मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

मार्क्सवादी दर्शनको प्रयोग किन ?

बुधबार, ०२ जेठ २०८१, १३ : ३८
बुधबार, ०२ जेठ २०८१

हाम्रो कुल भूभागमध्ये १७–१९ प्रतिशतसम्म भूभागमा विभिन्न खेती गरिन्छ । अरु सबै भूभाग हिमाल, पहाड वा वन–जङ्गलले ओगटेको छ । हाम्रो कृषि उत्पादन निर्वाहमुखी प्रणालीमा आधारित छ र ८० प्रतिशतभन्दा बढी जनता कृषिमा आश्रित छन् । 

हाम्रो अर्थतन्त्र पछि पर्नुका मूल कारण हुन्—  वैज्ञानिक (आधुनिक) खेती प्रणालीको विकास गर्न नसक्नु, कृषिलाई औद्योगिकीकरण गर्न नसक्नु, अनुदानमुखी लगानीमा भर पर्नु, लगानीमैत्री वातावरण नबन्नु र श्रमको उत्पादन अनुसार बजारको अभाव हुनु आदि । 

यसमाथि हामीकहाँ युगौँदेखिको पछौटेपन, अशिक्षा, गरिबी, पिछडिएको चिन्तन र सोचाइ छ । एकातिर नीतिगत भ्रष्टाचारले देशलाई जर्जर बनाइरहेको छ, अर्कोतिर समाजमा विभिन्न प्रकारका विभेद कायम छन् । आर्थिक र सामाजिक शोषण, विभेद र विसंगतिपूर्ण क्रियाकलाप पनि हाम्रो आर्थिक विकासका बाधक बन्न पुगेका छन् । अनि नेपाली जनताको गरिबी, अशिक्षा र पराश्रित मानसिकताको लाभ नेताहरूले उठाउने गरेका छन् । जहाँ गरिबी, रोग, भोग, अशिक्षा, शोषित, पीडित जनता बसोबास गर्छन्; त्यस मुलुकमा कम्युनिस्ट विचार छिटै फस्टाउँछ, कारण उनीहरूले गरिबी उन्मूलन र मुक्तिका नारा अगाडि सारेका हुन्छन् । कतिपय अवस्थामा  कम्युनिस्टहरू नेतृत्वमा समेत पुग्छन् । यसपछि कम्युनिस्ट पार्टीमा गरिबी हटाउने र वर्गीय मुक्ति गर्ने नारालाई लिएर मतभेद उत्पन्न हुन थाल्छन् र अन्ततः पार्टी फुट्ने र जुट्ने प्रक्रिया चलिरहन्छ । 

हामीकहाँ कम्युनिस्ट पार्टीले मार्क्सवादजस्तो वैज्ञानिक दर्शन २००६ सालदेखि नै बोकेको हो तर मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादलाई उपयोग गर्न नजानेर ती नेतृत्व बढी आलोचित मात्र होइन, जनमानसबाट अपमानित भइरहेका छन् । ती नेतृत्वले मार्क्सवादका नाममा आदर्शवादको मात्र खेती गरेर नेतृत्व लिइराख्ने; पद, पैसा र सत्ताको लोभमा अल्झी–बल्झी रहने प्रवृत्ति दिन प्रतिदिन बढिरहेको देखिन्छ । 

कम्युनिस्ट पार्टी र नेताहरू सिद्धान्ततः विकसित वस्तुगत परिस्थिति, जनताको भावना, आवश्यकता र माग अनुरूप चल्नुपर्ने हो । बदलिँदो परिस्थिति, विज्ञान एवं प्रविधिको युगमा मार्क्सवादको भौतिकवादी द्वन्द्व वा सिद्धान्तको उपयोग गर्न नसक्नु नेपालका कम्युनिस्ट पार्टीहरूको कमजोरी हो । अहिले विशेषगरी कम्युनिस्ट दलहरूले वस्तुगत र आत्मगत परिस्थितिको विश्लेषण नगरी उपयोगितावादी बन्नुले प्रश्न उठाइरहेको छ— के यिनीहरू के देश र जनताका लागि अभिशाप त होइनन् ? 

कम्युनिस्ट पार्टीहरूले देशको परिस्थिति अनुसार भौतिकवादी दृष्टिकोणलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । ऐतिहासिक द्वन्द्वको नियमलाई छाड्ने र यसको सार तत्त्व नै भुल्नु हँुदैन । देश, काल, परिस्थितिअनुरूप यसको उपयोग गरिनुपर्छ । निश्चित रूपमा मार्क्सवादका नाममा पुराना दलहरूले देखाएको बेइमानी, पाखण्डी र अवसरवादी चरित्रले मार्क्सवादी दर्शनमा अविश्वास बढ्न गएको छ । 

करिब–करिब सुरुवातदेखि नै नेपालमा कम्युनिस्ट पार्टीहरू रुढिवादी देखिए; पार्टीलाई देवालय र नेतालाई मूर्ति बनाउने संस्कार पार्टीमा देखिन थाले । यस्तै एक नेता वा समूहले अर्काको अस्तित्व अस्वीकार गर्ने वा अस्तित्व नामेट गर्ने संघर्षतिर पनि लाग्दै आए । यस्तै, विदेशीको योजना अनुसार प्रयोग हुने र कम्युनिस्ट सिद्धान्तलाई यान्त्रिक वा जडसूत्रीय ढंगले उपयोग गर्ने परम्परावादी सोचका कारण समेत कम्युनिस्ट नेता तथा कार्यकर्ता २१औँ शताब्दीको विकसित युगमा आलोचित भइरहनु स्वाभाविकै हो । 

यस्तै–यस्तै दक्षिणपन्थी तथा उग्रवामपन्थी अवसरवादी सोचाइ र व्यवहारले गर्दा जनताको नजरमा नेपालका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता कोही सामन्तवादका दलाल त कोही अमेरिकी तथा भारतीय विस्तार तथा नवउपनिवेशवादी एवं साम्राज्यवादीका नोकर भएका विषय नेपालको कम्युनिस्ट आन्दोलनमा उठिरहेका छन् । 

कम्युनिस्ट पार्टी र नेताहरू सिद्धान्ततः विकसित वस्तुगत परिस्थिति, जनताको भावना, आवश्यकता र माग अनुरूप चल्नुपर्ने हो । बदलिँदो परिस्थिति, विज्ञान एवं प्रविधिको युगमा मार्क्सवादको भौतिकवादी द्वन्द्व वा सिद्धान्तको उपयोग गर्न नसक्नु नेपालका कम्युनिस्ट पार्टीहरूको कमजोरी हो ।

नेता तथा पार्टीका नेतृत्व तहमा लागेका व्यक्तिको यस्तै कार्य व्यवहार र स्वार्थका कारण कम्युनिस्ट आन्दोलनले भए नभएका आरोप खप्नुपरेको छ । यो रोगबाट मुक्ति पाउनका लागि नेपाली जनता तथा कार्यकर्ताले आफैँभित्र ठुलो अन्तर्सङ्घर्ष चर्काउनु आवश्यक छ । जसले गर्दा यो दर्शनलाई २१औँ शताब्दीको विकसित युग, विभिन्न लोकतान्त्रिक पद्धति, भूमण्डलीकृत परिस्थिति र जनताको माग एवं आवश्यकता अनुसार उपयोग गर्न सहज हुन्छ । 

मार्क्सवादको उपयोग

मार्क्सवादलाई शुद्धीकरण वा समृद्धीकरण के गर्ने ? त्यसतर्फ नेपाली कम्युनिस्ट आन्दोलनका मुख्य धार स्पष्ट हुन अत्यावश्यक छ । शुद्धीकरण वा समृद्धीकरणपछि मात्र २१औँ शताब्दीको विकसित तथा सिर्जनशील मार्क्सवादको उपयोगबारे स्पष्ट बहस गर्न सकिन्छ । 

सत्ता भोग र स्वार्थका लागि कहिले वामपन्थी अवसरवादी बन्ने र कहिले घोर दक्षिणपन्थी बन्ने प्रवृत्तिबाट पनि कम्युनिस्ट आन्दोलनलाई बचाउनुपर्नेछ । २१औँ शताब्दीको विकसित विज्ञान, प्रविधि र भूमण्डलीकृत समाज एवं विकासको गति पक्रनेतर्फ सोच्नैपर्छ । विकसित युग, बदलिँदो परिस्थिति, प्रविधिको युगलाई आत्मसात गर्ने गरी मार्क्सवादी दर्शनलाई परिमार्जन र परिष्कृत गर्नैपर्छ । 

विश्वमा १७औँ र १८औँ शताब्दीको मार्क्सवादको व्याख्या र उपयोग २१औँ शताब्दीमा गर्न सकिँदैन । त्यसैले युग, परिस्थिति, जनभावना र आवश्यकता अनुसार यसको उपयोग वैज्ञानिक ढंगले गर्न सकिएमा मार्क्सवादको सही प्रयोग हुन जाने निश्चित हुन्छ । विश्वका शोषित, पीडित, अधिकारविहीन वर्गको हकहित तथा अधिकार प्राप्तिका लागि र शोषण, दमन एवं विभेदको अन्त्यका खातिर सर्वाेकृष्ट मानिएको भौतिकवादी वैज्ञानिक सिद्धान्तमा आधारित मार्क्सवादी दर्शन आज पनि अजय दर्शनका रूपमा विश्व राजनीतिमा क्रियाशील छ ।

विश्व समाज भूमण्डलीकृत भएको छ । यो अवस्थालाई बुझेर नेपालका कम्युनिस्ट पार्टी अगाडि बढ्न सकेमा नयाँ फड्को मार्न सकिने थुप्रै सम्भावना छन् । यसका लागि कम्युनिस्ट पार्टीहरू जडसूत्रवादी र यान्त्रिक होइन; मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादी पक्षलाई आत्मसात गरेर अग्रगामी समाज रूपान्तरणमा लाग्न सक्नुपर्छ । 

समयको आत्मगत र वस्तुसङ्गत अवस्थालाई नबुझी, विश्लेषण नगरी मार्क्सवाद नै असफल भयो भन्ने हाउगुजी सिर्जना गर्नु पनि नेपालका बौद्धिक वर्गको बौद्धिक अपरिपक्वता नै मान्नुपर्छ । आजभन्दा दुई दशकअगाडि खुलापन र आर्थिक उदारीकरणका नाराले रुसलाई जसरी गोर्वाचोवादी बनायो, त्यो रोगले नेपाली कम्युनिस्ट आन्दोलनका नेता तथा कार्यकर्तालाई प्रभावित नपारोस् । खुलापन र आर्थिक उदारीकरणको अनियन्त्रित र अव्यवस्थित तौरतरिकाबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई बचाउनेतर्फ सबै सर्तक हुनैपर्छ । 

विश्व राजनीतिक फाँटमा एकातर्फ पँुजीवादी विकास नयाँ ढङ्गले विकसित भइरहेको छ, अर्काेतर्फ मार्क्सवादी दर्शनमा पनि परिस्थिति अनुसार परिमार्जन, परिष्कृत व्याख्या र विश्लेषणको बहस चलिरहेको छ । यो अवस्थामा मार्क्सवादी दर्शनको औचित्य नै सकियो कि भन्ने विश्लेषण पनि दक्षिणपन्थी सोच हुन जान्छ । आजको २१औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा मार्क्सवादी दर्शनको महत्त्वको उपयोग गर्नु नै बुद्धिमानी हुन्छ । 

मार्क्सवादी दर्शन निरन्तर समाजको सापेक्षिक परिवर्तनसँग अगाडि बढिरहेको हुन्छ । त्यसैले परिस्थिति अनुसार यस दर्शनको उपदायता नै बढी बुद्धिमानी र वैज्ञानिक हुन जान्छ । यस दर्शनका प्रादुर्भावकर्ता मार्क्सले मार्क्सवादको उपयोग र प्रयोग गर्दा देश, काल, परिस्थिति र जनताको आवश्यकता अनुसार गर्ने विषयमा सचेत रहन सुझाएका छन् । 

मार्क्सवादी दर्शन बहुआयामिक र निरन्तर अग्र परिवर्तनका लागि बढिरहने सिद्धान्त भएकाले यसको उद्देश्यलाई परिस्थितिको आवश्यकता अनुसार बुझेर उपयोग गर्न सक्नु नै बुद्धिमानी हुन जान्छ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई २१औँ शताब्दीको विज्ञान, प्रविधिको विकास र उपलब्धि अनुसार परिमार्जित र परिष्कृत गर्नैपर्छ । यसो गरे यो दर्शन २१औँ शताब्दीमा अझै लोकप्रिय हुन जानेछ । 

वस्तुस्थितिलाई विश्लेषण गरी मार्क्सवादी दर्शनअनुरुप समान र ठोस कार्यक्रम बनाएर अगाडि बढ्ने भने राज्य आत्मनिर्भर हुन समय लाग्दैन । 

यस दर्शनका नाममा गलत उपयोग तथा व्याख्या गर्ने नेता तथा नेतृत्वहरू नेपालबाट मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनबाट पलायन भएका छन् । विश्वमा यो सिद्धान्तको प्रादुर्भाव भएयता यसको दुरुपयोग गर्नेहरू विश्वको इतिहासमा संशोधनवादी, गद्दार, धोकेबाज तथा कलङ्कित भएका छन् । 

नेपालको इतिहास पनि २००६ सालदेखि हालसम्म आउँदा मार्क्सवादको सार तत्त्वलाई आफू खुसी व्याख्या गर्ने थुप्रै नेता जनताको दृष्टिमा कलङ्कित भएका छन् । जनताका नाममा मुक्तिका कुरा गर्ने तर आफ्नो स्वार्थ पूर्तिका लागि मार्क्सवादलाई उपयोग गरी बदनाम बनाउनेलाई जनताले चिनेर चुनावका बेला जवाफ दिनुपर्छ । 

हिजोका दिनहरूमा कम्युनिस्ट पार्टीहरू ले जनता र देशको मुक्तिको पक्षमा जुन आवाज उठाएका थिए, ती आवाज वा नारालाई व्यवहारमा कार्यान्वयन गर्न लाग्नुपर्छ । जनताका मुक्तिका कुरा गरेर जनतालाई नै अलमल्याउनु इमानदारिता नहुने भएकाले आफूले उठान गरेका नारा कार्यान्वयन गर्नतर्फ लाग्नु नै बुद्धिमानी तथा वास्तविक नेतृत्वको पहिचान हुने भएकाले त्यसैअनुरूप अगाडि बढ्नु न्यायोचित हुन जान्छ । 

नाम, झन्डा र लोगो मात्रै कम्युनिस्टको राखेर हुने भए २००६ सालमै मुलुकमा समाजवाद वा साम्यवाद आइसक्थ्यो, तर नेपालमा त्यसो भएन किन ? नाम, झन्डा र लोगोको प्रयोगले मात्रै समाजवाद र वा साम्यवाद लागु हुने भए मार्क्स जम्मेको देश जर्मन, माओ जन्मेको देश चीन, लेनिन जन्मेको देश रुस आदिमा पूर्ण रूपमा समाजवाद लागु भइसक्नुपर्ने थियो । 

अहिले विश्वमा साम्यवाद आइसक्नुपर्ने थियो, तर त्यसो भएन किनकि त्यो दर्शन अनुसार र बदलिँदो विश्व परिवेश अनुसार मार्क्सवादको वैज्ञानिक प्रयोग र उपयोग गरिएन । केवल नाराका भरमा नेतृत्व र दलहरू चले, अनि यसमा आर्थिक विकास राजनीतिक आन्दोलन सँगसँगै आर्थिक क्रान्ति वा विकास गर्नुपर्ने विषयमा ध्यान पुगेन । 

अर्कातिर पँुजीवादीहरू यो विषयमा ज्यादै अगाडि बढे अर्थात् विश्वको अवस्थालाई उनीहरूले छिटो बुझे, कम्युनिस्टहरू ढिलो भए । आजको बुझाइ र गराइको समस्या यही हो । 

हामीले पनि विश्वको भूमण्डलीकरण विकासको गति र विज्ञान एवं प्रविधिको वर्तमान विकासको गतिलाई विश्लेषण गरेर मार्क्सवादी विज्ञानलाई त्यसैअनुरूप अगाडि बढाउने चुनौतीपूर्ण मार्ग समात्न तयार हुनैपर्छ । कठिन बाटो छाडेर, सजिलो मात्रै खोज्न लाग्यौँ भने हामीमाथि आरोपका थुप्रा मात्र थुपारिने छन् । अनि हामी त्यसैमा अल्झिनेछौँँ, विरोधी अगाडि बढ्नेछन् । त्यसैले विरोधीलाई खेल्ने र खेलाउने मौका नदिनु नै हाम्रो बुद्धिमानी हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रनाथ योगी
नरेन्द्रनाथ योगी
लेखकबाट थप