‘कक्षा कोठामा नै वित्तीय साक्षरता पढाउनुपर्छ, ८ देखि १२ कक्षाका विद्यार्थीलाई समेट्नुपर्छ’
अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा विश्वव्यापीरूपमा मार्च १८ देखि २४ सम्म ग्लोबल मनी विक मनाइन्छ । ग्लोबल मनी विक मूलतः युवायुवती र बालबालिकालाई वित्तीय साक्षर बनाउने लक्ष्यसहित मनाइन्छ । ओएसीडीका अनुसार सन् २०१२ देखि मनाउन थालिएको हो । र १२औँ संस्करणसम्म आइपुग्दा १७६ भन्दा धेरै मुलुकका करोडौँ मानिस लाभान्वित भएका छन् ।
नेपालमा भने सन् २०१३ देखि ग्लोबल मनी विक मनाउँदै आइएको छ । यस क्रममा सबै बैंक तथा वित्तीय संस्थाहरूले र सम्बन्धित सरोकारवाला निकायले देशव्यापीरूपमा साता दिनसम्म वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गर्छन् । यही विषयमा माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश:–
- विश्वव्यापीरूपमा मनाइरहेको ‘ग्लोबल मनि विक’ नेपालमा पनि मनाइरहेका छौँ । यो विकको जुन लक्ष्य हो, त्यो लक्ष्य हामीले प्राप्त गरिरहेका छौँ ?
केन्द्रीय बैंकले नाफाको १ प्रतिशत ‘कर्पोरेट सोसियल रेस्पोन्स’ (सीएसआर)मा खर्च गर्नै पर्ने नीति ल्याएपछि त्यसको ५ प्रतिशत खर्च वित्तीय साक्षरतामा खर्च गर्नुपर्ने व्यवस्था छ । यससँगै, नेपालमा वित्तीय साक्षरताको कार्यक्रम अत्यधिक बढेको छ । वित्तीय साक्षरता फैलाउनका लागि राष्ट्र बैंक र सरकार समेत लागिपरेको छ । सबैको सामूहिक पहलबाट वित्तीय साक्षरता बढे पनि हुनुपर्ने जति भएको छैन । बाध्यकारी व्यवस्था आएपछि सबै बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरतामा लगानी गरेका छन् । र, हामीले ‘विद्यार्थीसँग माछापुच्छ्रे’ कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेका छौँ । यस क्रममा हामीले युवापुस्तालाई केन्द्रित गरेर कार्यक्रम चलाइरहेका छौँ ।
हामी वर्षभरि चुपचाप बस्छौँ । र, एक हप्तामा ‘ग्लोबल मनि विक’ भन्दै भव्यरूपमा वित्तीय साक्षरता फैलाउन लागि पर्छौँ । यसबाट वित्तीय साक्षरताका लागि लिइएको लक्ष्य पूर्ति हुन्छ ?
हामीले वर्षभरि नै वित्तीय साक्षरता फैलाउने कार्यक्रम गरिरहेका हुन्छौँ । यो एक हप्ता संसारभर मनाइन्छ । यस कारण, चर्चा पनि बढी नै हुन्छ । हाम्रा शाखाहरूले वर्षभरि नै देशभरि विभिन्न खालका वित्तीय साक्षरता फैलाउने कार्यक्रम आयोजना गरिनै रहन्छन् । यो एक हप्तामा भने एकसाथ देशभरका १६५ वटा शाखाले एकैपटक वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्छन् । देशभरका शाखा कार्यालयले आयोजना गर्ने कार्यक्रमबाट फाइदा लिने सेवाग्राहीको सूची अन्तिममा निकालिन्छ । तर, कार्यक्रम अघि नै लक्षित ग्राहक सङ्ख्या भने तय हुँदैन ।
- यस क्रममा तपाइहरूले वित्तीय साक्षरता फैलाउँदै गर्दा के कस्ता विषय सिकाउनुहुन्छ ? आफ्नो पैसा सुरक्षित राख्न वा बैंकमा पैसा जम्मा गर्न सिकाउनुहुन्छ ?
यसलाई दुई तरिकाले बुझ्नुपर्छ । हामीले वित्तीय साक्षरता र डिजिटल साक्षरता भनेर सिकाउँछौँ । ‘ग्लोब मनि विक’का क्रममा हामी यी दुई वटै विषयमा कुराकानी गर्छौँ । डिजिटल लिट्रेसीभन्दा अघि वित्तीयरूपमा साक्षर बनाउने हाम्रो लक्ष्य हुन्छ । विद्यार्थीहरूमा जाँदा भावी दिनमा कमाएको रकम बचत गर्ने वा लगानी गर्ने र बचत÷लगानीको बजेट कसरी बनाउने भन्ने विषय सिकाउँछौँ । यसपछि, डिजिटल लिट्रेसीको विषय आउँछ र यसमा मोबाइल पिन सेयर गर्न नहुने विषय र डिजिटल रूपमा ठगिनबाट कसरी बच्ने विषय समेटिन्छन् ।
- यतिबेला हामी १२औँ संस्करणको ‘ग्लोबल मनि विक’ मनाइरहेका छौँ । १२औँ संस्करणसम्म आइपुग्दा तपाइहरूले धेरै अनुभव पनि सँगाल्नुभयो होला । सरसर्ती हेर्दा कुन क्षेत्रलाई वित्तीय साक्षरताको ज्ञान बढी चाहिने देखियो ?
वित्तीय साक्षरताको कार्यक्रम मुख्य गरी विद्यार्थीलाई केन्द्रित गर्नुपर्ने देखिन्छ । किनकि, उनीहरूलाई वित्तीय साक्षरता दिँदा भावी दिनमा वित्तीय रूपमा साक्षर नागरिकको सङ्ख्या बढी हुन्छ । यसपछि, स्मार्टफोनको पहुँचमा पुगेर र यसको प्रयोग नआउने समूहका सर्वसाधारणलाई केन्द्रित गर्नुपर्ने देखिएको छ । भौगोलिकरूपमा विकट क्षेत्रलाई र विद्यार्थीलाई नै केन्द्रमा राख्नुपर्ने देखिएको छ । किनकि, काठमाडौँ लगायत सहरी क्षेत्रको तुलनामा दुर्गम क्षेत्रलाई नै प्राथमिकतामा राख्नुपर्छ ।
- दुर्गम र सुगम क्षेत्रका सर्वसाधारणलाई तुलना गर्दा कत्तिको भिन्नता पाइँदो रहेछ वित्तीय साक्षरताको स्तरमा ?
अवश्य पनि धेरै नै फरक पाइन्छ । कतिपय स्थानका मानिसहरूले बैंकमा हाम्रो पनि खाता खुल्छ र भन्ने खालको सोचाई पनि सुनियो । बैंकहरूले देशका सबै स्थानमा आफ्ना शाखा स्थापना गर्न सकेका छैनन् । बैंकको पहुँच नै नपुगेपछि यसबारे जानकारी बढ्दैन पनि । वित्तीय पहुँच न्यून हुनु नै वित्तीय साक्षरताको पहुँच कम हुनु हो ।
- यसबिचमा सर्वसाधारणमा कता–कता बैंकमा खाता खोल्दा पैसा सुरक्षित हुन्छ र भन्ने खालको सोचाई पनि पाइन्छ ? सिरानीमुनि पैसा राख्दा धेरै सुरक्षित हुन्छ भन्ने सोचाइबाट हुर्किनेको सङ्ख्या अत्यधिक छ नि हैन ?
घरमा सिरानीमुनि राखिएको पैसा सुरक्षित हुँदैन । यसबाहेक घरमा राखिएको रकमबाट ब्याज पनि आउँदैन । बैंकबाट राख्यो भने ब्याज आउँछ । अन्य सुविधा लिनुपर्दा खाता हुनु–नहुनुमा फरक हुन्छ । ऋण चाहियो भने बैंकमा खातावालालाई मात्रै मिल्छ । र, खाता कति पुरानो हो भन्ने विषयले पनि प्राथमिकता पाउँछ । वित्तीय साक्षरता गराउन जाँदा बैंकमा किन खाता खोल्नु भन्नेहरूलाई यिनै विषय बुझाएर फर्किन्छौँ । तर पनि साक्षरता न्यून हुँदा सहकारी डुब्दा बैंक नै डुबेको सम्झिन्छन् । यस्तो अवस्थामा चाँही गाह्रो हुन्छ सम्झाउन ।
- एक दशक अघिसम्म पैसा बोकेर हिँड्दा लुट्ने जोखिम हुन्थ्यो । अहिले भौतिकरूपमा लुटिने क्रम घटे पनि ‘डिजिटल’रूपमा लुट्ने क्रम बढ्दो छ । जोखिम मात्रै फेरियो । न्यूनीकरण त भएन नि ?
डिजिटल रूपमा पैसा लुट्ने लुटेराहरू स्मार्ट भएर होइन । प्रयोगकर्ता लाटो भएर मात्रै हो । हामीलाई निःशुल्क रूपमा पैसा कसैले दिँदैन । यति जानकारी हुँदा–हुँदै पनि विभिन्न प्रलोभनमा हामी फस्ने गर्छौँ । जसबाट ह्याकरले हाम्रो खातासम्म पहुँच बनाउँछ र रकम चोरी गर्छ । अध्ययनहरूले साक्षर व्यक्तिहरू पनि प्रलोभनमा पर्ने गरेको देखाउँछ । साक्षर व्यक्तिहरू ठगिँदा ती विषय बाहिर पनि आउँदैन ।
- वित्तीय साक्षरता अत्यधिकरूपमा बढाउनका लागि सरकार, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाहरूले के गर्नुपर्छ ?
आगामी दिनमा ८ कक्षादेखि १२ कक्षासम्म शैक्षिक पाठ्यक्रममा वित्तीय साक्षरतासम्बन्धी विषय राख्ने व्यवस्था गर्नुपर्छ । यसो हुन सकेमा विद्यार्थीहरूले राम्रोसँग वित्तीय साक्षरताबारे बुझ्दै जान्छन् । र आफ्नो कमाइको कति प्रतिशत बचत गर्ने र कति प्रतिशत लगानी गर्ने भन्ने विषयमा जानकारी प्राप्त गर्छन् ।