मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
मोरङ रंगेली–३ सन्थाल बस्तीको पीडा

आगलागीले गुम्यो २० घरको सर्वस्व

वृद्ध भत्ताको पैसा जलेर खरानी भएपछि जङ्गली मुर्मुलाई औषधि किन्नै सकस
आइतबार, ०४ चैत २०८०, २१ : ४१
आइतबार, ०४ चैत २०८०

विराटनगर ।  मोरङको रंगेली नगरपालिका–३ बाबुसाहेब टोलका ७६ वर्षीय जङ्गली मुर्मु आइतबार दिउँसो एक्लै टोलाएर बसेका थिए । उनी मधुमेहका बिरामी हुन् ।

शनिबार हावाहुरी सँगै विद्युत सर्ट भएर उनको घरमा लागेको आगो टोलकै २० घरमा फैलियो ।  तुलनात्मक रूपमा गरिब र दलित बस्तीमा केही दिनका लागि जोहो गरेको खाद्यान्न पनि जल्यो । वृद्ध वृद्धाले जोगाएर राखेको केही नगद पनि जल्यो । 

उनै मुर्मुले पाएको वृद्ध भत्ताको १७ हजार रुपैयाँ औषधी किन्ने भनेर राखेका थिए । आगलागीले उक्त रकम पनि जलाइदियो । ‘अन्नपातमा आगोले जलाएर खरानी बनायो । जीवनभर खानुपर्ने औषधी पनि यो विपत्तिले लिएर गयो,’ आँसु झार्दै उनले भने । उनी आगोले खरानी भएको घर देखाउँछन् र भन्छन्, ‘अब औषधी कसरी किनेर खानु ?’

gangali muru 1

मुर्मुको सात जनाको परिवार छ । आगलागीले घर खरानी भएपछि उनी बाटोदेखि दक्षिणमा त्रिपाल टाँगेर अहिले रात कटाइरहेका छन् । ‘आगजनी भएपछि निद्रा पनि लाग्दैन । दुःख गरेर बनाएको सानो टहरा थियो । त्यो पनि हेर्दाहेर्दै क्षणभरमा खरानी भयो । विपत पनि हामी जस्तो दुःखीहरूलाई नै पर्दो रहेछ,’ उनले भने ।

उनलाई अब घर कसरी बनाउने भन्ने पीडाले सताएको छ । वृद्धा अवस्थामा काम गर्ने सक्ने ताकत पनि आफूसँग नभएको उनी सुनाउँछन् ।  मुर्मुको सँगै रंगेली नगरपालिका ३ को सो टोलका २० घर जलेको छ ।

त्यहाँ बसोबास गर्ने २८ परिवारका ११८ जना बिचल्लीमा परेका छन् । आगजनीबाट बिचल्ली परेका २८ परिवारलाई खानका लागि राहत मिले पनि बस्ने राम्रो व्यवस्था छैन । बालबालिका र महिलाहरू त्रिपालमुनि बस्नुपर्दा दिनचर्या कष्टकर छ । 

kharagi vako gar

पीडितहरूमा महिला ३४, पुरुष ३५, बालिका २७, बालक २१ र  समलिङ्गी १ जना छन् । रंगेली ३ का ७० वर्षीय दुगड मुर्मुले आफूहरूको मुख्य चाहना घर उभ्याउने रहेको बताए ।

‘त्रिपालमा बास बस्दा कष्टकर भइरहेको छ । हामीले दुःख सहन बाध्य भएका छौँ । तर, साना नानीहरूलाई लामखुट्टेले टोकेर डाबर बनाएको छ,’ उनले भने, ‘केही दिनमा रोगले च्याप्न थाल्नेछ ।’ गाउँ नै दनदनी बलेपछि बालबालिकाहरु पनि डराएको दुगडले बताए । ‘सुत्नका लागि घर छैन’, घर भएको स्थानको खरानी देखाउँदै उनले भने, ‘निद्राबाट बिउँझिनासाथ केटाकेटीहरू आत्तिन्छन् । घर नबनाएसम्म यस्तै हुने होला, अन्त जाने ठाउँ छैन ।’

बालबालिकामा मात्र होइन, आगलागी पीडित सबैको मनमा डर छ । ‘अझै पनि मनको भकारो जलिरहेको छ, निभाउने पानी छैन, धूवाँ मात्र निस्कँदा पनि तर्सिने गरेका छौँ,’ उनले भने, ‘२० मन तोरी, ७ बोरा चामल आगलागीमा परि खरानी भयो । भएको सबै जेथा हेर्दा हेर्दै स्वाहा भयो ।’

chamal dhau  kai

आगो लागेपछि हुरी चलेर दुई घण्टामै सबै घर खरानी भएको अर्का अग्निपीडित सुकले किस्कुले बताए । ‘केही बचेन । हेर्दाहेर्दै सबै अन्नपात र लत्ताकपडा खरानी भयो । भएको सम्पत्ति सबै स्वाहा भएपछि आश गर्नुको विकल्प हुँदो रहेनछ,’ उनले भने । यहाँका सबै परिवारमा अहिले छाक टार्नै धौ–धौ छ । 

यहाँ २७ बालिका र २१ बालक रहेका छन् । सुकले किस्कुको हातमुख जोर्ने केही छैन । उनको दुई वर्षको नाति रहेको छ ।

‘हामी ठुलो मान्छे दुःख कष्ट सहेर रात कटाउँछौँ,’ काखमा रहेको दुई वर्षीय नातिलाई देखाउँदै किस्कुले भने, ‘यस्ता साना केटाकेटीलाई त्रिपालमुनी रात कटाउन गाह्रो भइरहेको छ । सबै लत्ता कपडा पनि जलेर खरानी भयो । स्थानीय सरकार र विभिन्न सङ्घ–संस्थाहरूले राहतमा त्रिपाल दिएको छ । तर, झुल छैन । झुल नहुँदा मछटले टोकेर हैरानी बनाइसक्यो ।’ बालबालिकाहरूलाई साह्रै गाह्रो भएको उनले सुनाए । ‘रातभरि साना केटाकेटी सुत्न सक्दैनन्,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप