सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
अनियमितता

विराट विशिष्टीकृत सहकारी अनियमितता प्रकरण : तत्कालीन वडाध्यक्ष र प्रहरीबाटै झुटो मुचुल्का

बिहीबार, १७ फागुन २०८०, ०६ : ४५
बिहीबार, १७ फागुन २०८०

विराटनगर । मोरङ, कटहरीमा रहेको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघले दिएको झुटो विवरणमा वडाध्यक्ष र प्रहरीले पनि सहि गरेको भेटिएको छ ।

विशिष्टीकृत सहकारी संघले सेयर सदस्यहरुबाट संकलन गरेको रकम १ करोड ३ लाख रुपैयाँको हिसाबकिताब अन्यौलग्रस्त बनेको छ । सहकारी संघका अध्यक्ष देवेन्द्र पौडेल र सचिव राकेश दाहालले भने ९० हजार किलो प्याज बाढीले डुबेर बिग्रिएको तथा ३८ लाखभन्दा बढी रकम बजारमा बाँकी रहेको झुटो विवरण पेस गरेको सहकारीकै सेयर सदस्यहरू बताउँछन् ।

अध्यक्ष पौडेल र सचिव दाहालले शक्तिकेन्द्र प्रयोग गरेर २०७८ कार्तिक २ र ३ गते आएको बाढीको सर्जिमिन मुचुल्का गरिदिन भन्दै वडा प्रहरी कार्यालय (ख) हाटखोला मोरङमा कटहरी फलफूल तथा थोक बजार विकास समितिको नाममा मंसिर १० गते निवेदन दिएका थिए । बाढीले डुबाएको ४२ दिनपछि सर्जिमिन मुचुल्का गर्न आग्रह गरेबमोजिम आधार र प्रमाण बिनै प्रहरीले ४७ दिनपछि मुचुल्कामा सही गरेको देखिन्छ ।

उक्त मुचुल्कामा तरकारी तथा मेसिनरी औजारको अन्दाजी मूल्य ५५ लाख रुपैयाँ र भवन तथा संरचना कम्पाउण्ड वालको अन्दाजी मूल्य १ करोड रुपैयाँ गरी अनुमानित १ करोड ५५ लाख क्षति भएको उल्लेख छ । मुचुल्कामा कटहरी वडा नम्बर १ का शंकर राई, विजयकुमार भुजेल, अनिता देवी थापा, विकास कुमार माझी, चेतकुमार श्रेष्ठ र वडाध्यक्ष कपुरलाल माझी तथा तत्कालीन वडा प्रहरी कार्यालय (ख) हाटखोला मोरङकी इन्चार्ज प्रहरी प्रहरी नायव निरीक्षक मुना डाँगी र प्रहरी जवान दिपेश पोखरेलले मंसिर १५ गते मुचुल्का गरिदिएका छन् ।

उसैबेला एक करोड क्षति भएको वाल भने प्रदेश सरकारको सहयोगमा कटहरी गाउँपालिकाले ३५ लाख ५९ हजारमा पहिलो र साढे १० लाखमा दोस्रो ठेक्का लगाएर निर्माण गरिसकेको छ । हचुवाको भरमा सर्जिमिन मुचुल्का गरेको विषयमा प्रश्न गर्दा तत्कालीन प्रहरी इन्चार्ज डाँगीले आफू फिल्डमै गएर हेरेर मुचुल्का गरिदिएको दाबी गरिन् ।

‘क्षति, कति भयो भन्ने विषयमा म आफैँ गएर हेरेर गरेको टिपोटको आधारमा गरेको हो,’ उनले भनिन् । त्यस बेलाको फोटो खिचेको र आधार प्रमाणहरु अफिसमा रहेको उनले दाबी पनि गरिन् ।

‘कागजतपत्र हेर्नुपर्छ, त्यहाँबाट हिँडेको धेरै भइसक्यो । पहिले टिपोट गरेकै आधारमै मैले मुचुल्का गरेको हुँ,’ उनले भनिन् ।

यद्यपि खरिद बिल र स्टोरमा रहेको भनिएको उक्त परिणामको प्याजको नापजाँच नै नगरी हचुवाको भरमा मुचुल्का उठाएको विशिष्टीकृत सहकारी संघको लेखा सुपरीवेक्षण समितिले दाबी गरेको छ । ‘जिम्मेवार पक्षले घटना भएकै समयभित्र सम्बन्धित निकायमा निवेदन दिइ क्षतिको सर्वपक्षीय सर्जमिन र स्थलगत अनुगमन अवलोकन नगराइ बाढी आएको दिनबाट ४७ दिनपछि वडा प्रहरी कार्यालयमा निवेदन दिइ क्षति भएको भनिएको प्याजको अवशेष समेत नभएको अवस्थामा हचुवाको भरमा सर्जमिन मुचुल्का तयार गराएको देखिन्छ,’ लेखा सुपरीवेक्षण समितिका संयोजक टीकादत्त वनले दिएको निष्कर्षमा भनिएको छ, ‘वास्तविक क्षति भएकै हो भन्ने बेहोरा शङ्कास्पद देखिन्छ ।’

हाल राष्ट्रिय सहकारी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत रहेका रमेश पोखरेलको सहयोगमा अध्यक्ष र सचिवद्वयले त्यसबेला दबाब दिएर प्रहरीलाई मुचुल्का उठाउन लगाएको स्रोत बताउँछ । ‘प्रहरीलाई र जनप्रतिनिधिलाई दबाब दिएर हचुवाको भरमा मुचुल्का उठाउन लगाइयो । त्यसको उद्देश्य भनेकै प्रदेश सरकारलाई बढी क्षतिपूर्ति दाबी गरेर पैसा खाने योजना थियो । तर, त्यो योजना पूरा भएन,’ उक्त स्रोतले भन्यो ।

एक करोड २३ लाख ७५ हजार रुपैयाँ सेयर पूँजीमध्ये सहकारीको नाममा अहिले राष्ट्रिय सहकारी बैंकमा १९ लाख ९० हजार १५५ रुपैयाँमात्रै छ । अरू सहकारीको कार्यालय, सहकारीका सम्पत्ति तथा हिसाब किताब विवरणहरु अन्यौलपूर्ण अवस्थामा रहेको सेयर सदस्य बलबहादुर घिमिरेले बताए ।

प्रदेशका तत्कालीन कृषिमन्त्री राम बहादुर मगरले पनि कर्मचारीलाई विशिष्टीकृत सहकारी संघलाई क्षतिपूर्ति दिन दबाब दिएका थिए । पोखरेल एमालेका नेतासमेत हुन् । एमालेबाटै मन्त्री बनेका राना मगरले दिएको दबाबलाई भने कर्मचारीले पन्छाइदिएका थिए ।

‘हामीलाई विशिष्टीकृत सहकारीको नाममा १० करोड अनुदान र १ करोडभन्दा बढी क्षतिपूर्तिको दाबी गरेर निवेदन आएको थियो,’ कोशी प्रदेश कृषि मन्त्रालय स्रोतले भन्यो, ‘दबाबका आधारमा हामीले पैसा दिएको भए हामी पनि डुब्ने स्थिति रहेछ ।’

एक करोड २३ लाख ७५ हजार रुपैयाँ सेयर पूँजीमध्ये सहकारीको नाममा अहिले राष्ट्रिय सहकारी बैंकमा १९ लाख ९० हजार १५५ रुपैयाँमात्रै छ । अरू सहकारीको कार्यालय, सहकारीका सम्पत्ति तथा हिसाब किताब विवरणहरु अन्यौलपूर्ण अवस्थामा रहेको सेयर सदस्य बलबहादुर घिमिरेले बताए ।

सहकारीको संघको सञ्चालक समितिको बैठकले अध्यक्ष देवेन्द्र्र पौडेल, उपाध्यक्ष खोमप्रसाद बगाले र सचिव राकेश दाहाललाई नै खरिद तथा भण्डारण गर्ने र बिक्री वितरण गर्ने अधिकार दिएको थियो । यस्तै सहकारीको व्यवस्थापकको रुपमा गणेश ढकाल नियुक्त भएका थिए ।

उक्त सहकारी संघ हालका राष्ट्रिय सहकारी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश पोखरेलको पहलमा खुलेको हो । सहकारीका अध्यक्ष देवेन्द्र पौडेल, सचिव राकेश दाहालको मिलेमतोमा अनियमितता भएको अन्य सेयर सदस्यहरुको दाबी छ ।

२०७७ असार ९ गते स्थापना भएको उक्त सहकारीले प्रदेशका कृषकहरुले उत्पादन गरेको कृषि उपजहरुको उचित मूल्य र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्य राखेको थियो । सोही उद्देश्य अनुरुप तत्कालीन अवस्थामा संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको कटहरीको कृषि तथा थोक बजार बिक्री केन्द्र सोही सहकारीमार्फत सञ्चालन गर्ने योजना अनुसार उक्त सहकारी संघ स्थापना गरिएको थियो ।

सोही योजना अनुसार कोशी प्रदेशभरका ३२ वटा सहकारी मिलेर १ करोड २३ लाख रुपैयाँ सेयरपुँजी जम्मा गरेका थिए । तर, अहिले उक्त सहकारी स्थापना भएको ४ वर्ष कटिसक्दा पनि सहकारीले प्रारम्भिक साधारणसभा बाहेक अर्को वार्षिक साधरणसभा समेत गर्न सकेको छैन ।

धेरै नै नाफा हुने दाबी गरेर खोलिएको सहकारी संघ अहिले नाफा दिने होइन, बन्द अवस्थामा छ । कार्तिक ३ र ४ गते बेमौसमी वर्षापछि गोदाममा पानी पसेको र ५० लाखको प्याज नष्ट भएको तथा ३८ लाखभन्दा बढी रुपैयाँ बजारबाट उठाउन बाँकी भएको मौखिक हिसाब अध्यक्ष र सचिवले दिने गरेका छन् । तर, यसको कुनै भरपर्दो लेखा तथा बिलहरु नरहेको सुपरीवेक्षण समितिले जनाएको छ । 

ssfasfadsf (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप