बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
विश्व कुष्ठरोग दिवस

नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी, कुन प्रदेशमा कति ?

आइतबार, १४ माघ २०८०, ११ : २१
आइतबार, १४ माघ २०८०

काठमाडौँ । नेपालमा अघिल्लो आर्थिक वर्ष २५ सय जना बढीमा कुष्ठरोग देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको हो ।

नेपालमा आज (आइतबार) ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

गत आर्थिक वर्षको अन्त्यमा दुई हजार पाँच सय १० जना कुष्ठरोगी उपचाररत रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत वर्ष १४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । अर्थात् नयाँ बिरामीमध्ये ० देखि १४ वर्ष उमेरका ७ दशमलब १८ प्रतिशत बालबालिकामा सो रोग पुष्टि भएको हो ।

कुष्ठरोगका नयाँ बिरामीमध्ये एक हजार ४९ जना महिला रहेको माहाशाखाले जनाएको छ । अर्थात कुष्ठरोगका बिरामी संख्यामध्ये ४१ दशमलब ५१ प्रतिशत महिला छन् ।

गत वर्ष प्रति एक लाखमध्ये ८ दशमलब ५० जना नयाँ बिरामी पत्ता लागेको महाशाखाले जनाएको छ ।

कुन प्रदेशमा कुष्ठरोगका नयाँ बिरामी कति ?

कुष्ठरोगका नयाँ बिरामी कर्णाली प्रदेशमा सबैभन्दा कम फेला परेका छन् । सो प्रदेशमा ७३ जनामा मात्रै कुष्ठरोग पुष्टि भएको महाशाखाले जनाएको छ । देशभर फेला परेका कुष्ठरोगका नयाँ बिरामी २५ सय २२ मध्ये कर्णालीमा सबैभन्दा कम अर्थात् ३ प्रतिशत फेला परेका हुन् ।

महाशाखाका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी अर्थात् ९ सय ४४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । फेला परेका जम्मा बिरामी संख्यामध्ये ३७ प्रतिशत मधेसमा छन् ।

यस्तै, कोशी प्रदेशमा ४ सय ७१ जना अर्थात् नयाँ फेला परेका कुष्ठ रोगका बिरामीको १९ प्रतिशत हिस्सा पाइएको छ । यस्तै, नयाँ कुष्ठरोगीमध्ये बागमती र गण्डकी प्रदेशमा पाँच÷पाँच प्रतिशत छन् । बागमती प्रदेशमा १ सय २० जना र गण्डकी प्रदेशमा १ सय १९ जना नयाँ रोगी फेला परेका हुन् । लुम्बिनी प्रदेशमा ५ सय ६५ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जो देशभरका नयाँ रोगीको २२ प्रतिशत हो ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा २ सय ३० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । देशभरको नयाँ कुष्ठरोगीमध्ये यो ९ प्रतिशत हिस्सा हो ।

के हो कुष्ठरोग ?

कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्य सञ्चालन निर्देशिका २०७० अनुसार कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो, यो रोग माइक्रोब्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्दछ । यस रोगले छाला र सतहको स्नायूमा असर गर्दछ । यो रोगको समयमै उपचार नगर्दा अङ्गभङ्ग हुने गर्दछ ।

कुष्ठरोग प्राचिनकालदेखि नै मानव समाजमा परिचित हुँदै आए तापनि सन् १८७३ (वि.सं. १९३० मा नर्वेका डा. गेरहार्ड हेनरिक आमेर स्ह्यान्सनले यस रोगको किटाणु पत्ता लगाएका थिए । त्यसैले यस रोगलाई हयान्सन्स् डिजिजसमेत भन्ने गरिन्छ ।

किन लाग्छ कुष्ठरोग ?

कुष्ठरोगका रोग किटाणुबाट हुने अरु सरुवा रोगजस्तै रहेको निर्देशिकामा उल्लेख छ । मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरेपछि यदि त्यस मानिसमा कुष्ठरोगको किटाणु विरुद्धको प्रतिरोधात्मक शक्ति कमजोर भएमा साधारणतया २ देखि ५ वर्षभित्र यो रोगको प्रारम्भिक चिह्न अर्थात् लक्षण देखा पर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

कुष्ठरोग कसरी सर्छ ?

निर्देशिका अनुसार कुष्ठरोग मुख्यतया श्वास प्रश्वासको माध्यमबाट सर्दछ । धेरै किटाणु भएको र उपचार नलिएको बिरामीले श्वास फेर्दा वा हाछ्युँ गर्दा कुष्ठरोगका किटाणुहरु बिरामीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्दछन् ।

यो रोग हातखुट्टामा भएको घाउको पिपबाट बिरामीको दिसा पिसाबबाट र बिरामीले प्रयोग गरेको भाँडा वा कपडा पुनः प्रयोग गर्दा नसर्ने उल्लेख गरिएको छ । बिरामीलाई लामखुट्टे, उडुसले टोकेर पुनः स्वस्थ मानिसलाई टोक्दा वा यौन सम्पर्कबाट पनि यो रोग सर्दैन । त्यस्तै गर्भवती आमालाई रोग लागेको भएता पनि बच्चा पेटमा रहुन्जेल यो रोग सर्दैन अर्थात् बिरामी आमाबाट पनि बच्चा जन्मदा स्वस्थ नै हुन्छ ।

पछिल्लो तीन वर्षमा बढे कुष्ठरोगका बिरामी

नेपालमा पछिल्लो तीन वर्ष यता कुष्ठरोगका बिरामी बढेका छन् । महाशाखाका अनुसार गत वर्ष २ हजार ५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२१÷२०२२ मा २ हजार २ सय ८५ जनामा कुष्ठरोग देखिएको थियो । यस्तै, वर्ष २०२०÷२०२१ मा २ हजार १ सय ७३ जनामा कुष्ठरोग पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप