आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस महासमिति बैठकमा महामन्त्रीको प्रतिवेदन

शुक्रबार, ११ फागुन २०८०, १३ : ५१
शुक्रबार, ११ फागुन २०८०

यतिबेला ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ । मिडियादेखि राजनीतिमा थोरै मात्र चासो राख्ने जोकोहीको ध्यान त्यतै खिचिएको छ । नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो, ठुलो र जिम्मेवार दल भएकाले पनि योसँग धेरैको आशा र आकांक्षा जोडिएको छ । त्यसैले कांग्रेसको यो महासमिति बैठकले कस्ता विषयमा छलफल गर्छ र कस्ता निष्कर्ष निकाल्छ भन्नेमा सबैको चासो हुनु स्वाभाविक हुन्छ ।

आधारभूत रूपमा नेपाली कांग्रेसको जन्म राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सैद्धान्तिक जगमा भएको हो । त्यसैले यो महासमिति बैठक पनि यही सैद्धान्तिक आधारमै हुनुपथ्र्यो भन्ने धेरैको अपेक्षा थियो । वर्तमान परिवेशमा राष्ट्रियताको मुद्दालाई अस्वाभाविक रूपमा जटिल बनाएर उग्रराष्ट्रवादको भावलाई बढावा दिइएको अवस्थामा नेपाली कांग्रेसले त्यसलाई कसरी सम्बोधन गर्छ ? प्रजातन्त्र भनेको खालि आवधिक निर्वाचन मात्र नभई यसका आधारभूत पक्षका बारेमा पनि चलफल हुनुपथ्र्यो । समाजवादका विषयमा पार्टीको आधारभूत धारणा के हो ? पार्टीको लाइन प्रजातान्त्रिक समाजवाद हो कि सामाजिक लोकतन्त्र (प्रजातन्त्र) ? प्रजातान्त्रिक समाजवाद हो भने त्यसका आधारभूत मान्यता के हुन् ? राज्य सञ्चालनमा त्यसको प्रयोग कहाँ र कसरी भएको छ ? यिनै प्रश्नको जवाफ आजको नयाँ पुस्ताले खोजिरहेको छ । आजको नयाँ पुस्तालाई २०८४ को गठबन्धन कुन दलसँग गर्ने भन्ने कुराले छँुदैन । यो कुरा खास गरी ‘टिकट लिन्छु, चुनाव लड्छु, सांसद वा मन्त्री हुन्छु’ भन्ने व्यक्तिगत सपना बुन्नेका लागि मात्र महत्त्व राख्छ होला ।

जब आफ्नो नीति स्पष्ट हुन्छ, तब मात्र नयाँ पुस्ता आकर्षित हुन्छ र पुरानो पुस्ता पनि ढुक्क हुन्छ, तर अहिलेकै अवस्थामा महामन्त्रीले पेस गरेको प्रतिवेदन अनुसार नयाँ पुस्तालाई आकर्षित गर्ने कुनै ठोस विषय भएको देखिँदैन ।

आम जनता वा नयाँ पुस्ता किन कांग्रेस हुने ? कांग्रेसले अरुसँग चुनावी तालमेल नगर्ने भएकाले हुने ? कि अरु पार्टी मन नपरेकाले कांग्रेस हुने ? महामन्त्रीको प्रतिवेदनले यी विषयवस्तुलाई समेट्न सक्नुपथ्र्यो । आफ्ना नीति र योजनामार्फत नयाँ पुस्तालाई आकर्षित गर्न अहिले महामन्त्रीलाई यति ठुलो अवसर थियो तर उनी यसमा पूरै चुकेका छन् । गगनलाई नै विचार मान्नेहरू अझ भनौँ गगनलाई नै युग मान्नेहरू अहिले निराश देखिन्छन् । हिजो अरुले ‘मिसन ०८४’ भन्दा उनीहरूलाई पढाउने महामन्त्रीले आज आफ्नो सांगठनिक प्रतिवेदनमै ‘मिसन ०८४’ वाक्यांश घुसाउँदा आम जनताले कोमाथि भरोसा राख्ने ? नीतिका बारेमा केही नबोली रणनीतिका बारेमा मात्र अडान लिनु कति उपयुक्त होला ?

चुनावमा गरिने गठबन्धन वा तालमेल एउटा चुनावी रणनीति मात्र हो, यसले समग्र नीतिको प्रतिनिधित्व गर्दैन । चुनावी रणनीति भनेकै कसरी चुनाव जित्ने भन्नेमा केन्द्रित हुन्छ । सके सबै ठाउँमा जित्ने नभए धेरै ठाउँमा जित्ने भन्ने हुन्छ । त्यसैले यो तत्कालीन परिसथिति र परिवेशमा स्थानीय स्तरमै तय गर्न सकिन्छ । यस्तो सामान्य विषयमा महासमितिको बैठकमा भोटिङमै जानुपर्ने गरी विवाद देखिनुले महामन्त्रीको अडान र साहसको कदर गर्नैपर्छ तर उनको राजनीतिक परिपक्वतामा भने प्रश्न गर्न सकिने ठाउँ देखिन्छ । साहस, क्षमता र दृष्टिकोणका हिसाबले समकालीन राजनीतिकर्मी भन्दा गगन धेरै अब्बल छन् यद्यपि अहिलेको महासमिति बैठकमा पेस गरेको उनको प्रतिवेदन कमजोर र बेमौसमी जस्तो बनेको छ । अबका दिनमा उनले राजनीतिक परिपक्वता देखाउनु जरुरी देखिन्छ ।

जब आफ्नो नीति स्पष्ट हुन्छ, तब मात्र नयाँ पुस्ता आकर्षित हुन्छ र पुरानो पुस्ता पनि ढुक्क हुन्छ, तर अहिलेकै अवस्थामा महामन्त्रीले पेस गरेको प्रतिवेदन अनुसार नयाँ पुस्तालाई आकर्षित गर्ने कुनै ठोस विषय भएको देखिँदैन । चुनाव जित्न पार्टी संगठन मजबुत हुनु आवश्यक छ, यसका लागि नयाँ सदस्य थपिने आधार दिने सक्नुपर्छ ।

अर्कोतर्फ सभापतिले आफ्ना महामन्त्रीसँग नीतिगत विषयमा छलफल नगरी एकोहोरो गठबन्धनका विषयमा मात्र दबाब दिने र महामन्त्री सहमत नहुँदा सत्ता साझेदारलाई फकाउन पुग्नुले उनीसँग पार्टी संगठनप्रतिको चिन्तनभन्दा सत्ताको चिन्ता मात्र रहेको प्रस्ट देखिन्छ । यद्यपि उनी अरु राजनीतिक दल र दलका कुनै नेतालाई कहिल्यै गाली गर्दैनन् र आफ्नो आलोचनामा पनि कहिल्यै प्रतिक्रिया दिँदैनन् । यो नै उनको प्रमुख विशेषता र राजनीतिक परिपक्वता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदेश पण्डित
सुदेश पण्डित
लेखकबाट थप