आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सहकारी हिनामिना

एट्लस सहकारीले घरजग्गा खान खोजेको आरोप

ऋणी भन्छन्– ‘हिसाब गर्न मान्दैनन्, घरमा आँखा लगाएका छन्’
सोमबार, २४ वैशाख २०८१, २१ : ३४
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित एट्लस बचत तथा ऋण सहकारीबाट लिएको ऋण तिरे पनि सो सहकारीले घरजग्गा खान खोजेको आरोप लागेको छ । सहकारीबाट २०७५ मा काठमाडौँ–१६ नयाँबजार घर भएकी रजनी खर्गेले २ करोड ऋण लिएकी थिइन् ।

ऋण बापत सहकारीलाई उनले काठमाडौँ महानगरपालिका–१६ नयाँबजार स्थित ६ आना २ दाममा बनेको घर दृष्टि बन्धक गरिदिइन् । आफ्ना पति बुद्ध खर्गेको नाममा ऋण स्वीकृत गराउन उनले सो घरजग्गा धितो राख्न मन्जुरीनामा दिएकी हुन् । तर, २०७७ पुसमा सहकारीलाई २ करोड १० लाख रुपैयाँ तिरिसकेको खर्गेले रातोपाटीलाई बताइन् ।

उनले भनिन्–‘२०७७ पुस ३ र ६ मा हामीले सहकारीको बैंक खातामा २ करोड १० लाख डिपोजिट गरिसकेका छौँ ।’ ब्याज बापत तिर्न बाँकी रहेको रकम हिसाब गरेर घरजग्गा फुकुवा गरिदिन आग्रह गरे पनि सहकारीका प्रमुख कार्यकारी अधिकृत ध्रुब कर्माचार्यले घर लिलामी निकालेको उनले बताइन् । उनी भन्छिन्–‘सहकारीका सीइओले मेरो घर खाने नियत राखेका छन् ।’

सहकारी विरुद्ध खर्गे परिवार अदालतमा गएका छन् । काठमाडौँ जिल्ला अदालतले १०८० पुस १७ मा सहकारीका नाममा ‘हिसाब गराइदिनु’ भन्ने आदेश गरेको छ । तर, पनि सहकारीले हिसाब गरेर ब्याजबापतको रकम लिएर धितो फुकुवा गर्न आनाकानी गरेको उनले बताइन् ।

अदालतको पूर्ण पाठ नआउँदै सहकारीले घर लिलाम निकालेको रातोपाटीलाई प्राप्त कागजातबाट देखिन्छ । एट्लसका सीइओ कर्माचार्यले ऋणीले एकाघरको घर राखेर कर्जा लिएको तर, नतिरेको बताए । रातोपाटीसँग उनले भने–‘यस विषयमा अहिले मुद्दा चलिरहेको छ ।’

कुलेश्वरस्थित अंशु प्लाजामा सञ्चालित एट्लसका प्रमुख कार्यकारी अधिकृत ध्रुव कर्माचार्यले धितो विना नै ऋण प्रवाह गर्ने गरेको पनि भेटिएको छ । सेयरमा लगानी गर्ने र नाफा बाँडेर खाने सर्तमा उनले बुद्ध खर्गेलाई ‘व्यक्तिगत ऋण’ दिएको कागजातबाट देखिन्छ ।

कोरोना सङ्क्रमणका कारण लकडाउन भएको समयमा धितोको स्वामित्व भएकी रजनीलाई थाहै नदिई १ करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेर अहिले दुवै रकम जोडेर सहकारी सञ्चालकले घर लिलामको प्रक्रिया सुरु गरेका हुन् ।

सहकारी ऐन–२०७४ को दफा ५० अनुसार सदस्यको मात्र बचत स्वीकार गर्न र सोको परिचालन गर्न पाउने व्यवस्था छ । तर, एट्लसले सदस्य नै नभएका बुद्धलाई व्यक्तिगत ऋण प्रवाह गरेको भेटिएको छ ।

aaa

ऋणीले रकम बुझाएको बैंक स्टेटमेन्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप