बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध

बिहीबार, २१ जेठ २०८३, १० : १७
बिहीबार, २१ जेठ २०८३

सारांश

  • चीनले ताइवान भ्रमण गरेका न्यूजिल्यान्डका चार सांसदमाथि एक वर्षको यात्रा प्रतिबन्ध लगाएको छ।
  • न्यूजिल्यान्डका विदेशमन्त्रीले यस निर्णयमा आश्चर्य व्यक्त गरेका छन् र सांसदहरूले माफी नमाग्ने बताएका छन्।
  • यस घटनाले न्यूजिल्यान्डको 'एक चीन नीति' र ताइवानसँगको कूटनीतिक सम्बन्धलाई प्रभावित गरेको छ।

बेइजिङ । ताइवान भ्रमण गरेको आरोपमा चीनले न्यूजिल्यान्डका चार जना सांसदमाथि एक वर्षका लागि यात्रा प्रतिबन्ध लगाएको छ। न्यूजिल्यान्डको विदेश मन्त्रालयका अनुसार यस्तो कदम चीनले पहिलो पटक न्यूजिल्यान्डका सांसदहरूविरुद्ध चालेको हो। ती सांसदहरू मे महिनामा ताइवान भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनीहरूले ताइवानी विदेशमन्त्री लिन चिया–लुङसहित विभिन्न उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार सांसदहरूले चीनले लगाएको प्रतिबन्धबारे जानकारी ताइवान भ्रमणबाट फर्किएपछि प्राप्त गरेका थिए। चीनको दूतावासले माफी मागेमा प्रतिबन्ध घटाउन वा हटाउन सकिने संकेत दिएको बताइएको छ।  प्रतिबन्धमा परेका सांसदहरूमा सत्तारुढ गठबन्धनका मौरीन पुग, डेभिड विल्सन, लौरा म्याकक्लुर तथा विपक्षी लेबर पार्टीका डनकन वेबरहेका छन्।

न्यूजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले यस निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ताले न्यूजिल्यान्डका सांसदहरू दशकौँदेखि ताइवान भ्रमण गर्दै आएको र यस्ता भ्रमणहरू न्यूजिल्यान्डको ‘एक चीन नीति’ सँग बाझिने नभएको बताएका छन्।

प्रतिबन्धमा परेकी सांसद लौरा म्याक्लुरले यस कदमलाई विदेशी हस्तक्षेपको एक रूप भन्दै आफू ताइवान भ्रमण गरेकोमा माफी नमाग्ने बताएकी छन्। उनले न्यूजिल्यान्डका सांसदहरूलाई विश्वका जुनसुकै स्थानमा स्वतन्त्र रूपमा भ्रमण गर्ने अधिकार रहेको पनि उल्लेख गरिन्। यस घटनापछि विदेशमन्त्री पिटर्सले बेइजिङ र वेलिङ्टनस्थित विदेश मन्त्रालयका अधिकारीहरूलाई चिनियाँ पक्षसँग छलफल गरी यस निर्णयको कारण बुझ्न निर्देशन दिएका छन्।

न्यूजिल्यान्डले सन १९७२ मा चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो र त्यसयता ‘एक चीन नीति’ अवलम्बन गर्दै आएको छ। यस नीतिअनुसार न्यूजिल्यान्डले बेइजिङलाई मात्र चीनको वैधानिक सरकारका रूपमा मान्यता दिन्छ र ताइपेइसँग औपचारिक कूटनीतिक सम्बन्ध राख्दैन। यद्यपि धेरै अन्य देशहरूजस्तै न्यूजिल्यान्डले पनि ताइवानसँग आर्थिक, सांस्कृतिक तथा संसदीय स्तरका नियमित आदानप्रदानहरू जारी राखेको छ।

गत वर्ष पनि न्यूजिल्यान्डका सांसदहरूको एक टोलीले ताइवान भ्रमण गरी ताइवानी राष्ट्रपति लाई चिङ–तेसँग भेट गरेको थियो। त्यसबेला चीनले उक्त भ्रमणको आलोचना गर्दै सांसदहरूले ताइवान स्वतन्त्रता समर्थक शक्तिहरूसँग मिलेमतो गरेको आरोप लगाएको थियो।

ताइवानले भने चीनमाथि अन्य देशहरूसँगको आफ्नो कूटनीतिक सम्बन्धमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाउँदै आएको छ। हालै राष्ट्रपति लाइ चिङ–तेले अफ्रिकामा ताइवानको एकमात्र औपचारिक सहयोगी राष्ट्र इस्वातिनीको भ्रमण गरेका थिए। त्यसअघि चीनको दबाबका कारण केही अफ्रिकी मुलुकहरूले उनको विमानलाई आफ्नो आकाशमार्ग प्रयोग गर्न नदिएको ताइवानको दाबी थियो।

चीनले यसअघि पनि ताइवान भ्रमण गर्ने अमेरिकी राजनीतिज्ञहरूमाथि प्रतिबन्ध लगाएको थियो। सन २०२२ मा नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले उनीमाथि प्रतिबन्ध लगाएको थियो। त्यसैगरी सन २०२३ मा अमेरिकी सांसद माइकल म्याककुलमाथि पनि चीनले प्रतिबन्ध घोषणा गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप