मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सबैको साझेदारी भएमात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र सार्थक हुन्छ : उपप्रधानमन्त्री यादव

सोमबार, १२ चैत २०८०, १७ : ५९
सोमबार, १२ चैत २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताएका छन् ।  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले सामाजिक न्याय र समानताको अभावमा सङ्घीयता र गणतन्त्र कुनै निश्चित वर्गको खेलौनाको रूपमा मात्रै रहने जिकिर समेत गरे । सोमवार काठमाडौँमा आयोजित साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्त्व बढाउने स्पष्ट पारे । उनले मुलुकलाई एकताबद्ध बनाएर अघि बढाउन पनि समानता र सामाजिक न्याय हुनुपर्ने भएकाले सो सम्बन्धी बहसलाई अघि बढाउन पनि जरुरी रहेको बताए ।

उनले भने, ‘समानता र सामाजिक न्याय भएन भने लोकतन्त्रको कुनै अर्थ रहँदैन । हामीले सङ्घर्ष गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र त बनायौँ । तर समानता, सुशासन र सामाजिक न्याय खासगरी सामाजिक न्याय र समानताको अभावमा लोकतन्त्र र गणतन्त्र एउटा निश्चित समुदाय, एउटा निश्चित वर्ग, निश्चित विशेष समुदायको खेलौना भएर मात्रै रहन्छन् । त्यसले गर्दाखेरी पहिचान, समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक र महत्त्व बढाउँछ । र, नेपालको विविधतालाई एकतामा बाँधेर सहमतिको बाटोमा अघि बढाउँछ । तर त्यो दिशातर्फ सहजै रूपमा त जाँदैन । तर त्यसका लागि बहस हुन जरुरी छ । यसमा पत्रकारहरूको भूमिका बढी छ । हुन त आजको युगमा यसो हेर्छु–सोसल मिडिया २÷३ जना बसेर हेर्न पनि कठिन हुने जस्तो युगमा यहाँहरूको कलमले एउटा चेतना, सामाजिक दायित्व र राष्ट्रप्रतिको जिम्मेवारीलाई अगाडि बढाउन सकियोस् ।’

उपप्रधानमन्त्री यादवले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर कलम चलाउन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । सामाजिक सञ्जालले अराजकता निम्त्याएको उल्लेख गर्दै उनले सामाजिक दायित्व र राष्ट्रिय जिम्मेवारीलाई आत्मसात् गरेर सन्चाकर्मीहरूले अघि बढ्नुपर्ने तर्क समेत गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप