शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय महिला दिवस

अभावै–अभावबिच पनि साहस र सङ्घर्षले सफलताको शिखर चुम्ने महिला रेस्लरको कथा

शुक्रबार, २५ फागुन २०८०, ०७ : ३६
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । नेपाली खेलकुदमा नौलो नाम होइन, भगवती खड्का ‘युनिका’ । खासगरी पछिल्लो पुस्ताका खेलप्रेमीमाझ यो नाम झनै चर्चित छ । अझ रेस्लिङ खेलमा झुम्मिने पुस्ताका लागि त भगवती उदाहरणीय नाम नै हो ।

तर, नेपाली खेलकुदमा आजको स्थितिसम्म आइपुग्न भगवतीले गरे–भोगेका सङ्घर्षका कथाहरू भने धेरैका लागि नयाँ हुन सक्छ । भगवतीको जीवनका धेरै पाटाहरू छन् । भगवतीले आफूलाई अन्तर्राष्ट्रिय रेस्लिङ रिङमा उभ्याउन गरेका सङ्घर्षका कथा धेरैका लागि उदाहरणीय बन्न सक्छ ।

आज अन्तर्राष्ट्रिय महिला दिवस । औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको एक सय १४ वर्ष पुगिसकेको छ । सन् १९११ मा पहिलो पटक महिला दिवस मनाइरहँदा महिलाले भोग्नु परेका समस्या र सङ्घर्षका कथाहरू फरक थिए । त्यसयता समयको लामो कालखण्ड बितिसकेको छ ।

विश्व परिवेश र परिस्थितिले कोल्टे फेर्दै गएको छ । योसँगै महिलाका समस्या र सङ्घर्षका कथाहरूले पनि स्वरूप परिवर्तन हुँदै आएका छन् । यतिबेला विश्वका विभिन्न भूगोलमा बस्ने महिलाहरूले फरक–फरक समस्या र चुनौतीसँग जुध्नु परिरहेको छ ।

खासगरी अफ्रिका र दक्षिण एसियाका अधिकांश राष्ट्रमा महिला सङ्घर्षका कथाहरू झनै कहालीलाग्दा छन् । भोक, रोग, अभाव र चरम गरिबीका अतिरिक्त यस भेगका महिलाले केवल महिला भएकै कारण अतिरिक्त समस्यासँग पनि जुध्नु पर्ने अवस्था छ ।

तर, महिला रेस्लर भगवतीजस्ता पात्रहरू पनि यही समाजमा छन्, जसले अभाव र बाध्यतापूर्ण जीवनबाट हरेस खाएका धेरैलाई सुखद भविष्यका लागि सङ्घर्ष गर्ने प्रेरणा प्रदान गर्छ । खासमा नेपाली समाजमा भगवतीलाई ‘शक्ति’ को प्रतिकका रूपमा लिइन्छ ।

अनि, महिला रेस्लर भगवतीले आफूलाई स्थापित गराएको खेल पनि शक्ति अर्थात् शारीरिक तागतसँगै जोडिएको छ । त्यसैले महिला दिवसको अवसरमा हामीले ‘भगवती’ को जीवनका फरक पाटा र उनले सफलताको शिखर चुम्न गरेका सङ्घर्षका कथाहरूलाई केलाउने प्रयास गरेका हौँ ।

अभावग्रस्त जीवनले दियो सङ्घर्षको शिक्षा

भगवतीको जन्म आजभन्दा ३३ वर्षअघि रामेछाप जिल्लाको मन्थली नगरपालिका–१२ स्थित गेलुमा एउटा निम्नमध्यमवर्गीय परिवारमा भएको थियो । परिवारको आर्थिक अवस्था निकै कमजोर । थोरै खेतबारी अनि, बुवा–आमाले चलाउँदै आएको एउटा सानो पसल । हातमुख जोर्न पनि धौ–धौ ।

‘हाम्रो आर्थिक अवस्था निकै कमजोर थियो । त्यसैले बुझ्ने भएदेखि नै म आमा–बुवालाई खेतबारीमा सघाउन जान्थेँ । खोलामा माछा मार्न गयो, त्यसलाई बजारमा बेच्यो । त्यसबाट आएको थोरै पैसाले पनि परिवारमा भरथेग हुन्थ्यो । सायद त्यसैले होला, सानै उमेरदेखि मेरो मस्तिष्कमा सङ्घर्ष नै जीवन रहेछ भन्ने छाप पर्न गयो,’ भगवती विगत सम्झिन्छिन् ।

BHAGABATI KHADKA (4)

बिस्तारै बुवा–आमाले उनलाई गाउँकै विद्यालयमा भर्ना गरिदिए । सानैदेखि उनको शारीरिक विकास भने फरक तरिकाले भएको थियो । आफ्नै उमेरका अन्य बालबालिकाभन्दा उनको उचाइ केही बढी थियो । त्यसैले स्कुलमा साथीभाइहरू उनलाई जिस्काउने पनि गर्थे ।

‘उचाइ बढी भएकाले साथीभाइहरू मलाई जिस्काउँथे । म सानैदेखि हक्की स्वभावकी थिएँ । त्यसैले जिस्काउने केटाहरूलाई म एक्लै ठटाइ दिन्थेँ । बिस्तारै उनीहरू मसँग हच्किन थाले । जिस्काउन त परको कुरा, उनीहरू मेरो छेउ पर्नसम्म डराउँथे,’ त्यो क्षणको सम्झना गर्दा अहिले पनि मज्जैले हाँस्छिन् भगवती ।

माओवादी लडाकु शिविरबाट भागेपछि बिताएको त्रासपूर्ण जीवन

२०५८ सालतिरको कुरा हो । माओवादी जनयुद्ध उत्कर्षमा थियो । उनको गाउँमा पनि माओवादीको जगजगी थियो । माओवादी नेता–कार्यकर्ताहरू घरघर धाउँथे । जनयुद्धलाई सहयोग गर्न सबैसँग सहयोग माग्थे । कसैसँग पैसा सहयोग माग्थे भने पैसा नहुनेसँग घरको कुनै सदस्यलाई जनयुद्धमा पठाउन दबाब दिन्थे ।

उता भगवती पनि बिस्तारै जवान हुँदै थिइन् । माओवादी नेता–कार्यकर्ताको आँखा उनीमाथि नपर्ने कुरै भएन । यस्तोमा उनको परिवारसँग पनि जनयुद्धलाई सफल पार्न आर्थिक सहयोग वा परिवारको कुनै सदस्य दिन दबाब बढ्न थाल्यो ।

अवस्था कमजोर भएका कारण भगवतीको परिवारले आर्थिक सहयोग गर्ने सम्भावना थिएन । अर्कोतिर भगवतीका आमा–बुवा छोरीलाई पनि जनयुद्धमा पठाउन चाहँदैन थिए । उमेर परिपक्व नभएका कारण भगवतीलाई पनि किन र केका लागि जनयुद्ध भन्ने राम्रो ज्ञानसम्म थिएन । त्यसैले उनी पनि जनयुद्धको नाममा जंगल पस्न तयार थिइनन् ।

यस्तैमा एक दिन घाँस–दाउराका लागि जंगल गएको बेला भगवती पनि गाउँका अन्य युवाजस्तै माओवादीको निशानामा परिन् । जंगलबाटै अपहरण गरेर उनलाई लडाकु बनाउन अज्ञात शिविरमा लगियो । त्यसपछि उनलाई लडाकु शिविरमा युद्धको कला सिकाउने काम सुरु भयो ।

भगवती भने कुनै पनि हालतमा माओवादी लडाकु बनेर बन्दुक बोक्न चाहँदैन थिइन् । तर, प्रतिकार गर्ने साहस पनि थिएन । त्यसैले उनी बन्दुक बोक्न बाध्य भइन् । तर, यो क्रम धेरै लामो चलेन । एक दिन शिविरका अन्य लडाकुलाई झुक्याउँदै उनी भागेर फेरि घर फर्किइन् । भागेर घर फर्किएपछि उनी दोहोरो त्रासमा जीवन बिताउन बाध्य भइन् ।

‘एकातिर माओवादी लडाकुले फेरि अपहरण गरेर लैजालान् भन्ने डर थियो । अर्कोतिर, माओवादी जनयुद्धमा लागेको भनेपछि नेपाली सेनाको पनि उत्तिकै त्रास थियो । जे पनि हुन सक्थ्यो । तर, मैले हिम्मत हारिनँ । एक दिन त सबैले मर्नैपर्छ भन्ने लाग्यो । मारे पनि मारुन् भनेर गाउँमै बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिएँ,’ उनी भन्छिन् ।

अभावग्रस्त जीवन र ऋणको भारीले गरायो काठमाडौँको यात्रा

माओवादी लडाकु शिविरबाट भागेर आएपछि उनले लामो समय दोहोरो त्रासमा जीवन बिताइन् । त्यसपछि बिस्तारै उनी आफ्नो अध्ययन पुरा गर्न फेरि विद्यालय जान थालिन् । अन्ततः २०६४ सालमा उनले तामाकोशी जनजागृति स्कुल, खिम्तीबाट २०६४ सालमा प्रवेशिका परीक्षा (एसएलसी) पनि उत्तीर्ण गरिन् ।

अर्कोतिर, परिवारको अवस्था भने झनै दयनीय बन्दै थियो । उनको परिवारमाथि एकपछि अर्को गर्दै ऋणको भारी पनि थपिँदै थियो । परिवार चलाउन र छोरा (भगवतीको दाजु) लाई काठमाडौँमा साइन्स पढाउन भगवतीका पिताले स्थानीय साहुसँग चार लाख रुपैयाँ ऋण लिएका थिए ।

त्यो ऋण पनि सावाँ, ब्याज र स्याज हुँदै चार लाखबाट नौ लाख रुपैयाँ पुगिसकेको थियो । ऋण तिर्न नसकेपछि भएको जायजेथा पनि साहुको कब्जामा परिसकेको थियो । पसल पनि बन्द भइसकेको थियो । यति हुँदा पनि ऋण तिर्न साहुको किचकिच कायमै थियो ।

‘भारी मन अनि थुप्रै अधुरा सपना बोकेर काठमाडौँ यात्रामा होमिदा मसँग बुवाले दिएको एक सय रुपैयाँभन्दा बढी केही थिएन । बिरानो सहर, अपरिचित मान्छेहरूको हुल अनि, घर परिवारको न्यास्रो । अहिले सम्झँदा पनि मन भक्कानिएर आउँछ,’ उनी भन्छिन् ।

‘ऋणको ब्याज तिर्ने नाममा नै भएको धेरथोर सम्पत्ति पनि साहुको कब्जामा परिसकेको थियो । साहु आएर कहिले भैंसी लिएर जान्थे अनि कहिले बाख्रो । पसर पनि बन्द भयो । हाम्रो परिवार बिचल्लीमा परेको थियो,’ ती दिन सम्झँदा भगवती अहिले पनि विचलित बन्छिन् ।

जीवन धान्ने कुनै विकल्प बाँकी नरहेपछि उनले पनि एउटा निर्णय लिइन् । उनी सहर पसेर पैसा कमाउने अनि साहुको ऋणबाट परिवारलाई मुक्त गराउने सपना साँच्दै एक दिन रामेछापबाट काठमाडौँको यात्रामा निस्किइन् । 

‘भारी मन अनि थुप्रै अधुरा सपना बोकेर काठमाडौँ यात्रामा होमिदा मसँग बुवाले दिएको एक सय रुपैयाँभन्दा बढी केही थिएन । बिरानो सहर, अपरिचित मान्छेहरूको हुल अनि, घर परिवारको न्यास्रो । अहिले सम्झँदा पनि मन भक्कानिएर आउँछ,’ उनी भन्छिन् ।

अनि सुरु भयो सास्ती र सङ्घर्षको अन्त्यहीन यात्रा

काठमाडौँ आएपछि उनी एक आफन्तको घरमा आश्रय लिन पुगिन् । केही दिनपछि आफन्तको स्वभावमा परिवर्तन आउन थाल्यो । आफन्तकै घर भए पनि उनले त्यहाँ घरेलु कामदारले भन्दा बढी सास्ती खेप्नु पर्यो ।

भगवतीको निरश जीवनमा थुप्रै समस्या एकसाथ ओइरिएका थिए – अभावग्रस्त जीवन, छाक टार्ने समस्या, अध्ययनलाई निरन्तरता दिने हुटहुटी, परिवारको न्यास्रो, साहुको ऋण तिर्नुपर्ने बाध्यता ।

‘दिन–रात नभनी मरेर काम गर्थेँ । तर, कहिल्यै जस पाइनँ । छाडेर जाने ठाउँ पनि कतै थिएन । काठमाडौँजस्तो ठुलो सहरमा अरू कुनै सहारा नभएपछि पीडा सहेरै केही समय बिताएँ । त्यसपछि एउटी साथीको सहयोगमा डिपार्टमेन्टल स्टोरमा काम पाएँ । तलब निकै कम थियो । आधाभन्दा बढी पैसा घर बहालमै बुझाउनु पर्थ्यो,’ भगवतीले सङ्घर्षका दिनहरू सम्झिइन् ।

यसबिचमा उनले आफ्नो अध्ययनलाई निरन्तरता दिने योजना बनाइन् । त्यसपछि उनी बागबजारस्थित पद्मकन्या क्याम्पसमा भर्ना भइन् । भगवतीको निरश जीवनमा थुप्रै समस्या एकसाथ ओइरिएका थिए – अभावग्रस्त जीवन, छाक टार्ने समस्या, अध्ययनलाई निरन्तरता दिने हुटहुटी, परिवारको न्यास्रो, साहुको ऋण तिर्नुपर्ने बाध्यता ।

‘पढाइ अगाडि बढाउने हुटहुटीले छाडेको थिएन । पद्मकन्या क्याम्पसमा भर्ना भएँ । दिनभरि डिपार्टमेन्टल स्टोरमा काम गर्थेँ । क्याम्पस र कामको धपेडीले ज्यान गलेर आउँथ्यो । त्यसमाथि मेरो जिउ–डाल पनि ठुलो थियो । खाना पनि बढी नै चाहिन्थ्यो । तर, पैसाले थेग्ने अवस्था नै थिएन । कति रात त एउटा रोटीको भरमा निदाउने प्रयास गर्थेँ,’ करिब ६ फिट अग्ली भगवती आफ्नो वृत्तान्त सुनाइन् ।

झन्ट कटवालसँगको भेटले देखायो खेलाडी बन्ने सपना

पद्मकन्या क्याम्पसमा पढ्दा उनको भेट भयो, नेपाल विद्यार्थी संघकी तत्कालीन नेता सरस्वती पोखरेलसँग । भगवतीको उचाइ र शरीर अन्य छोरीमान्छेको भन्दा फरक थियो । उनी निकै अग्ली र खाइलाग्दो शरीरकी धनी थिइन् ।

त्यसैले सरस्वतीले उनलाई खेलाडी बन्न सुझाव दिइन् । यसको पछाडि पनि एउटा कारण थियो । खासमा आफ्नो समयकी चर्चित भारोत्तोलन खेलाडी झन्ट कटवाल पनि पद्मकन्या क्याम्पसमै पढ्थिन् । भगवतीको शरीर पनि भारोत्तोलन खेलाडीजस्तै थियो ।

त्यसपछि सरस्वतीले भगवतीको भेट झन्ट कटवालसँग गराइन् । यहीँबाट सुरु भयो, भगवतीको खेलाडी बन्ने यात्रा । झन्टले भगवतीलाई पनि आफूजस्तै खेलाडी बनाउन भारोत्तोलनका प्रशिक्षकहरूसँग भेट गराइन् । भगवती निरन्तर प्रशिक्षणमा जान थालिन् ।

BHAGABATI KHADKA (2)

प्रशिक्षण सुरु गरेको छोटो समयमै उनले भारोत्तोलनको एक प्रतियोगिता एक सय ३५ केजी तौल उचाल्दै कांस्य पदक जित्न सफल भइन् । उनले आफ्नो खेल जीवनमा जितेको यो पहिलो पदक थियो । तर, उनको भारोत्तोलन यात्रा पनि लामो समय टिक्न सकेन ।

रामेछापमै हुँदा एकपटक लडेर उनको हातको जोर्नीमा चोट लागेको थियो । भारोत्तोलनको प्रशिक्षणका क्रममा बढी भार उचाल्दा उनको त्यो चोट बल्झन पुग्यो । त्यसपछि गुरुहरूकै सुझावमा उनले भारोत्तोलन खेल्न छाडिन् । ‘सायद मेरो भाग्यमा अझ बढी सङ्घर्ष लेखिएको थियो । पुरानो चोट बल्झिएकाले मैले भारोत्तोलन खेललाई निरन्तरता दिन सकिन,’ उनी भन्छिन् ।

प्रशिक्षणका क्रममा पटक–पटक दुर्व्यवहार

भारोत्तोलनको प्रशिक्षण गर्दाकै अवस्थामा उनको भेट कराँत र बक्सिङका प्रशिक्षकसँग पनि हुनपुग्यो । उनको शारीरिक जिउडाल देखेर अन्य खेलका प्रशिक्षकहरूले पनि आफ्नो खेलमा आए सफल खेलाडी बन्न सक्ने प्रलोभन देखाउँथे ।

यसैक्रममा उनले सोतोकान कराँते र बक्सिङको प्रशिक्षण पनि गरिन् । तर, कराँते र बक्सिङको प्रशिक्षण उनलाई सुखद अनुभूति दिएन । प्रशिक्षणका क्रममा उनी पटक–पटक यौन दुर्व्यवहारको शिकार बन्न पुगिन् ।

‘कराँते र बक्सिङको प्रशिक्षण गर्दा मलाई जीवनमा पहिलो पटक महिला भएर जन्मिएकोमा हिनताबोध भएको थियो । गुरुहरू नै अनुचित फाइदा उठाउन खोज्थे । प्रशिक्षण गर्दा संवेदनशील अंगहरुमा छुन्थे । सँगै प्रशिक्षण गर्ने केही पुरुष खेलाडी पनि दुर्व्यवहार गर्ने अवसर पर्खेर बस्थे । त्यसपछि मैले यी दुबै खेलको प्रशिक्षण छाडिदिएँ,’ उनले आफ्नो जीवनसँग जोडिएको तितो यथार्थ ओकलिन् ।

भगवतीको अनुभवमा महिलाका लागि खेलकुद क्षेत्र त्यतिबेला निकै चुनौतीपूर्ण थियो । खेलकुदमा लाग्दा महिला भएकै कारण उनीहरूले सामना गर्नुपर्ने यो अर्को चुनौती थियो । ‘त्यतिबेला महिला खेलाडीले दुर्व्यवहारको चुनौतीको पनि सामना गर्नुपर्थ्यो । अहिले त अवस्थामा निकै सुधार आएको छ । कतिपय महिला खेलाडी त लोकलाज र हीनताबोधका कारण दुर्व्यवहारका घटना बाहिर ल्याउन पनि डराउँथे । नेपाली खेलकुदको यो सबैभन्दा तितो यथार्थ हो,’ उनी भन्छिन् ।

हिमालयन टाइगरसँगको भेटले बनायो चर्चित रेस्लर

खेलकुदमै सक्रिय रहँदा उनको भेटा चर्चित रेस्लर भरतबहादुर बिसुराल अर्थात् हिमालयन टाइगरसँग भयो । बिसुरालसँगको भेटपछि भगवती उनको चेली बन्न पुगिन् । बिसुरालले नै उनमा अब्बल महिला रेस्लर बनेर उदाउने सपना देखाए ।

‘हिमालयन टाइगरले नै नेपालमा रेस्लिङ खेल सुरु गर्नुभएको हो । उहाँसँग भेटेपछि मैले पनि चर्चित रेस्लर बन्ने सपना देख्न थालेँ । मेरो जिउडालले पनि मलाई राम्रो साथ दिएको थियो । म नियमित प्रशिक्षण गर्न थालेँ । तर, प्रशिक्षण निकै कडा हुन्थ्यो । जिउमा जताततै नराम्ररी चोट लाग्थ्यो । तर, मैले हरेस खाइनँ । बलियो आत्मविश्वास र सङ्घर्ष गर्ने क्षमताका कारण नै म निरन्तर प्रशिक्षणमा टिकिरहेँ,’ उनी भन्छिन् ।

Bhagwati 10

प्रशिक्षणका क्रममा उनी पुरुष खेलाडीहरूसँग पनि भिड्थिन् । यो प्रशिक्षणको सामान्य प्रक्रिया थियो । त्यसपछि उनी बिस्तारै महिला रेस्लरका रूपमा स्थापित हुँदै गइन् । ‘बिस्तारै म महिला रेस्लरको रूपमा चर्चित बन्दै गएँ । विभिन्न प्रतियोगितामा भाग पनि लिएँ । अझै पनि म नयाँ परिचय स्थापित गर्न निरन्तर सङ्घर्ष गरिरहेकी छु,’ भगवती भन्छिन् ।

जीवनमा कहिल्यै भुल्न नसक्ने एउटा प्रतियोगिता

समयको यो कालखण्डसम्म आइपुग्दा उनी चर्चित महिला रेस्लरको रूपमा स्थापित भइसकेकी छन् । उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । नेपालका अतिरिक्त भारत, जापानजस्ता देशमा पनि उनले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् ।

तर, एउटा प्रतियोगिता भने आफ्नो स्मरणबाट कहिल्यै नमेटिने उनी बताउँछिन् । ‘२०६९ साल मङ्सिर १६ गते अर्घाखाँचीको सन्धिखर्कमा रेस्लिङ प्रतियोगिता आयोजना भएको थियो । त्यो प्रतियोगितामा मैले मेक्सिकोकी चर्चित रेस्लर दी ग्रेट चिन्नेसँग भिडन्त गरेकी थिएँ । त्यही प्रतियोगिताले मलाई नेपालको पहिलो महिला रेस्लरको परिचय दिएको थियो । त्यही प्रतियोगिताले मेरो खेल जीवनमा नयाँ परिचय थपेको थियो,’ यसो भनिरहँदा उनको मुहार उज्यालो देखिन्थ्यो ।

जब रिङमा अमेरिकाका पुरुष रेस्लरलाई हराइन्

काठमाडौँको भृकुटी मण्डमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना भएको थियो । त्यो प्रतियोगिताका लागि लामो समयदेखि ठुलै प्रचारप्रसार पनि गरिएको थियो । प्रतियोगिता हेर्न ठुलो सङ्ख्यामा दर्शक उपस्थित भएका थिए ।

कारण थियो, त्यो प्रतियोगितामा नेपाली रेस्लर भगवतीले अमेरिकी पुरुष रेस्लर पेड्रोलाई चुनौती दिँदै थिइन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित उक्त प्रतियोगितामा भगवतीले पेड्रोलाई सिंगल म्याचमा पराजयको स्वाद चखाएकी थिइन् ।

भगवतीसँग सिंगल म्याच खेल्नुअघि अमेरिकी रेस्लर पेड्रोले भारत र नेपालका रेस्लरसँग खेलेका थिए । त्यसमा पेड्रो विजयी पनि भएका थिए । उक्त जितपछि भगवतीले पेड्रोलाई सिंगल म्याचका लागि चुनौती दिएकी थिइन् ।

कालापत्थरमा रेस्लिङ खेलेर विश्व कीर्तिमान बनाउने हुटहुटी

रेस्लिङ खेलले भगवतीको अभावग्रस्त जीवनलाई धेरै कुरा दियो । ‘युनिका’ का रूपमा नयाँ नाम दियो, आर्थिक रूपमा जीवन धान्न आधार दियो, अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरव बढाउने अवसर दियो । सबैभन्दा ठुलो कुरा, जीवनमा अझ बढी केही गरेर देखाउने ‘सपना’ पनि दियो ।

अब उनले रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने एउटा सपना देखेकी छन् । उनी कालापत्थरमा रेस्लिङ प्रतियोगिता आयोजना गरेर छुट्टै कीर्तिमान बनाउने ध्याउन्नमा लागेकी छन् । उनका अनुसार, उच्च हिमाली भेगमा हालसम्म रेस्लिङको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको छैन ।

Bhagwati Khadka

‘अब म पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर विश्व कीर्तिमान बनाउन चाहन्छु । यसका लागि प्रक्रिया पनि अगाडि बढाइसकेकी छु । प्रतियोगितामा नेपालका अतिरिक्त अमेरिका, अस्ट्रेलिया, जापान र पाकिस्तानका खेलाडीले पनि सहभागिता जनाउने आश्वासन दिएका छन् । मैले बुद्ध जयन्तीको अवसर पारेर यो प्रतियोगिता आयोजना गर्ने योजना बनाएकी छु,’ उनी भन्छिन् ।

आफूजस्तै थुप्रै महिला रेस्लर जन्माउने योजना

थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि भगवतीले हालसम्म डब्लूडब्लूई भने खेल्ने अवसर पाएकी छैनन् । ‘डब्लूडब्लूई खेल्न निकै गाह्रो छ । म अझै पनि प्रयास गर्दैछु । तर, मैले यो प्रतियोगिता खेल्ने अवसर नपाए पनि मैले तयार पारेका महिला खेलाडीले एक दिन अवश्य डब्लूडब्लूई खेल्नेछन्,’ उनी आशावादी छन् ।

यसका लागि उनले काठमाडौँको शान्तिनगरमा आफ्नै पहलमा ‘नेपाल महिला रेस्लिङ फाउन्डेसन’ स्थापना गरेर युवा खेलाडीहरू तयार पारिरहेकी छन् । हाल उनले त्यो एकाडेमीमा एक सय १९ महिला र ४३ जना पुरुष रेस्लरलाई प्रशिक्षण दिँदै आएकी छन् ।

‘नेपाली समाजमा पटकपटक महिला हिंसाका घटना हुँदै आएका छन् । यस्ता घटनाबाट आफूलाई जोगाउन सबैभन्दा पहिले महिला आफै सशक्त बन्नुपर्छ । यसका लागि रेस्लिङ खेल पनि एउटा महत्त्वपूर्ण माध्यम हो । यो खेलले महिलाको आत्मविश्वास बढाउँछ । आफूविरुद्ध हुने हिंसाको प्रतिकार गर्ने हिम्मत दिन्छ,’ उनी भन्छिन् ।

फरक पाटो :  सिरियलदेखि चलचित्रसम्मको यात्रा

प्रभावशाली महिला रेस्लिङ खेलाडीका अतिरिक्त भगवतीले गीत–संगीत र कलाकारिता क्षेत्रमा पनि छुट्टै पहिचान बनाएकी छन् । उनको नृत्यकला जति लोभलाग्दो छ, विभिन्न सिरियल र चलचित्रमा उनले दिएको फाइटका सिनहरू पनि उत्तिकै रोमाञ्चक ।

‘मैले हालसम्म ६० वटाभन्दा बढी टेलिसिरियल र चलचित्रमा फरक–फरक भूमिकामा काम गरिसकेकी छु । भोजपुरी चलचित्रहरूमा पनि काम गरेकी छु । थुप्रै डान्स प्रतियोगिता र म्युजिक भिडियोमा पनि काम गरेकी छु । बलियो आत्मविश्वास, निरन्तरको परिश्रमिक, सफलता चुमेरै छाड्ने हुटहुटी भएमा महिलाले गर्न नसक्ने कुनै काम छैन भन्ने मेरो अनुभव हो,’ उनी भन्छिन् ।

‘हम हैँ हिन्दुस्तानी हिरो’ नामको एउटा भोजपुरी चलचित्रमा उनले चर्चित भारतीय कलाकार शक्ति कपुरसँग पनि अभिनय गरेकी छन् । यसका अतिरिक्त उनले हबल्दार सुन्तली, ब्ल्याक लाइट, वर्षात्, नबोले नि हाँसी राख न, प्रतिकार, हिम्मतवाली, रामप्यारीलगायतका विभिन्न चलचित्रमा अभिनय गरेकी छन् । यसका अतिरिक्त पनि उनले थुप्रे सिरियल र चलचित्रमा अभिनय गरेकी छन् ।

‘धेरै सिरियल र चलचित्रमा विभिन्न फरक–फरक भूमिका निर्वाह गरे पनि कलाकारिता क्षेत्रले मलाई खासै लोभ्याउन भने सकेन । मेरो पहिलो रोजाइ भनेको रेस्लिङ खेल नै हो । यही खेलले मलाई नयाँ परिचय दियो,’ उनी भन्छिन् ।

अन्त्यमा, आखिर तिरिन् त बुवाले साहुसँग लिएको ऋण ?

उनी रामेछापको गेलु गाउँबाट एउटा उद्देश्य बोकेर काठमाडौँ होमिएकी थिइन् । चर्चित रेस्लर बन्ने, कलाकारिता क्षेत्रमा रमाउनेजस्ता सपना त उनले काठमाडौँ पसेपछि मात्र देखेकी हुन् । सुरुमा त उनी परिवार चलाउन बुवाले साहुसँग लिएको नौ लाख रुपैयाँ ऋण तिर्ने वाचा गर्दै काठमाडौँ खाल्डोमा झरेकी थिइन् ।

आफूले रेस्टुरेन्ट, रेस्लिङ र कलाकारिता क्षेत्रमा लागेर कमाएको पैसाले सबैभन्दा पहिले उनले बुवासँग गरेको बाचा नै पुरा गरिन् । अर्थात्, साहुको नौ लाख रुपैयाँ ऋण तिरिन् । त्यसपछि साहुले कब्जा जमाएको खेतबारी र घर पनि फेरि आफ्नो नाममा ल्याइन् ।

काठमाडौँ झरेदेखि नै बुवासँग गरेको बाचा उनले कहिल्यै भुलिनन् । यसबिचमा जीवन धान्न उनले काठमाडौँको ठमेलमा एउटा रेस्टुरेन्ट पनि चलाइन् । उनको रेस्टुरेन्ट राम्ररी नै चल्यो । यता खेलकुद र कलाकारिता क्षेत्रमा सक्रिय थिइन् ।

आफूले रेस्टुरेन्ट, रेस्लिङ र कलाकारिता क्षेत्रमा लागेर कमाएको पैसाले सबैभन्दा पहिले उनले बुवासँग गरेको बाचा नै पुरा गरिन् । अर्थात्, साहुको नौ लाख रुपैयाँ ऋण तिरिन् । त्यसपछि साहुले कब्जा जमाएको खेतबारी र घर पनि फेरि आफ्नो नाममा ल्याइन् ।

तर, यसबिचमा उनको जीवनमा अर्को बज्रपात भयो । उनकी आमा सिकिस्त बिरामी परिन् । परीक्षणका क्रममा आमालाई ब्रेन ट्युमर भएको पुष्टि भयो । आमाको उपचारमा थुप्रै पैसा खर्च भयो । आमाको टाउकोको शल्यक्रिया पनि गरियो ।

तर दुर्भाग्य, जति प्रयास गरे पनि आमाले उनलाई छाडेर गइन् । ट्युमरको शल्यक्रिया गर्दा पुरै ट्युमर नफालिएकाले त्यसैबाट क्यान्सर फैलियो र उनकी आमाले सधैँका लागि यो धर्ती छाडेर गइन् । आमाको निधनपछि बुवाले पनि अर्को विवाह गरे । त्यसैले अहिले पनि उनी हरेक समय आफ्नो क्षमताले भ्याएसम्म क्यान्सर पीडितलाई सहयोग गर्न तत्पर रहन्छिन् ।

अनि, कहाँ पुग्यो त अध्ययनको पाटो रु जीवनमा थुप्रै व्यस्तताको बिच पनि उनले आफ्नो अध्ययनलाई भने केही हदसम्म निरन्तरता दिइन् । उनले पद्मकन्या क्याम्पसबाट आईए उत्तीर्ण गरिन् । त्यसपछि रौतहटको चन्द्रनिगाहापुरबाट स्नातक तहको अध्ययन पनि पुरा गरिन् । खासमा चन्द्रनिगाहापुरमा उनको मामा घर छ ।

उनी राष्ट्रपतिबाट पदकबाट पनि सम्मानित भएकी छिन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनको संस्थापक अध्यक्षसमेत रहेकी भगवतीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवाश्री चतुर्थ पदबाट विभूषित गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप