शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कथा

मलामीको अनिकाल

शनिबार, १३ माघ २०८०, ०८ : ५३
शनिबार, १३ माघ २०८०

‘अब सकिँदैन हो योभन्दा बढी पोल्न । आऽऽ फालिदिउँ । अब बुढा चिन्न नसकिने भइहाले,’ रणवीर साहिँला वैद्यबाको पुतपुताउँदै गरेको चिताको राग नजिकैबाट चिच्याउँछन् । 

‘हैन काँ त्यसो भनेर हुन्छ ? सकाउनुपर्छ । नत्र बुढाले पछि सताउँछन्,’ माझघरे थरीकान्छा मान्दैनन् । 

‘दाउरै सकियो त के गर्ने ए थरीकान्छा ? देखेनौ सेरा डाँडामा डुब्न लागेका घामलाई ? को बस्छ रातिसम्म ? तिमी चुप लाग । म फुत्त पारिदिन्छु, निलिहाल्छ बुढीगण्डकीले । अरु परै छन् देख्दैनन् । टन्टै साफ् ।’ लासलाई ठोक्दै गरेको हरियो बाँसले उधिनेर वैद्यबाको झन्डै एकतिहाइ शरीरलाई फुत्त नदीमा हेलिदिए रणवीरले । छोराहरूको टाउको मुण्डन गरेर मलामीहरू घरतिर लाग्छन् । 

‘हरे ! के आयो होला जमाना ।’ सुस्केरा हाल्दै कम्मर समाउँदै चुपचाप अगाडि बढिरहेको करिब एक दर्जन मलामीको साथमा रहेका मुखिया जेठा आत्मालाप गर्दै छन् । ‘कुनै बेला रहरलाग्दा पनि लास काँध हाल्न मलामीहरू तँछाडमछाड गर्नुपथ्र्यो । आज गाउँकै खम्बाको मलामी जम्मा ११ जना, उनकै कान्छा भाइ र दुई छोरासहित । राम राम ! हाम्रो पालामा के होला ए ! घरबाट घिसार्ने मान्छे पनि हुँदैन होला । गाउँमा सबै सकिँदै गएका छन् ।’ उनलाई साह्रै नमिठो लाग्छ । 

‘दाउरै सकियो त के गर्ने ए थरीकान्छा ? देखेनौ सेरा डाँडामा डुब्न लागेका घामलाई ? को बस्छ रातिसम्म ? तिमी चुप लाग । म फुत्त पारिदिन्छु, निलिहाल्छ बुढीगण्डकीले । अरु परै छन् देख्दैनन् । टन्टै साफ् ।’

लमतन्न परेको धोती भुइँमा तन्काएर सुकाएजस्तो लामो राम्चे गाउँ, जहाँ एक सय २० घरधुरी तलदेखि माथिसम्म भिरालो–भिरालो पाखामा लहरै थिए । वरपर अरु छिमेकी गाउँ माझखर्क, हिलेबेसी र पिपलडाँडाले तीनपट्टिबाट छेकेका थिए भने पूर्वपट्टि पूरै जङ्गलको पहाड थियो । विशेष गरेर राम्चे गाउँमा तीनै छिमेकी गाउँका मान्छेको बाक्लै आउजाउ हुन्थ्यो । गाउँको बिचमा पर्ने ठूलो पाटोको माथिपट्टि वैद्यबाको घर थियो । उनकै करेसाबाट तीनै गाउँका मान्छेहरू पूर्वपट्टिको जंगल जान्थे, घाँस–दाउरा गर्थे, वस्तुभाउ चराउँथे । त्यसै कारणले पनि छिमेकी गाउँका मान्छेलाई उनको घर परिचित थियो । देखे भेटेसम्मका केटाकेटी, तरुण तन्नेरी, बुढापाका सबैलाई मिठो बोलीले बोलाउँथे वैद्यबाले । चार गाउँका मान्छे उनलाई नचिन्ने कमै थिए होलान् ।

मुखिया जेठा सोचमग्न छन्, उनको दिमागमा पुराना यादका रिल घुमिरहेका छन् । उनी सम्झन्छन्, वैद्यबाको जन्तीको लस्कर । उनी मात्रै सात वर्षका थिए, वैद्यबाको जन्ती जाँदा । चार गाउँका भएभरका सबै लोग्ने मानिस उनको जन्तीमा सामेल थिए । दुलाहाको कार्पेस र बाजा टोली अगाडि थियो, मुखिया जेठा पछाडि । उनलाई याद छ, त्यो लावालस्करको पछाडि बाजा बजाएको सुन्न मुस्किल थियो । भोलिपल्ट बहुभतेरमा यति मानिस भेला भए, सायद त्यसअघि र पछि त्यो गाउँमा कहिल्यै त्यत्तिका मानिस भेला भएनन् र हुँदैनन् होला । दुइटा बडेमानका राँगो, चारवटा खसी, तीनवटा बोका र दश ड्रम लोकल रक्सी सर्लक्कै सकिएको थियो । भोज र नाचगान आधा रातसम्म चलेको थियो । गाउँका सबै मानिस चकित र पुलकित थिए । 

गाउँमा हुने जमघट र रमाइला दिनहरू मुखिया जेठालाई कण्ठ छ । दसैँमा रोटेपिङ, लिङ्गेपिङमा जम्मा हुने गाउँका केटाकेटी र तरुनी–तन्नेरीका चचहुईका ध्वनि अझै पनि उनको कानमा गुञ्जिरहन्छन् । पूर्णिमाको रातमा हुने रमाइलोको के कुरा गर्नु ? तिहारको जमघट उस्तै । गाउँका मै हुँ भन्नेहरूको हैसियत नाप्ने खेल बन्थ्यो, वैद्यबाको आँगनमा खेलिने कौडा । त्यो खेल हेर्न एउटा मेला नै लाग्थ्यो । 

कुनै बेला एक सय २० घरधुरी भएको गाउँ, अहिले जम्मा १५ घरमा सीमित छ । कुनै बेला ६–७ सय मानिसले भरिएको राम्चे गाउँलाई हाल मुस्किलले ५० जनाले धानेर बसेका छन् ।

माघेसङ्क्रान्तिमा त्यो ठूलो पाटोमा खेलिने गिर र डण्डीबियोले सारा तन्नेरीलाई जोडेको थियो । श्रीपञ्चमीका दिन गाउँको शिरमा वैद्यबाका हजुबुबाले बनाएको आलमदेवीको दिनभरि पूजा–आराधना र रातभर जात्रा लाग्थ्यो । वैद्य परिवारको मुख्य देवी मानिने आलमदेवी र ज्ञानकी देवी सरस्वतीलाई इष्टदेवी मानेर गाउँको शिर स्थानमा राखिएको थियो । वैद्यबा आलमदेवीका भक्त थिए । उनी भन्थे, ‘मेरो यो वैद्यको ज्ञान र सीप उनै आलमदेवी र मेरा पिताजीको कृपा हो । त्यसैले यी दुई देवी र पितृ मेरा आत्मा हुन् ।’ 

वैद्यबा नाम मात्रैका वैद्यबा थिएनन्, दुःख–बिमारका ज्ञाता थिए । सधैँ आधा दिन उनले बिरामी हेर्न, निदान गर्न, औषधि बनाउन र जडीबुटी खोज्नमै बिताउँथे । वैद्यबा गाउँका डाक्टर थिए । बेलुकीपख उनी सबैको घर–घरमा पुग्थे, बाधा–अप्ठेरा बुझ्थे । हरेक मामलामा सरसल्लाह दिन्थे, परेको सहयोग गर्थे । वैद्यबा सबैलाई सिकाउने, बुझाउने, सम्झाउने मास्टर थिए । बिहेबारी गराउने लमी पनि थिए । चाहिनेलाई सरसहयोग, सापटी र ऋण दिने गाउँलेका बैंक थिए । सबै गाउँलेका शुभचिन्तक थिए । समग्रमा राम्चे गाउँका मियो थिए वैद्यबा ।

असल नेतृत्वका असल अनुयायी हुन्छन् भनेझैँ राम्चे गाउँका सबै मानिस असल र इमानदार थिए । झन्डै ६–७ सय जनसंख्या भएको गाउँमा झै–झगडा बिरलै हुन्थ्यो । भइहाले पनि वैद्यबाले हप्काउँछन्, रिसाउँछन् भनेर त्यसै थामपुर हुन्थ्यो । गाउँमा कुनै ठुलो काण्ड परेको, कचहरी बसेको, पञ्चभेला भएको याद छैन, त्यही गाउँमा जन्मेर आठ दशक पार गरेका मुखिया जेठालाई । बरु उनी झलझली सम्झन्छन्, ती गाउँलेका मेलमिलाप, भारोपर्म, एैँचोपैँचो, एउटालाई पर्दा छरछिमेक मिलेर गर्ने सहयोग । जसको घरमा दुःख–बिमार पर्दा पनि वैद्यबा अग्रसर हुन्थे । मन खोलेर सहयोग गर्थे । त्यो देखेर सबै गाउँले नतमस्तक हुन्थे । सकेको सरसहयोग गर्न हिचकिचाउँदैनथे । सबै चाडपर्वमा सबैले रमाएर मनाउन पाउनुपर्छ भनेर ख्याल गरिन्थ्यो । हरेक वर्ष तिहारमा देउसी–भैलो खेलेर जम्मा भएको रकम र अन्नपात सङ्कलन गरेर राखिन्थ्यो । वैद्यबाले त्यसका लागि छुट्टै ढुकुटीघर बनाएका थिए । जसको घरमा बिहे, भोजभतेर हुन्छ यदि ऊ अलि कमजोर छ भने उसलाई त्यही भण्डारबाट सहयोग गरिन्थ्यो । कोही दुःख–बिमार हुँदा, टाढा अस्पताल लैजानुपर्दा त्यही ढुकुटीको प्रयोग गरिन्थ्यो । कुनै प्राकृतिक विपत्ति, कसैको बढी हानि–नोक्सानी हुँदा त्यो ढुकुटी घरको ठूलो भूमिका रहन्थ्यो । एउटी महिलाले तीनवटासम्म बच्चा जन्माउँदा छरछिमेकीले चामल, घिउ, भाले आदि तोकिएको सहयोग गर्नुपर्ने नियम थियो ।

वैद्यबा शिक्षा र राजनीतिमा पनि चासो राख्थे । राणाकाल थोरै बेहोरेका वैद्यबाले पञ्चायत पूरै भोगेका थिए । उनी प्रजातन्त्र नै समाजका लागि उत्तम व्यवस्था हो भन्ने गर्थे, तर जीवनको उत्तराद्र्धमा उनले बेहोरेका परिस्थितिले उनलाई उक्त व्यवस्थाप्रति पनि वितृष्णा थियो । 

सबैका छोराछोरी अनिवार्य विद्यालय पठाउन उनले लगाम नै लगाउँथे । हरेक बच्चा विद्यालय पठाएका छन् कि छैनन् भनेर बेलाबेला दिउँसो गाउँ चहार्थे । कुनै बच्चा घरमा, खेतमा, बारीमा देखेमा तुरुन्तै कारण बुझी विद्यालय पठाउन व्यवस्था मिलाउँथे । विद्यालय जाने उमेर नाघेकाका लागि राज्यले केही वर्ष प्रौढ कक्षा चलाउने व्यवस्था गरेको थियो, तर वैद्यबाले त्यसलाई गाउँकै खर्चमा धेरै वर्षसम्म चलाए । कुनै बेला दुई–चारजना मात्र कर्मकाण्ड पढेका मानिस भेटिने गाउँमा सबै साक्षर बनेका थिए । 

गाउँको आलमदेवी विद्यालय स्थापना गर्न र पछि १२ कक्षासम्म बढाउन उनै वैद्य परिवारको ठूलो योगदान छ । राम्रै उब्जाउ हुने पाँच रोपनी जग्गा दिएर विद्यालय बढाएका थिए कक्षा १२ सम्म । त्यसपछिको शिक्षा लिन गाउँ छाड्नुपर्ने थियो, तर पनि वैद्यबाले हरेक तन्नेरीलाई क्याम्पस पढ्नुपर्छ भनेर सल्लाह दिन्थे, परेको र सकेको सहयोग गर्थे ।

आज गाउँकै खम्बाको मलामी जम्मा ११ जना, उनकै कान्छा भाइ र दुई छोरासहित । राम राम ! हाम्रो पालामा के होला ए ! घरबाट घिसार्ने मान्छे पनि हुँदैन होला । गाउँमा सबै सकिँदै गएका छन् ।’

राम्चे डाँडा फेदीमै बग्ने बुढीगण्डकीमा धेरै पानी बग्यो । समय त्यसैगरी बगिरह्यो । देशमा अनेकन् राजनीतिक परिवर्तन भए । देश–विदेशका अनेकन् प्रभाव व्यक्ति–व्यक्तिमा देखिन थाले । विश्व नै साँगुरो बन्दै जान थाल्यो । विश्वव्यापीकरण तीव्र रूपमा फैलियो । जसको प्रत्यक्ष प्रभाव राम्चे गाउँमा पनि पर्दै गयो । दुई दशकअगाडि छिटफुट गाउँका मान्छे विदेश जान्थे । बिस्तारै–बिस्तारै देशको परिस्थिति पनि ओरालो लाग्यो । केही गरौँ भन्ने युवाले यहाँ सम्भावना देख्न छाडे । क्रमशः विदेश जाने लहर बढ्दै गयो । विगत पाँच वर्षयता त घरघर रित्तिन थाल्यो । अलिक पहिले बिदेसिएकाले सदरमुकाम, राजधानी त कतिले विदेशमै बसाइँ सरे । २०७२ सालको विनाशकारी भूकम्पपछि गाउँ झनै तहसनहस भयो । त्यसैको निहुँमा थुप्रै मानिस सदरमुकाम झरे । देशकै राष्ट्रिय गौरवको आयोजना भनिएको तर कहिल्यै नबन्ला जस्तो लाग्ने बुढीगण्डकी जलविद्युत् आयोजनाको निहुँमा राज्यबाट थुप्रैले मुआब्जा पाए, त्यसपछि झन् गाउँ रित्तियो ।

मुखिया जेठा टोलाउँदै सम्झन्छन्— वैद्यबाका दुई छोरा र मेरा तीन छोरा असाध्यै मिल्थे । आफ्नै दाजुभाइजस्तो व्यवहार गर्थे । एउटै उमेरका दौँतरी थिए । हाम्रो इच्छा नहुँदानहुँदै पनि परिस्थितिले उनीहरू सबै युरोप, अस्ट्रेलिया, जापान, अमेरिका गए, उतै रमाए । हामीलाई पनि उतै बोलाइरहेका छन् । छोराहरूले घुम्न मात्र आउनुस् न बुवा भन्दा वैद्यबा जान मानेनन् । जेसुकै होस्, म आफ्नो जन्मभूमि छाड्दिनँ भनी जिद्दी गरे । म उनको साह्रै मिल्ने भाइसाथी थिएँ । मैले पनि उनले जस्तै जिद्दी गरेरै अहिलेसम्म आफ्नै गाउँमा बसिरहेको छु, तर अब म एक्लो भएको छु । हरेक दिन बिहान–बेलुका वैद्यबासँगै बसेर चुरोट–बिँडी खाँदा, चिया पिउँदा, दुःखसुख साटासाट गर्दा मलाई निकै आनन्द महसुस हुन्थ्यो । हरेक दिन भेट हुँदा पनि कहिले उज्यालो होला र उनीकहाँ जाउँला जस्तो हुन्थ्यो । उनी सँगसँगै हुँदा एउटा प्रेमी र प्रियसी जसरी हामी गफिन्थ्यौँ, रमाउँथ्यौँ, भलाकुसारी गथ्र्यौं, तर अब मलाई भोलिदेखि साँझ र बिहान नभइदिए हुन्थ्यो जस्तो हुने भयो । 

कुनै बेला एक सय २० घरधुरी भएको गाउँ, अहिले जम्मा १५ घरमा सीमित छ । कुनै बेला ६–७ सय मानिसले भरिएको राम्चे गाउँलाई हाल मुस्किलले ५० जनाले धानेर बसेका छन् । अधिकांश वृद्ध, महिला, अशक्त र रोगीहरूको गाउँ बन्न पुगेको छ । विद्यार्थी अभावले गाउँको विद्यालयलाई अर्को गाउँको विद्यालयमा गाभिएको छ । गाउँमा तन्नेरी, केटाकेटी, जवान नगन्य मात्रामा छन् । कि त वैद्यबा र मुखिया जेठाजस्ता गाउँलाई माया गर्नेले गाउँ छाडेनन् कि त गाउँ छाडेर जाने हैसियत नभएकाले छाडेका छैनन् । मान्छे मरिहाले कस्तो अवस्था आउँछ भन्ने मुखिया जेठालाई राम्ररी थाहा छ । बिमार हुँदा अस्पताल लान परै जाओस्, विदेशमा भएका छोराछोरीलाई कुरेर तीन दिनसम्म वैद्यबाको लास घरमा राख्नुपरेको पीडा ताजै छ । भोगेका पीडा र अबका दिनमा आइपर्ने झमेला सम्झेर मुखिया जेठालाई एक दिन एक रात वर्षौंजस्तो लागेको छ । कैयौँपटक वैद्यबा र मुखिया जेठाले गाउँको परिस्थिति विश्लेषण गरेको, देश र विश्वको पनि चित्रण गरकोे झलझली याद आयो । 

आत्मालापमै रात बितेको मुखिया जेठालाई पत्तै भएन । बुङ्कोट घाटसम्मको दोहोरो यात्रा अनि रातभरिको अनिदो ज्यान लट्ठ थियो । प्रियसी समानको छिमेकी, गाउँकै मियो वैद्यबा गुमाउनुपर्दाको पीडाले निकै बोझिलो शरीर सदाझैँ सजिलै उठ्न सकिरहेको थिएन । अनिद्राकै बाबजुद उनले आँखा खोले । माथि डाँडामा आमलदेवी मन्दिरको गजुर निकै परबाट आएको बिहानी प्रभाले चम्किँदै थियो । पूर्वपट्टिको हरियो जङ्गलका पात बिहानीका किरणमा निमग्न नुहाइरहेका थिए । उनकै आँगनीको डिलमा लटरम्म फुलेका पारिजातका चम्किला फूलहरूको सम्मोहक बास्नाले मुखिया जेठाका सारा शरीरमा स्फूर्ति बढ्दै गयो । ‘सबै निस्पट्ट रातलाई चिरेर बिस्तारै उज्यालो छर्न सूर्यलाई समय लाग्छ नि । उसले चाहेरै पनि निमेषभरमा सक्तैन नि ।’ वैद्यबाको कुरो सम्झँदै राम्चेको शिर माथि उक्लँदै गरेको घामलाई पुलुक्क हेरेर जुरुक्क उठे मुखिया जेठा । गाउँकै बिचमा रहेको आफ्नो घरको पूर्वपट्टिको बार्दलीमा उभिएर तलदेखि माथिसम्म निकैबेर नियाले ।

ढपक्कै ढाकेको सुगारङ्गी वन–पाखा र लहलह झुलिरहेका अनेक फसल केही फुल्दै र केही फल्दै थिए । उत्तरतिर लहरै उभिएका हिमाल लोभलाग्दो मुस्कान छाडेर अथक पहरा गर्दै थिए । मुखिया जेठालाई लाग्यो कि शीत, ताप, कडा घामको पीर नगरी यी हिमाल सधैँ यही माटोको पहरा गरिरहेका छन् । आफैँ पग्लिएर अनन्त जीव जनावरका प्राण सञ्चार गर्ने जलराशि बहाइरहेका छन् । नजाने कुन युगदेखि उभिएर यसले हामीलाई मानौँ खबरदारी गरिरहेछ— ए नथाक् । तँ थाक्न पाउँदैनस् । समय फेरिन्छ । दिनपछि रात र रात पछि दिन भइरहेछ । यी सत्तल, पाटी, पौवा र वनपाखामा गुञ्जने सुसेली पुनरावृत्त हुने नै छन् । धैर्य गर् बुढा, धैर्य गर् । अब गाउँको आडभरोसाको रूपमा तैँ त बाँकी छस् । सम्हाल् आफूलाई र सान्त्वना दे वैद्यबाका परिवारजनलाई । 

मौनतामै हिमालबाट, टाढाबाट चिसो हावाको एक झोँक्का उड्दै आएर उनको शरीरमा ठोक्कियो । उनको शरीरमा अनौठो शक्ति र स्फूर्तिको सञ्चार भयो । अन्तश्चेतनामा उनले फेरि नौजवान उमेरको ताजगी पाए । जीवनमा फर्किएको ताजगीजस्तै गाउँमा फर्कने प्रभाविलो उन्नयनका लागि आफू र आफैँबाट आरम्भ गर्नुपर्छ । हो, आफैँबाट आरम्भ गर्नुपर्छ । उनको मनोविज्ञानमा चेतको उज्यालो ब्युँझियो । आफूमा ब्युँझिएको चेतको आलोक अब गाउँका गोठ–कटेरा, गल्ली र चोकहरूमा पुर्‍याउनुपर्छ । जन्मदै गरेका शिशुको च्याहाँच्याहाँ गर्ने, आबाल, वृद्ध, वनिताको छातीका धड्कनहरूमा पनि यही उज्यालो छर्नुपर्छ । हर समय देशका सीमा काटिरहेका युवाका दिल र दिमागमा भर्नुपर्छ भन्दै उनले वैद्यबाको घरतिर तेजसाथ आफ्नो पाइला फर्काए । यस्तो लाग्थ्यो कि उनको हिँडाइ अब पैतालाले मात्र थिएन । गाउँ र त्यसलाई ढाकिरहेको वियोगको कहर र पलायन भइरहने रहर मेट्नकै लागि थियो सायद ।

(कथाकार अधिकारी नीलकण्ठ बहुमुखी क्याम्पस धादिङमा उप–प्राध्यापक छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवीप्रसाद अधिकारी
देवीप्रसाद अधिकारी
लेखकबाट थप