शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

झण्डै २० करोडको लगानीमा स्थापित प्रदेश प्रयोगशाला के गर्दैछ ?

स्थापना भए यता साढे ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण
बिहीबार, २२ चैत २०८०, ०७ : ३३
बिहीबार, २२ चैत २०८०

विराटनगर । २०७५ साल चैतमा स्थापना भएको कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउनेको चाप बढ्दै गएको छ । प्रदेशभरका सरकारी र निजीस्तरबाट प्रदान गरिने प्रयोगशाला सेवालाई भरपर्दो, गुणस्तरीय र व्यवस्थित बनाउन तथा प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा विशिष्टीकृत रिफरेन्स प्रयोगशाला सञ्चालन गर्ने प्रदेश सरकारको उद्देश्य थियो ।

सोही उद्देश्यले स्थापना गरिएको प्रयोगशाला २०७६ साल साउनदेखि सञ्चालन भएको हो । १९३ खालका नमुना परीक्षण गर्ने प्रयोगशालाले आर्थिक वर्ष २०७८-०७९ मा १ हजार २४५ जनाले निःशुल्क परीक्षण गराएका थिए ।

यस्तै आर्थिक वर्ष २०७९-८० को भदौदेखि चैतसम्ममा ४ हजार २५४ जनाले निःशुल्क परीक्षण गराए । प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि भने आर्थिक ऐनमै समावेश गरी न्यूनतम शुल्कमा आम सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

यसरी शुल्क लिएर चालु आर्थिक वर्षमा भने प्रयोगशालाबाट ५ हजार ८६१ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रदेश प्रयोगशालामा स्वास्थ्य परीक्षण गर्न आउनेको सङ्ख्या ८ हजार नाघ्ने अनुमान गरिएको छ ।

प्रदेश प्रयोगशालाले विभिन्न १० वटा प्याकेजमा पनि स्वास्थ्य परीक्षण गर्ने गरेको छ । प्रदेश प्रयोगशालामा कोशी प्रदेशका निजी तथा सरकारी प्रयोगशालाहरूमा नहुने परीक्षण समेत हुने गरेको निर्देशक प्रणव यादव बताउँछन् । ‘महिलाहरूको पाठेघरको क्यान्सरको जाँच पीसीआर परीक्षणबाटै गरिन्छ । कोशी प्रदेशका अन्य प्रयोगशालाहरूमा यो जाँच छैन,’ उनले भने, ‘यस्तै प्रदेशका अन्य प्रयोगशालामा परीक्षण नहुने रोगहरू कोभिड–१९ एन्टीबोडी, थालेसेमिया लगायतका ८ वटा रोगको परीक्षण पनि प्रदेश प्रयोगशालामा हुन्छ ।’ प्रदेश प्रयोगशालामा बाहिर भन्दा ४ गुणा सस्तो शुल्क रहेको उनको भनाइ छ ।

यादवका अनुसार प्रयोगशालामा ११ जनाको दरबन्दी भए पनि ९ जना कर्मचारीसहित कार्यालय सहयोगी, स्वीपर र माली गरेर २० जनाभन्दा बढी कार्यरत छन् । प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउन आउने विपन्न, गरिव, सहिद परिवार, क्यान्सरका बिरामी र ज्येष्ठ नागरिकलाई नियमित लिने शुल्कमा पनि ९० प्रतिशत छुट गरिएको उनले बताए ।

यस्तै प्रदेश सरकारका कर्मचारीका लागि ५० प्रतिशत छुट गरिएको छ । प्रदेश प्रयोगशालामा अहिले २० करोड बराबरको लगानी भएको छ भने लगानीको ९० प्रतिशत हिस्सा कोशी प्रदेश सरकारको हो ।  

स्वास्थ्य परीक्षण बाहेक प्रदेश प्रयोगशालाले प्रदेशमा भएका निजी तथा सरकारी प्रयोगशालाको गुणस्तर नियन्त्रण, अनुगमन, अनुशिक्षण जस्ता काम गर्छ । यस्तै सी क्याटोगोरीका नयाँ संस्थाहरूलाई सञ्चालन गर्न अनुमति दिने, निदानात्मक सेवाहरू डाग्नोस्टिक सर्भिस, सर्ने रोग र नसर्ने रोगहरूको सर्भिलेन्सको पाटोमा पनि काम गर्ने यादवले बताए ।

विभिन्न अनुसन्धानात्मक काम गर्ने, राष्ट्रिय कार्यक्रमहरू क्षय रोग, एचआइभी, कालाजार, मलेरिया, डेंगुजस्ता रोगहरूको परीक्षण गर्ने र प्रदेशभरका अन्य जिल्लामा भइरहेका काम पनि हेर्ने उनले बताए ।

प्रदेश प्रयोगशालाले अनुसन्धानको क्षेत्रमा अघिल्लो आर्थिक वर्ष कालाजार रोग र कोभिड कालमा पनि कोरोनाको अनुसन्धान गरेको थियो । यस्तै अहिले इन्फ्लुइन्जा र पोलियोहरूको अनुसन्धान भइरहेको यादवले बताए ।

प्रदेश प्रयोगशालाका प्रशासन शाखा प्रमुख रेवती ढुंगानाले जनशक्ति व्यवस्थापन र बजेट व्यवस्थापन चुनौतीपूर्ण देखिएको बताए । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले बजेट र जनशक्तिको उचित व्यवस्थापन गर्न सके प्रदेश प्रयोगशालाबाट धेरै नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप