मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

अदालतमा धरौटी राखेर रिहा भए दीपेश पुन

शुक्रबार, १४ वैशाख २०८१, १६ : ४२
शुक्रबार, १४ वैशाख २०८१

बुटवल । सहकारी प्रकरण मुछिएका दीपेशकुमार पुन रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले  रिहा गर्न आदेश दिएको एक हप्तापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् । 

वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट निस्किएका हुन् । 

उनी पूर्व उपराष्ट्रपति  नन्दकिशोर पुनका छोरा हुन् । न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो । उक्त रकम आज (एक हप्ता पछि) बुझाएर पुन छुटेका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराम मरासिनीले रातोपाटीलाई बताए । 

अदालतले गत शुक्रवार अध्यक्ष ओमप्रकाश गुरुङबाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अध्यक्ष  गुरुङ भने  भैरहवास्थित कारागारमा छन् ।  

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठोरले पुनका विरुद्ध अन्य मुद्दा दर्ता नभएको रातोपाटीलाई बताए ।  सहकारी प्रकरणपछि सुन प्रकरण जोडेर पुनका विषयमा विभिन्न समाचार आए पनि अहिलेसम्म कतै मुद्दा दर्ता नभएको प्रहरीको भनाइ  छ ।   

सुप्रिम सहकारी प्रकरणमा अदालतले गत शुक्रवार नै  नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईँ पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी रकममा छाड्न आदेश दिएको थियो । सो रकम बुझाएर उनीहरू रिहा भएका थिए ।  तर पुन भने आफूसँग रकम अभाव भएको भन्दै कारागार नै  गएका थिए ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सो मुद्दामा ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाइएको थियो । पुन उक्त सहकारीको  पूर्व सचिव हुन् ।

सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाउँदै १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । संस्थापक अध्यक्ष एवम् संरक्षक समेत रहेका राईलाई अदालतले फरार सूचीमा राखेको छ ।

सरकारी वकिल कार्यालयले राईसहित २८ जनालाई  ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको दाबी गर्दै सोही रकम बराबरको बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको थियो । । उक्त सहकारीबाट गृहमन्त्री रवि लामिछानेले समेत लोन लिएको पाइएको छ । तर, उनलाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप