मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मुद्रास्फीतिमा परेको दबाब कम हुन थाल्यो

शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा
सोमबार, २९ माघ २०८०, २० : ०८
सोमबार, २९ माघ २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनासम्म मुद्रास्फीतिमा परेको दबाब अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा चालु आर्थिक्कवर्षको पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।

यसैगरी पुसमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मूल्य वृद्धि ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो समूहको मूल्य वृद्धि क्रमशः ५.६२ प्रतिशत र ८.५७ प्रतिशत रहेको थियो ।

यस्तै सीमक्षा अवधिमा  वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ भने  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत रहेको थियो ।

यसैगरी चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धि र आयातमा आएको संकुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र व्यवस्थापन सहज भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालु खाता रु.१६१ अर्ब ६२ करोड र शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा र शोधनान्तर स्थिति रु.९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । 

शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चिति बढ्न गई २०८० पुस मसान्तमा रु.१८१६ अर्ब ५७ करोड (अमेरिकी डलर १३ अर्ब ६९ करोड बराबर) पुगेको छ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार २१.९ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा वस्तु निर्यात ७.२ प्रतिशतले घटेको छ भने वस्तु आयात ३.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ । यस अवधिमा मासिक औसत आयात रु.१२८ अर्ब ३ करोड रहन गएको छ ।

समीक्षा अवधिमा सेवा खाता घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले घट्न गई रु.३६ अर्ब ६ करोड कायम भएकोछ । समीक्षा अवधिमा सेवा निर्यात रु.११४ अर्ब ८२ करोड र सेवा आयात रु.१५० अर्ब ८७ करोड रहेको छ । सेवा आयात अन्तर्गत शिक्षातर्फको खर्च ६६.७ प्रतिशतले वृद्धि भई रु.५८ अर्ब ९५ करोड पुगेको छ । समीक्षा अवधिमा नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भई भ्रमण आय ४४.४ प्रतिशतले बढेको छ ।

 आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस्तो आप्रवाह २४.३ प्रतिशतले बढेकाे थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप