सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहको भारतबारेको अभिव्यक्तिका कारण प्रतिनिधि सभा बैठक तनावग्रस्त भएपछि सभामुखले बैठक ५ दिनका लागि स्थगित गरेका थिए ।
- विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिई बेल घेराउ गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए ।
- सभामुखले विवाद समाधानका लागि सत्तापक्ष वा विपक्षीसँग कुनै औपचारिक बैठक नगरेको र आफू विभिन्न कार्यक्रममा व्यस्त रहेको आरोप छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण प्रतिनिधि सभा बैठकमा तनावग्रस्त अवस्था सिर्जना भएपछि सभामुख डोलप्रसाद अर्यालले जेठ १९ गते बैठक ५ दिनका लागि स्थगित गरे ।
विपक्षी दलहरू; नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठकलाई कार्यसूचीमा प्रवेश गर्न नदिई निरन्तर बेल घेराउ गरेपछि सभामुख अर्यालले जेठ २४ गते सोमबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका थिए ।
जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा एक्कासि उपस्थित भएका थिए । विपक्षी दलहरूले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीमा भएको व्यवस्थाअनुरूप प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गर्नुपर्ने भन्दै सदनमा विरोध गरिरहेपछि अकस्मात् उनी प्रतिनिधि सभा बैठकमा पुगेका थिए । सभामुखसँग आफै समय मागेर सदनको रोस्ट्रममा पुगी सांसदहरूलाई प्रश्न सोध्न आग्रह गरेका प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा ‘भारतको भूमि नेपालले पनि मिचेको’ बताएका थिए । उनको त्यो धारणाको सदनभित्र र बाहिर चर्को विरोध भइरहेको छ । सदनमा विपक्षीले बेल घेर्ने र सत्तापक्षले प्रतिरोध गर्ने गर्दा सदन तनाबग्रस्त बनेको थियो ।
विपक्षीहरूले बेल घेरेले जेठ १७, १८ र १९ गते बैठकमा कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सभामुख अर्यालले संसद बैठक जेठ २५ गते सोमबारसम्मका लागि स्थगित गरेका थिए । आफूले आह्वान गरेको बैठक बस्ने दिन भोलि हो तर सभामुख अर्यालले अहिलेसम्म विवाद समाधानका लागि सत्तापक्ष वा विपक्षीसँग कुनै औपचारिक बैठक गरेका छैनन् । विवादको समाधान खोज्न ५ दिन बैठक स्थगित गरेका सभामुख अर्यालले अहिलेसम्म कुनै औपचारिक प्रयास भने गरेका छैनन् ।
बरु दक्षिण भारतीय हिरोको शैलीमा सुदूरपश्चिममा एक कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ पुगेका थिए ।
१९ गते प्रतिनिधि सभा बैठक स्थगित गरेपछि सभामुख अर्यालले जेठ २१ गते दुई वटा कार्यक्रम भ्याए । पहिला ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रममा सहभागी भए । त्यसपछि उनी त्यसै दिन काभ्रे पुगे । काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन लगर्न उनी त्यहाँ पुगेका थिए ।
२२ गते सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजना हुने संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबिच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन पुगे । सुदूरपश्चिम पुगेका बेलामा सभामुख अर्यालले धेरै जिल्लामा रहेका सम्पदा र कार्यालयहरूको अवलोकन गर्दा सरकारी गाडीहरूको लावालस्कर लगाएको भन्दै अहिले आलोचना भइरहेको छ । अर्याल आइतबार काठमाडौँ फर्किने कार्यक्रम छ ।
सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरले शुक्रबार धनगढी गएको र आइतबार फर्किने जानकारी दिइन् ।
तर, विपक्षीहरू भने समस्या समाधानका लागि सभामुख अर्यालले ठोस पहल नै नगरेको बताउँछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गतिरोध अन्त्यका लागि सभामुखबाट अहिलेसम्म बैठक आह्वान नभएको जानकारी दिए । ‘प्रतिनिधि सभा बैठक स्थगित भएपछि एकट पटक टेलिफोन गर्नुभएको थियो । म बाटोमा थिएँ । राम्रो कुरा हुन पाएन,’ आङदेम्बेले रातोपाटीसँग भने, ‘अहिलेसम्म औपचारिक बैठक बोलाउनुभएको छैन । त्योबाहेक सत्तापक्षका नेताहरूले पनि केही छलफल गर्नुभएको छैन ।’

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्यका लागि सभामुख अर्यालले सत्ता र विपक्षी दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूसँग अनौपचारिक कुराकानी गरिरहेको जानकारी कुँवरले दिइन् । औपचारिक छलफल भने नभएको कुँवर स्विकार्छिन् । ‘सत्ता र विपक्षी दलका नेता र प्रमुख सचेतकसँग सदनको गतिरोध हटाउने विषयमा अनौपचारिकरूपमा छलफल भइरहेको छ,’ कुँवरले रातोपाटीसँग भनिन्, ‘औपचारिक बैठक भने भएको छैन । गर्न पाइएको छैन ।’
विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सदन स्थगित भएको ५ दिनसम्म सभामुख र सत्तापक्षबाट संवादका लागि कुनै आह्वान नभएको बताएकी छन् । राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिएर यतिबेला रास्वपाको वडा अधिवेशनका लागि सहजीकरण गराइएको उनको आरोप छ । ‘विगत पाँच दिनसम्म संवादका लागि कुनै आह्वान भएन । समाधान खोज्ने कुनै पहल भएन,’ ओलीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बरु सदनको लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिईएको गम्भीर आशंका पैदा भएको छ । यसबिच राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनका लागि सहजीकरण गरिएको छ ।’

ओलीले सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने, राजनीतिक सहमति खोज्ने उद्देश्य नभएको भए लामो समयसम्म सदनको बैठक स्थगित गर्नुको औचित्य के थियो भन्दै प्रश्न पनि गरेकी छन् । ‘यदि सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने, राजनीतिक सहमति खोज्ने र सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै थिएन भने संसदीय अधिवेशन यति लामो समयसम्म स्थगित गर्नुको वास्तविक औचित्य के थियो,’ ओलीले लेखेकी छन्, ‘सदन स्थगित भएको आज पाँच दिन भइसक्यो । भोलि सदन खुल्दै छ, तर बिना कुनै उपलब्धि भोलि त्यहि गतिरोधकै बिन्दुबाट सदन सञ्चालन हुने स्थिति छ । आखिर सदन कसका लागि र कुन प्रयोजनका लागि स्थगित गरियो ?’
ओलीले भनेजस्तै अहिले एकल बहुमतको सरकार चलाइरहेको रास्वपा अहिले पार्टीको अधिवेशनमा व्यस्त छ । रास्वपाका सांसदहरू पार्टीका जिल्ला र क्षेत्रीय अधिवेशनहरूमा गएका भन्दै यसबिच आह्वान भएका राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिका बैठकहरू नबसी स्थगित गरिएका थिए । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले आफू अधिवेशनका क्रममा जिल्लामा रहेकाले राजधानीका राजनीतिक गतिविधिबारे जानकारी नभएको रातोपाटीलाई प्रतिक्रिया दिए ।
संघीय संसद् सचिवालयले पनि गतिरोध अन्त्यका लागि कुनै छलफल नभएको बताएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले गतिरोध अन्त्यका लागि जेठ १९ गते पछि औपचारिक छलफल नभएको जानकारी दिए ।
‘सभामुखज्यूले गतिरोध अन्त्यका लागि जेठ १९ गते पछि औपचारिक बैठक गर्नुभएको छैन,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने, ‘दलहरूबिच बाहिर बैठक भएका भए थाहा हुने कुरा भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण