शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा अब अनलाइन टिकेटिङको सुबिधा

आइतबार, ११ चैत २०८०, ०७ : १५
आइतबार, ११ चैत २०८०

बुटवल  । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुहरुलाई मध्यनजर गरी तयार पारिएको अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाइन मार्फत टिकेटिङ गर्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गरे । उनले इटिकेटिङले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताए । उनले लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँ आउने धार्मिक र अन्य तीर्थयात्रुहरुलाई इटिकेटिङले आकर्षित गर्ने बताए । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा ल्हारक्यला लामा (खेन्पो छिमे) ले अनलाइन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकहरूको सङ्ख्या समेत वृद्धि गर्ने विश्वास गरे ।  उनले लुम्बिनी बौद्धमार्गीहरुको मात्रै नभई विश्वका सबै धर्म सम्प्रदायले आस्था राख्ने भएकाले यसको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । उनले विश्वभरका बौद्धमार्गीहरु लुम्बिनी आएर शान्ति र अहिंसाको सन्देश ग्रहण गर्नुपर्ने बताए ।

यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले पर्यटकहरू लाइन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताए । 

लुम्बिनी विकास कोषको वेबसाइट www.lumbinidevtrust.gov,np  लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ ।  मुख्यगरी विदेशीहरूले यसको उपयोग गर्ने कोषको विश्वास छ ।

इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको सङ्ख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनौट गरेपछि तोकिएको मूल्य भिस्सा कार्ड, बैंक, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए । अहिले मायादेवी मन्दिर प्रवेश र तोकिएका अन्य सेवाका शुल्कहरू राखिएको उनले बताए 

निकट भविष्यमा बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमणका लागि नेपालीलाई न्यूनतम शुल्क लिने गरी अनलाइन टिकेट्स विकास गर्दै लगिने कोषको योजना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप