शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी विधान सम्मेलन र विधान निर्माणका सवाल

सोमबार, २९ माघ २०८०, १२ : २२
सोमबार, २९ माघ २०८०

आसन्न फागुन १, २ र ३ गते नेकपा माओवादी केन्द्रले विधान सम्मेलन आयोजना गरेको छ । अहिलेसम्म विधान केवल राष्ट्रिय स्तरका शीर्षस्थ कार्यक्रमहरूको औपचारिकतामै सीमित रहेको र विधान निर्माण तथा कार्यान्वयनमा ठुलो अन्तर्विरोध देखिएको पृष्ठभूमिमा हुन गइरहेको यो विधान सम्मेलन पार्टी जीवनमा कति सार्थकता रहला ? यस सन्दर्भमा छोटो धारणा राख्न उचित ठान्छु । 

पार्टी सङ्गठन दैनन्दिन कमजोर बन्दै जानुमा विधान होइन, पार्टी नेता तथा कार्यकर्ताहरूको सोच्ने तरिका, कार्यशैली, जीवनशैली र संस्कार प्रमुख जिम्मेवार छन् । गत महाधिवेशनले पारित गरेको विधानको मसी सुक्न नपाउँदै धोती लगाइएको नजिर हामीसँग ताजै छ । अतः विधान प्रमुख कुरा होइन, कार्यान्वयन प्रमुख कुरा हो । देशकै विधिको शासनको कुरा गर्न पार्टीहरूभित्र विधिको शासन हुन अनिवार्य हुँदैन र ?

कतिपय कुराहरू मान्यताका रूपमा स्थापित हुन्छन् । उदाहरणका लागि बेलायतमा लिखित संविधान नहुँदा पनि धेरैजसो सवाल मान्यताका रूपमा स्थापित छन्, तर त्यसैलाई नजिर बनाइहालौँ भन्ने तर्क त होइन, यद्यपि विधान सम्मेलनका नाममा पार्टी जीवनभित्रको समीक्षाको सवाल विषयान्तर गरिनु हुन्न भन्ने कुरा हो । हामीभित्र कस्तो खालको मूल्य–मान्यता, आदत मौलाउन खोज्दै छ, जसले कुनै विधि–विधान नै चिन्न छाडिसक्यो ?

पार्टीको कुनै खास कमिटी (अहिले चर्चामा रहेको जिल्ला कमिटी) कार्यकारी हुने या नहुने भन्ने पनि पार्टी कमजोर हुनुको कारण होइन । कार्यकारी बनाउनै हुन्न भन्ने तर्क मेरो होइन । जनतामा गएर राम्रो काम गर्न कसलाई, कहिले कुन विधानले रोक्यो ? पार्टी कमजोर हुनु, कमजोर चुनावी परिणाम आउनु कुनै खास कमिटी कार्यकारी नभएको कारणले हो भन्ने निष्कर्षले पार्टीभित्रको कामचोर र ठग प्रवृत्तिलाई आममाफी दिन्छ र अन्ततः पार्टी झन् कमजोर बन्दै जान्छ । 

कार्यकर्ताहरू पार्टी नेतृत्वको वरिपरि चक्कर काट्ने, एक स्न्याप फोटो पनि हान्दिहाल्ने र त्यसैको आडमा एक वर्ष गुजारा चलाउने लम्पट शैली जबरजस्त मौलाइरहेको कुरा सत्य होइन र ? पार्टीको कुनै खास पद दलाली गर्ने लाइसेन्स होइन । राजनीति कुनै व्यवसाय पेसा पनि होइन । यो सेवाको क्षेत्र हो, जहाँ कर्तव्य होइन, अधिकारको प्रश्न बलियो हुन्छ । 

पार्टीको बहुचर्चित हेटौँडा महाधिवेशनले एकमतले पारित गरेको ‘उत्पादनमा जोडिनुपर्ने’ नीति कार्यान्वयन गर्न कसलाई केले छेक्यो ? आज पालिका कमिटीभन्दा माथिको पङ्क्ति (अपवादबाहेक)को दैनिकी कसरी चलिरहेको छ ? यो पङ्क्तिको ९० प्रतिशत दिमाग जिजीविषामै केन्द्रित छ, जसले गर्दा उसले आफूलाई राजनीतिक तथा सामाजिक क्षेत्रको भूमिकामा निस्वार्थ उभ्याउन सकिराखेको छैन । यो कहीँ कतै नलेखिएको तीतो सत्य होइन र ? अतः पार्टी विधान सम्मेलनले पार्टी सदस्यता प्राप्तिको मापदण्ड (कि इन्डिकेटर ?) विस्तार गर्नुपर्छ । लेनिनकालीन मापदण्डले मात्र अब धान्न सक्दैन । यसर्थ पार्टी सदस्यता प्राप्तिका लागि ‘उत्पादनसँग जोडिनुपर्ने’ मापदण्ड अनिवार्य थप गरिनुपर्छ । 

अन्त्यमा एउटा रोचक र मननयोग्य कुरा उल्लेख गर्न उचित लाग्यो । ‘इन्डिया भ्रमणका क्रममा भियतनामका राष्ट्रपति होची मिन्हले त्यहाँका मन्त्रीहरूलाई सोधे, ‘तपाईंहरूको पेसा के हो ?’

इन्डियाका मन्त्रीहरूले उत्तर दिए, ‘हामी मन्त्री हौँ, राजनीति गर्छौँ ।’ 

राष्ट्रपतिले फेरि सोधे, ‘होइन तपाईंंहरूको खास पेसा भनेको के हो ?’

मन्त्रीहरूले भने, ‘राष्ट्रपति महोदय ! हामी मन्त्री हौँ, राजनीति मात्र गर्छौँ ।’ 

आजित भएपछि राष्ट्रपति होची मिन्हले भने, ‘मन्त्री महोदय ! म कार्यालयको समयमा देशका निम्ति काम गर्छु, कार्यालय समय सकिएपछि घर जान्छु र आफ्नो खेती–किसानीको काम गर्छु अर्थात् मेरो मुख्य पेसा किसानी हो । यसैबाट मेरो जीविकोपार्जन चलाउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीपी कडरिया
सीपी कडरिया
लेखकबाट थप