मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा चैत २३ र २४ गते अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदै

मङ्गलबार, २० चैत २०८०, २१ : २२
मङ्गलबार, २० चैत २०८०

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना चैत २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको हो ।

लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विश्वव्यापी प्रवर्द्धन गर्नुका साथै नेपाल र चीनबिचको जनस्तरको सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउन अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्न लागिएको बताइएको छ ।

मङ्गलबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सवसहित अन्तर्राष्ट्रिय शान्ति म्याराथन, ध्यान दिवस र शान्ति कन्सर्ट गर्न लागिएको जानकारी दिए । 

कार्यक्रम अनुसार चैत २३ गते अन्तर्राष्ट्रिय ध्यान, संवाद कार्यक्रम र २४ गते अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिनेछ । प्रतियोगिताको पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ४२ किलोमिटरभन्दा बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड हुनेछ ।

पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राका लागि ३ किलोमिटर वाकाथन पनि हुने जनाइएको छ । प्रतियोगितामा विधागत रूपमा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यस्तै शान्ति कन्सर्टमा गायिका आनी छोयिङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया लगायत गायक तथा सङ्गीतकारहरूको प्रस्तुति रहने नेपालका लागि चिनियाँ दूतावासका मिसन उपप्रमुख वाङ सीनले जानकारी दिए ।

उनले लुम्बिनीमा हुने सांस्कृतिक कार्यक्रमले नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै लुम्बिनीमा चिनियाँ पर्यटक आवागमनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताउँदै प्रचारप्रसारका कार्यक्रममा जोड दिन जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप