बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय
पशु स्वास्थ्य

२१ जिल्लाका पशुचौपाया खोरेत रोगबाट प्रभावित, के छ उपचार ?

सोमबार, २९ माघ २०८०, ०९ : २५
सोमबार, २९ माघ २०८०

काठमाडौँ । चालु आर्थिक वर्षमा २१ वटा जिल्लाका पशुचौपाया खोरेत रोग प्रभावित भएका छन् । भाइरसको संक्रमणका कारण पशुचौपायामा लाग्ने यो रोग आर्थिक वर्ष २०८०÷०८१ मा २१ जिल्लाका पशुमा देखिएको हो ।

खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा. कृष्णराज पाण्डेका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, ओखढुङ्गा, धादिङ, चितवन, कास्की, गोरखा, तनहुँ, नवलपुर, मोरङ, झापा लगायतका जिल्लामा यो रोग देखा परेको हो । उनका अनुसार जाडोमा खोरेत रोगको भाइरस बढी सक्रिय हुने भएकाले पुस र माघ महिनामा पशुचौपायामा यो रोग बढी देखिन्छ ।

‘सबै भाइरसमा लागु हुँदैन तर खोरेत रोगको भाइरस पुस, माघमा बढी फैलिएको पाइएको छ,’ डा. पाण्डेले भने, ‘गत वर्ष करिब ९ वटा जिल्लामा मात्रै यो रोग देखिएको थियो तर यो वर्ष २१ वटा जिल्लामा देखिएको छ ।’

खोरेत रोग प्रभावित जिल्लामध्ये कुनैमा पहिला नै देखिएको र कुनै नयाँ थपिएको उनले सुनाए । ‘हाल खोरेत रोग देखा परेको कुनै पुरानै क्षेत्र हो भने कुनैमा हालमात्रै यो रोग फेला परेको छ,’ उनले भने  ।

नोपलमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा खोरेत रोग प्रभावित क्षेत्र बढेको छ । ‘गत वर्ष ९ वटा जिल्लामा यो रोग देखिएको थियो,’ उनले भने, ‘यो वर्ष २१ जिल्लामा देखिएको छ, अघिल्लो वर्षमा झन् बढी ४५ जिल्लामा यो रोग देखिएको थियो ।’

बागमती र गण्डकी प्रदेशमा खोरेत रोगको बढी जोखिम रहेको डा. पाण्डेले बताए । ‘बागमती र गण्डकी प्रदेशमा मासुका लागि बढी पशु चौपाया ओसारपासार हुने भएकाले यो रोगको बढी जोखिम छ,’ उनी भन्छन्, ‘लुम्बिनी, कोशी र सुदूरपश्चिममा खोरेत रोगको जोखिम केही रहे पनि कर्णाली प्रदेशमा कम जोखिम छ ।’

  • के हो खोरेत रोग ?

खोरेत रोग गाई, भैँसी, बङ्गुर लगायत अन्य खुरफट्टा जनावरमा अत्यन्तै सानो ‘पिकोर्ना’ नामक भाइरसबाट लाग्छ । खोरेत रोग लागेको जनावरसँग सम्पर्क भएमा वा दूषित दाना, पानी र हावाको माध्यमबाट यो रोग महामारीको रूपमा फैलने डा.पाण्डेले बताए ।

रोगको असर लामो समयसम्म रहन सक्ने उनको भनाइ छ । उनका अनुसार बाच्छाबाच्छी, पाडापाडी र बङ्गुरका पाठापाठीहरु खोरेत रोग लागेमा मर्ने सम्भावना बढी हुने गर्दछ ।

  • खोरेत रोगको लक्षण

डा. पाण्डेका अनुसार पशुचौपायालाई ज्वरो आउने, र्‍याल चुहाउने, खुट्टा खोच्याउने, दुधालु गाई, भैँसीको दुध उत्पादन घट्ने गर्दछ । मुख र खुरको कापको साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको साना साना फोका देखिने हुन्छ । यस्तै, ब्याउने पशुहरू तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठी मर्न सक्दछन् ।

  • कसरी सर्छ रोग ?

खोरेत रोग फैलने मुख्य कारण रोगी वा रोगाणुबाहक जनावरको आवतजावत हो । नेपालमा खासगरी गाई, भैँसी, खसीबोका, राँगो, गोरु र बङ्गुरको अनियन्त्रित ओसारपसार, सामूहिक र घुम्ती चरन पद्धतिको कारण पशुको सम्पर्क बढ्नाले रोग फैलाउन मद्दत पुग्ने गरेको पाइएको डा. पाण्डेले बताए ।

यस्तै, कृषक, भेटेरिनरियन तथा पशु प्राविधिकहरु खोरेत रोग फैलिएको एक गोठमा भएको पशुसँगको सम्पर्कपछि अर्को गोठमा जाँदा जनावरसँगको सम्पर्कबाट पनि फैलन सक्ने उनले सुनाए ।

भेंडा, बाख्रामा खोरेत रोग लागेको गाई, भैंसीमा जस्तै स्पष्ट थाहा हुने लक्षण देखा नपरे पनि ओसारपसार गर्दा, नयाँ ठाउँमा लैजाँदा खासगरी गाई, भैँसी र बङ्गुरमा रोग सार्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको पाइएको उनको भनाइ छ । खोरेत रोगको स्पष्ट लक्षण देखा पर्नुभन्दा २ दिन अगाडिको दुधमा खोरेत भाइरस पाइन सक्ने र काँचो दुधको ओसारपसारबाट पनि रोग फैलन सक्ने उनले जनाए ।

  • एक पटक रोग लागेका पशुचौपायामध्ये ५० प्रतिशतमा लामो समय रहन्छन् भाइरस

खोरेत रोग लागेको जनावरहरु सामान्यतया नमर्ने र १—२ हप्ताभित्रै बिरामी जनावरको स्वास्थ्य स्थिति सुधार भइ रोगमुक्त भएको जस्तो देखिए पनि लामो समयसम्म त्यस्ता जनावरहरुले खोरेत विषाणु भाइरस बोकी हिँड्ने र रोग सार्ने डा. पाण्डेले बताए ।

खोरेत रोग लागेका झण्डै ५० प्रतिशत पशु चौपायाले रोगको भाइरस लामो समयसम्म आफ्नो शरीरमा पाल्ने गर्दछन् र यस्ता जनावर नयाँ क्षेत्रमा पुग्दा अन्य जनावरलाई खोरेत रोग सार्न सक्ने डा. पाण्डे बताउँछन् ।

khoret

  • खोरेत रोग लागे कसरी उपचार गर्ने ?

पशुचौपायाको मुखमा आएको घाउलाई फिटकिरी पानीले सफा गर्ने, खुट्टाको घाउमा पोटास पानी वा डिटोल वा १० प्रतिशत कपर सल्फेटको झोलले सफा गर्ने र कुनै मलम औषधि लगाउन पाण्डेले सुझाएका छन् ।

त्यस्ता पशुचौपायालाई सुक्खा ठाउँमा राखी उपचार गर्न र प्राविधिकको सहयोग लिन पनि उनले सुझाए ।

खोरेत रोग कसरी रोकथाम गर्न सकिन्छ ?

खोरेत रोग भाइरसका कारणले लाग्ने भएकाले यो रोग रोगथाम गर्न पशुचौपायामा खोप लगाउनु पर्ने डा. पाण्डे बताउँछन् । ‘रोग लागेको पशुको ओसारपसार नगर्ने, संक्रमण भएको क्षेत्र वरपर रहेका स्वस्थ पशुहरुलाई खोप लगाउनु पर्छ,’ उनले भने, ‘निरोगी पशुलाई ६÷६ महिनामा खोरेत रोगकोे एफ.एम.डी. भ्याक्सिन लगाउनु पर्दछ ।’

यस्तै, गोठलाई सफा राख्ने र पशुलाई सकेसम्म बँधुवा गरी पाल्ने, रोगबाट मरेकोलाई पनि गहिरो खाल्डोमा पुर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप