु पर्दैन । एक्लैमा हजारौँ साथीको साथ र सङ्गत । मिठो बोली र व्यवहार । यसबाट पदयात्राको साँचो सौन्दर्य सार्वजनिक भइरहने रहेछ प्रत्येक पाइलैपिच्छे ।

पुग्नुको ताउँती एकातिर । आराम र आनन्दले हेर्नुको रमाइलो अर्कोतिर । हतार पनि छ गन्तव्य पुग्ने । फुर्सदले हेर्नुपर्नेछ, पहाड र प्रकृतिलाई । यिनैले मन भुल्याइरहेथ्यो । यिनैलाई आँखाले तनतनी पिएर प्यास बुझाइरहेथ्यो । हृदयको क्यानभासमा दृश्यहरू क्रमशः कलात्मक जीवन निर्माण गरिरहेथ्यो । भावनाका प्रवाह प्रवाहित भइरहेका थिए । अनुभूतिका अभिलेख अभिलिखित हुँदै थिए ।

विराट सुन्दरताको आयतनमा आँखाहरू यता दौडिन्थे । उता दौडिन व्यस्त थिए । भ्याइनभ्याई आँखालाई हेर्नुको अथाह परिवेशहरू । आँखाहरू उचाइको सौन्दर्यमा आनन्दले मज्जा लिइरहेका हुन्थे । यसकै लागि, यही प्राप्तिका निम्ति, यस्तै खुसी र सन्तुष्टि पाउन पैदल यात्रामा पर्यटक ओइरिएका थिए, व्यस्त बाटोघाटो । सबेरैदेखि रातिसम्म उत्तिकै चहलपहल ।

‘दिनभरि हिँडेर थाकेको ज्यान राति बास बस्न नपाइएला भन्ने कुनै डर हुन्न रहेछ । भोकै परिएला भन्ने चिन्ता पनि केही नहुने रहेछ । बरु साथमा नगद नारायणचाहिँ सुरक्षित गर्नुपर्ने रहेछ ।’ यात्रीहरू यस्तै कुरा गरेको सुनिन्थ्यो ।

‘यस्तो कठिनको बाटो दिनदिनै हिँड्न त कहाँ सकिन्छ र ! एक–दुई दिनसम्म भए ठिकै हो ।’ कतिपयले हिँड्न नसक्नुको कमजोरीभन्दा पनि धेरै दिन हिँड्नुपर्ने बाध्यता बताउँथे ।

‘पैसा मात्र भएर पनि कहाँ हुन्छ । बाटोमा सजिलै हिँड्न सक्नुप¥यो । हिँड्ने आत्मबल पनि चाहियो ।’ कोही यसो भन्थे ।

‘दुवै खुट्टा नभएका मान्छेले कतिचोटि यो बाटो हिँडिसके । सगरमाथाकै आरोहण गरेको सुनेको छैन ? हामी सार्सौदो खुट्टा भएकाहरूले पनि यस्तो हिम्मतहारा कुरा गर्न सुहाउँछ ?’ अर्काथरीको कुरा यस्तो सुनिन्थ्यो ।

हुन त पदयात्रीले वर्ष दिन अघिदेखि भ्रमण तयारीको खर्च र कार्यक्रम बनाइसकेका हुने रहेछ । केही कम यात्रीले मात्रै तुरुन्तै योजना बनाएर हिँड्ने गरेको भेटियो । पश्चिमी देशका यात्रीहरू घटीमा तीन महिना ‘टे«किङ टे«निङ’ नै गरेर आउँदा रहेछन् ।

त्यसैले यहाँका उकालो, ओरालो, ढुङ्गेबाटोको कठिन यात्रामा पनि उनीहरूले सहजै पाइला सार्न सकेको हुँदोरहेछ । अरू त अरू कहाँ बस्ने, कति होटल छन्, के के पाइन्छ, कति मूल्य पर्छ ? आदि सारा कुराको पूर्वजानकारी उनीहरूसँग हुने रहेछ ।

बानी नहुनेहरू, बाटोमा हिँड्न अभ्यस्त नभएकाहरूलाई पहाड छिचोल्नु महाभारत हुनु पनि स्वाभाविक हो । किनभने एक–दुई दिनको पदयात्रा होइन यो । एक हप्ताभन्दा बढी हिँडेपछि हिँडेको हिँड्यै लगातार । यसका लागि वास्तवमा आत्मबल र साहस पनि चाहियो । पैसा मात्र भएर भएन । शरीरले नै सकेन भने पैसाले हिँडाएर हिमालमा पु¥याउन सक्दैन ।

ओरालो होस् या उकालो हतारिएर छिटो हिँड्नु हुन्न रहेछ । स्थानीय वातावरणलाई शरीरमा अनुकूल पार्दै आफ्नो स्वास्थ्यको ख्याल गर्दै हिँड्नु ठुलो कुरा हुने रहेछ । यो कुरा धेरै आवश्यक र यसमा ध्यान दिनु अति जरुरी हुने रहेछ । त्यसैले पदयात्रीहरू दिउँसै बास बस्ने र भरसक एक दिन आराम गर्दै स्थानीय तापक्रम आफूसँग मिलाएर हिँड्दा रहेछन् ।

IMG_20231104_095014

पहाडलाई उछिनेर अलिकति उचो भएर झलमल्ल आमादब्लमले चियाइरहेको देखिन्थ्यो । अलि पर सगरमाथाको टुप्पोले पनि नियालिरहेको हुन्थ्यो । अरू सहायक सर्वोच्च चुचुराहरूले झल्याक्कझुलुक्क आफ्नो शिर ठड्याइरहेका थिए ।

तल बेँसीमा दूधकोसी नदी । पारि हरियो वनमाथि तेङ्बोचे देखिन्थ्यो । ग्यास सिलिन्डर बोकेर घोडा र चौँरीका हुल ओरालो झरिरहेका भेटिन्थे । कोकफ्यान्टा, चाउचाउका भारीमा मरितरी भरिया ओरालिरहेकाहरू । पर्यटक र पथ प्रदर्शकहरूका पिठ्युँमा पनि भारीको गह्रुङ्गो बोझ छँदै थियो ।

यात्रामा खालि काँध र पिठ्युँ कसैको थिएन । अझ हातमा लट्ठी प्रायःले टेकेका थिए । नेपालका सबैजसो दुर्गम हिमाली पदमार्गमा देखिने सामान्य दृश्य यही हो, यस्तै हो खास तस्बिर ।

क्याङ्जुमाबाट ओरालो झर्दै गर्दा पारि हिमालका दृश्य निकै रमाइलो । तेर्सो बाटो, फेरि ओरालो, फेरि त्यस्तै तेर्सो । कतै बोट–वनस्पति केही नभएको पाखो । कतै झुरुप्प जङ्गल । माथि विशाल पर्वतकै स्वरूपमा चट्टान  । घरै होटल, होटलै घर । लज र क्याफे । सफा त्यस्तै, मिजास उस्तै ।

सनासा हुँदै लैसासामा कस्तो मिलेका छिमेकीहरू । दोलखाका शेर्पा र नेवार लज त्यहीँ । रामेछापका मगरको पसल, सोलु, सल्लेरीका कुलुङ राईको होटल, ओखलढुङ्गाका क्षेत्रीको लज पनि त्यहाँ मिलेर घर–परिवार चलाएका र मिलेर व्यवसाय गर्दै आइरहेका । आफूहरू पनि मिलेका । आउने पाहुनाहरूलाई पनि सेवा दिँदै आएका । त्यसैले मिलेका छिमेकी र हिँडेका पैदल यात्री छ्यास्छ्यास्ती त्यहाँ भेटिन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप