आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मोरङ रंगेली–३ सन्थाल बस्तीको पीडा

आगलागीले गुम्यो २० घरको सर्वस्व

वृद्ध भत्ताको पैसा जलेर खरानी भएपछि जङ्गली मुर्मुलाई औषधि किन्नै सकस
आइतबार, ०४ चैत २०८०, २१ : ४१
आइतबार, ०४ चैत २०८०

विराटनगर ।  मोरङको रंगेली नगरपालिका–३ बाबुसाहेब टोलका ७६ वर्षीय जङ्गली मुर्मु आइतबार दिउँसो एक्लै टोलाएर बसेका थिए । उनी मधुमेहका बिरामी हुन् ।

शनिबार हावाहुरी सँगै विद्युत सर्ट भएर उनको घरमा लागेको आगो टोलकै २० घरमा फैलियो ।  तुलनात्मक रूपमा गरिब र दलित बस्तीमा केही दिनका लागि जोहो गरेको खाद्यान्न पनि जल्यो । वृद्ध वृद्धाले जोगाएर राखेको केही नगद पनि जल्यो । 

उनै मुर्मुले पाएको वृद्ध भत्ताको १७ हजार रुपैयाँ औषधी किन्ने भनेर राखेका थिए । आगलागीले उक्त रकम पनि जलाइदियो । ‘अन्नपातमा आगोले जलाएर खरानी बनायो । जीवनभर खानुपर्ने औषधी पनि यो विपत्तिले लिएर गयो,’ आँसु झार्दै उनले भने । उनी आगोले खरानी भएको घर देखाउँछन् र भन्छन्, ‘अब औषधी कसरी किनेर खानु ?’

gangali muru 1

मुर्मुको सात जनाको परिवार छ । आगलागीले घर खरानी भएपछि उनी बाटोदेखि दक्षिणमा त्रिपाल टाँगेर अहिले रात कटाइरहेका छन् । ‘आगजनी भएपछि निद्रा पनि लाग्दैन । दुःख गरेर बनाएको सानो टहरा थियो । त्यो पनि हेर्दाहेर्दै क्षणभरमा खरानी भयो । विपत पनि हामी जस्तो दुःखीहरूलाई नै पर्दो रहेछ,’ उनले भने ।

उनलाई अब घर कसरी बनाउने भन्ने पीडाले सताएको छ । वृद्धा अवस्थामा काम गर्ने सक्ने ताकत पनि आफूसँग नभएको उनी सुनाउँछन् ।  मुर्मुको सँगै रंगेली नगरपालिका ३ को सो टोलका २० घर जलेको छ ।

त्यहाँ बसोबास गर्ने २८ परिवारका ११८ जना बिचल्लीमा परेका छन् । आगजनीबाट बिचल्ली परेका २८ परिवारलाई खानका लागि राहत मिले पनि बस्ने राम्रो व्यवस्था छैन । बालबालिका र महिलाहरू त्रिपालमुनि बस्नुपर्दा दिनचर्या कष्टकर छ । 

kharagi vako gar

पीडितहरूमा महिला ३४, पुरुष ३५, बालिका २७, बालक २१ र  समलिङ्गी १ जना छन् । रंगेली ३ का ७० वर्षीय दुगड मुर्मुले आफूहरूको मुख्य चाहना घर उभ्याउने रहेको बताए ।

‘त्रिपालमा बास बस्दा कष्टकर भइरहेको छ । हामीले दुःख सहन बाध्य भएका छौँ । तर, साना नानीहरूलाई लामखुट्टेले टोकेर डाबर बनाएको छ,’ उनले भने, ‘केही दिनमा रोगले च्याप्न थाल्नेछ ।’ गाउँ नै दनदनी बलेपछि बालबालिकाहरु पनि डराएको दुगडले बताए । ‘सुत्नका लागि घर छैन’, घर भएको स्थानको खरानी देखाउँदै उनले भने, ‘निद्राबाट बिउँझिनासाथ केटाकेटीहरू आत्तिन्छन् । घर नबनाएसम्म यस्तै हुने होला, अन्त जाने ठाउँ छैन ।’

बालबालिकामा मात्र होइन, आगलागी पीडित सबैको मनमा डर छ । ‘अझै पनि मनको भकारो जलिरहेको छ, निभाउने पानी छैन, धूवाँ मात्र निस्कँदा पनि तर्सिने गरेका छौँ,’ उनले भने, ‘२० मन तोरी, ७ बोरा चामल आगलागीमा परि खरानी भयो । भएको सबै जेथा हेर्दा हेर्दै स्वाहा भयो ।’

chamal dhau  kai

आगो लागेपछि हुरी चलेर दुई घण्टामै सबै घर खरानी भएको अर्का अग्निपीडित सुकले किस्कुले बताए । ‘केही बचेन । हेर्दाहेर्दै सबै अन्नपात र लत्ताकपडा खरानी भयो । भएको सम्पत्ति सबै स्वाहा भएपछि आश गर्नुको विकल्प हुँदो रहेनछ,’ उनले भने । यहाँका सबै परिवारमा अहिले छाक टार्नै धौ–धौ छ । 

यहाँ २७ बालिका र २१ बालक रहेका छन् । सुकले किस्कुको हातमुख जोर्ने केही छैन । उनको दुई वर्षको नाति रहेको छ ।

‘हामी ठुलो मान्छे दुःख कष्ट सहेर रात कटाउँछौँ,’ काखमा रहेको दुई वर्षीय नातिलाई देखाउँदै किस्कुले भने, ‘यस्ता साना केटाकेटीलाई त्रिपालमुनी रात कटाउन गाह्रो भइरहेको छ । सबै लत्ता कपडा पनि जलेर खरानी भयो । स्थानीय सरकार र विभिन्न सङ्घ–संस्थाहरूले राहतमा त्रिपाल दिएको छ । तर, झुल छैन । झुल नहुँदा मछटले टोकेर हैरानी बनाइसक्यो ।’ बालबालिकाहरूलाई साह्रै गाह्रो भएको उनले सुनाए । ‘रातभरि साना केटाकेटी सुत्न सक्दैनन्,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप