सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय

नाचघरमा ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ सुरु

आइतबार, ३० भदौ २०८१, २१ : ११
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । रेडियो नेपालका प्रथम गायक, रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी पारेर आयोजित ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ सुरु भएको छ । 

स्व. हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको नाटक राष्ट्रिय नाचघर जमलमा आयोजना भएको हो । महोत्सवको पहिलो दिन याम नारायाण आचार्य निर्देशित सति कलसा र सुरेश पोर्तेल निर्देशित घरजम नाटक मञ्चन भयो ।

कार्यक्रममा लेखक निर्देशक यादव खरेलले नेपाली नाट्य तथा संगीत क्षेत्रमा रिमालको योगदानको चर्चा गरे । उनले नाट्यकर्मी रिमालका साथ काम गरेकामध्ये केहि व्यक्ति मात्र जिवित रहेको र उनीहरूसँग रिमालबारे बाहिर नआएका विषयमा जानकारी लिई जानकारीमूलक पुस्तक प्रकाशन गर्न सुझाव दिए ।

प्रतिष्ठानका उपाध्यक्ष  तथा प्राध्यापक प्रयागराज  भट्टराई वशिष्ठले नेपाली नाट्य, गीत, संगीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गरे ।  साहित्यकार प्राडा वासुदेव त्रिपाठीले रिमालले नेपाली नाटक र संगीतको क्षेत्रमा आफ्नै युगको सुरुवात गरेको र सो युगको नायक रहेको चर्चा गरे । 

प्रतिष्ठानका  सदस्य सचिव एवं  अभिनेता सम्राट सापकोटाले  नाटकप्रेमीहरुलाई मध्यनजर गर्दै यस किसिमको महोत्सवको आयोजना गरिएको बताए ।

महोत्सवमा सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये जुरी टिमले प्रदर्शनको अनुमति दिएका ६ नाटक प्रर्दशन गरिनेछ भने उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने छ । 

नाटक केही दिन चल्ने महोत्सवमा विजयी हुनेलाई ट्रफी र सम्मानपत्रसहित पहिलो पुरस्कारस्वरुप एक लाख रुपियाँ, दोस्रो पुरस्कारस्वरुप ५० हजार रुपियाँ र तेस्रो पुरस्का रस्वरुप २५ हजार रुपियाँ प्रदान गरिनेछ । त्यसैगरी नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही नगद १५ हजार रुपियाँ पुरस्कारस्वरुप प्रदान गरिने र महोत्सवका लागि राजधानीमा आएको नाट्य टोलीको महोत्सव अवधिभरको खाने, बस्ने र यातायात खर्चको प्रबन्धसमेत प्रतिष्ठानले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप