सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कथा

प्रजातन्त्र दिवस

आइतबार, ०६ फागुन २०८०, १९ : ४७
आइतबार, ०६ फागुन २०८०

उराठलाग्दो अर्को बिहान । हिउँद ढलेर जान लागेको छ तर जाडोको झनै बैँस चढेजस्तो छ । मुटुधरि ठिहिर्‍याउने स्याँठ चलिरहेछ । मखमलीको फाटेर धुजाधुजा भएको मनजस्तै छ वातावरण– हुस्सु लागेको, अत्यासलाग्दो । बस बिसौनीको पेटीको कुनामा पात झरेको, सानो, सिक्रो रूख छ, मखमलीजस्तै । त्यसकै फेदमा बसेकी छे ऊ । अपार वेदना भरिएका उसका आँखा सुन्निएका छन् ।

उसका परेली बाटिएका छन् र आँखीभुइँ गाँठा परेका छन् । उसका काला–नीला ओठमा बेचैनीका सातपत्र कलेँटी परेका छन् । मखमलीका अगाडि थोत्रो स्टोभ छ । बलुँ कि निभुँ, बलुँ कि निभुँ गर्दै त्योे बलिरहेछ, त्यसरी नै जसरी मखमलीको सास चलिरहेछ ।

स्टोभको छेउमा बिट फुटेको माटाको घैँटो, दूधका चारपाँचवटा शिशी, चिनीको ट्वाक, चियापत्तीको पुरिया र केही शिशाका गिलास छन् । गिलास कुनै सद्धे छन्, कुनै चर्केका छन् । मखमलीको कमाइखाने सिरिखुरी सम्पत्ति त्यत्ति हो । हो, उसका निम्छरा आशा, उसको जीवनको धमिलो प्रकाश, उसका निर्धा सपनाको संसार, उसको अस्तित्वको सार जे भने पनि त्यही हो । 

मखमलीको मट्याङ्रेले हान्निदै आएर भन्यो, ‘आमा, आमा, माथि हेर त ।’ 

मखमलीले भारी आँखा उठाएर माथि हेरी । सडककोे किनारैकिनार खाँबाका टुप्पाटुप्पामा लहरै झन्डा टाँगिएका छन् । मट्याङ्रेले चकित स्वरमा कौतुक पोख्यो, ‘आमा, कति धेरै ! कति राम्रा ! कसका लुगा हुन् आमा ती ?’ 

‘ती हाम्रा हैनन्,’ मखमलीका उत्साहहीन आँखा पानी उम्लिन लागेको चियादानीमा झुके । सडकमा अचानक एक बगाल घोडा देखापरे । अग्ला न अला, चिल्ला न चिल्ला, चिटिक्क सिँगारिएका, औधी डरलाग्दा । दायाँबायाँ ओहोरदोहोर गरिरहेका मानिसहरू मूर्तिसमान जहाँको तहीँ खडा भए मानौँ घोडाको डरले ती थरहरी भए । गाडीहरू अदपसाथ घोडालाई बाटो खाली गरिदिँदै छेउ लागे । र, अब मान्छेको सडकमा घोडाको एकछत्र राज चल्यो– बडरम्, बडरक्, बडरम्, बडरक् । 

‘आज के हो, आमा ? मट्याङ्रेले सोध्यो, ‘आज बडा दिन हो ?’  ‘हो,’ आमाले यन्त्रवत् रूपले ओठ चलाई, ‘आज पर्जातन्त्र दिवस हो ।’  ‘त्योे भन्या घोडा हो, आमा ?’ छोराले घोडा गएतिर आँखा तन्काउँदै सोध्यो ।


मट्याङ्रेले त्रस्त आँखाले पलभर घोडाको राइँदाइँ हेर्‍यो । अनि कहालिँदै ऊ आमाको जिउमा लिपिक्क टाँसियो । 

‘आज के हो, आमा ? मट्याङ्रेले सोध्यो, ‘आज बडा दिन हो ?’ 

‘हो,’ आमाले यन्त्रवत् रूपले ओठ चलाई, ‘आज पर्जातन्त्र दिवस हो ।’ 

‘त्योे भन्या घोडा हो, आमा ?’ छोराले घोडा गएतिर आँखा तन्काउँदै सोध्यो । 

मखमलीले यसोक्क वरिपरि हेरी । अनि ओठमा चोर औँलो राखेर उसले सान गरी– चुप् ! 

‘बडा दिन क्या बडा दिन । त्यै दसैँजस्तै,’ साउतीको स्वरमा मखमलीले भनी । मट्याङ्रे फुरुङ्ग पर्‍यो । उसको जिब्रो त्यसै–त्यसै रसायो । उसका रोमरोममा तिर्सनाका फोहोरा फुटे । उसलाई सम्झना छ, दसैँजस्तो रमाइलोे बेला बरु केही हुँदैन । दसैँमा उसकी आमा मासु ल्याउँछे– कुखुराका दुइटा टाउका, चारपाँचोटा खुट्टा । अहा ! तात्तातो मासुको झोलसँग च्युरा मुछेर खाँदा क्या स्वाद हुन्छ ! 

‘आज मासु खाने हो त आमा ?’ घुटुक्क थुक निल्दै छोराले भन्यो, ‘खाने, खाने, मासु र च्यूरा ।’ 

‘यो हाम्रो दसैँ हैन, लाटा,’ पीडा मुछिएको स्वरमा मखमलीले सम्झाई, ‘यो हाम्रो हैन ।’

‘कसको हो त ?’ मुखमा परिसकेको मिठाई खोसिएझैँ खिन्न मुद्रामा छोराले सोध्यो । 

‘हाम्रो हैन, अरूअरुको ।’ 

‘कसको त ढामा, घोडाको ?’ 

मखमली झसङ्ग भई । छोराको मुख थुन्दै उसले भनी, ‘चुप लाग् मुर्दार, कसैले सुन्यो भने... ।’ 

सान र हुङ्गार, धाक र रोब देखाउँदै सडकमा घोडाको अर्काे बगाल कुद्दै आयो– बडरम् बडरक्, बडरम् बडरक् । 

हातमा डण्डा बोकेको जवान कतै हुस्सुबाट खसेझैँ मखमलीको सामुन्ने खडा भयो । मखमलीको आङ सिरिङ्ग भयो । डण्ठेको डसाइबाट छलिन उसले गिलास पखालेको स्वाङ पारी । 

छिर्केमिर्के चरो झन्डामा के हो कुन्नि ठुँगिरहेको छ र प्रजातन्त्रको झन्डा हल्लिरहेको छ । तै तै त्योे झन्डा खसिदिए हुन्थ्यो । खसोस् र कसैले नदेखोस् ! उसको फरिया सत्र ठाउँ प्वाल परिसकेको छ । त्यसलाई मुजा पारेर ऊ बलतल्ल लाज ढाक्छे ।

‘याँबाट हट् ! ’ हावामा डण्ठा हल्लाउँदै जवान कड्क्यो, ‘था छैन आज के हो ?’ 

‘यो मेरो पेट पाल्ने मेसो हो, बाबु राजा !’ उसले दुःखपुकारा गरी । 

‘यस्तो दिनमा याँ यो बिजोकको बिस्कुन सुकाउने ?’ जवानले हावामा डण्ठा हल्लायो । ‘आज यो सब खाली हुनुपर्छ । माथिको आदेश यै छ– खाली र सफाचट् ।’ 

‘बरु एक कप चिया खाऊँ राजा !’ मखमलीले बिन्ती बिसाई, ‘म गरिब बेसहारा ।’ 

जवानको बुट चियादानीको पेटमा बज्य्रो । चियादानी पल्ट्याङ–पल्ट्याङ हुँदै बाह्र हात पर पुग्यो र चिया घप्क्ल्याक्कै घोप्टियो । मखमलीले आफ्ना झिना आशा तात्तातो चियासँगै माटामा बिलाएको देखी । आँसु टलपल–टलपल गरिरहेका असहाय आँखाले जवानलाई उसले पुलुक्क हेरी । ती आँखाको भित्री पत्रमा क्रोधको ज्वाला उत्रेको थियो । तर उसका ओठ भने अवाक् र आतङ्कित थिए । 

सरकारी ड्युटी पूरा गरेर जवान बाटो लाग्यो । मखमलीले चिसो धरतीमा आँसुका ताता थोपा खसाउँदै आफ्नो सिरिखुरी कुम्लो पारी । हिँड्न खोज्दा उसका गोडा लागेनन् । कहाँ जाने ? यो बडा दिनमा उसले टेकेर उभिने थलो खै कहाँ छ ? उसले दुःखजिलो गरी खाने ठाउँ कहाँ छ ? ऊ त्यसै त्यसै रनभुल्ल परी । ठीक त्यही बेला उसका थकित आँखा एउटा घोडामा थुरिन पुगे । त्योे पहिलेका तीन सरकारको घोडा थियो । घोडा वायु वेगमा पैयाँ ठोक्ने सुरमा कालो थुम्कोमाथि उभिएको थियो । घोडाले अगाडिको एउटा खुट्टो खुम्च्याएर अर्को खुट्टो उडिहालुँलाझैँ गरी उचालेको थियो । घोडामाथि सवार भएको जुँगामुठे तीन सरकार मुन्टो दायाँतिर फर्काएर दमनकारी मुद्रामा मखमलीलाई हेरिरहेको थियो । मखमलीका नसा–नसामा चिसोचिसो रक्तधार दगुर्‍यो । उसलाई लाग्यो, घोडामाथि सिकारी चिल बसेको छ र चल्लालाई झम्टा मार्न त्योे तम्तयार छ । आतेसको भावमा उसले मुन्टो फर्काई । उसका आँखा शहीद गेटमाथिका अर्काथरी सालिकमा परे । कसैले भनेको उसले सुनेकी थिई, ती उनै तीन सरकारले ज्यान लिएका रैतीका छोरा हुन् । ऊ एकटकले हेर्दै छे, सबै सालिक उदास छन् । उसले कताकति सुनेकी थिई, तीन सरकारको अत्याचार मास्न तिनले ज्यान अर्पेका थिए । अनि उसले यो पनि सुनेकी थिई, तिनै वीरका ज्यानको आगोले पोलेर तीन सरकार भष्मखरानी भयो र प्रजातन्त्र आयो । दुनियाँदार रैतीको भलो गर्ने प्रजातन्त्र– हो, उसले सुनेको कुरा खसोखास यही हो । 

सालिकलाई हेर्दै मखमली तर्क गर्न थाली, सुनेका कुरा र भोगेका कुरा किन नमिलेका होलान् ? पहिले रैतीका छोरा मार्ने र पछि हार्ने सानसँग घोडा चढेको चढ्यै छ, जित्नेहरू झोक्राउँदै चुपचाप बसेका बस्यै छन् । आज दसैँजस्तो बडा दिन ! रैतीका सन्तानले ज्यानको बाजी थापेर, रगत बगाएर ल्याएको त्यत्रो बडा दिन ! उसको प्राण धान्ने चिया सरकारी पुलिसका क्रूर बुटको प्रहारमा परेर नाश भयो । उसले टेकेर उभिने धर्तीको कतै हिसाब रहेन । उसलाई सहारा दिने, आस दिने, भरोसा दिने कोही छैन । अझै तीन सरकारका घोडाका सन्तानहरूकै चकचकी छ । मखमलीले लामो सुस्केरा हाली । मारिनेहरूतिर फर्किंदा उसका अन्तरमा चीत्कार गुन्जिरहेको थियो– बाबु हो ! यस्तै बडा दिन ल्याउन दिया थ्यौ र तिम्ले एकबारको ज्यान ? मखमलीले आँसु पुछी । 

बिलखबन्द परेकी मखमली रूखको आड लागेर उभिएकी थिई । उसका पिँडुला फत्रक्कै गले । जिउ थाम्न नसकेर ऊ थुचुक्क पेटीमा बसी । अनि पो उसले देखी, उसको मट्याङ्रे धुलाको रासमा बसेर शिशीमा मुख गाड्दै मस्तसँग दूध खाइरहेको छ । उसका घाँटीका पारदर्शी नसाबाट दूध तल झरेको प्रस्ट देखिँदै छ । छेउमा झुम्मिएका एक बगाल कुकुर लोभी आँखाले हेरिरहेका छन् । त्योे दृश्य देख्दा मखमलीका आँखा फेरि पनि भरिएर आए । ऊ त्यही बालकका लागि, त्यसैको भोलिमा आफ्ना आशा अल्झाएर आजसम्म बाँचेकी थिई । उसैको मायाको तागतले त हो, उसलाई आजसम्म घिटिघिटी बचाइराखेको । 

मखमलीका आँखा फेरि तीन सरकारको सालिकमा थुरिन पुगे । उसलाई भनन्न रिङ्गटा लाग्यो । आफ्ना पाउमुनिको धर्ती चाच्चाँडो धसिँदै गएजस्तो लाग्यो उसलाई । उसको स्मृतिपटमा दुःखका तस्बिरहरूको ताँती लाग्न थाल्यो । मनको ऐनामा ऊ आफूलाई हेर्दै छे । हेर्दाहेर्दै ऊ पहाडका मुखियाका हातबाट सर्वस्व लुटिएर तराई झरी । उसले र उसको लोग्नेले पट्टेर जङ्गल उघारेर तराईको माटोमा पसिनाका बिउ छरेथे । अलि वर्षपछि तराईका ठालु र सरकारका लाठेहरूले तिनको बास र तिनका आस भष्मखरानी पारे । अनि भिखारीझैँ चारचौरास चहार्दै, जहाँ जे काम पायो त्यही गर्दै, केही पाए खाँदै, नपाए भोकै मडारिँदै ती काठमाडौँ सहरको साँगुरो, अँध्यारो, ओसिलो छिँडीमा सहारा लिन आइपुगे । उसको लोग्ने बडो कमकरी थियो । भारी पाए ऊ भारी बोक्थ्यो, ठेला पाए ठेला ठेल्थ्योे, केही नपाए चोर्न जान्थ्यो । पछि चिसो छिँडीमा सुकेनासले उसको चोला उठ्यो । त्योे त्यस्तै तीन वर्षअघिको कुरा न हो । पहाडदेखि तराई, तराईदेखि काठमाडौँको अलपत्रे यात्रामा मखमलीका दुईटा सन्तान धुलामा बिलाए । अब बाँकी रहेको छ यही एउटा मट्याङ्रे । उसको दुःखको सहारा भने पनि, सान्त्वनाको त्यान्द्रो भने पनि, आशाको फिलुङ्गो भने पनि, जे भने पनि यही हो– यही मट्याङ्रे । 

मखमलीको शिरमाथि चुल्बुले चरो करायो– टुटिट्याँ, टुटिट्याँ । उसले अनुहार मास्तिर उठाई । अनि देखी, छिर्केमिर्के चरो झन्डामा के हो कुन्नि ठुँगिरहेको छ र प्रजातन्त्रको झन्डा हल्लिरहेको छ । तै तै त्योे झन्डा खसिदिए हुन्थ्यो । खसोस् र कसैले नदेखोस् ! उसको फरिया सत्र ठाउँ प्वाल परिसकेको छ । त्यसलाई मुजा पारेर ऊ बलतल्ल लाज ढाक्छे । अनि मट्याङ्रे.... । त्यसको ज्यानमा कहिल्यै ननिख्रिने गरी ठण्डी गाडिइसकेको छ । रातभरि खोकिरहन्छ । कहिले त झिमिक्क आँखा लाउन दिँदैन । 

दूध चाट्चुट्टै सिध्याएर चरम् सन्तुष्टिसाथ मट्याङ्रेले भन्यो, ‘आमा, आज हाम्रो पनि दसैँ हो ?’ उसका निश्छल आँखामा हर्षको असीम सागर उर्लेको थियो, ओठमा निर्दोष मुस्कानको हरियाली छाएको थियो । आमा चाइनेले भावविभोर हुँदै उसलाई छातीमा टाँसी र म्वाई खाई । छोराको निधारमा खसेको आमाको आँसुको थोपो उसको नाके डाँडीतिर बग्यो । 

प्रजातन्त्रको तोप पड्क्यो । झसङ्ग हुँदा मखमली झन्नै लडी । सरकारको सवारी हुने बेला भएछ क्यार, डण्ठेको हुलले उसलाई दच्कायो । ‘ठूलाबडाको सवारी हुने बेलामा बोक्सीको जस्तो बिजोकको रूप देखाउने ?’ डण्ठेका कर्कश वचन उसका कानमा गुन्जिरहे । आफ्नो सिरिखुरी सम्पत्ति बोकेर ऊ हत्तपत्त भद्रकाली मन्दिरको थुम्कोतिर कुदी । माथि पुग्दा नपुग्दै उसको छाती स्याँस्याँ भइसकेको थियो । थुम्कोमा पुगेर उसले शहीदगेटका शहीदहरूतिर लामो सुस्केरा हुत्याई । उसले तल देखी, तीन सरकारको अचल घोडाको छेवैछेउ भएर उस्तै घोडा बेत्तोडले कुदिरहेका छन् । सडकमा मान्छेभन्दा पुलिस धेरै छन् । प्रजातन्त्रले पेलेर आज उसको कमाई स्वाहा भयो । भगवती माई ! बेलुका के खाने ? अनि भोलि बिहान... ? मखमलीलाई भनन्न रिङ्गटा लाग्यो र दुई हातले टाउको थाम्दै ऊ त्यहीँ ढली । थकित भएर भुइँमा पोखिएकी आमाको दुःखी छातीको सिरानी लाएर छोरो चाइने पलभरमै झपक्क निदायो । ऊ शान्त र सन्तुष्ट थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप