बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

भ्रमण, अनुगमन, सवारी साधन खरिद, मर्मत, इन्धन र भत्तामै छुट्ट्याइयो करोडौँ बजेट

मङ्गलबार, ०४ असार २०८१, १६ : ०७
मङ्गलबार, ०४ असार २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८१/८२) का लागि विनियोजन गरेको बजेटमाथि सोमबारदेखि प्रदेश सभामा छलफल सुरु भएको छ ।

बजेटमा चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको चालु खर्च २ अर्बले बढाइएको छ । चालु खर्चलाई नियन्त्रण गर्नुपर्ने आवाज उठिरहेको बेला सरकारले भने त्यसलाई नियन्त्रण गर्न सकेको देखिएको छैन ।

बजेटमा चालु खर्चका लागि १४ अर्ब ४७ करोड २३ लाख विनियोजन गरिएको छ । उक्त बजेटमा सवारी साधन सञ्चालन तथा मर्मत सम्भार, पदाधिकारी भत्ता तथा सुविधा, मसलन्द, इन्धन प्रयोजनका साथै सेवा परामर्श, कार्यक्रम, गोष्ठी तथा विभिन्न शीर्षकमा बजेट बढाइएको छ ।

सरकारले सवारी साधन सञ्चालन तथा सम्भार खर्चको नाममा ३६ करोड ७१ लाख १८ हजार विनियोजन गरेको छ । जसमा पदाधिकारीको इन्धन, कार्यालय प्रयोजनको इन्धन, सवारी साधन मर्मत र बीमा तथा नवीकरण खर्च जोडिएको छ । चालु आर्थिक वर्षमा उक्त शीर्षकमा २८ करोड ३३ लाख ७६ हजार खर्च हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा यो शीर्षकमा २८ करोड ५१ लाख ८९ हजार रुपैयाँ खर्च भएको थियो ।

यस्तै पदाधिकारी भत्ता तथा अन्य सुविधा ४ करोड ९५ लाख ४९ हजार खर्च हुने अनुमान गरिएको छ । उक्त शीर्षक अनुसार पदाधिकारी बैठक भत्ता, पदाधिकारी अन्य सुविधा र पदाधिकारी अन्य भत्ता पर्छ । चालु आर्थिक वर्षमा यो शीर्षकमा ३ करोड ९१ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा भने यस्तो खर्च २ करोड ८६ लाख ४९ हजार रुपैयाँ भएको थियो ।

कार्यालय सामग्री र मसलन्द शीर्षकमा पनि १४ करोड ५३ लाख बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा यस्तो खर्च १० करोड ६६ लाख ६७ हजार हुने अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा यो शीर्षकमा १३ करोड ८४ लाख ८० हजार रुपैयाँ खर्च भएको थियो ।

यस्तै पुस्तक तथा सामग्री खर्च १ करोड ४१ लाख १५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा १ करोड ७८ लाख २९ हजार यथार्थ खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो खर्च १ करोड ७१ लाख १७ हजार रुपैयाँ थियो ।

यस्तै इन्धन प्रयोजनका लागि यस वर्ष २ करोड १२ लाख ७३ हजार रुपैयाँ छुट्ट्याइएको छ । चालु आर्थिक वर्षमा यस्तो खर्च १ करोड ६० लाख १६ हजार खर्च हुने अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो खर्च १ करोड २७ लाख ६७ हजार रुपैयाँ थियो ।

पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन खर्च पनि यस पटक अत्यधिक बढाइएको छ । आगामी आर्थिक वर्षका लागि उक्त शीर्षकमा ९ करोड ४१ लाख ६५ हजार छुट्ट्याइएको छ । चालु आर्थिक वर्षमा भने ६ करोड ९६ लाख २८ हजार खर्च हुने अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो खर्च ६ करोड १३ लाख १७ हजार रुपैयाँ थियो ।

सेवा परामर्श तथा अन्य सेवा शुल्क भने घटाइएको छ । गत आर्थिक वर्ष २०७९/८० मा यस्तो खर्च ६४ करोड ३८ लाख ७२ हजार थियो भने चालु आर्थिक वर्षमा १ अर्ब ११ करोड २४ लाख १३ हजार खर्च हुने अनुमान छ । त्यसलाई घटाउँदै आगामी आर्थिक वर्षका लागि भने ९१ करोड ६५ लाख ५३ हजार रुपैयाँमात्रै खर्च हुने अनुमान छ ।

यस्तै कार्यक्रममध्ये तालिम तथा गोष्ठीमा मात्रै आगामी आर्थिक वर्षका लागि ३३ करोड ९२ लाख ६७ हजार खर्च हुने अनुमानका साथ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा यस्तो खर्च २२ करोड ४९ लाख ७ हजार खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा २१ करोड ६७ लाख ९७ हजार रुपैयाँ खर्च भएको थियो ।

तालिम तथा गोष्ठीकै कार्यक्रम खर्च, विशेष कार्यक्रम खर्च, विविध कार्यक्रम खर्च भनेर थप साढे ११ करोडभन्दा बढी रकम विनियोजन गरिएको छ ।

यस्तै अनुगमन मूल्याङ्कन र भ्रमण खर्चका लागि १८ करोड २१ लाख ७३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्षमा खर्च हुने अनुमानित १३ करोड १८ लाख ४६ हजारभन्दा झण्डै ५ करोडले बढी हो ।

यस्तै विविध खर्चको नाममा २३ करोड ४८ लाख ३० हजार विनियोजन गरिएको छ । यस्तो खर्च चालु आर्थिक वर्षमा १६ करोड ७३ हजार ५४ हजार खर्च हुने अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो शीर्षका लागि ९ करोड ८० लाख ५२ हजार रुपैयाँ राखिएको थियो ।

प्रदेश सरकारले आफ्नो संरचना बनाउन नसकेको छैन भने प्रत्येक वर्ष सवारी साधन खरिदको बाढी लगाइरहेको छ । प्रदेश सरकारले जग्गाको भाडा, घर भाडा, सवारी साधन तथा मेसिनरी औजार भाडा तथा अन्य भाडामा ८ करोड ८० लाख ९८ हजार खर्च गर्न सक्ने गरी बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा यस्तो खर्च ७ करोड ५१ लाख १२ हजार हुने अनुमान गरिएको छ भने अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो खर्च ६ करोड ६४ लाख ८० हजार रुपैयाँ थियो ।

प्रदेश सरकारले भइपरी आउने चालु खर्च शीर्षकमा ५९ करोड ४१ लाख ८९ हजार विनियोजन गरेको छ । यस्तै भवन तथा संरचना निर्माण शीर्षकमा आवासीय भवन निर्माण/खरिदका लागि ३० लाख, गैर आवासीय भवन निर्माण खरिदका लागि १ अर्ब ८६ करोड ३५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै सवारी साधन तथा मेसिनरी औजार खरिदका लागि ९४ करोड ५० लाख ७४ हजार रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा यस्तो खर्च ४८ करोड ६१ लाख ६६ हजार हुने अनुमान छ । गत आर्थिक वर्ष २०७९/८० मा सवारी साधन तथा मेसिन औजार खरिदका लागि ४७ करोड ३७ लाख १४ हजार रुपैयाँ खर्च भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप