बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महिला किन बढी चिढिन्छन्, रोकथाम के ?

शनिबार, १३ माघ २०८०, १४ : ११
शनिबार, १३ माघ २०८०

त्रास, विश्रामको कमी र मांसपेसीमा आइपर्ने समस्याका कारण विश्वमै पुरुषका तुलनामा महिला बढी रिसाहा हुने अनुसन्धानले देखाएका छन् । 

क्याम्ब्रिज विश्व विद्यालयले गरेको एक अध्ययनको निष्कर्ष भन्छ– पुरुषका तुलनामा महिलाको मस्तिष्कमा उत्पन्न हुने रसायन र हर्मोनले उनीहरूलाई रिसाहा बनाउँछ । महिलाको शरीरमा उक्त रसायन सन्तान उत्पादन गर्ने प्रक्रियाले उत्पन्न गर्छ । निरन्तर रूपमा नकारात्मक सोच उत्पन्न हुने क्रम बढेपछि महिलाहरू रिसाहा बन्छन् । आफ्नो बानीमा आएको परिवर्तनबारे महिला अनभिज्ञ हुने अध्ययनले देखाएका छन् । 

यल विश्वविद्यालयमा एक हजार वयष्क महिलाबिच गरिएको अध्ययन अनुसार, नकारात्मक सोच राख्नेहरू कम नकारात्मक सोच राख्नेका तुलनामा चार गुणा बढी डिप्रेसनमा जान्छन् । नकारात्मक सोच राख्ने महिलाले बालबालिकामाथि समेत थप अत्याचार गर्छन् । अझ यौनहिंसामा परेका महिलामा उत्पन्न हुने नकारात्मक सोचले मस्तिष्कमा आवश्यक मात्रामा रगतको मात्रा पुग्दैन र उनीहरू थप नकारात्मक बन्छन् । 

क्याम्ब्रिजको अध्ययनअनुसार, जति विकसित मुलुक उति महिलाको सोचमा नकारात्मकता देखिएको छ । अध्ययनले उत्तर अमेरिका र पश्चिम युरोपका महिलामा सबैभन्दा बढी नकारात्मक सोच देखाएको थियो । यी देशका महिलामा सामाजिक चेतनाको भार बढी छ । हरेकपटक हुने बैठक वा अन्तक्र्रियामा सहकर्मीबाट आफूमाथि अक्षमताको बिल्ला भिडाइने हो कि भन्ने पेसागत दबाबमा उनीहरू हुन्छन् । यसबाट उनीहरू नकारात्मक सोचको सिकार बन्छन् । 

सन् १९८० देखि २००९ सम्म ४४ वटा देशमा गरिरका ८७ वटा अध्ययनको सूक्ष्म अध्ययन गरी पियर रिभ्युड जर्नल ‘पब मेड’ले निकालेको निष्कर्ष अनुसार, विकसित देश खासगरी पश्चिमा र एङ्लो कल्चरका महिलामा नकारात्मक सोचको वृद्धिदर १०.४ प्रतिशत देखिएको छ भने अफ्रिकी संस्कृतिका महिलामा ७.३ प्रतिशत मात्र देखिएको छ । 

जापानमा त्रासका कारण उत्पन्न हुने मनोदशालाई ‘ताइजिन क्योफुसो’ भनिन्छ । यस्तो धारणाबाट ग्रसितलाई आफू कुरूप पो छु कि भन्ने त्रास रहन्छ । बाटोमा कसैले राम्रै सोचले उनीहरूलाई हे¥यो भने पनि उनीहरू अत्तालिन्छन् । 

सानै उमेरदेखि मानिसमा उत्पन्न नकारात्मक सोच बिस्तारै वृद्धि हुँदै जाँदा डिप्रेसनमा परिणत हुन्छ । यस्तो अवस्थामा उपचार निकै कठिन पर्ने अध्ययनले देखाएका छन् । यस्ता मानिसमा आफूलाई घर–परिवारका सदस्यले बौलाहा त देखेनन् भन्ने त्रास बढ्छ । 

  • कसरी मुक्ति पाइन्छ ?

मनोचिकित्साबाट डिप्रेसनको उपचार हुन्छ, तर समय लाग्ने बताइन्छ । डिप्रेसन हुनुअघि तनावकै अवस्थामा भने उपचार सरल छ । प्राकृतिक पद्धतिबाट पनि तनावबाट मुक्ति मिल्छ । ती विभिन्न पद्धतिमध्ये ध्यान एक हो । जसका लागि एक पैसा पनि खर्चनुपर्दैन तर तनाव शतप्रतिशत कम हुन्छ । मात्र दिनमा सरदर १५ मिनेटको समय खर्चनुपर्छ । 

दैनिक रूपमा एउटा निश्चित समय निकाल्नुस्, सजिलो गरी बस्नुस् । पलेँटी मार्न सके ठिक छ, नत्र कुर्सीमा बसे पनि फरक पर्दैन । सुत्ने ओछ्यानमै बसे पनि हुन्छ । भरसक आफूले ध्यान गर्ने ठाउँमा अरुलाई बस्न नदिँदा उत्तम हुन्छ । 

सजिलोसँग बसेपछि दुई–चारपटक लामो सास लिनुस् र लामै सास छाड्नुस् । बिस्तारै आँखा बन्द गर्नुस् । अथवा, नाकको टुप्पोमा दृष्टि केन्द्रित गर्नुस् । जुन सजिलो हुन्छ, त्यही अभ्यास गर्नुहोला । 

अब सास फेर्ने क्रम जारी राख्नुस् । सास नाकबाट भित्र पस्दा नाकका रौँ हल्लिन्छन्, आवाज आउँछ, सास बिस्तारै फोक्सोमा पुग्छ । फोक्सो फुल्छ । बिस्तारै सास बाहिर जान्छ, फोक्सो खाली हुन्छ । यस्तै विषयमा ध्यान केन्द्रित गर्नुस् । 

दिमागमा धेरैवटा विचार एकैपटक आउँछन् । सन् २०२२ मा ‘नेचर जर्नल’ले गरेको अध्ययन अनुसार एक दिनमा हाम्रो दिमागमा कम्तीमा पनि ६ हजारवटा विचार आउँछन् । ध्यान गर्दा ध्यान दिनुपर्ने एउटै सत्य कुरो हो— विचारसँग नलड्नु । विचार आउँछ, आउन दिनुस्, त्यो आफैँ जान्छ र फेरि अर्को आउँछ, भरसक त्यसको पछि नलाग्नुस् । कथंकदाचित लागि हाले पनि जति बेला थाहा हुन्छ, तुरुन्तै श्वासमा ध्यान केन्द्रित गर्नुस् । बिस्तारै विचारहरूले तपाईंलाई दुःख दिन छाड्नेछन् र तपाईं ध्यानमा प्रवेश गर्न सक्नुहुनेछ । 

यो त भयो, ध्यान गर्ने सबैभन्दा सजिलो काइदा । अब चर्चा गरौँ, ध्यानले कसरी मानसिक शान्ति दिन्छ भन्नेबारे । 

अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका मस्तिष्क वैज्ञानिक डा. रोबर्ट सपोल्स्कीले सन् १९९४ मा एउटा पुस्तक लेखे— ‘ह्वाई जेब्राज डन्ट गेट अल्सर’ अर्थात् जेब्राहरूलाई किन अल्सर हुँदैन । उक्त पुस्तकमा उनले एउटा उदाहरण दिएका छन्, जुन ठ्याक्कै हामीसँग मिल्छ— अफिस पुग्नुअघि बीचमा एकैछिन साँझ–बिहान काम गर्ने पार्ट टाइम अफिसमा पस्छु । त्यहाँबाट  चेक लिएर बैंक गएर पैसा निकाल्छु । आजै घरभेटीलाई भाडा तिर्नुछ, नत्र घरभेटीले राति आएर टाउको खान्छ । यस्तै विचारसहित तपाईं जेब्रा क्रसिङको छेउमा पुग्दा रातो बत्ती बल्यो । त्यो अघिको बाइकले क्रस नगरेको भए तपाईं फुत्कनुहुन्थ्यो । बाइकवालालाई मुखै छाडेर गाली गर्नुभयो । तपाईंको टाउको त हलुका भयो तर बाइकवाला फतफताउँदै हुइँकियो । अगाडिको चोकमा अर्कोलाई ठक्कर दियो, दोष उसैको मात्र हो कि तपाईंको पनि ?

त्यो बाइकवाला किन त्यसरी अत्तालियो भन्नेबारे धेरैवटा अध्ययन भएका छन् । मनोवैज्ञानिकले पत्ता लगाए अनुसार, हाम्रो मस्तिष्कमा त्रास, संवेग आदिबारे जानकारी प्रदान गर्ने एउटा अङ्ग हुन्छ, त्यसको नाम हो— अमिगडला । यसको मुख्य काम हो— मानिसलाई जीवन घातक घटनाबारे जानकारी प्रदान गर्नू । ढुंगे युगमा मानिसहरू अरु मानिसबाट असुरक्षित हुन्थे । त्यस्तै, जंगली जनावरबाट त अझ त्रास थियो । त्यतिबेला अमिगडलाले मानिसलाई बचाउन ठूलो काम ग¥यो । 

अमिगडलाले मानिसको शरीरमा कर्टिसल नामक हर्मोनको बहाब बढाउँछ र मानिसको शरीर लडभिड गर्न तयार हुन्छ । यो क्रम बढीमा एक घन्टासम्म जारी रहन्छ । यसैले मानिसलाई बचायो र सन्तान, दरसन्तान हुँदै हामी आजको अवस्थामा आइपुग्यौँ । आज हामी ढुंगे युगमा जस्तो असुरक्षित छैनौँ, तैपनि हजारौँ वर्षको अन्तरालमा विकास भएको हाम्रो मस्तिष्कको भाग अमिगडलाले अझै पनि पुरानै शैलीमा काम गर्छ । सामान्य घटना (जस्तै ः आर्थिक संकट, पारिवारिक ठासठुस, परीक्षाको त्रास आदि)लाई पनि यसले ठूलै आतंकका रूपमा चित्रित गर्दछ र शरीरमा अनावश्यक हर्मोन निस्कन्छ । यो क्रम लामो समय जारी रहे शरीरमा नकारात्मक असर पर्दछ, हामी तनावमा फस्छौँ । 

यसको उपचारका विभिन्न तरिकामध्ये ध्यान नै सरल उपाय हो भन्ने कुरो विश्वका चारवटा नामुद विश्वविद्यालय (हाभर्ड, यल, मासुचुसेट्स र प्रिन्सटन)ले गरेका अध्ययनले पुष्टि गरेका छन् । ती विश्व विद्यालयले गरे वा गराएका अनुसन्धानबाट दैनिक मात्र १५ मिनेटका दरले नियमित रूपमा आठ हप्तासम्म ध्यान गरे तनाव ग्यारेन्टीका साथ घट्छ । 

जसरी तनाव उत्पन्न हुने क्रम महिलामा बढी हुन्छ, त्यसमा पनि गर्भवती वा सन्तान उत्पादनपछि महिलाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ, त्यसरी नै ध्यानले पनि सबैभन्दा पहिले उनीहरूलाई असर पार्छ भन्ने अध्ययनले देखाएका छन् । 

ध्यानले तनावका साथै चिडचिडाहट पनि हटाउँछ भने संवेगात्मक स्वास्थ्यमा सुधार गर्छ । ध्यानले चेतनाको विकास गर्नुका साथै कुनै पनि वस्तुमा ध्यान केन्द्रित गर्ने समय लम्ब्याउँछ । यसले मानिसलाई करुणामय बनाउँछ भने उमेरका कारण उत्पन्न हुने स्मरणशक्ति ह्रासमा कमी ल्याउँछ । निद्रा मस्त लाग्छ, नसा वा मादक पदार्थ उपभोगमा कमी आउँछ । शरीरमा पीडाको मात्रा घटाउन तथा रक्तचाप नियन्त्रणमा पनि ध्यानले सहयोग गर्छ ।

परिवार, समाज, कार्यालय वा साथी–संगतमा जो–कोही छिटै सन्किने वा स–सानाका कुरामा झगडा गर्ने, अरुलाई दुःख दिँदा रमाउने, अरुलाई घोँचपेच गरेर बोल्दा रमाइलो मान्ने, अनावश्यक रूपमा आरोप लगाउने, आवश्यकताभन्दा बढी तर्क गर्ने, स–साना विषयलाई पनि बढाएर आफू ठूलो हुँ भन्ने भान पार्ने, पशुपन्छीलाई पिट्ने वा दुःख दिएर मार्नेजस्ता व्यवहार देखाउने मानिस छन् भने यो मानसिक समस्या हो । यस्तो समस्या भएका मानिसलाई भेट्नुभयो भने कृपया थोरै समय निकालेर ध्यानको लाभबारे जानकारी दिनुहोला । याद गर्नुस्— तपाईंलाई मानसिक समस्या रहेछ नभन्नुहोला, अर्को तनावमा फस्नुहोला । यस्ता मानिस अन्जान हुन्छन् । यस्ता मानिसलाई ध्यानमा डोहो¥याइदिनुभो भने योभन्दा ठूलो धर्म वा समाजसेवा अरु केही छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप