जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित

बरहथवा । जिल्लाको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जङ्गली हात्तीले क्षति गरेको हो ।
तीन वटाको सङ्ख्यामा देखिएको जङ्गली हात्तीले किसानको खेतमा पसेर अन्न र उखुबाली नष्ट गरेको वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए । ‘गएराति एक्कासि गाउँ नजिकै जङ्गलबाट खेतमा हात्तीहरू पसेका हुन्’, उनले भने, “खेतमा लगाएको बालीनाली क्षति गरेपछि गाउँतिर आउँछ कि भन्ने चिन्तामा स्थानीय छन् । हामीले सुरक्षा निकाय र वन कार्यालयमा खबर गरेका छौँ ।”
वडाध्यक्ष थापाका अनुसार गएराति हात्तीले स्थानीय मुना लायो मगरको कच्ची घर पनि भत्काएको छ । दिनभर जङ्गलमा लुकेर बस्ने जङ्गली हात्ती रातको समयमा बस्ती नजिकैको खेतबारी र गाउँमा प्रवेश गरेर उपद्रो गर्ने गरेको उनको भनाइ छ ।
विपन्न एकल महिला मगरको हात्तीले घर भत्काएपछि उनी थप त्रसित बनेको स्थानीयले निर्मला कार्कीले बताइन् । हात्तीले घरभित्र रहेको अन्नपात खाएको भन्दै रातको समयमा हात्ती आएको देखेपछि मगरले छिमेकको घरतर्फ भागेर ज्यान जोगाएको उनले बताइन् ।
सोही हात्तीको बथानले स्थानीय निर्मला कार्की, अष्टम खड्का, गोपाल बस्नेतसहितको करिब १ बिघा जमिनमा लगाइएको मकै, गहुँ र उखु बाली पनि क्षति गरेको सब–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीले जानकारी दिए ।
सब डिभिजन वन कार्यालयले हरिपुर नगरपालिका–१, जानकीनगरका वन क्षेत्रमा गए रातिदेखि जङ्गली हात्ती देखा परेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । यस वन क्षेत्रमा बर्सेनि जङ्गली हात्ती आएर स्थानीयको बाली तथा घरमा क्षति गर्ने गरेका छन् ।
गत वर्ष पनि जङ्गली हात्तीले घुर्कौली जङ्गलमा घाँस काट्न गएका एक युवकमाथि आक्रमण गर्दा यसवकको निधन भएको थियो । अहिले वन क्षेत्रमा देखिएका जङ्गली हात्ती केही समयअघि रौतहटको विभिन्न वन क्षेत्रमा देखिने गरेका हात्तीको बथान हुनसक्ने डिभिजन वन कार्यालयले अनुमान गरेको छ ।
हात्तीलाई आफ्नो गन्तव्य बासस्थानतर्फ फर्काउन पहल भइरहेको वन कार्यालयका प्रमुख चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीओ रोक्न समितिले पत्र पठाएकोमा सांसदहरूको आपत्ति
-
सभामुखले सांसदलाई बोल्न नदिएको भन्दै सुदन किरातीले उठाए प्रश्न
-
संसद्मा उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
-
भारतमा नेपाली छात्रा मृत्युको विषयमा सांसदले उठाए जोडदार आवाज
-
भुवनेश्वर प्रहरी भन्छ, ‘आरोपितलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ’
-
सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना श्रेष्ठ