शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘धार्मिक गतिविधि र तनाव पैदा गर्ने विषय छुट्ट्याएर हेरौँ’

बिहीबार, १० फागुन २०८०, १५ : १३
बिहीबार, १० फागुन २०८०

नेपाली समाज भनेको कोशी र गण्डकी जस्तै हो । विभिन्न भंगालो मिलेर बनेको छ । म मधेसको हुँ । नेपाल–भारत सीमा नजिकै मेरो पुर्खौली गाउँ छ । हाम्रो गाउँमा आमाले भनेअनुसार चुरी (चुरा) बेच्ने मुस्लिम परिवारका महिलाहरू आउँदा घरसम्मै पहुँच हुने परम्परा थियो ।

  नवविवाहिता किशोरीले विवाहित मुस्लिम महिलालाई चुरामा पैतालाको धुलो लगाइदिन्थे । त्यो गर्दा चुरी बेच्दै गर्दा उसको आयु बढ्यो भनिन्थ्यो । पुरुष चुरी बेच्ने पनि आँगनसम्मै पुग्थे । त्यस्तो परम्परामा हुर्किएको हाम्रो समाज । पछिल्ला वर्षहरूमा एक अर्कालाई फरक देख्ने ट्रेन्ड बढेको छ । २०२८ सालमा एकले अर्कालाई गर्ने अविश्वास, एक अर्का अबुझ र एक अर्काले त्यसको दुष्परिणाम नबुझेर भएका घटना थिए । 

तर, अहिले एक समुदायले अर्को समुदायलाई फरक देख्छन् । त्यसो गर्दा एकले अर्कोलाई शक्ति सञ्चय गरेको सोच बढेको छ । सबैका आफ्नै परम्पराहरू छन । , नेपाली समाज त्यो भन्दा झन् भिन्न छ ।

 भारत धर्मको आधारमा विभाजन भएको हो । धर्म, भाषा र संस्कृतिले विभाजन भयो । तर स्वयं भारतभित्र पनि मुस्लिमहरूको ठुलो विभाजन रह्यो । भारतमा शताब्दीऔं पूर्व बाहिर बाट आएका शासकहरूले आफ्ना धर्म फैलाए । आस्थाका केन्द्रमा प्रहार गरे । लुट मच्चाए । 

भारतको इतिहास हेर्ने हो भने सबैभन्दा पहिला केरलामा मस्जिद बनेको छ । अरबबाट ब्यापार गर्न आएका व्यापारीहरूबाट तत्कालीन हिन्दु राजाले केरलामा मस्जिद बनाए । त्यहाँ एक प्रकारको सामाजिक पराजयको मनोविज्ञान पनि छ । 

हाम्रोमा फरक स्थिति छ । धर्मका आधारमा सामाजिक सम्बन्धहरूलाई पुनर्भाषित गर्ने र त्यसका बारेमा छलफल गर्ने कुनै कामनै भएन । म अस्ति मात्रै पोखरा लिटलेचर फेष्टिवलमा गएको थिएँ । त्यहाँ लोक कवि अलिमियाँको नाममा एउटा कक्ष बनाइएको थियो । अर्को भूपी शेरचनको नाममा भूपी कक्ष बनाइएको थियो । नेपाली समाजको यो समान्जस्यता हो । 

हिन्दु समाजमा धर्म निजी मान्यता र  विश्वासका कुरा  थिए । अहिले सार्वजनिक भइरहेको छ । कलश यात्रा गर्ने , गेरु वस्त्र धारण गरेर प्रदर्शन गर्ने, ध्वजा फहराउने पहिला प्राय थिएनन् । कुनै बेला मेला र जात्रा हुन्थ्यो त्यसका आफ्नै महत्त्व थिए । कुनै तिथिमा नदी किनारमा गएर नुहाउँथे । तर, कसैले कसैलाई आमन्त्रण गर्दैनथे । अहिले बोलाएरै धार्मिक प्रदर्शन हुन थालेको छ । अरूले म आफू फरक हुँ र आफ्नो परिचयलाई फरक देखाउनुपर्छ भन्ने मान्यता बस्यो । पहिला मुस्लिमले दाह्री राख्दैनन् थिए । अहिले राख्छन् । सुन्धारामा पहिला मुसलमानहरूको रहनसहन सामान्य थियो । अहिले उनीहरूले आफ्नो आइडेन्टीटीलाई रिकल गरिरहेका छन् । शक्तिको रूपमा बुझेका छन् । मेरो धर्म श्रेष्ठ भनेर एकले अर्कोलाई हेप्ने काम गरिरहेका छन् । 

हाम्रोमा धार्मिक स्वतन्त्रता छ । मूर्ति सेलाउन जानु छ भने जानुस् । परम्परादेखिको रुट हो भने मेलाको बारेमा कसैलाई भन्नुपर्दैन । कोशी किनार र माइखोलामा गएर नुहाउनुछ भने सबैले नुहाउँछन् । नयाँ रुट बनाउने हो भने त्यो रुट बारेमा प्रहरीसँग अनुमति लिनुस् । कसैको प्रार्थना गृह अगाडि पुगेर किन नाराबाजी गर्नु ? मस्जिदको अगाडी गएर किन नाराबाजी गर्नुपर्‍यो ? वा तपाईँको टोल भएर जाँदै छ भने किन ढुङ्गा हान्नुपर्‍यो ? तातोपानी किन खन्याइ दिनुपर्‍यो ? यस्ता आक्षेपहरू छन् । 

कसैले पनि सार्वजनिक गतिविधि कानुन सम्मत रूपमा गरिरहेका छन् भने त्यसमा अवरोध र खलल पुर्‍याउने काम भनेको कानुन विपरीत कार्य हो । त्यहाँ धर्म भन्ने कुरै भएन । कुनै पनि समुदायले कसैको जीवनमा हस्तक्षेप नगरेर सार्वजनिक गतिविधि गर्छन् र त्यसमा कसैले अवरोध पुर्‍याउँछ भने त्यो न हिन्दु हो न मुसलमान । त्यो अपराधी हो । कानुनले त्यही भन्छ ।

 तपाईँ मधेसी जिन्दावाद भन्नुस्, हिन्दु जिन्दावाद भन्नुस् तर, मुस्लिम वा हिन्दु मुर्दावाद भन्न पाइएन । मुस्लिम वा हिन्दु भगाऊ देश बचाउ भन्न मिलेन । कानुन भंगको कुरालाई कानुनको जिम्मा लगाइदिऊँ । तर, सामाजिक जीवनमा राजनीतिक दलहरुले यसमा ईन्टरभेन गर्नुपर्छ । धार्मिक गतिविधि के हो र धर्मका नाममा तनाव पैदा गर्ने काम के हो भनेर छुट्ट्याउनुपर्छ । केही सञ्चारकर्मीले लाइभ भनेर मुस्लिमको अन्तर्वार्ता लिन्छन्, हिन्दुलाई नराम्रो गाली गर्छ र त्यही कुरा हिन्दुलाई लगेर सुनाउँछन् वा टेलिभिजनमा देखाइदिन्छन् । त्यसले समाजमा झन् उत्तेजना फैलाउँछ । संवेदनशील विषयमा सबै पक्ष गम्भीर हुनुपर्छ । प्रशासनले आफ्नो ठाउँबाट निभाउनुपर्ने भूमिकामा कुनै मोलाहिजा गर्नु हुँदैन ।

विश्लेषक चन्द्रकिशोर धार्मिक सद्भावका विषयमा गरिएको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चन्द्रकिशोर
चन्द्रकिशोर
लेखकबाट थप