मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
विपद्

भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए

शुक्रबार, १४ वैशाख २०८१, १२ : १८
शुक्रबार, १४ वैशाख २०८१

–खोटाङको बराहपोखरी सामुदायिक वनमा डढेलो लाग्दा १३ घर, ७ मचान र २ गोठ पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट बराहपोखरी गाउँपालिकाकी गंगामाया मगरका दुई घर, ४० बाख्रा, नगद र सुनसमेत जलेर नष्ट भएको छ ।

–बागलुङमा फागुनको दोस्रो हप्तादेखि त्यहाँका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । दर्जनभन्दा बढी वनमा आगो फैलिएपछि वन्यजन्तु गाउँ पस्न थालेका छन् ।

–हालै दाङको आमखोली सामुदायिक वनमा डढेलो लाग्दा जङ्गलसँगै जोडिएको तेलिया गाउँमा आगो फैलियो र केही घर नष्ट भए ।

–यता पर्वत जिल्लाका झण्डै ७० वटा वनमा डढेलो लागिरहेको छ । चैत दोस्रो साताबाट सुरु भएको डढेलो नियन्त्रण हुन सकेको छैन भने १ हजार ४ सय हेक्टर जङ्गल नष्ट भएको छ ।

–मंगलबार भक्तपुरको दधिकोटमा ईश्वर न्यौपानेले सञ्चालन गरेको गाई फर्ममा आगलागी हुँदा १० गाई जलेर मरे भने टहरा, भाँडाकुडा समेत गरी झण्डै १९ लाख हाराहारी आर्थिक क्षति भयो ।

यी त डढेलो र आगलागी घटनाका केही उदाहरणमात्र हुन् । पछिल्लो एक सातामा देशका १ हजार स्थानका जङ्गलमा डढेलो लागेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछल्लो तथ्याङ्क हेर्ने हो भने देशव्यापी भयावह रुपमा डढेलो लागेको छ । सानातिना वनदेखि ठुला राष्ट्रिय निकुञ्जहरूमा समेत डढेलो लाग्दा वनस्पति र वन्यजन्तु आगोको चपेटामा परेका छन् ।

यही वैशाख १ गतेदेखि ९ गतेसम्मको आँकडा अनुसार व्यक्तिका घरमा आगलागीका घटनामा ५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । ४१० परिवार प्रभावित भएका छन् । ९ दिनको अवधिमा आगोबाट ११८ घर पूर्णरुपमा क्षति भएको छ भने ८९ वटामा आंशिक क्षति भएको छ । यस्तै ७४ वटा गोठमा क्षति भएको छ, जसमा १३७ पशुचौपायाको क्षति भएको छ । आगलागीबाट ११ करोड २५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । रुपन्देही र कपिलवस्तुमा आगलागीका १३ वटा घटना भएका छन् ।

२०८० साल वैशाखदेखि चैतसम्म १ वर्ष अवधिमा ४८८ डढेलोका घटनामा परी ११ जनाले ज्यान गुमाए भने २७ जना घाइते भए । अघिल्लो वर्षको तुलनामा डढेलो र मृत्यु हुनेको सङ्ख्या यो वर्ष ठुलो मात्रामा बढेको हो । डढेलोबाट यो अवधिमा १३३ घर परिवार प्रभावित हुँदा ३२ घर पूर्ण क्षति, २४ घरमा आंशिक क्षति र ५५ गोठमा क्षति हुँदा ६८ पशुचौपायाको क्षति भयो ।

यता जङ्गलमा लागेको डढेलोबाट ठुलो क्षति भएको छ । वैशाख १ गतेदेखि ९ गतेसम्म विभिन्न जिल्लाका वन जङ्गलमा लागेका ७१ वटा डँढेलोका घटनामा परी ७६ घरपरिवार प्रभावित भएका छन् । ४ जना घाइते भएका छन् भने ४० घर पूर्ण रुपमा क्षति र ९ घर आंशिक रुपमा क्षति भएको छ । ३५ वटा गोठ क्षति हुँदा ५३ पशु चौपाया नष्ट भएका छन् । झण्डै २९ लाख ९० हजार हराहारी क्षतिको अनुमान गरिएको छ । सबैभन्दा धेरै प्युठानमा ९ वटा घटना भएका छन् ।

यता वन तथा भू–संरक्षण विभागको तथ्याङ्क अनुसार गत माघ १३ गतेदेखि वैशाख १३ गतेसम्म ३ महिनाको अवधिमा ३ हजार २३२ स्थानमा आगलागीका घटना भएका छन् ।

१ वर्षमा आगलागी र डढेलोका घटना

२०८० साल वैशाख १ देखि चैत मसान्तसम्म १ वर्ष अवधिमा व्यक्तिका घरमा ४ हजार ४६ आगलागीका घटना भएका छन् ।

३ वर्षको अवधिमा वनमा लागेको डढेलोमा परी १५ जनाले ज्यान गुमाए भने ३२ जना घाइते भए । जसमा २०९ परिवार प्रभावित, ७६ घर पूर्ण क्षति, ३३ घर आंशिक क्षति र ६८ गोठमा क्षति हुँदा १५५ पशुचौपाया नष्ट भए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरण अनुसार १ वर्ष अवधिमा ४ हजार ४६ आगलागीका घटनामा १०८ जनाले ज्यान गुमाए भने ५०४ जना घाइते भए । घटनाबाट ५ हजार ११२ परिवार प्रभावित भए । १ हजार ८३ घर पूर्ण रुपमा क्षति भयो भने ५११ घर आंशिक क्षति भयो । २ हजार १४८ पशु चौपाया क्षति भएको थियो । एक वर्ष अवधिमा व्यक्तिका घर गोठमा आगलागी हुँदा २ अर्ब ५२ करोड २९ लाख ४५ हजार २४२ रुपैयाँ बराबरको क्षति भएको थियो ।

यस्तै २०८० साल वैशाखदेखि चैतसम्म १ वर्ष अवधिमा ४८८ डढेलोका घटनामा परी ११ जनाले ज्यान गुमाए भने २७ जना घाइते भए । अघिल्लो वर्षको तुलनामा डढेलो र मृत्यु हुनेको सङ्ख्या यो वर्ष ठुलो मात्रामा बढेको हो । डढेलोबाट यो अवधिमा १३३ घर परिवार प्रभावित हुँदा ३२ घर पूर्ण क्षति, २४ घरमा आंशिक क्षति र ५५ गोठमा क्षति हुँदा ६८ पशुचौपायाको क्षति भयो । डढेलोबाट एक वर्ष अवधिमा २ करोड ४२ लाख ५८ हजार २ सय रुपैयाँको क्षति भएको थियो ।

आगलागी-डढेलोबाट ३ वर्षमा ३२४ जनाले ज्यान गुमाए

आगो सम्बन्धी विपदको घटनाको आँकडा हेर्दा बितेको ३ वर्षमा घर तथा जङ्गलमा लागेको आगोबाट ३२४ जनाले ज्यान गुमाएका छन् । २०७८ साल वैशाख १ गतेदेखि २०८० चैत ३० गतेसम्मको आँकडा हेर्दा व्यक्तिका घरमा आगलागी भएका ९ हजार ४४४ घटनामा ३०९ जनाले ज्यान गुमाए भने १ हजार २७५ जना घाइते भए । उक्त घटनाबाट ११ हजार ७०५ परिवार प्रभावित हुँदा २ हजार ८०८ घर पूर्ण रुपमा क्षति, १ हजार ८१८ घर आंशिक क्षति, २ हजार २१७ गोठ र ५ हजार २०२ पशु चौपायामा क्षति पुगेको थियो । जसमा ७ अर्ब, ३० करोड, ६२ लाख, ७५ हजार ५४१ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

यता ३ वर्षको अवधिमा वनमा लागेको डढेलोमा परी १५ जनाले ज्यान गुमाए भने ३२ जना घाइते भए । जसमा २०९ परिवार प्रभावित, ७६ घर पूर्ण क्षति, ३३ घर आंशिक क्षति र ६८ गोठमा क्षति हुँदा १५५ पशुचौपाया नष्ट भए । जसबाट १ करोड १४ लाख २४ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको थियो । यो अवधिमा सबैभन्दा बढी प्रभावित ओखलढुङ्गा जिल्लामा ८७ वटा घटना भएको थियो भने सबैभन्दा धेरै डोल्पामा ६ जनाको डढेलोबाट मृत्यु भएको थियो ।

आगलागी र डढेलो रोकथाम गर्न सरकारसँग छैन उपाय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर आगलागी र डढेलोको घटनाको विवरण सङ्कलन गर्ने काम गर्छ । प्राधिकरणका उपसचिव एवं प्रवक्ता डिजन भट्टराई आगलागी तथा डढेलो रोकथामका लागि कुनै उपाय नभएकाले रोकथाम भन्दा पनि आगलागी हुन नदिन जनचेतना जगाउने काम गरिरहेको बताउँछन् ।

भट्टराईले भने, ‘रोकथामको त्यस्तो उपाय त छैन तर मान्छेमा आगोको संवेदनशीलता बुझाउन जनचेतना जगाउने काम भइरहेको छ । आगलागी भएपछि त्यसलाई नियन्त्रण गर्न सुरक्षाकर्मीदेखि दमकल प्रयोग गर्छौं । पानी तान्नका लागि हाते पम्पहरू पनि वितरण गरेका छौँ । लागेको आगो नियन्त्रण गर्न क्रियाशील हुन सकिन्छ तर आगो लगाउने कामलाई रोकथाम गर्न भने गाह्रो नै छ ।’

प्राधिकरणको कार्यकारी समितिबाट विपद् प्रभावित निजी आवास प्रवलीकरण पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०८१ पास भएको छ । उक्त कार्यविधि अनुसार तराईका जिल्लाका घर पूर्णरुपमा क्षति भएका घर बनाउनका लागि ३ लाख, पहाडी जिल्लाका प्रभावितका लागि ४ लाख र हिमाली जिल्लाका प्रभावितका लागि ५ लाख रुपैयाँ अनुदान दिने व्यवस्था छ ।

अहिले आगलागी तथा डढेलोको घटना बढ्नुमा मानिसहरू गाउँबाट सहरतिर सर्दै जानु, गाउँमा मान्छे घटेपछि रुख, झाडी, स्याउलाहरू यथावत रहनु, त्यसको उपभोग हुन नसक्नु, जङ्गलमा पात पतिङ्गरहरू पर्याप्त मात्रामा रहँदा आगलागी बढाउन मद्दत गरेको भट्टराई बताउँछन् ।

उनले भने, ‘जङ्गलमा मान्छेले यही कारणले डढेलो लगाउँछन् भन्न त सकिँदैन । जङ्गलमा आगो लगाउने काम कानुन विपरीत हो । त्यस्ता मान्छे फेला परे कानुन बमोजिम कारबाही हुन्छ । घाँस उम्रिन्छ भनेर गोठालाहरूले आगो लगाउँछन् पनि भन्ने गरिन्छ तर त्यसको ठोस कारण देखिँदैन ।’

यता व्यक्तिका घरमा आगलागीका घटना बढ्नुमा अहिलेको मौसम, हावाहुरी कारक रहेको उनको भनाइ छ । व्यक्तिका घरमा आगोले क्षति पु¥याएपछि जिल्ला विपद् समितिले १५ देखि २० हजार तत्काल राहत दिने व्यवस्था छ । स्थानीय तहले पनि तत्काल उनीहरूलाई के चाहिन्छ, सो सम्बन्धी राहत उपलब्ध गराउने व्यवस्था छ । तत्कालका लागि राहत वितरण गरेपछि क्षति भएका घरको पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने उनले बताए ।  

हालै प्राधिकरणको कार्यकारी समितिबाट विपद् प्रभावित निजी आवास प्रवलीकरण पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०८१ पास भएको छ । उक्त कार्यविधि अनुसार तराईका जिल्लाका घर पूर्णरुपमा क्षति भएका घर बनाउनका लागि ३ लाख, पहाडी जिल्लाका प्रभावितका लागि ४ लाख र हिमाली जिल्लाका प्रभावितका लागि ५ लाख रुपैयाँ अनुदान दिने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप