मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेविसङ्घ लफडामा लुकेको स्वार्थ : देउवाविरुद्ध दबाब बढाउने असन्तुष्टको रणनीति

बिहीबार, २७ वैशाख २०७५, १३ : २०
बिहीबार, २७ वैशाख २०७५

काठमाडौं– सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गरेसँगै नेपाली काङ्ग्रेसको विवाद थप सतहमा आएको छ ।  तीव्र गुटबन्दी रहेको काँग्रेसभित्रका शीर्ष नेताकै स्वार्थका कारण  विवाद भातृ सङ्गठनसम्म छताछुल्ल भएको छ । 

नेता रामचन्द्र पौडेलले नेविसङ्घ महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा बुधबारका लागि सुन्दरीजलमा कार्यक्रम हुन लागेको फेसबुकमार्फत प्रचार गरे । 

तर, सुन्दरीजलमा एकै स्थानमा दुई समूहको कार्यक्रम जुधाइएको समाचार प्रकाशित भएपछि पौडेलले आफ्नो स्टाटस मङ्गलबार साँझ हटाए । 

पदाधिकारी मनोनयनपछि  काँग्रेसमा पौडेल र  कृष्ण सिटौला पक्ष देउवासँग थप रूष्ट भएको छ । आफूहरूले उठाएका प्रस्तावलाई देउवा पक्षले सुनुवाइ नगरेपछि पौडेल समूह सामाजिक सञ्जाल, भातृ सङ्गठन र आफ्नो पक्षको भेला गरेर सभापतिलाई ‘गलाउने’तर्फ लागेको देखिन्छ । सुन्दरीजलमा एकै स्थानमा कार्यक्रम गर्नुको उद्देश्य पनि त्यही देखिन्छ ।  

पौडेल/सिटौला समूहको ‘साथ’ पाएर नै नेविसङ्घमा महामन्त्री समूह समानान्तर गतिविधि गर्न प्रयासरत रहेको बताइएको छ । शीर्ष तहबाट वचन नपाएको भए काफ्ले समूहले एकै स्थान र समयमा कार्यक्रम निर्धारण गर्न नसक्ने एक विद्यार्थी नेताले बताए । 

सङ्घका सभापति नैनसिंह महरले कार्यक्रमका लागि एक साताअघि स्थल निश्चित गरिसकेको थिए । जबकि महामन्त्री समूहले मङ्गलबार बिहान सुन्दरीजल परिसरमा आफूहरूले पनि स्थान पाउने पर्ने व्यवस्थापन समितिसँग माग राखेका थिए ।  

सङ्घका सभापति महरको नेतृत्वमा एक साताअघि तय भएको कार्यक्रम शीर्ष नेताहरूलाई जानकारी थियो । केन्द्रीय नेतृत्वले बुधबार राखिएको कार्यक्रम पूर्व अवगत भएर पनि समाधान गर्न समयका चासो नदेखाएको  बताइएको छ । देउवा पक्षका विद्यार्थीहरूले राखेको कार्यक्रमलाई रोक्ने अभिप्रायले नै आफू मातहतका विद्यार्थीलाई पौडेल÷सिटौला समूहले ‘उक्साएको’ एक विद्यार्थी नेताले बताए ।  
शीर्ष तहले इच्छाशक्ति देखाएको भए बुधबार अघि नै समाधान गर्ने अवस्था थियो । पार्टी नेताहरूले आफ्नो पक्षकालाई काखी च्यापेका कारणले ऐतिहासिक स्थलमा विवाद सिर्जना भएको एक सहभागीले बताए । 

पार्टी विवादको अवस्था विद्यार्थी सङ्गठनमा पनि स्पष्ट देखिने अवस्था छ । पार्टीको गुट समानान्तर रूपमा तल्लो तहसम्म झाँगिएको छ । नेताहरू पनि आफ्नै गुटको मात्रै अतिथि बन्दै आएका छन् भने भातृ संस्थाले पनि उनीहरूका नजिकका नेताहरूलाई अतिथि बनाउने परम्परा छ । 

पौडेल पक्षको भेला बोलाउने कसरत 
निर्वाचन समीक्षाका लागि डाकिएको केन्द्रीय कार्यसमिति बैठकबाट काँग्रेसको विवाद केही हदसम्म साम्य हुने धेरैको बुझाइ थियो । कूल ३८ दिनमा १४ दिन बसेर सकिएको बैठकले काँग्रेसमा कुनै ऊर्जा दिन सकेन । 
केन्द्रीय कार्यसमिति सकिएकै दिन पौडेल÷सिटौला पक्ष सभापतिप्रति झन् रुष्ट भएको थियो । निर्वाचनको हार, महासमिति बैठक अविलम्ब बोलाउनुपर्ने, विधान विपरीत गठन गरिएका समितिहरू विघटनलगायतका प्रस्तावमा पौडेल सिटौला समूहले चाहेअनुसारको सफलता प्राप्त गर्न सकेन । बैठक सकिँदा नसकिँदै पदाधिकारी चयनका लागि बोलाइएको बैठकमा आपत्ति जनाए पनि रोक्न भने सकेनन् । 

विगतको इतिहास देखाउँदै सहमहामन्त्रीको आशा राखेको पौडेल समूहले आफ्नो माग सुनुवाइ नभएसँगै देउवाप्रति थप आक्रामक देखिएको छ । पदाधिकारी चयन प्रक्रियामा देउवा बहुमतको आडमा अघि बढेपछि विपक्ष समूहले सभापतिबाट पेलाई महसुस गरेको छ । 

केन्द्रीय कार्यसमितिको बैठक गुटहरूको मध्यस्थता गर्दै आएका अर्जुननरसिंह केसी पनि पछिल्लो समय पौडेल समूहको नजिक देखिएका छन् । सभापतिको ‘निरङ्कुश र अधिनायवादी’ शैली बढेको भन्दै पौडेल समूहसँग नजिकिएका हुन् । 

केन्द्रीय समितिको बैठक सकिएको एक साता नपुग्दै पौडेल पक्षका नेताहरूको बैठक वसेको थियो । गत आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा पौडेल पक्षका चार नेताले पार्टीको आन्तरिक विषयमा छलफल गरेका थिए । उक्त बैठकमा पौडेल, सिंह, केसी र नवीन्द्रराज जोशी सहभागी भएका थिए । आइतबार बिहान बिरामी भएको बताएका सिंह बैठकमा भने सहभागी भएका थिए । 
आफ्नो पक्षले उठाएका अधिकांश मागलाई पार्टी सभापतिले बेवास्ता गरेकाले भावी रणनीति तय गर्न उक्त बैठक बसेका केसीले बताए । जमिनदारी तरिकाले पार्टी नचल्ने बताउँदै केसीले देउवाको अधिनायकवादी शैलीको अन्त्य हुने बताए । केन्द्रीय समितिमा बहुमतले पेलेर सभापतिले निर्णय गराए पनि पार्टीका कार्यकर्ता कब्जा गर्न नसक्ने केसीले बताए । 
चार नेताको बैठकले महासमिति र जिल्ला भेलाको मिति तोक्न सभापतिलाई दबाब दिने निर्णय पनि गरेको थियो । पौडेल पक्षका नेताहरूले आफ्नो समूहको भेला बोलाउने तयारी गरेको बताइएको छ । 

सामाजिक सञ्जालको साहारा
नेता रामचन्द्र पौडेलले शुक्रबार राति फेसबुकमा पार्टीको विषयमा मत सर्वेक्षण नै सुरु गरे । पदाधिकारी चयन गरिएको विषयमा आधारित रहेर प्रारम्भ गरिएको मत सर्वेक्षणले पार्टीको आन्तरिक अवस्था छर्लङ हुन्छ । 

पौडेलले मत सर्वेक्षणका लागि राखिएको स्टाटसमा काँग्रेसभित्र पार्टी सभापतिको अधिनायकवाद सुरु भए÷नभएको  अभिमत बुझ्न खोजेका छन् । मत सर्वेक्षणका लागि ‘हो’ वा ‘होइन’ अप्सन दिइएको छ । पौडेलले मत सर्वेक्षणका लागि एक साताको समय सीमा छुट्याएका छन् । 

गत छ  दिनमा पार्टी सभापतिले अधिनायकवाद सुरु गरेको ‘हो’ भन्ने पक्षमा ८५ प्रतिशत मत आएको छ भने अधिनायकवाद सुरु गरेको ‘होइन’ मा १५ प्रतिशतले मत दिएका छन् । पौडेलको मत सर्वेक्षणमा हालसम्म दुई हजार ६०० जनाले मत दिएका छन् । मत प्रकट गर्न एक दिन बाँकी छ । अहिलेसम्मको आँकडा हेरी पूर्वानुमान गर्दा तीन चौथाइभन्दा बढी मत पार्टीमा सभापतिले अधिनायकवाद सुरु गरेको पक्षमा मत प्रकट हुने देखिन्छ  । पौडेलको स्टाटसमा आएका एक सय ६० कमेन्टमा अधिकांशले अधिनायकवाद सुरु भएको बताएका छन् भने केही काँग्रेस र पौडेलप्रति पनि खनिएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा शनिबारदेखि प्रवेश गरेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि सभापति देउवाको विरोधमा कडा आलोचना गर्दै ट्विट गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठकअघि पार्टीका गुटहरूबीच मध्यस्थता गर्दै आएका केसीले ट्विटमार्फत देउवाप्रति असन्तुष्टि जनाएका हुन् । केन्द्रीय समितिको बैठकमा गरिएको निर्णय र बहुमतको आधारमा लादिएको हैकमी शैली भन्दै  केसी सभापतिप्रति क्रूद्ध देखिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप