सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली समाजमा घृणा किन फैलिरहेको छ ?

आइतबार, ०६ फागुन २०८०, १२ : २०
आइतबार, ०६ फागुन २०८०

पछिल्ला दिनमा चर्चामा आएका केही पुरुषले महिला हिंसाका मुद्दा झेलिरहेका छन् । पीडित र पीडिकबिचमा हुने सन्दर्भहरू नेपाली समाजमा चर्चाका मसला बनिरहेका छन् । यस्ता सवाल कतै खिसिट्युरीका विषय बनेका छन् त कतै बदलाका भावनाहरू पोखिएका पाइन्छन् । के यी बदलाका भावहरूले लैंगिक समानतातर्फ समाजलाई लैजाला ? आउनुस्, विश्व सामाजिक मानचित्रमा नेपाली सामाजिक मनोविज्ञान कता जाँदै छ, चर्चा गरौँ ।

२०८० असार २७ गते फिल्मी अभिनेता भुवन केसी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध दायर मुद्दामा हार्न पुगेका थिए । केसीले गाली–बेइज्जती मुद्दा दायर गरेका थिए । साम्राज्ञीले केसीविरुद्ध दुव्र्यवहार आरोप लगाइएकी थिइन् ।

२०७९ फागुन १५ गते अर्का नायक पल शाह एक वर्ष जेल जीवन बिताएर रिहा भए । एक गायिकाले पलविरुद्ध बलात्कार गरेको आरोप लगाएको मुद्दामा उनी जेल परेका थिए । तर, अदालतले बलात्कारका कुनै प्रमाण नदेखिएको आधारमा पललाई सफाइ दिएको थियो ।

२०८० पुस १३ गते क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर गर्‍यो । उनी अहिले यही तनावका कारण खेल क्षेत्रबाटै टाढा छन् । यद्यपि उनी उच्च अदालत जाने तयारीमा छन् । २०८० फागुन ४ गते चर्चित लोकगीत क्लबका सञ्चालक कृष्ण कँडेल केही कलाकारविरुद्ध आफूलाई अपमान भएको मुद्दा लिएर अदालत पुगेका छन् । 

यूएनडीपीका वार्षिक प्रतिवेदनका आधारमा दक्षिण एसियाका मुलुकमा कानुन बलियो भए पनि व्यवहारतः लैंगिक समानता निकै न्यून पाइन्छ ।

माथि उल्लिखितबाहेक कैयौँ नेता र सेलिब्रेटीका मुद्दा अदालतमा चलेकै छन् । कैयौँका पार्टी कार्यालयमा अनुसन्धानका क्रममा छन् । नेपाली समाजमा महिला पुरुषबिचको सम्बन्धमा आरोप–प्रत्यारोपको शृङ्खला जारी नै छ । साँच्चीकै पीडितहरू न्यायको पर्खाइमा छन् भने पीडकहरू आफ्नो बचाउमा लागेकै छन् । यहाँ सवाल को पीडित भयो वा पीडक हो भन्नेबारे होइन । यो छुट्ट्याउने काम अदालतको हो । सवाल के हो भने नेपाली समाजको गति कतातर्फ दौडिएको छ भन्ने मात्र हो । 

अपवादलाई छाड्ने हो भने दक्षिण एसिया क्षेत्र नै पितृसत्तात्मक भूमि हो । भुटानलाई योभन्दा अलग राख्नुपर्छ । यूएनडीपीका वार्षिक प्रतिवेदनका आधारमा दक्षिण एसियाका मुलुकमा कानुन बलियो भए पनि व्यवहारतः लैंगिक समानता निकै न्यून पाइन्छ । पाकिस्तान र अझै अफगानिस्तानको कानुन भने निकै भिन्न छन् । नेपाल र भारतका कानुन धेरै हदसम्म समान छ । हाम्रो संविधानको धारा १६ को उपधारा (१) मा प्रत्येक व्यक्ति सम्मानपूर्वक बाँच्ने अधिकारको प्रत्याभूति गरेको छ । प्रत्येक व्यक्ति भनेको अर्थ महिला, पुरुष वा अन्य भनिएको हो । 

यही संविधानको धारा ३८ को उपधारा (३) मा भनिएको छ, ‘कुनै महिलाविरुद्ध धार्मिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शोषण गर्न पाइने छैन । भेदभाव गर्न निषेध छ । 

यो अधिकार र यही प्रावधान अमेरिका, जापान, युरोपियन मुलुकहरू सबैमा करिब–करिब समान छन् । अर्थात् कानुनतः हामीले प्राप्त गरेको नागरिक नैसर्गिक अधिकार विकसित मुुलुककै हाराहारीमा छ । २०४७ सालको संविधानमा पनि यो प्रावधान थियो भने ०६३ को संविधानमा अझ परिमार्जित हुँदै ०७२ को संविधानले महिला अधिकार र स्वतन्त्रतालाई निकै फराकिलो बनाइदिएको छ । 

कानुन एउटा रेखा मात्र हो, जुन रेखाङ्कनले मानिसलाई अनुशासनमा राख्छ । आदिमकालमा व्यक्तिका जीवनमा समूहको मुखियाले नियम बनाउँथ्यो । समयक्रम अनुसार, यी नियम आ–आफ्ना देश, परिवेश र भूगोल अनुसार कानुनमा बदलिए । के कानुनले मात्र त्यो समाजको चित्र कोरिने रहेछ त ? बिल्कुल होइन । किनकि समान कानुन भएर पनि युरोप, अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया लगायत देशमा न यतिविघ्न हिंसा हुन्छ, न बदलाका मुद्दा दायर हुन्छन् । हामीले व्यवहारमा जे गर्छौं, त्यसैले हाम्रो जीवनमा प्रभाव पार्ने हो । कानुन त एक निमित्त घेरा मात्र हो । 

अमिताभ बच्चन ‘चुम्मा चुम्मा दे दे’ लगायत गीतहरूमा नाच्थे । भारतका गल्लीगल्लीमा युवायुवती यस्तो गीतहरूमा रमाउँथे । अर्थात् युवायुवतीबिचमा विश्वासिलो सम्बन्ध थियो । अहिले भारतका हरेक बस्तीबस्ती यति हिंसात्मक बन्दै गए कि ‘गंगाजल’जस्ता बलात्कार चित्रण भएका सैयौँ फिल्महरू हरेक वर्ष निर्माण हुँदै गएका छन् ।

नेपालमा कानुनको यही जगमा टेकेर पुरुषहरूमाथि दबाब सिर्जना हुन थालेको बहस चल्न थालेका छन् । यसका सामान्य उदाहरण अदालतमा मुद्दा पुगेर सफाइ पाएका नजिर नै हुन् । बदलाको भावनाले समाजमा लैंगिक विशृङ्खलता ल्याइदिन्छ । जसले गर्दा पुरुष देख्दा महिला र महिला देख्दा पुरुष डराउनुपर्ने अवस्था सिर्जना हुन पुग्छ । यो दरार यति भयावह भएर जान्छ कि मौका मिल्नेबित्तिकै अपराधमा रूपान्तरण हुन पुग्छ । यसैको परिणति अहिले नेपाल र भारतका समाजले बेहोरिरहेको छ । 

हाम्रो समाजमा घरेलु हिंसा र पारिवारिक भेद एकातिर छ भने अर्कोतिर सामाजिक भेदभावले बदलाका भावना उत्पन्न गराइदिएको छ । आज यो आक्रान्त समाजबाट मुक्ति पाउन कैयौँ सचेत युवायुवतीले सदाका लागि देश छाडेर शान्त र सुरक्षित मुलुकमा बसाइँ सरिरहेका छन् । जहाँ स्वतन्त्रता छ, जहाँ शान्त छ र जहाँ कुनै उपहास खेप्नुपर्दैन, त्यो ठाउँ शान्तिप्रिय मानिसका लागि आकर्षणको केन्द्र बन्छ । नेपालमा भने सामाजिक द्वन्द्व र भेदभावबाट झन्झन् अँध्यारोतिर डोरिएको छ ।

समाज असुरक्षित हुनु भनेको कुनै पनि कालखण्डमा मानवरहित हुनु हो । यहाँ असुरक्षित भन्नाले महिलामाथि हुने हिंसा र पुरुषमाथि हुने हिंसात्मक दबाब भन्ने बुझ्नुपर्छ । हुन त, सेक्सुअल ह्यारेसमेन्ट विकसित मुलुकमा हाई प्रोफाइलका व्यक्तिसँग पनि नजोडिएका होइनन् । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनदेखि ट्रम्पसम्मले यो आरोप खेपेका छन् । तर, त्यहाँ सामाजिक परिवेश नेपाल र भारतको जस्तो संकुचन छैन । फलस्वरूप सर्वसाधारण नागरिकले लैंगिक भेदभाव वा कुनै पनि प्रकारको हिंसा बिरलै भोग्ने गर्छन् । 

समाजको गति धर्मले पनि निर्धारण गर्छ । अर्थात् कट्टर धार्मिक देश वा क्षेत्रमा महिला पुरुषको सम्बन्ध फराकिलो हुन्छ भने आरोप–प्रत्यारोपका चरण हिंसाका मुद्दा बनेर अदालत पुग्ने गर्छन् । जुन देशमा धर्मको विषय गौण मानिन्छ, ती मुुलुक औसत शान्त र सुरक्षित छन् । उदाहरणका लागि अस्ट्रिया देश युरोपमा निकै सानो छ । यहाँ हर व्यक्तिले इच्छा अनुसारको धर्म मान्न वा कुनै पनि धर्म नमान्न स्वतन्त्र छन् । 

जुनसुकै धर्मको प्रचार वा प्रवचनमा स्थानीय नागरिकलाई कुनै वास्ता हुँदैन । एसिया र मध्यपूर्वबाट गएका नागरिक आफ्ना धर्मको प्रचारमा लागे पनि यहाँका स्थानीयले कुनै अवरोध गर्दैनन् । यहाँका २२ प्रतिशत बढी जनताले कुनै धर्म मान्दैनन् । तर, पनि अस्ट्रिया देश सबैभन्दा सुखी र शान्त छ । युरोपका सबै मुलुक यस्तै समानान्तर सामाजिक परिवेशमा रमाएका छन् । 

हाम्रो व्यावहारिक ज्ञान भने निकै कमजोर छ । हामी अन्य धर्मका व्यक्तिलाई विस्तारै घृणा गर्न थालेका छौँ । बेलाबेला फरक धर्मका व्यक्तिलाई कालोमोसो दल्ने जस्तो कुकृत्य गर्न पछि पर्दैनौँ । यो एक आपराधिक मानसिकता हो । हाम्रो संविधानको धारा २६ को उपधारा (१) मा भनिएको छ, ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । यो व्यवस्था कुनै विकसित मुलुकको भन्दा कमजोर छैन । तर, हाम्रो सोच यति निच छ कि हामी फरक धर्ममाथि प्रहार गर्न कथित धार्मिक सेना निर्माण गरेर सामाजिक भय खडा गरिदिन्छौँ । यस्ता क्रियाकलापले स्वयं उही धर्म मान्नेहरू व्यक्तिहरू र समुदायमा समेत त्रास उत्पन्न गराउँछ । फलस्वरूप, आफ्नो वस्ती छाडेर मानिसहरू अन्यत्र बसाइँ सर्न बाध्य हुनेछन् ।

सन् १९४७ पछि भारतमा केही वर्ष सामाजिक स्वतन्त्रता निकै फैलिएको थियो । त्योभन्दा पहिले झन् सामाजिक स्वतन्त्रता थियो र युरोपियन देशहरूको आकर्षणको केन्द्र बन्यो । यसैका कारण कहिले पोर्चुगिस, कहिले फ्रान्सिस त कहिले ब्रिटिसहरू भारतमा बस्न आए । व्यापार वा अन्य स्वार्थबाट आए पनि भारत कुनैबेला धार्मिक जडतामा थिएन । महिला पुरुष बराबर स्वतन्त्रतामा रमाउँथे । सन् १९९० सम्म आउँदासम्म त्यो सामाजिक उदारता र महिला स्वतन्त्रता राम्रै थियो । यसका संकेत नै त्यसताका बनेका फिल्मबाट भारतको सामाजिक चरित्र स्पष्ट हुन्छ । ऊबेला अमिताभ बच्चन अभिनयमा ‘चुम्मा चुम्मा दे दे’ लगायत गीतहरूमा नाच्थे । भारतका गल्लीगल्लीमा युवायुवती यस्तो गीतहरूमा रमाउँथे । अर्थात् युवायुवतीबिचमा विश्वासिलो सम्बन्ध थियो । अहिले बिस्तारै ती सम्बन्ध भत्किएका छन् । भारतका हरेक बस्तीबस्ती यति हिंसात्मक बन्दै गए कि गंगाजलजस्ता बलात्कार चित्रण भएका सैयौँ फिल्म हरेक वर्ष निर्माण हुँदै गएका छन् । निर्देशक र लेखकहरूले आफ्नो समाजमा जे देखे, त्यही पर्दामा उतारिदिएका हुन् । भलै अधिकांश फिल्मका कथा काल्पनिक भए केही वास्तविकतामा आधारित पनि छन् । 

अहिले भारत पहिले जस्तो रहेन । सन् १९९२ पछि निरन्तर भाजपाले जगाएको धार्मिक अभियान र मुद्दाले भारतीय नागरिकमा हिंसा सिर्जना गरिदिएको छ । व्यक्ति–व्यक्तिमा कित्ताकाट गरिदियो भने इगो, वैमनस्यता आदि दुर्गुणहरू सिर्जना हुँदै गए । फलस्वरूप अहिले भारतीय समाज बन्द छ । पुरुषप्रधान झन् जब्बर बन्दै गएको छ । ब्रिटिसका पालामा केटाकेटीसँगै कक्षामा बसेर पढ्ने वातावरणमा भत्कियो । अहिले अधिकांश स्कुल कलेजमा छात्रछात्राका अलग–अलग संरचना तयार छन् । समाजमा झन् व्याप्त हिंसा बढ्दै गयो । आरोप तथा प्रत्यारोप मात्र होइन, लैंगिक रूपमा घृणाहरू पैदा भए । उत्तर प्रदेशजस्ता राज्यहरू धर्मका खाडलमा जाकिए र बेलाबेला ठुलाठुला धार्मिक हिंसा फैलिए । यसको असर पूरै नेपालतर्फ सोझियो ।

समाजको गति धर्मले पनि निर्धारण गर्छ । अर्थात् कट्टर धार्मिक देश वा क्षेत्रमा महिला पुरुषको सम्बन्ध फराकिलो हुन्छ भने आरोप–प्रत्यारोपका चरण हिंसाका मुद्दा बनेर अदालत पुग्ने गर्छन् । जुन देशमा धर्मको विषय गौण मानिन्छ, ती मुुलुक औसत शान्त र सुरक्षित छन् ।

खुला सिमाना र सांस्कृतिक सम्बन्धले बाँध्यो भने ती दुई देशबिचको भिन्नता रहँदैन । रुस र युक्रेनबिच भाषा र वेशभूषाका कारण समान मात्र छैन, सामाजिक एउटै परिवेश छ । किनकि यी दुवै देशका नागरिकलाई आऊजाऊ खुला र निकै सहज छ । नेपालको भने चीनतर्फ पूरै बन्दको अवस्था छ, भारततिर खुला छ । यसले नेपाललाई पार्ने दूरगामी असर क्रमशः नेपाली समाजले भोगिरहेको छ । अहिले लैंगिक रूपमा महिला पुरुषबिचको खाडल फराकिलो बनाउन विभिन्न धार्मिक शक्तिकेन्द्रहरू सक्रिय छन् । यो सबै भारतबाटै आयातीत छ । 

हामीलाई जापान, अमेरिका, अस्ट्रेलिया वा युरोपियनजस्ता विकसित मुलुक जस्तो बनाउन पनि परेको छ । अनि हामीलाई भारत, पाकिस्तानजस्तो कट्टर धार्मिक मुलुक पनि चाहिएको छ । चिची पनि पापा पनि ! यो पूरै असम्भव छ । संसारमा दुवै अवसर कुनै मुलुकले प्राप्त गरेका छैनन् । यही कारणले आज सिंगो सचेत वर्ग विदेश बसाइँ सरिसकेको छ । हालै अमेरिकामा नेपाली चलचित्र कलाकार संघ गठन भयो । त्यो संघमा हाल नेपालमा भएका कलाकार भन्दा ठुलो संख्यामा नेपाली कलाकार अमेरिका सरिसकेका रहेछन् । यी सबै कलाकारहरू आर्थिक समस्या भएर मात्र गएका होइनन् । हाल सिर्जना भएका आरोप–प्रत्यारोप, घृणा, द्वेष आदि सामाजिक विक्षिप्तबाट जोगिन ती कलाकार र अन्य सचेत नेपालीले आफ्नो जन्मभूमि छाडेका हुन् ।

अतः हाम्रो कानुनको प्रयोग कसैको दाउपेचका लागि सौदाबाजीको हतियार नबनोस् भन्नेमा हामी सचेत हुनुपर्छ । कानुनले महिला–पुरुष दुवैलाई समान हक अधिकार दिँदै गर्दा कुनै एक पक्षको दबदबा अर्को पक्षले खेप्न हुँदैन । मन मिल्दा चमत्कार, मन नमिल्दा बलात्कार भन्ने अहिले जुन चर्चा बाक्लिएको छ, यस्तो सोच आउन दिन हुँदैन । यसले झन् पितृसत्ता हाबी हुन्छ भने व्यावहारिक रूपमा महिलाले अधिकार गुमाउँदै जाने छन् । कानुनी अधिकार भएर पनि अहिले भारतका अधिकांश समाजले त्यही भोगिरहेको छ । नेपाली जनता यसमा सचेत हुनुपर्छ । 

अन्यथा पितृसत्ताको हाम्रो यो समाज झन् घनघोर हिंसात्मक बन्दै जानेछ । महिलाले हक–अधिकार प्रयोग गर्न पूर्ण रूपमा संविधानले दिएको छ । यसको अर्थ पुरुषमाथि दबाब सिर्जना गर्न होइन । पुरुषले पनि महिलालाई समान अधिकार दिएकामा अतिरञ्जना गर्न पाउँदैन । जब समाजमा महिला–पुरुषबिचको सम्बन्धहरू घुलमिल र अन्तरंग हुँदै जान्छन्, तब यी सारा हिंसा होस् वा आरोप–प्रत्यारोपका घटना स्वतः हराएर जानेछन् । किनकि खुला समाज, खुला परिवेश र उदार सोच भएका मुलुकमा कुनै प्रकारको घृणा उत्पन्न हुँदैन । त्यही नै उन्नत समाज हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद त्रिपाठी
विनोद त्रिपाठी
लेखकबाट थप