सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कलाकार

मेरो इच्छा एउटै छ– गाउँदागाउँदै मर्न पाउँ

‘गीतको भाग्य कुनबेला खुल्छ, भन्नै नसकिने रहेछ’
शनिबार, २४ कात्तिक २०८१

आनन्द कार्की नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक हुन् । करिब ४ दशक यो क्षेत्रमा बिताइसकेका गायक कार्कीका ‘जनम जनम जिउँला सँगै’, ‘लाग्छ मन हेरिरहुँ’, ‘तिम्रो रूपको’, ‘यी हल्लाहरू हुन्’ लगायत कयौँ गीत हिट छन् ।

केही अगाडि उनको पुरानो गीत ‘बादल वर्षा बिजुली’, ‘जनम जनम जिउँला सँगै’ टिकटकमा भाइरल भएको थियो । आधुनिक, भजन, गजल, फिल्म, राष्ट्रिय गीतलगायत गरेर करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिइसकेका गायक कार्की पछिल्लो समय त्यति चर्चामा छैनन् । त्यसैले पनि कतिपयले त कार्की साङ्गीतिक क्षेत्रबाट हराए, पलायन भए भन्न थालेका छन् ।

कार्की भने गीत–सङ्गीतमै निरन्तर रहिरहेको बताउँछन् । गायक कार्कीसँग रातोपाटीले गीतसङ्गीतको विषयमा गरेको कुराकानीको सम्पादित अंश ।

  • गायक आनन्द कार्की साङ्गीतिक क्षेत्रबाट हराए भन्न थालिएको छ नि ?

– म हराएको छैन, गीत–सङ्गीत क्षेत्रमै छु । नयाँ गीत ल्याउने, कार्यक्रममा सहभागी हुने काम यथावत चलिरहेको छ । मेरा गीत–सङ्गीत अहिले बजारमा चलेकाभन्दा फरक भएका कारण म नोटिसमा नपरेको हुँला । बजारका लागि ब्लकबस्टर गीत फिल्मबाटै आउने हो । अहिले मेरो फिल्मको गीत पनि कम छ । त्यसकारण मानिसलाई म हराएको जस्तो लाग्नु स्वाभाविक हो ।

अर्काेकुरा, अहिले पहिले झैँ लामो गीत सुन्दैनन् । ५० सेकेन्ड, एक मिनेटको गीत सुन्न थाले ।

ananda karki (1)

  • तपाईंको गीत–सङ्गीत नियमित आइरहेको छ त ?

– दसैँ अगाडिमात्र ‘जिन्दगी बाँच्नु छ दुईचार दिन’ बोलको एक गीत ल्याएको छु । यो गीत आफ्नै युट्युब च्यानलबाट भिडियोसहित सार्वजनिक भएको छ । गीत सार्वजनिक भएदेखि नै राम्रो प्रतिक्रिया पाइरहेको छु । यो गीत छिटै चर्चा पाउने खालको होइन । दिन प्रतिदिन चर्चा बटुल्दैछ ।

  • ‘जिन्दगी बाँच्नु छ’ कस्तो गीत हो ?

– यो माया–प्रेमले भरिएको गीत हो । सङ्गीतकार रञ्जित गजमेर मलाई पहिलेदेखि नै धेरै मन पर्थ्यो । उहाँलाई ‘मोहनी लाग्ला है’ जस्तो एउटा गीत गाउन मन लागेको छ, बनाउनुपर्‍यो भनेर अनुरोध गरेको थिएँ । उहाँले आफ्नो स्वर्गीय श्रीमती कुसुम गजमेरले शब्दमा यो गीत सुनाउनुभयो । यसको शब्दै पूरै मन पर्‍यो । मायाको अर्थ कति छ, यो गीत सुन्दा सबै थाहा हुन्छ ।

  • गीत आइरहेको छ, तर चर्चा छैन, किन ?

– अहिले बजारमा नयाँ–नयाँ गीत भित्रिने गर्छ । यहाँ हरेक दिन थुप्रै गीत आउँछन् । मानिस अहिले एक महिनामा नयाँ गीत आएन भने हरायो भन्छन् । कि दैनिक भित्रिने गीतलाई पछि पारेर अगाडि आउन सक्नुपर्‍यो । पहिले–पहिले एउटै गीतले लामो समय प्राथमिकता पाउँथ्यो ।

ananda karki (4)

  • केही अगाडि तपाईंको पुरानो गीत ‘बादल वर्षा बिजुली’ भाइरल भएको थियो नि ?

– यो टिकटकको योगदान हो । एक जुम्ल्याहा दिदीबहिनीले यो गीतमा टिकटक बनाउनु भएछ । त्यसपछि गीत भाइरल भएछ । नेपालमा भन्दा भारतमा यो गीतको बढी टिकटक बन्यो । गीत भाइरल भएको मैले त धेरै पछाडि थाहा पाएँ । यो गीत रिमेक गरेर फेरि बजारमा ल्याएको छु । त्यसले पनि राम्रो भ्युज पाएको छ । गीत–सङ्गीतको भाग्य कुनबेला खुल्छ, भन्नै नसकिने रहेछ भनेर यो गीतले अनुभव गरायो ।

  • गीतको टिकटक नेपालमा भन्दा बढी भारतमा बन्यो भन्नुभयो । भारतीयले त्यो गीत बुझे होला त ?

– यो गीतमा प्रयोग भएको शब्द ‘बादल, वर्षा, बिजुली’ उता पनि प्रयोग हुन्छ । गीतको भाव उता पनि मिल्दोजुल्दो रहेकाले होला । फेरि सङ्गीतको भाषा हुँदैन भनिन्छ । यसको सङ्गीत त्यहाँका मानिसलाई पनि मन परेको हुनसक्छ ।

केही अगाडि एक गीत रेकर्डका लागि मुम्बई पुगेको थिएँ । त्यहाँ धेरैले नेपाली गायक भनेर भन्दा पनि ‘बादल, वर्षा, बिजुली’ गीतका गायक भनेर चिन्ने, चिनाउने गरे ।

  • धेरै पहिले गाएको गीतबाट अहिले चिनिँदा कस्तो महसुस हुन्छ ?

– राम्रो चिज रोपेको रहेछु, अहिले फल मिल्यो । यस कारण पनि कुनै नयाँ गीत आउँदा म गाउँदिनँ भन्दिनँ । किनभने गीतले मेरो भाग्य लिएर आएको हुन्छ । मैले धेरै राम्रा गीत गाएको छु । आगामी दिनमा ती पनि ‘बादल, वर्षा, बिजुली’ जस्तै हुन्छ । ‘जनम जनम जिउँला सँगै’ भन्ने गीत पनि यस्तै भएको थियो ।

  • केही अगाडि हनुमान चालिसा गीत बनाउनुभयो, किन ?

– म हनुमानको भक्त हो । नेपालमा हनुमान चालिसा गीतमा कसैले बनाएको थिएन । भारतमा धेरै कलाकारले बनाएका छन् । नेपालमा पनि नौलो काम होस् भनेर यसमा गीत बनाएको हो । मेरो प्रयासलाई धेरैले राम्रै भनेका छन् । गीत बनाएपछि मलाई पनि राम्रो भएको छ ।

ananda karki (3)

  • एक समय चलचित्रको गीतमा राज थियो । अहिले छैन नि  ?

– हरेक समय मानिसलाई एउटै स्वर दिक्क पनि लाग्न सक्छ । फेरि नयाँ मानिस पनि थुप्रै भित्रिएका छन् । उनीहरूले पनि काम पाउनुपर्‍यो । धेरैले चलचित्रको गीत फेरि गाउनुपर्‍यो भनेको कारण सलोन बस्नेतले बनाउन लागेको फिल्म ‘रङ्ग’मा भर्खर एक गीत गाएको छु । धेरैपछि राम्रो गीत गाउने मौका मिलेको छ । त्यो गीतले चर्चा पक्कै पाउँछ । यो मेरो विश्वास हो ।

  • पछिल्लो समय बजारमा भित्रिएका गीत कालजयी भएन भनिन्छ । तपाईं के पाउनुहुन्छ ?

– यो समयको माग हो । एकै दिन थुप्रै गीत आउँछ । पहिले गीत गाउन, रेकर्ड गर्न ठुलै सङ्घर्ष गर्नुपर्थ्यो । अहिले प्रविधिले सबै कुरो सजिलो गरिदियो । मानिसका लागि गीतको च्वाइस धेरै भयो । त्यही कारणले छिटै भित्रिने र हराउने गर्न थाले ।

  • करिब ४ दशक गायनमा बिताउनुभयो । गीत–सङ्गीतलाई लिएर अझै रहर बाँकी छन् र ?

– जीवन रहेसम्म नयाँ–नयाँ गीत गाइरहन पाउँ भन्ने छ । पूरै जीवन गायनमै समर्पित गरेको कारण गाउँदागाउँदै मर्न पाउँ भन्ने लागेको छ । अहिले पनि गीत–सङ्गीतलाई समाजले मनोरञ्जनको रूपमा मात्र लिन्छ । कलाकारलाई सम्मान छैन । हाम्रो सङ्गीत अन्तर्राष्ट्रिय क्षेत्रमा प्राथमिकता पाउने खालको बन्न सकेको छैन । यी सबै भएको हेर्न रहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया