बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सधैँ जवान देखिन चाहनु हुन्छ ? खानुस् यी सुपरफुड

शुक्रबार, ३० चैत २०८०, ०७ : ४४
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । हिजोआज हाम्रो जीवनशैली द्रुत गतिमा फेरिरहेको छ । हरेकको मनमा जवान र आकर्षक देखिने चाहना छ । तर बढ्दो उमेरका कारण छालाको स्वास्थ्य जोगाउन र यसको प्रभावलाई कम गर्नु पर्ने आवश्यकता बढेको छ । केही आहारले हामीलाई सधैँ जवान र स्वस्थ रहन मद्दत गर्न सक्छन् । यी आहारहरू हाम्रो शारीरिक स्वास्थ्यको लागि मात्र होइन हाम्रो छालाको लागि पनि लाभदायक हुन्छन्।

तर अहिलेको व्यस्त र तनावपूर्ण जीवनशैलीका कारण मानिसहरू धेरै स्वास्थ्य समस्या सामना गर्न बाध्य भएका छन् । खराब जीवनशैली, अस्वस्थ खानपान र अपर्याप्त व्यायामका कारण मानिसहरूमा समय पूर्व नै बुढ्यौलीको समस्या बढ्दै गएको छ । यसको एउटा मुख्य कारण भनेको धेरै जसो मानिसले आफ्नो स्वास्थ्यलाई चिन्न नसक्नु र त्यसमा उचित ध्यान नदिनु पनि हो ।

चाउरी पर्नु, छाला खुम्चिनु, कपाल फुलेर सेतो हुनु, आन्तरिक रोगहरू बढ्नु, थकान लाग्नु आदि बुढेसकालका लक्षण हुने । यसबाट छुटकारा पाउन मानिसहरू विभिन्न सौन्दर्य प्रशोधन र औषधिको सहारा लिने गर्दछन् । कतिपयले आफ्नो छालालाई फिट र जवान देखाउन शल्यक्रिया पनि गराउँछन् । तर यी सबै प्रविधि र समाधानले स्थायी रूपमा समस्या गर्दैन । कहिलेकाहीँ त यसले उल्टै स्वास्थ्यलाई हानि पनि गर्न सक्छन् ।

आहारमा सामेल गर्नुस् फलफूल, तरकारी अन्न

सधैँ जवान र स्वस्थ रहने हो भने हामीले हाम्रो खानपान र जीवनशैलीमा ध्यान दिनु जरुरी छ । राम्रो र स्वस्थ आहारमा विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न र सुपरफुडहरू समावेश गर्नुपर्छ । यसमा भिटामिन, मिनरल्स र एन्टी–एजिङ गुणहरू हुन्छन् जसले हाम्रो छालाको स्वास्थ्यलाई कायम राख्न र बुढ्यौलीको समस्याबाट बचाउन मद्दत गर्छ । यसका साथसाथै स्वस्थ र नियमित व्यायामले पनि हामीलाई जवान र तन्दुरुस्त राख्न मद्दत गर्छ ।

हरियो तरकारी

सधैँ जवान देखिनको लागि आफ्नो आहारमा हरियो तरकारी समावेश गर्नुस् । तपाईँ नियमित रूपमा हरियो सागसब्जी खानुहुन्छ भने यो तपाईँको अनुहारको चमक बढाउन धेरै उपयोगी साबित हुन सक्छ । यस बाहेक हरियो तरकारीमा धेरै भिटामिन र मिनरल्स पाइन्छ जसले हड्डीलाई मजबुत बनाउँछ र बुढ्यौलीको असरलाई पनि कम गर्छ ।

सिट्रस फलहरू

सुन्तला, मौसम, र भुँइकटहरमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । भिटामिन सी हाम्रो छालाको लागि धेरै महत्त्वपूर्ण पोषक तत्त्व हो । यसले अनुहारको चमक र निखारलाई सधैँ कायम राख्न मद्दत गर्दछ । यसले बुढ्यौलीको असरलाई कम गर्छ, त्यसैले यी फलफूलको सेवन लाभदायक हुन्छ ।

बदाम र नट्स

बदाम र नट फाइबर, भिटामिन ई, प्रोटीन र स्वस्थ्य फ्याटको समृद्ध स्रोत हो । यसमा कोशिकाहरूलाई नोक्सान गर्ने प्रक्रियालाई ढिलो बनाउने एन्टिअक्सिडेन्ट धेरै मात्रामा पाइन्छ । यसको नियमित सेवनले शरीरमा बुढ्यौलीका लक्षणहरू चाँडै देखिँदैन ।

दही

दहीमा क्याल्सियम, प्रोटिन र भिटामिन भरपुर मात्रामा पाइन्छ । यी सबै पोषक तत्त्वहरूले शरीरलाई स्वस्थ राख्नुका साथै छालाको रङ्ग पनि निखार्छ । त्यसैले राम्रो, स्वस्थ र सुन्दर शरीरका लागि हरेक दिन दहीको सेवन गर्नुपर्छ ।

माछा

माछामा ओमेगा–३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । यो छाला र कपाल दुवैलाई सुन्दर राख्न निकै सहयोगी हुन्छ । यसमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट पाइन्छ जसले तपाईंको छालालाई फ्री रेडिकलबाट बचाउँछ । यसको सेवनले छालामा रक्तसञ्चार ठिक रहन्छ, जसका कारण छालाको आर्द्रता सधैँ कायम रहन्छ र बुढ्यौलीको लक्षण चाँडै देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप