शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महामहिम ! तपाईं बुझ्नुहुन्न

बुधबार, १६ फागुन २०८०, १४ : ४७
बुधबार, १६ फागुन २०८०

म त रातलाई रात
दिनलाई दिन भन्ने
प्रकृतिको सन्तान 
अँध्यारोमा टुकी बालेर 
‘दिन’ भन भन्नुभो भने, 
भन्न सक्दिनँ महामहिम ।

महामहिम ! तास खेलाउन सिपालु हुनुहुन्छ
लङ्गुरबुर्जा हल्लाउन च्याम्पियन हुनुहुन्छ
खडखडे थाप्न माहिर हुनुहुन्छ
धन्दा चलाउन
जुवा खेलाउनुहुन्छ भन्दैमा 
विवेक दाउमा राख्ने आँट छैन महामहिम मेरो
स्वाभिमानको सटर खोल्ने क्षमता छैन महामहिम मसँग ।

महामहिम
कुरा गर्नुहुन्छ एउटा
काम गर्नुहुन्छ अर्को 
मुखले एकथोक भन्नुहुन्छ
व्यवहारमा अर्कैथोक गर्नुहुन्छ
जुधाउनुहुन्छ, बझाउनुहुन्छ
हजारौँ जिब्रा त शेषनागका हुन्छन्
महामहिमका नै हजारौँ जिब्रा रहेछन् 
नवौँ आश्चर्य यही भो
विष छर्दै जानुस् महामहिम
नीलकण्ठले झैँ
पिउँदै जाऊँला त के भो ? 


महामहिम !
सूर्य देख्नुभएको छ
छुनुभएको छ र ?
पानी चिन्नुभएको छ
करेन्ट देख्नुभएको छ र ?
शरीर देख्नुभएको छ
आत्मा देख्नुभएको छ र ?
आकाश देख्नुभएको छ
छुनु भएको छ र ?
हो छैन
किनकि 
तपाईं आवरण देख्नुहुन्छ
विवरण देख्नुहुन्न
रूप देख्नुहुन्छ 
सार देख्नुहुन्न
बोक्रा देख्नुहुन्छ 
गुदी देख्नुहुन्न
बादल देख्नुहुन्छ 
पानी देख्नुहुन्न
पानी देख्नुहुन्छ 
करेन्ट देख्नुहुन्न
करेन्ट देख्नुहुन्छ 
उज्यालो देख्नुहुन्न
उज्यालो देख्नुहुन्छ
ऊर्जा देख्नुहुन्न
केही तारा देख्नुहुन्छ
विशाल आकाश देख्नुहुन्न
महासागर देख्नुहुन्छ
थोपा देख्नुहुन्न
जस्तो कि
नेट देख्नुहुन्छ 
वाइफाई देख्नुहुन्न 
अर्थात् 
दृश्य देख्नुहुन्छ
दर्शन देख्नुहुन्न
किनकि 
तपाईंसँग आँखा छ
दृष्टि छैन
मूर्ति छ 
मुटु छैन
मन छ 
हृदय छैन
मगज छ 
गिदी छैन
हो त्यसैले
महामहिम 
मलाई देख्नुहुन्छ तर चिन्नुहुन्न
पढ्नुहुन्छ तर बुझ्नुहुन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपक खनाल
दीपक खनाल
लेखकबाट थप