बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कथा

मेरो माइला राजा भो

शनिबार, १९ फागुन २०८०, ११ : ५२
शनिबार, १९ फागुन २०८०

‘सिरानघरे माइला आउने रे, सुन्यौ नानी ?’ एक मन थोरै हाँस्दै, एक मन धेरै रुँदै नुरमाया घर्तीले भनी । थोरै हाँस्दै किनभने सिरानघरे माइला थियो उसका छोराको कमान्डर, उसका आँखाको नानीजस्तो । र, धेरै रुँदै किनभने उता माइला बाँचेर ठूलो मान्छे भएको थियो । यता छोरो मारिएको यतिका वर्षपछि पनि आमाका हृदयको घाउ आलै थियो ।

‘अँ, त नि दिदी,’ चिया पसल्नी सुन्तलीले सही थापी । ‘त्यो त उडेर पो आउने रे लौ । कत्ति न ठूलो राजाजस्तो !’

‘कोई ठूलो हुन कोई मर्नुपर्ने रैछ, हगि नानी ?’ उर्लंदो वेदनाले कण्ठ हिक्क भयो र नुरमायाका आँखामा टलपल–टलपल आँसु भरिए ।

सुन्तली त्यसैत्यसै अवाक् र हतप्रभ भई ।

राजधानीदेखि धेरै टाढा एउटा पहाडी गाउँ छ, झिवाङ । गाउँलेहरूको कल्पनालाई कुतकुत्याउँदै माथिबाट खबर आयो— ल है, गाउँमा सवारी हुने भो ! देशमा राजै छैन त कसको सवारी हुने ? सुन्नेका मनमा उखर्माउलो खुल्दुली पैदा भयो । र, उत्तर आयो— अरु कसको हुनु ? हाम्रै सिरानघरे माइलाको क्या । पहिलेको विद्रोही कमान्डर, अहिलेको के जाती स्यानो राष्ट्रपतिको सवारी । धुलामा हिँडेर होइन, भुइँमा गुडेर होइन, अकासे भटभटेमा गट्टटट उडेर ! गाउँलेहरूले चकित मुद्रामा कान थापेर सुने— ल है, गाउँमा सिरानघरे वीरमान बाठामगरको सवारी हुने भो !

१५ वर्षअघिको कुरा हो । झिवाङमा हेलिकप्टर उर्फ अकासे भटभटेमा मुकुट लाउने राजाको सवारी भएकोे थियो । अहिले न नारानहिटी दरबारमा सिंहासन छ, न मुकुट लाएको राजा चित्रमा कतै देखिन्छ । विद्रोहको भयङ्कर धक्काले सिंहासन ढल्यो र राजा मासियो । राजाको सट्टा अब गगनमार्गबाट बाठामगरको सवारी हुने भो ! 

‘नरोऊ दिदी,’ सान्त्वनाको भाकामा नुरमायाको हात मुसार्दै सुन्तलीले सम्झाई, ‘बरु माइला आउँदा यसो रोइकराइ गर दिदी । यसो बिन्तीभाउ गर । तिम्रो डल्ले मरेर त हो यल्ले त्यो के जाती पति हुन पा’को । ल, मौकाँ यसो केही माग । अँ, नातिलाई गरिखाने राम्रो इलम... । गुनको पैँचो तिर्न तै यल्ले केही गरी पो हाल्ला कि... ।’

अब सिरानघरे माइला उर्फ स्यानो राष्ट्रपतिको फिर्ती सवारीको घडी आयो । बुङबुङती धुलो उडाउँदै अकासे भटभटे स्टार्ट भयो । सेनाका टुकडीको घेरामा लुकाएर सिरानघरे माइलालाई भटभटेमा हुले । नुरमायाको आशा खरानी भो । आहत सुस्केरा हाल्दै उसले तर्क गरी— पहिले मेरो छोरालाई सेनाले मारो । अहिले मेरो माइलालाई उही सेनाले मदेखि खोसेर परपर लगो । धिक्कार छ !

‘अँ नानी, गर्छु त भन्थ्यो ।’ अतीततिर फर्केर नुरमायाले भनी, ‘यो पहिल्यैको कुरा हो, नानी । मेरो डल्ले मारिएपछि ऊ मेरोमा आथ्यो । ऊसँग आउनेकोे हुलै थियो । आयो, मायाले मेरा खुट्टा छोयो र रुँलाझैँ गरी भन्यो— अब तिमी हामी सप्पैकी आमा । अब हामी सप्पै तिम्रा छोरा । भो नरोऊ, कमरेड बज्र मरे पनि हामी छ।ैँ ।’

मारिँदा डल्ले उर्फ बज्र २५ वर्षको थियो । एक महिनाअघि मात्र ऊ बाबु भएको थियो । यता घरमा बाबुको छोरो भएको थियो, उता छोराको बाबु रणमा थियो । बाबुले छोराको मुख देख्न पाएन, छोराले बाबुलाई चिन्न पाएन । नुरमायाका बेचैन अ।ँखा अनायास तल खोल्सातिर झरे र उता खोल्सापारिको खोँचमा पुगेर टक्क अडिए । त्यो उही रगतपच्छे खोँच हो, जसमा आँखा पर्नु के छ, नुरमायालाई त्यसैत्यसै औडाहा भएर आउँछ । त्यहीँ त हो उसको छोरो मारिएको ! त्यो उसको जीवनको एक मात्र आशा, त्यो उसको एक मात्र सहारा ! उसको खेत भने पनि, उसको बारी भने पनि, उसको बन्दबेपार भने पनि, उसको जे भने पनि त्यही छोरो थियो  । आखिर त्यही त थियो नरलोकमा उसको सर्वस्व ! 

मध्य दिन । काँचो छाला सुक्ने भदौरे घाम चरक्क चर्केको बेला । त्यो एकलासे खोँचमा बैरीका आँखा छलेर छापामार तालिम हुँदै थियो । सत्ता पल्टाउने तालिम । बन्दुक पड्काउने, बैरीलाई ताक्ने, हानेर भाग्ने, घोप्टो परेर घस्रिने र अरु के–के, के–के गर्ने तालिम । तालिम दिने माउ कमान्डर यही सिरानघरे माइला थियो, यही बाठामगर । 

कतै दूर आकाशबाट हेलिकप्टरको आवाज आयो । ऊबेला सिकार खोज्दै दाउ छोप्न हेलिकप्टरमा शाही सेना आउँथ्यो । त्यो उडी आउने जिनिसलाई के जाती नाइट–भिजन भनिन्थ्यो । आतङ्ककारीको शंका लागे, शाही सेना अन्धाधुन्ध बम खसाउँथ्यो । निसानामा कहिलेकाहीँ छापामार पर्थे, धेरैजसो निहत्था गाउँले अनाहकमा मर्थे । त्यस दिन छापामार फेला परे । एकबारको जुनी जोगाउन ती कोही कान्लामुनि लुके, कोही झाडीतिर कुदे । कसैले रूखको आड लिए, कोही भुइँमा घोप्टो परेर हल न चल भए । आऽ व्याधाले त्यति माथिबाट के देख्ला र ? देखिहाले पनि त्यस नाथेले के नै पो नाप्ला र ? नुरमायाको डल्लेले मूर्ख तालले अटेर गर्‍यो । कहलिएको बहादुर थियो ऊ— कुनै बैरीलाई बाल नगन्ने, कोहीदेखि कत्ति नडराउने । के शत्रु, के मृत्यु— उसका लागि ती केही थिएनन् । त्यत्तिकैमा शाही सेनाको गोली ड्याङ्ग टाउकामा लाग्यो । र ऊ कहिल्यै नउठ्ने गरी ढल्यो । अनि त्यही खोँचको धर्तीले उसलाई सदाका लागि निल्यो ।

‘नरोऊ दिदी ।’

‘नानी ! पापीका गोलीले मेरो डल्ले ढल्यो र मेरो संसारै अँध्यारो भो ।’

‘दिदी... ।’

‘कठै ! आज ऊ बाँचि’रा भए... ।’

‘ऊ नभए नि माइला छ, दिदी ।’

‘खै नानी, छ भनुँ कि छैन भनुँ ? अचेल त्यो मान्छे अर्कै भा’छ भन्छन् । परचक्रीले कुरा काट्या हुन् कि साँच्ची हो, म के जानुँ नानी ?’ 

नुरमायाको भाँचिएको मन छोराबाट नातितिर मोडियो । नातिकी आमा ऊ जन्मेको दुई वर्षपछि अर्कैसँग गई । टुहुरो नाति बज्यैको शोकाकुल काखमा हुर्कियो । त्यो नाति अहिले १८ वर्ष पुगेको थियो । पढ्दापढ्दै उसको पढाइ बिचैमा टुट्यो । के खानु, के लाउनु, कोसँग गुहार माग्नु, उपाय क्यै भएन । फिस भन्यो, किताब–कापी भन्यो, ड्रेस भन्यो, के भन्यो— केले पुर्‍याउनु ? अनि घाँस–दाउरा, खन–जोत, भारी ओसोर–पसार— नातिको पाठशाला त यो पो भयो !

सिरानघरे माइलाको बूढो बाबुले हेलिकप्टर हेर्दै बडो घमण्डसाथ भन्योे— ‘हेर, मेरो माइला राजा भो !’ सँगसँगै नुरमायाको चीत्कार वायुमण्डलमा पोखियो— ‘हेर, अपराधी उड्यो !’ नुरमायाको त्यो आक्रोशको तारो अकासे भटभटे थियो कि सेना थियो कि माइला थियो ! यस्सै भन्न गाह्रो छ ।

‘कुरा सुन्दा त्यसैत्यसै डर लागेर आउँछ, नानी !’ नुरमायाले साउती गरी, ‘मेरो नाति बम पड्काउने पार्टीमा लाग्या छ भन्छन् । यसो सुन्दा ऊ कुरा पनि त्यस्तै त्यस्तै गर्छ, नानी । मुठ्ठी कसेर ऊ भन्छ— म बम बनाउँछु र मेरो बाउलाई मार्नेलाई म मार्छु ।’

सिरानघरे माइलाको सवारीको दिन नजिक आयो । गाउँमा फाटफुट पुलिस देखापरे । पुलिस देख्यो कि झवाङका गाउँलेलाई पुरानो भूतको सम्झनाले तर्साउँथ्यो । द्वन्द्वकालमा गाउँमा जब पुलिस प्रकट हुन्थ्यो, उसले कि माथ्र्यो कि ऊ मारिन्थ्यो । पुलिस उही हो, जो अहिले सवारीको सुरक्षा मिलाउन झवाङमा हाजिर भएको छ । पुलिसपछि गाउँलेले शाही सेना भनेर चिनेका जवानहरू आए । गाउँलेलाई झन् डर लाग्यो । अब के हुने हो ? दुरुमदुरुम बुट बजार्दै सेनाले विद्यालय कब्जा गर्‍यो । सवारी टोलीको बास विद्यालयमा हुने भो । विद्यालयको ग्राउन्डको बिचमा चुनाको रेखी हालेको हिलिप्याड बन्यो । र, वातावरण झन् डरमर्दो भो । मानिसहरूलाई विद्यालयतिर हेर्न पनि कसोकसो डर लाग्यो । पुलिस उही हो, सेना उही हो— त्यसले के गर्छ, के गर्दैन कसरी जान्नु ? त्यसले ड्याङ्ग हान्यो भने !

बन्दुक बिसाएर भोटको राजनीति गर्न काठमान्डु जाँदा ऊ सादा सिरानघरे माइला थियो । अहिले के जाती सस्यानो राष्ट्रपति भएर अकासे भटभटेमा उसको सवारी हुँदै छ । ऊ पर पूर्वी ड।ँडामाथि अकासे भटभटे देखियो । नुरमायाको मुटु काम्यो । उसका आँखा अनायासै तलको खोँचतिर हुर्रिए । उसको डल्ले त्यही खोँचमा कतै छ । उही शाही सेना हो, छोरालाई मारी पो हाल्ला कि ! नुरमायालाई भनन्न रिङ्गटा लाग्यो । पुतलीले उसलाई आड दिई । एकाएक नुरमायाको डाको छुट्यो । ‘मेरो डल्ले ! माइला त अकासे भटभटेमा उडेर आउँदै छ, माटामुनि तँ कहाँ बिलाइस् बाबु ?’

नुरमाया सोझो चित्तकी अकिञ्चन प्राणी थिई । उसको आशा थियो— सिरानघरे माइला मलाई भेट्न मेरो छाप्रोमै आउला । ‘आमा’ भन्दै उसले सुखदुःख सोध्ला । छाप्रामै नआए नि उसलाई भेट्न मलाई डाकिपठाउला । अनि पुराना वाचा सम्झेर मायाको भाकामा ‘म आमालाई के गरुँ’ भनेर सोध्ला । तर, दुर्भाग्यवश त्यस्तो केही भएन । सिरानघरे माइलालाई सिकारी कुकुर, पुलिस र सेनाले घेरेर विद्यालयमा लुकाए । ‘सुरक्षा–सुरक्षा’ भन्दै तिनले स–साना भुइँमान्छेहरूलाई अलग्गै, परै लखेटे । अरुका के कुरा, नुरमायालाई धरी उसको छेउ पर्न दिएनन् । गाउँका पञ्च र मण्डले, कमरेड र काइते, टाठाबाठा र चैतेहरूले उसलाई नाकै पुरिने गरी माला लाइदिए, खादा भिराइदिए । अनि आकाशै चिरिने गरी तिनले उसको जयजयकार गरे । अनि खसी काटेर, जाँडपानी टक्य्रा’र उसको धुमधाम सेवा–सत्कार गरे ।

स्वागत–सत्कारको कर्मकाण्ड सकियो । र, अब सिरानघरे माइला उर्फ स्यानो राष्ट्रपतिको फिर्ती सवारीको घडी आयो । बुङबुङती धुलो उडाउँदै अकासे भटभटे स्टार्ट भयो । सेनाका टुकडीको घेरामा लुकाएर सिरानघरे माइलालाई भटभटेमा हुले । नुरमायाको आशा खरानी भो । आहत सुस्केरा हाल्दै उसले तर्क गरी— पहिले मेरो छोरालाई सेनाले मारो । अहिले मेरो माइलालाई उही सेनाले मदेखि खोसेर परपर लगो । धिक्कार छ !

अकासे भटभटे सोझै हुत्त माथि उड्यो । उन्मादी जयजयकारले गगन गुञ्जायमान भयो । सिरानघरे माइलाको बूढो बाबुले हेलिकप्टर हेर्दै बडो घमण्डसाथ भन्योे— ‘हेर, मेरो माइला राजा भो !’ सँगसँगै नुरमायाको चीत्कार वायुमण्डलमा पोखियो— ‘हेर, अपराधी उड्यो !’ नुरमायाको त्यो आक्रोशको तारो अकासे भटभटे थियो कि सेना थियो कि माइला थियो ! यस्सै भन्न गाह्रो छ ।

हेलिकप्टर जति माथि उठ्दै गयो, त्यसको चापले नुरमाया त्यति नै तल दबिँदै गई । उसका आँखासामु घना अन्धकार व्याप्त भयो । र त्यसैत्यसै लल्याकलुलुक भई ऊ । अनि ऊ जमिनमा ढली र मूच्र्छा परी । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप