शनिबार, २९ असार २०८१
ताजा लोकप्रिय
गर्मी

उखरमाउलो गर्मीले किसान, मजदुरदेखि विद्यार्थीसम्म प्रभावित

अस्पतालहरूमा बढ्यो बिरामीको चाप
शुक्रबार, ३२ जेठ २०८१, २२ : ००
शुक्रबार, ३२ जेठ २०८१

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४, रजघट्टाका तेजप्रसाद चौलागाई बिहान एक/डेढ घण्टामात्रै खेतको काममा खट्छन् । अत्यधिक गर्मी र चर्को घामले ९ बजेपछि खेतबारीमा काम गर्नै नसकिने उनको भनाइ छ ।

‘बिहान ९÷१० बजेपछि ४० डिग्रीभन्दा माथि तापक्रम छ । चर्को घाम र गर्मीको कारण खेतबारीमा काम गर्न सारै गाह्रो हुन्छ,’ जीतपुरसिमरा–२०, कञ्चनपुरमा खेतमा काम गर्दै गरेको अवस्थामा भेटिएका चौलागाईले भने, ‘केही दिनअघि अलिअलि पानी परेपछि त गर्मी झन् धेरै बढेको छ । खेतबारीमा काम गर्ने भनेको बिहान एक÷डेढ घण्टामात्रै हो । दिउँसो त पङ्खा चलाएर बस्दा पनि धेरै पसिना आउँछ ।’

चर्को घाम र गर्मीका कारण अहिले चैते धान भित्र्याउने, मकै थन्क्याउने, धानको बिउ राख्ने, बिउ गोडमेल गर्ने, किसानहरू सबैभन्दा धेरै मर्कामा छन् । खुला आकाशमुनि काम गर्ने किसानहरू १० बजेपछि खेतबारीमा भेटिँदैनन् ।

चौलागाई जस्तै जीतपुरसिमरा–११, खैरहवाकी मीना चौधरी पनि  बिहान सबेरै खेतको काममा खट्छिन् । ‘गर्मी धेरै छ, बिहान सबेरै आउँछु । दिउँसो खेतमा काम गर्न सकिँदैन,’ चौधरीले भनिन् ।

पछिल्लो समय बढ्दै गएको गर्मीका कारण खेतबारीमा काम गर्ने कृषक, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, विद्यालयमा अध्यनरत विद्यार्थीहरू सबैभन्दा धेरै प्रभावित छन् ।

मधेसका अन्य जिल्लामा जस्तै बारामा पनि बिहीबारदेखि अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन ठप्प छ भने अस्पतालहरूमा  बिरामीको चाप बढेको छ ।

g7

जीतपुर सिमरा अस्पतालका जनस्वास्थ्य अधिकृत अशोक प्रसाद जैसवालले अस्पतालमा सेवा लिन आउनेमध्ये आधाभन्दा धेरै झाडापखाला, रुघाखोकी, ज्वरो, बान्ता हुने, घाउ–खटिरा लगायतका समस्या लिएर आउने गरेको बताए ।

उनले पानी उमालेर चिसो बनाएर पिउन सुझाव दिएका छन् । जीतपुरसिमरा अस्पतालमा दैनिक २ सयभन्दा धेरै बिरामीहरू सेवा लिन आउने गर्छन् ।

यता कलैया प्रादेशिक अस्पतालमा पनि गर्मीका कारण सेवा लिन आउने बिरामीहरूको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । सिमरा विमानस्थल जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय सिमराका अनुसार यस वर्ष सबैभन्दा बढी तापक्रम वैशाख १८ गते ४१ दशमलव ५ डिग्री पुगेको थियो । त्यसपछि ३८/३९ भन्दामाथि तापक्रम नदेखाएको जल तथा मौसम शाखाले जनाएको छ ।

यो तापक्रम गत वर्षको तुलनामा १ डिग्री कम हो । गत वर्ष असार ८ गते सिमरा र आसपासको क्षेत्रमा ४२ दशमलव ६ डिग्रीसम्म तापक्रम मापन गरिएको थियो ।

‘तापक्रम बढी वा कम भएर गर्मी हुनुभन्दा पनि तातो हावा चलेकाले हामीलाई धेरै गर्मी अनुभव भएको हो,’ मौसम शाखाका प्राविधिक लक्ष्मण काफ्लेले भने, ‘हावामा पानीको मात्रा असाध्यै कम भयो भने सुक्खापन बढी हुने र तातोपनको अनुभव धेरै हुन्छ । तर, हावामा पानीको मात्रा बढी भयो भने तापक्रम बढी भए पनि चिसो अनुभव हुन्छ ।’

हावामा पानीको मात्रा असाध्यै कम भएर तातोपना धेरै हुनुलाई ‘लु’ चलेको भनिन्छ । यसपटक पूर्वी तराईको तुलनामा पश्चिम तराई (नेपालगञ्ज, दाङ, भैरहवा, कैलाली, सुर्खेत) मा तापक्रम ३ देखि ४ डिग्रीले बढी छ ।

तातो हावा पश्चिमबाट चलेकोले पूर्वी तराईको तुलनामा पश्चिम तराईमा धेरै गर्मी बढेको मौसम शाखाका प्राविधिक काफ्लेको भनाइ छ । यसवर्ष अङ्ग्रेजी महिना मे ८ तारिखदेखि छिटफुट रुपमा परेको पानीले जमिन तात्दा हावामा तातोपना झनै बढेको जनाइएको छ । नेपालमा वर्षा भित्रिएको मौसमविदहरूले जनाए पनि बारा र आसपासको क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।

बाराका डिभिजन वन प्रमुख तथा वातावरणविद् विनोद सिंहले वन विनाश र प्रकृतिमाथि मानवीय दुर्व्यवहारको कारणले ग्रीन हाउस ग्यासहरू धेरै उत्सर्जन भएर पृथ्वीमा तापक्रम बढ्दै गएको बताए ।

‘वन जङ्गल नै रहेन भने कार्बनलाई शोषण गर्ने क्षमता यो पृथ्वीमा रहँदैन र सबै कार्बन उत्सर्जन भएर वायुमण्डलमा जान्छ । अहिले पृथ्वीमा तापक्रम बढ्नुको एउटा प्रमुख कारण यो हो,’ उनले भने, ‘अर्को वातावरणमा मिथेन ग्यास पनि बढेको छ ।’

वातावरण विज्ञ सिंहका अनुसार किसानले खेतीपाती गर्दा रासायनिक मल र विषादीको धेरै प्रयोग गर्दा पनि ग्रीन हाउस ग्यासहरू बढी उत्पादन गर्दछ ।

g2वातावरणमा ग्रीन हाउस ग्यासहरू बढ्दै जाँदा तापक्रम पनि बढ्ने भएकाले वन, जङ्गल विनाशलाई रोक्नुपर्ने उनको भनाइ छ । तापक्रम बढ्दै जाँदा केही वर्षदेखि तराईमा पानीको हाहाकार देखिएको छ भने धेरै जीवजन्तुको अस्तित्वसमेत लोप हुने अवस्थामा पुगेको छ ।

डिभिजन वन प्रमुख सिंहले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले पनि ठुलो पानीको श्रोत प्रयोग गरेकाले तराईमा जमिनमुनिको पानीका श्रोत सुक्दै गएको र निकट भविष्यमै मरुभूमि बन्न सक्ने खतरा देखिएको बताए ।

‘हाम्रा पूर्वजहरूले नदीमा पानी बगेको देख्नुभयो, बुबाहरूको पालामा कुवामा पानी आउँथ्यो । हाम्रो समयमा धारा देख्दैछौँ तर अब नयाँ पुस्ता बोतलको पानीमा सीमित हुँदैछ,’ सिंहले भने, ‘सरकारले पनि पैसा कमाउने नाममा वातावरणीय अध्ययन नै नगरी जथाभावी उद्योगधन्दा खोल्ने अनुमति दिने, खोलानाला उत्खनन् गर्न दिने काम गरेको छ, यो ठुलो गल्ती हो ।’

बारा–पर्सा औद्योगिक करिडोरमा रहेका करिब ८ सय उद्योगमध्ये फलामजन्य उद्योग अधिक छन् । यी उद्योगहरूले फ्याँक्ने प्रदुषण र मसिना कणहरूले आकाशमा बादल बन्न नदिने र वर्षा हुन नदिने वातावरण विज्ञ सिंहको भनाइ छ ।

‘पैसा कमाउँछ एउटा उद्योगीले, प्राकृतिक विपत् भयो भने त्यहाँको समाजले भोग्नुपर्छ । त्यसैले विकास र समृद्धिको नाममा सरकारले जथाभावी उद्योग खोल्ने अनुमति दिनु भएन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप