बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

बागमती सरकार : सत्ता टिकाउन गठबन्धनलाई एक सांसद अपुग

साना दलको साथ खोज्दै एमाले–माओवादी
आइतबार, २७ फागुन २०८०, १६ : ५०
आइतबार, २७ फागुन २०८०

मकवानपुर । सत्ता समीकरण परिवर्तन भएसँगै एमाले–माओवादीसहितको गठबन्धनलाई बागमती प्रदेश सरकार टिकाउन एक सांसद अपुग हुने देखिएको छ । नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती सरकारले बहुमत गुमाएको हो ।

हाल बागमती प्रदेश सरकारमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका मन्त्री छन् भने केन्द्रमा बनेको सत्ता समीकरण अनुसार सत्तापक्षको सूचीमा एमाले सामेल भएको छ । यद्यपि प्रदेश सरकार जोगाउन आवश्यक बहुमत यो गठबन्धनसँग जुटेको छैन ।

मुख्यमन्त्री जम्कट्टेललाई एकातिर सत्ता टिकाउन सकस परिरहेको छ भने अर्कोतर्फ नयाँ समीकरणमा रहेका दलहरू नै सरकारको नेतृत्वमा दाबी गर्न थालेका छन् ।

नयाँ सत्ता समीकरणमा रहेका दलहरूसँग सरकार गठन वा टिकाउन पर्याप्त बहुमत पुग्ने अवस्था छैन । केन्द्रको समीकरण अनुसार बागमती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादी रहने छन् ।

त्यसो त बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ । प्रदेशसभामा माओवादी केन्द्रका २१, एमालेका २७ र नेकपा एकीकृत समाजवादी पार्टीका ७ गरी ५५ सांसद छन् । सत्ता गठबन्धनका दलहरूलाई सरकार टिकाउन एक सांसद अपुग देखिन्छ ।

साना दलको साथ खोज्दै

सरकारको निरन्तरता वा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका दलहरू साना दललाई फकाउन केन्द्रित भएका छन् ।

विशेष गरी प्रदेशसभामा २ सांसद रहेको दल हाम्रो नेपाली पार्टीलाई मनाउन सत्ता गठबन्धनका नेताहरू सक्रिय छन् । हाम्रो नेपाली पार्टी सरकारमा आएको खण्डमा जम्कट्टेल नेतृत्वको सरकार टिक्न सक्छ भने सत्ता गठबन्धनलाई सरकार बनाउन सहज हुने देखिन्छ । तर, सरकारको धरातल भने त्यति बलियो भने हुने देखिँदैन ।

विगतको सरकारमा समेत समर्थन गर्दै आएको हाम्रो नेपाली पार्टी यस पटक भने सर्तसहित सरकारमा सहभागी हुन सक्ने सम्भावना छ ।

यता ३ सांसद रहेको नेमकिपालाई पनि सरकारमा सामेल गर्ने रणनीति सत्ता गठबन्धन दलले नबनाएको होइन । सो दल सदैव सशक्त प्रतिपक्षको भूमिकामा रहेर सरकार र संसदको कुनै पनि भागबन्डा वा साझेदारीमा सहभागी नभएकाले सरकार फेरबदलप्रति कुनै चासो राखेको छैन ।

यता १३ सांसद बोकेको संसदको चौथो ठुलो दल राप्रपा भने एक वर्ष अघि सत्ता साझेदार थियो । प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपाले निर्वाचन लगत्तै बनेको गठबन्धनबाट २ महिना प्रदेशको ३ मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो । अहिले पनि राप्रपालाई साथमा लिन भरपुर कसरत भइरहेको छ । सरकारमा राप्रपा आएको खण्डमा प्रदेश सरकारको अंकगणितीय धरातल भने केही बलियो बन्न सक्छ । विशेष गरी एमाले र माओवादी केन्द्रले राप्रपालाई सरकारमा भित्र्याउने योजना अनुसार काम गरिरहेको बुझिएको छ ।

तर, राप्रपा अहिले सरकारमा आउने मुडमा देखिँदैन । राप्रपा केन्द्रीय तहको योजना अनुसार आन्दोलनमा होमिने तयारीमा रहेकाले तत्काल सरकारमा आउने पक्षमा छैन ।

विगतमा गरेको भुल अब हुँदैनः नेता थापा

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर गरेको भुल अब नदोहोरिने बताए । विगतमा जनताले दिएको म्यान्डेट विपरीत सरकारमा सहभागी हुनु गलत भएको र अहिले त्यसतर्फ राप्रपाले कुनै सोच नबनाएको उनले बताए ।

सरकारमा सहभागी हुन प¥यो भन्ने प्रस्ताव अहिलेको गठबन्धन दलबाट निरन्तर आइरहेको उनले बताए । राप्रपा अहिले सत्ता केन्द्रित राजनीतिमा नरहेको उनको भनाइ छ ।

राप्रपा सरकार बनाउने र गिराउने अंकगणितको जोडघटाउ भन्दा बाहिर भएर अघि बढिरहेको उनले बताए ।

‘विगतको भुललाई दोहो-याउने काम अब हुँदैन । हामीले विगतमा प्रचण्ड नेतृत्वको सरकारमा गएर गलत गरेका थियौँ । त्यसैलाई मनन गरेर अहिले हामी सरकारमा सहभागी हुने पक्षमा छैनौँ,’ उनले भने, ‘सरकारमा सहभागी हुन प¥यो भन्ने प्रस्ताव आइरहेको छ । माओवादी र एमालेका साथीहरूले व्यापक प्रस्ताव गर्नुभएको छ । राप्रपा अहिले सत्ता केन्द्रित राजनीतिमा छैन । अंकगणितको जोड घटाउबाट बाहिर रहेर जनताको ४० बुँदे मागसहित राप्रपा आन्दोलनमा छ ।’

उनका अनुसार मुलुकलाई राजनीतिक अस्थिरतातर्फ अघि बढाउने कसरत भएमा राप्रपा आफ्नो निर्णायक भूमिकामा रहने छ । मुलुकलाई निकास दिने विषयमा राप्रपा आफ्ना मागसहित फरक ढंगबाट अघि बढ्ने उनले बताए ।

यता हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार सरकार गठनका लागि निर्णायक भूमिकामा रहेकाले पार्टी र नेताहरुसँग गहन छलफल गरेरमात्र अघि बढ्ने तयारी भएको छ । सरकारको नेतृत्वको विषयमा निर्णय आएसँगै पार्टी संगठन र गठबन्धनका शीर्ष नेतृत्वसँग छलफल गरेर मात्र निर्णयमा पुग्ने उनले बताए ।

सत्ता गठबन्धन दलहरुबाट विभिन्न प्रकारका प्रस्ताव आए पनि आन्तरिक तयारी र सर्तबिना सरकारमा जाने पक्षमा हाम्रो नेपाली पार्टी नरहेको उनको भनाइ छ । विगतको २ वटा सरकारलाई समर्थन दिए पनि नेतृत्वकर्ताले आफूहरुलाई प्रयोग मात्र गरेको उनले बताए ।

सरकारमा जाने वा नजाने भन्ने विषयमा गठबन्धन दलहरुले स्पष्ट धारणा बनाएपछि मात्र निर्णय गर्ने उनले बताए ।

हामी विशुद्ध प्रतिपक्ष हौँ : नेता गोसाईं

नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले सत्ता केन्द्रित राजनीतिमा आफूहरु नलाग्ने बताए । प्रदेश सरकारको भागबन्डा र अंकगणितको हिसाब किताबमा आफूहरु सहभागी नहुने उनको भनाइ छ ।

विगतमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि विशुद्ध प्रतिपक्षको भूमिकामा रहने प्रस्ट पार्दै उनले नेमकिपा सत्ता केन्द्रित राजनीतिबाट टाढा बसेर देश र नागरिकको सेवामा समर्पित दल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप