आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ

आइतबार, २४ जेठ २०८३, १६ : ४७
आइतबार, २४ जेठ २०८३

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आएका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत खाना फालिने गरेको बताएका छन् । विभिन्नथरी खाना राख्दै जाँदा प्लेट भरिने भन्दै उनले त्यसको झण्डै आधा फालिने गरेको उल्लेख गरे ।

“होटल, रेष्टूरेन्ट र पार्टी प्यालेसले गर्ने भोज/भतेरका कार्यक्रममा अधिक खाना फालिन्छ । घरमा पनि बढी खाना पकाउँदा फालिने गरेको पाइन्छ । ग्रामीण क्षेत्रमा फालिएका खाना पशु चौपालयले खाने भए पनि सहरी क्षेत्रमा त्यसरी फालिएका खाना फोहरका रूपमा परिणत हुन्छ”, चापागाईंले भने, “खाना फाल्न रोक्न धेरै प्रयास गरियो । सफल भइएन ।”

यसरी खाना फालिँदा खुवाउनेका लागि भोज भतेर महँगो हुने गरेको भन्दै उनले मुलुक बाहिरबाट खाद्यान्न आउने हुँदा समग्र अर्थतन्त्रमा यसले प्रभाव पार्ने बताए । बिहानको खानामा कम फालिने भए पनि दिउँसो र साँझ गरिने भोजमा अधिक फालिने गरेको चापागाईंको भनाइ छ । होटलमा मदिरासहितको भोजमा अरु बढी फालिने गरेको उनले अनुभव सुनाए ।

देशभर ३० वटा होटल, रेस्टुरेन्ट र क्याफे सञ्चालन गरिरहेका सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी निर्देशक कृष्ण न्यौपानेले ४० प्रतिशत खाना फालिने गरेको बताए ।

उनले भने, “सुरु सुरुमा हामीले खाना प्याकिङ गरेर घर पनि पठायौँ तर सकेनौँ ।” आफूहरूले व्यानरसमेत राखेर खाना फाल्नबाट बचाउने प्रयास गरे पनि सफल नभएको बताउँदै उनले खाना फाल्नेलाई नफाल्न आग्रह गर्दा उल्टै गाली गर्ने गरेका अनुभव सुनाए ।

आफ्नो कैलालीको होटलमा एक जना जापानिजले गरेको कार्यक्रममा फालिएको खाना देखेर ती जापानिजले ‘दैनिक चार पटक खाने खानाको अड्कल गर्न नसक्नेले के काम गर्न सक्छन्’ भन्ने प्रश्न गरेका न्यौपानेले अनुभव सुनाए

केहीले आफूले खानसक्ने मात्र छानेर खाने गरे पनि धेरैले भोजमा राखिएका सबै चिज खान खोज्दा धेरै फालिने गरेको न्यौपानेले बताए । उनले भने, “खाना फाल्नबाट रोक्न सकियो भने भोजभतेरको खर्च कम हुन्छ ।” फालिने खानाको समेत हिसाब गर्नुपरेकाले आयोजकको खर्च बढ्ने गरेको उनको भनाइ छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरेले विश्वमा फालिएको खाना बचाउने हो भने ३० प्रतिशतलाई खान पुग्ने जानकारी दिए । आफू विद्यावारिधि गर्दा ६ वर्ष जापान बसेको भन्दै उनले जापानिज खाना बाँकी रहेमा पोको पारेर घर लैजाने गरेकाले नै अन्य देशमा खानाको सुरक्षा कम हुने गरेको बताए ।

“नेपालमा खाना फाल्ने चलन धेरै छ । यसलाई रोक्न सबैको पहल र ऐक्यबद्धता जरुरी छ । खानालाई कसरी स्वस्थकर बनाउन सकिन्छ भन्नेबारेमा सोच्नुपर्ने देखिन्छ”, उनले भने ।

भारतमा महात्मा गान्धीले कसैलाई असहज महसुस हुनासाथ एकछाक खाना छोड्न गरेको अपिल स्मरण गर्दै गान्धीले सधैँ भातको सट्टा खानामा विविधीकरण गर्नुपर्ने बताउने गरेकाे प्राडा घिमिरेले उल्लेख गरे । टर्कीका बासिन्दाले पहिले पहिले बिहान बेलुका दालभात, तरकारी खाने गरेकामा अहिले एकछाक अन्य परिकार खाने गरेका भन्दै नेपालीले पनि यस विषयमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

खाद्य बचत र स्वास्थ्यका लागि यो उत्तम विकल्प हुनसक्ने उनको भनाइ छ । नियमित बिहान बेलुका दालभात तरकारी खाने प्रचलनका कारण कम उत्पादन भए पनि धान रोप्ने नेपाली परम्परालाई परिवर्तन गरेर जे धेरै उत्पादन हुन्छ त्यसमा ध्यान दिन प्राडा घिमिरेले आग्रह गरे ।

नेपालले वार्षिक रु ४५ देखि ५० अर्बको खाद्यान्न मात्र आयात गर्ने जनाउँदै उनले खाना नफाल्ने, खानामा विविधीकरण ल्याउने र बाँझो जमिनमा खेती गर्नसके आयात घट्ने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप