सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको नयाँ प्रजाति फेला

बुधबार, १४ चैत २०८०, १७ : १६
बुधबार, १४ चैत २०८०

काठमाडौँ । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को ‘टीटीकेटीटी’ पहिलो पटक पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिकहरूले पहिलो पटक यो रोगको प्रजाति नेपालमा देखिएको पुष्टि गरेका हुन् ।

केन्द्रका प्रमुख सुरज वैद्यका अनुसार केन्द्रका वैज्ञानिकहरूले गत कार्तिक २२ गते दोलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रहरूमा गाईबस्तुको आहाराको लागि हरियो घाँसको रूपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो प्रजाति भेटिएको हो । 

सो स्थानका दुई वटा गहुँबारीबाट संकलित नमुनालाई ग्लोबल रष्ट रिसर्च सेन्टर डेनमार्कको प्रयोगशालामा परीक्षण गर्दा टीटीकेटीटी नामक यूजी ९९ को प्रजाति देखा परेको वैद्यको भनाइ छ ।

यूजी ९९ को टिटिकेटिटि प्रजातिले अफ्रिकन देशहरूमा गहुँबालीमा करिब ८० प्रतिशत भन्दा बढी क्षति पुर्‍याएको पाइएको छ । हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशहरूमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले यो देशभित्र र बाहिर फैलिएमा भविष्यमा यो क्षेत्रका गहुँबालीमा ठूलो क्षति पुर्‍याउन सक्ने आङ्कलन नार्कका वैज्ञानिकहरूको छ । 

के हो यूजी ९९ को टीटीकेटीटी ? 

गहुँमा लाग्ने रोगहरूमध्ये सिन्दुरे प्रमुख रोग हो । यो तीन प्रकारको हुन्छ: तराईमा खैरो, पहाडमा पहेँलो र पहाडमा फाट्टफुट्ट कालो सिन्दुरे रोग देखा पर्दछ । नेपालमा यसअघि कालो सिन्दुरे रोगबारे कुनै तथ्य पत्ता नलागे तापनि करिब २३ वर्षअघि अफ्रिकाको युगान्डामा यो प्रजातिको व्युत्पत्ति भई गहुँबालीमा ठूलो नोक्सान गरेको थियो । 

त्यसपछि सो प्रजाति इथियोपिया, केन्या, सुडान, इरिट्रया, इजिप्ट हुँदै एसियाका इरान, यमन, ओमन, इराक, जोर्डन लगायतका देशमा फैलिएको देखिन्छ । यूजि ९९ लाई टिटिकेएसके नामबाट चिनिने र हालसम्म यसका १५ किसिमका व्युत्पन्न प्रजाति विकसित भइसकेका जनाइएको छ । ती १५ मध्ये टिटिकेटिटि नेपालमा पनि देखिएको हो ।

यूजी ९९ को टीटीकेटीटी रोग पक्सिनिया ग्रामिनी ट्रिटिसी नामक ढुसीबाट लाग्ने र यो ढुसी हावाको माध्यमबाट सयौं किलामिटरसम्म फैलिन्छ । यो रोगलाई नेपालमा फैलिन नदिन रोगको वृहत् सर्वेक्षण, रोग अवरोधक जातको छनोट र रोग व्यवस्थापन प्रविधि पत्ता लगाउन अध्ययन अनुसध्ना गर्नु जरुरी रहेका वैज्ञानिकहरूले औँल्याएका छन् । 

वैद्यका अनुसार विजय, जिङ्क गहुँ २, बोलोर्क २०२०, मुनाल, च्याखुरा, डाँफे, वाणगंगा, हिमगंगा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति, आदि जातहरूमा यो प्रजाति अवरोधी क्षमता छ । यी बाहेक अन्य अवरोधी जातहरूको विकास गरी समयमै रोगको व्यवस्थापनमा ध्यान दिनुपर्ने वैज्ञानिकको भनाइ छ । 

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा क्षेत्रफलको आधारमा धान र मकै पछि गहुँको स्थान रहेको बताए । नेपालमा लगाइने ९५ प्रतिशत भन्दा बढी गहुँको क्षेत्रफल स्वदेशमै अनुसन्धानबाट विकास गरिएका जातहरूले ढाकेका छन् । विगत ६० वर्षमा गहुँको क्षेत्रफल ७ गुणा, उत्पादन १५ गुण र उत्पादकत्व २ गुणाले बढेको अवस्थामा यस्ता रोगहरूको बेलैमा व्यवस्थापन गर्न सके उत्पादन अझै बढाउन सकिने डा. उपाध्यायले बताए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप