बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हजुरबुवाले २४० करोड भारुको शेयर दिएपछि अर्बपति बने ४ महिनाको बालक

सोमबार, ०५ चैत २०८०, १९ : ०४
सोमबार, ०५ चैत २०८०

नयाँ दिल्ली । गएको वर्ष १० नोभेबरमा भारतमा जन्मिएका एक बालक अहिले अर्बपति बनेका छन् । यी बालक बहुराष्ट्रिय भारतीय आईटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्तिका नाती हुन् । 

मूर्तिले आफ्ना ४ महिनाका नाति एकाग्र रोहन मूर्तिको नाममा इन्फोसिसका १५ लाख कित्ता शेयर नामसारी गरिदिएका छन् । यी शेयरको मूल्य २ अर्ब ४० करोड भारु भएको बताइएको छ ।

इन्फोसिस भारतको दोस्रो ठूलो आईटी कम्पनी हो । एकाग्रको नाममा आएको शेयर कम्पनीको कूल शेयरको शून्य दशमलव शून्य ४ प्रतिशत भएको बताइएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार यी शेयर पाएसँगै एकाग्र भारतको सबैभन्दा कान्छी अर्बपति बनेका छन् । एकाग्र नारायण मूर्तिका छोरा रोहन मूर्ति र उनकी पत्नी अपर्णा कृष्णनको छोरा हुन् ।

शेयर स्थानान्तरणको जानकारी एक्सचेन्ज फाइलिङमा सार्वजनिक गरिएको थियो । नातिलाई लाखौं कित्ता शेयर दिएपछि पनि नारायण मूर्तिसँग इन्फोसिसको कुल शेयरको ० दशमलव ३६ प्रतिशत अर्थात् (१ करोड ५१ लाख कित्ता शेयर) बाँकी छ । शेयर हस्तान्तरण ‘अफ मार्केट’ तरिकाले भएको थियो । मूर्तिले सन् १९८१ मा केही साथीहरूसँग मिलेर २५० डलरमा इन्फोसिस सुरु गरेका थिए । अहिले यो कम्पनीको बजार पुँजीकरण ८० अर्ब डलर बढी छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप