बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

विवश वस्तीका तीन कविता

शनिबार, १५ वैशाख २०८१, १२ : ०४
शनिबार, १५ वैशाख २०८१

१) यो दृश्य त्यतिकै बदलिएको होइन

हजारौँ टन फलामको उरुङ लाग्यो
अग्ला पर्वतहरूका शिरमा बजारिए घन र मार्तोलहरू
र, म्याग्नेसाइटका निरीह टुक्राहरू निकालिइयो
उद्यानका हरिया वनस्पतिहरूलाई बकाइयो साक्षी
युरेनियमलाई ऊर्जाहीन बनाउन अनेक अभ्यास चालिए
बदलिए,
धेरै–धेरै दृश्यहरू बदलिए ।

क्षितिजलाई घोप्टो पारेर तारामण्डललाई पङ्गु बनाइयो
सप्तऋषि ताराहरू सगर्व भन्छन्–
‘यो दृश्य त्यतिकै बदलिएको होइन
सूर्यको अशेष आलोकमाथि धावा बोल्न लगाइयो,
अनगिन्ती धूमकेतुहरूलाई...।’
ब्रम्हाण्डका नालायक ग्रहहरूले आफूलाई घोषणा गरे–
प्रकाशपुञ्जको एक मात्र अभिभावक । 

प्रत्येक जनहरू जुटे
महाजनहरू पनि जुटे
निम्नहरू जुटे, सम्भ्रान्तहरू पनि जुटे
हरेक नगर, उपनगर र प्रान्तहरू पनि जुटे
उत्तेजित÷उमङ्गित थिए ती दृश्य
जुटे÷सबै–सबै जुटे
...यो दृश्य त्यतिकै बदलिएको होइन । 

यो दृश्य फेर्न वा बदल्न
जुटेका थिए जो–जो हिजो
शतप्रतिशत गायब छन् आज– यो दृश्यपटबाट ती सबै
तिनीहरू कुनैका पनि अनुहार टाँगिएका छैनन्–
कुनै सुशोभित भित्ताहरूमा
न त टाँगिएका छन्, लोमहर्षक क्षितिजहरूमा
बादलका बाङ्गा–टिङ्गा धर्साहरूझैँ । 

२) डर

कुनै इमानदार वृक्षको अस्तित्व मेटाउनेगरी
झाँगिएका आकाशबेलीझैँ
झाँगिदै जान्छन् मभित्र
यावत् डर । 

कुनै संक्रमित घाउझैँ फैलिइरहेको डरलाई
फ्याँक्छु म खुर्केर
र, निर्धक्कसाथ घोषणा गर्छु, 
‘अब मसँग कुनै डर बाँकी छैनन् ।’ 

अर्को डर प्रवेश गर्छ मभित्र
वसन्तका दिनहरूमा हुन्हुनाउँदै आउने आँधी–हुरीझैँ
अचानक छिर्छ ढोकाबाट÷जस्केलोबाट
मझेरी, आँटी र वर्षौंदेखि स्थायित्व कायम गर्दै आएको
अगेनोमाथिका ध्वाँसोलाई÷बिथोल्छ शतप्रतिशत
तर, बहिस्कार गर्छु म डरलाई । 

भित्रिन्छ अर्को, फेरि अर्को डर
पहाडी खोलाका निम्छरा ढुङ्गाहरूमा टाँसिएको लेउझैँ
फ्याँक्छु म त्यसलाई पनि तन्मयपूर्वक खुर्केर । 

अहँ ! छाड्दैन मलाई डरले रत्तिभर
टाँसिन आइपुग्छ मभित्र फेरि अर्को डर
लेकाली जंगलका वयोवृद्ध वृक्षमा निस्प्रभ टाँसिएको झ्याउझैँ
तुल्याउँछु म त्यसलाई पनि वृक्षमुक्त । 

डर, अत्यन्तै जब्बर वस्तु रहेछ
यो संसारको,
कहिल्यै नसकिने रहेछ– खुर्केर वा फ्याँकेर
पलाइरहँदो रहेछ त्यो त हरेक क्षण
जरुवाको चोखो पानीझैँ । 

३) गोरेटो र आइमाई

गोरेटोमा एक्लै हिँडिरहेकी आइमाईसँग
हुँदैनन् केही पनि । 

बस,
आफ्नै पाइलासँग गर्छिन्
हरेक पदचापपिच्छे सम्वाद
जसबाट सुख–दुःखका अनगिन्ती पाप्रा
उप्किँदै आउँछन्–
हिउँदको सुक्खा खहरेका ढुङ्गाहरूबाट
उप्किएका मरन्च्याँसे लेउहरूझैँ ।

जुधाउँछिन् आफ्नै नजरसँग आफ्नो नजर
फ्याँक्छिन् आफ्नै मुस्कानसँग आफ्नो मुस्कान
फिँजाउँछिन् आफ्नै उद्दिग्न केशराशी
अख्रिएको आफ्नै कपालसँग । 

हुँदैनन् केही पनि गोरेटोमा हिँडिरहेकी आइमाईसँग
हुन्छ त केवल !
गोरेटोसँगको अथाह प्रेम र भरोसा मात्र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विवश वस्ती
विवश वस्ती
लेखकबाट थप