मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

वंशाणुगत राजा बन्ने कायरता होइन, जननिर्वाचित शासक बन्ने हिम्मत छ ?

मङ्गलबार, २७ फागुन २०८१, १८ : ५६
मङ्गलबार, २७ फागुन २०८१

०६१ माघ १९ पछि, जब तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको राजकीय सत्ता हातमा लिए र लगत्तै देश दौडाहामा निस्किए । त्यतिबेला उनी जहाँ गए, त्यहाँ उनको स्वागतमा अपार भिड देखियो । उनले मुलुकका कुनै मठ–मन्दिर, कुनै सहर, कुनै गाउँ बाँकी राखेनन् । उनलाई हेर्ने आउने जनसागरलाई देख्दा लाग्थ्यो, उनी साक्षात् विष्णुका अवतार हुन् । उनले यो भिडलाई जनसमर्थन ठानेर एकपछि अर्को भुल गर्दा उनीमा निहित राजकीय सत्ता १५ महिनामै गल्र्याम्म ढल्यो । त्यसको ठिक एक वर्षपछि मुलुकमा गणतन्त्र आयो, अनि उनी दरबारबाटै बाहिरिनुपर्‍यो । 

सत्ता हत्याएपछि शासनको सुरुवात उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमलाबाट गरे । शासनमा उनले परम्परागत निरङ्कुश अनुदार पञ्चायत शैलीलाई नै अपनाए । दलका शीर्ष नेतृत्व नजरबन्दमा राखे । दलका हजारौँ नेता–कार्यकर्ता पक्राउ गरे । सङ्घ–सङ्गठनका गतिविधिमा अङ्कुश लगाए, भेला बैठक प्रतिबन्ध गरे । भ्रष्टाचार नियन्त्रणका नाममा छानीछानी विरोधी तह लाउने नीति अपनाए । 

अहिलेजस्तो ऊबेला जे पनि बोल्ने र जे पनि गर्ने छुट कसैलाई थिएन । त्यतिबेला पनि अहिले उक्साउने कमल थापाहरूको उक्साहट र मद्दतमा सत्ता जोगाउन उनले कुनै कसर बाँकी राखेनन् । शान्तिपूर्ण आन्दोलनमा गोली बर्साए । दर्जनौँको ज्यान लिए । तर पनि व्यवस्था परिवर्तन हुँदा उनले दण्डित हुनुपरेन । व्यवस्था परिवर्तनसँगै पुरानो व्यवस्थाका शीर्ष नेतृत्वलाई दण्डित गर्ने विश्वमा चलेको राजनीतिक परम्परा नै हो । मुलुकमा गणतन्त्र आयो तर ज्ञानेन्द्रले जेल जानुपरेन । बरु उचित सम्मानसहित नागार्जुन नामको एक अर्को दरबार उनले पुरस्कार पाए । 

विगतको भुललाई चटक्कै बिर्सेर जनताले उनलाई यसअघि नागार्जुन दरबारमा बसाएकै हुन् । फेरि पनि जनताको व्यवस्थामाथि धावा बोल्ने महाभुल भयो भने जनताले कुनै पनि खाले माफी बक्सन्नन् भन्ने उनले हेक्का राख्न जरुरी छ । 


 

विगतमा निरङ्कुश शासन व्यवस्था चलाएका उनले गणतान्त्रिक व्यवस्थामा बोल्ने र हिँडडुल गर्ने स्वतन्त्रता पाएकै छन् । लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष नै यही हो । गणतन्त्रले दिएको यस स्वतन्त्रतामा टेकेर उनले फेरि शासक बन्ने मनसुवामा विभिन्न गतिविधि गर्दै जनतालाई आह्वान गर्न थालेका छन् । 

पछिल्ला दिनमा उनको समर्थनमा सडकमा देखिएको भिडले उनी र उनका समर्थकलाई हौस्याएको पनि छ । पछिल्लो भिडलाई देखेर राजतन्त्र आइसक्यो भन्ने आयाराम–गयाराम देखिन थालेका छन् । मुलुकमा राजतन्त्र आउने त दिवास्वप्न नै होला तर फेसबुकमा राजतन्त्र ल्याई नै सकेको भनेर रमाउनेहरू पनि छन् । निरङ्कुश शासन लाद्न उक्साउने र गणतन्त्रमा सही लाउने यिनै आयाराम–गयाराम नै हुन् भनेर ज्ञानेन्द्र शाहले बुझ्न जरुरी छ । 

 त्यसो त सडकको भिड देखेर उनलाई नारायणहिटीमा धावा बोलौँ भनेर यिनै आयाराम–गयारामले उक्साएको पनि सुनियो । यो उक्साहटमा उनले लाभ होइन हानि देखे । आफूमाथि आइपर्ने व्यक्तिगत संकट महसुस गरे । विगतलाई सम्झिए र विवेक प्रयोग गरे अनि सिधै नागार्जुन हानिए । 

गणतन्त्रमा शासक बन्न सबैलाई छुट छ । त्यसका लागि अरु कुनै वितण्डा गरिरहनैपर्दैन, चुनावमा जनता रिझाए पुग्छ । सडकमा आफ्नो पक्षमा देखिएको भिडलाई जनसमर्थन ठान्ने हो भने ज्ञानेन्द्रका लागि राजनीतिमा आउने यो ठुलो अवसर पनि हो । यो भिडको चुनावमा परीक्षण गरे भइहाल्छ । यत्रो लावालस्करको समर्थन भएपछि चुनाव पनि जितिहालिन्छ, शासक बन्न पनि पाइन्छ । मुलुकको शासक हुन चाहनेले ‘वंशाणुगत शासक बन्ने कायरता बोकेर होइन, जननिर्वाचित शासक बन्ने हिम्मत राख्नुपर्छ । 

ज्ञानेन्द्र शाहले बुझ्नुपर्ने चुरो कुरो के हो भने राजनीतिमा आउने भनेको ‘सर्वकालिक राजा हुनका लागि होइन, आवधिक राष्ट्रपति वा प्रधानमन्त्री’ बन्ने मात्रै हो । किनकि विगतका बडे राजा हुन् वा वर्तमानका छोटे राजा, जनता सबै राजाबाट आजित छन् । फरक यत्ति हो, विगतका बडे राजा तह लगाउन रगतको बलिदानी नै गर्नुपर्‍यो, अहिलेको छोटे राजा तह लाउन अर्को चुनाव कुरे पुग्छ ।

आयाराम–गयारामको उक्साहटमा लागेर भिडतन्त्रको बलमा ज्ञानेन्द्रले लोकतान्त्रिक गणतन्त्रसँग लड्ने र शासक बन्ने सपना नदेख्दा हुन्छ । हार्दा अरुलाई फरक पर्दैन, ज्ञानेन्द्र मात्रै हार्ने हो । विगतको भुललाई चटक्कै बिर्सेर जनताले उनलाई यसअघि नागार्जुन दरबारमा बसाएकै हुन् । फेरि पनि जनताको व्यवस्थामाथि धावा बोल्ने महाभुल भयो भने जनताले कुनै पनि खाले माफी बक्सन्नन् भन्ने उनले हेक्का राख्न जरुरी छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश खतिवडा
प्रकाश खतिवडा
लेखकबाट थप