सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
कलाकार

बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा

उनलाई देखेर शम्मी कपुर आफ्नो संवाद नै बिर्सन्थे
शनिबार, २० वैशाख २०८२, १३ : ३०
शनिबार, २० वैशाख २०८२
  • रेहान फजल

मुम्बई । मधुबाला एकदमै राम्रो अभिनेत्री थिइन् तर उनको अभिनयभन्दा पनि उनको सुन्दरताको चर्चा बढी हुँदै आएको छ ।

‘फिल्म इन्डिया’ का सम्पादक बाबुराव पटेल भन्ने गर्थे, ‘मधुबाला भारतीय फिल्म उद्योगकी सबैभन्दा प्रतिभाशाली, बहुमुखी प्रतिभाशाली र सबैभन्दा सुन्दर अभिनेत्री थिइन् ।’

उनलाई भारतीय फिल्म उद्योगको शुक्र भनिन्थ्यो । आफ्नो समयकी प्रसिद्ध अभिनेत्री बेगम पारा भन्ने गर्थिन्, ‘कहिलेकाहीँ मधुबाला बिहानको पैदल यात्रामा जाँदा उनको झलक पाउँथेँ । यदि तपाईंले उनको अनुहार देख्नुभयो भने, तपाईंको दिनै बन्थ्यो ।’

निरुपा रोयलाई उनको शरीर टाउकोदेखि पाउको नङसम्म पूर्णरूपमा पर्फेक्ट थियो, त्यसमा कुनै दोष थिएन भन्ने विश्वास थियो ।

Madhubala-HP_d

मिनु मुमताज भन्थिन्, ‘उनको छाला यति गोरो थियो कि यदि उनले पान खाएकी भए, उनको घाँटीबाट रातो रङ तल झरेको देख्न सकिन्थ्यो ।’

मधुबालासँग फिल्म ‘रेल का डिब्बा’ मा काम गरेका शम्मी कपूरले उनलाई देख्ने बित्तिकै आफ्नो संवाद बिर्सिएका थिए ।

प्रसिद्ध पत्रकार बीके करंजियाले आफ्नो आत्मकथा ‘काउन्टिङ माई ब्लेसिङ्स’ मा लेखेका छन्, ‘उनको कुनै पनि तस्बिरले उनको असाधारण सुन्दरतालाई न्याय गरेको छैन ।’

  • देव आनन्द मधुबालाको चुलबुले हाँसोको प्रशंसक थिए

तर उनमा कुनै कमजोरी थिएन भन्ने पनि होइन । खतिजा अकबरले मधुबालाको जीवनी ‘द स्टोरी अफ मधुबाला’ मा लेखेकी छिन्, ‘आफ्नो बुबाप्रतिको उनको वफादारी, सही समयमा सही निर्णय लिन नसक्ने उनको असमर्थता र उनको अत्यधिक भावनात्मक स्वभावले उनको जीवनलाई जटिल बनायो र उनले धेरै नराम्रा परिणामहरू भोग्नुपर्‍यो ।’

फिल्म पत्रिका ‘स्टार एण्ड स्टाइल’ का पूर्वसम्पादक गुलशन इविङले भन्ने गर्थे, ‘उनमा कुनै पनि दुष्टता थिएन । उनीमा बच्चाको हृदय र सरलता थियो।’

8542592706_470f9988f1_z

प्रसिद्ध अभिनेता देव आनन्दलाई मधुबालाको प्रफुल्ल हाँसो सबैभन्दा मनपथ्र्यो । आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’ मा देव आनन्दले लेखेका छन, ‘उनको अनुहार सधैं बिहानको शीत जस्तै ताजा हुन्थ्यो । उनको व्यक्तित्वको सबैभन्दा विशेष कुरा उनको प्रसिद्ध हाँसो थियो । जब उनलाई मौका मिल्थ्यो, उनी खुलेर हाँस्थिन् । कहिले, केमा र कति समयसम्म उनी हाँस्छिन् भनेर कसैले अनुमान गर्न सक्दैनथे । धेरै पटक उनी सुटिङको क्रममा अचानक हाँस्न थाल्थिन् । त्यसपछि निर्देशकले सेटको बत्ती निभाएर चिया अर्डर गर्थे र मधुबालाले आफ्नो हाँसो नियन्त्रण गरोस् भनेर पर्खन्थे ।’

  • फिल्म ‘महल’ ले राष्ट्रिय पहिचान दियो

मधुबालाको वास्तविक नाम मुमताज जहाँ बेगम देहलवी थियो । उनको जन्म १४ फेब्रुअरी १९३३ मा दिल्लीमा भएको थियो। उनले नौ वर्षको उमेरमा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनको पहिलो फिल्म ‘बसन्त’ थियो।

यो फिल्मको छायांकन पछि, मुमताज दिल्ली फर्किइन् । त्यसपछि देविका रानीले दिल्लीबाट मुमताजलाई फिल्म ‘ज्वार भाटा’ मा भूमिका दिन बोलाइन् । पछि, मुमताजले यो भूमिका गरिनन् तर उनका बुबाले मुम्बई (तत्कालीन बम्बई) मा बसोबास गर्ने निर्णय गरे ।

ती दिनहरूमा प्रसिद्ध निर्देशक केदार शर्माले ‘बेचारा भगवान्’ नामक फिल्म सुरु गरे जसमा उनले आफ्नी श्रीमती कमला चटर्जीलाई नायिकाको रूपमा लिएका थिए, तर अचानक कमलाको मृत्यु भयो र फिल्म रोकियो ।

madhubala 3

आघातबाट निको भएपछि, केदार शर्माले यो फिल्म बनाउने निर्णय गरे र बाल कलाकार मुमताजलाई आफ्ना सहायक राज कपूरसँगै नायिकाको रूपमा लिए । उनले मुमताजको नाम परिवर्तन गरेर मधुबाला राखे । फिल्मको नाम पनि ‘नील कमल’ मा परिवर्तन गरियो । 

सन् १९४९ मा, मधुबालाको फिल्म ‘महल’ ले उनलाई नव स्वतन्त्र देशका युवाहरूको सपनाको रानी बनायो ।

राजकुमार केसवानीले आफ्नो पुस्तक दास्तान–ए–मुगल–ए–आजममा लेखेका छन्, ‘झुलामाथि झुल्किरहेकी एक चञ्चल केटी र बारम्बार नजिक आउँदा पनि त्यो देवदूतको अनुहार दृष्टिबाट गायब हुन्छ । यो फिल्मले बक्स अफिसमा सफलता मात्र पाएन तर मधुबालालाई कुनै पनि फिल्मको सफलताको ग्यारेन्टी पनि बनायो ।’

  • हलिउडमा भूमिका पाउने सम्भावना थियो

यसैबिच, न्यूयोर्कको ‘थिएटर आर्ट्स’ पत्रिकाले मधुबालाको तस्बिरसहित ‘बेभर्ली हिल्समा नबस्ने संसारकै सबैभन्दा ठुलो स्टार’ शीर्षकको लेख प्रकाशित गर्‍यो ।

तीन पटकका ओस्कर विजेता फ्रयाङ्क कापरा एक फिल्म महोत्सवमा भाग लिन मुम्बई आएका थिए।  ‘मुभी टाइम्स’ का सम्पादक बीके करंजिया आफ्नो पत्रिकाको एक अंक लिएर कपराको अन्तर्वार्ता लिन गए ।

Madhubala

त्यो पत्रिकाको आवरण पृष्ठमा मधुबालाको तस्बिर छापिएको थियो । करंजियाले आफ्नो आत्मकथामा लेखेका छन्, ‘कापराले पत्रिका देख्ने बित्तिकै उनले मलाई सोधे– यो केटी को हो? के उनी साँच्चै यति सुन्दर छिन् ? के म उनलाई भेट्न सक्छु? के म उनलाई हलिउडमा भूमिका दिन सक्छु ?’

मधुबालासँग ताज होटलमा भेटघाट तय भयो । करजिंयाले यो कुरा मधुबालाका बुबा अताउल्लाह खानलाई बताए । करंजियाले लेखेका छन्, ‘मधुबालालाई काँटा र चक्कुले खाना खान आउँदैन । त्यसैले उनी यो बैठकमा जाँदिनन् भनेर उनको बुबाले सम्पूर्ण कुरा बिगारे । यदि उहाँले मेरो कुरा सुनेको भए, मधुबालाले संसारभरि मान्यता पाउने थिइन् ।’

  • दिलीप कुमारसँग प्रेम

दिलीप कुमार र मधुबाला एकअर्कालाई माया गर्थे तर मधुबालाका बुबालाई दिलीप कुमारको छाया पनि मन पर्दैनथ्यो । उनलाई दिलीप कुमारको नामदेखि पनि रिस उठ्थ्यो । 

सुरुमा बीआर चोपडाको फिल्म ‘नयाँ दौर’ मा दिलीप कुमारको अपोजिटमा नायिकाको भूमिकामा मधुबालालाई छनोट गरिएको थियो । यो फिल्म बम्बईमा छायांकन गरिने थियो तर पछि निर्माता बीआर चोपडाले भोपालमा पनि छायांकन गर्नु आवश्यक भएको महसुस गरे ।

madhubal-2

खतिजा अकबर लेख्छिन् , ‘मधुबालाका बुबा अताउल्लाह खानले आफ्नी छोरीलाई बम्बई बाहिर छायांकन गर्न अनुमति दिन अस्वीकार गरे । उनलाई लाग्यो कि बम्बई बाहिर जाँदा मधुबाला र दिलीप कुमार बिचको प्रेम अझ प्रगाढ हुनेछ, त्यसैले उनी यसमा सहमत भएनन्। त्यतिन्जेलसम्म फिल्मको दश दिनको छायांकन पूरा भइसकेको थियो । यसको बाबजुद पनि, बीआर चोपडाले मधुबालाको सट्टा वैजयन्तिमालालाई फिल्ममा लिए ।’

त्यहीँबाट दिलीप कुमार र मधुबालाको जोडी अलग भयो । बीआर चोपडाले यो मुद्दालाई अदालतमा लगे, जसका कारण दिलीप कुमार र मधुबालाबिच यति धेरै तिक्तता भयो कि उनीहरूको सम्बन्ध बिग्रियो।

  • द्वन्द्वका धेरै कारणहरू

बीके करंजियाले यो ब्रेकअपको अर्को कारण बताएका छन्। उनी लेख्छन्, ‘अताउल्लाह खानले दिलीप कुमारलाई मधुबालासँग विवाह गर्न अनुमति दिएनन् । उनले पहिले दिलीप कुमारको दिदीबहिनीको विवाह हुनुपर्ने बताए । जब मैले खान साहबलाई यो अनौठो अवस्थाको बारेमा सोधेँ, उनको जवाफ थियो, म चाहन्न कि मेरी छोरीले दिलीप कुमारका दिदीबहिनीहरूको लुगा धोओस् ।’

दिलीप कुमारले आफ्नो आत्मकथा ‘द सबस्टेन्स एन्ड द स्याडो’ मा यो फाटोको तेस्रो कारण बताएका छन् । उनी लेख्छन्, ‘जनविश्वासको विपरीत, अताउल्लाह खान मधुबालासँगको मेरो विवाहको विरुद्धमा थिएनन् । उनको आफ्नै निर्माण कम्पनी थियो। दुई ठुला स्टारलाई एउटै छानामुनि ल्याउने विचारबाट उनी धेरै खुसी थिए । तर यदि मैले सम्पूर्ण कुरालाई मेरो दृष्टिकोणबाट नहेरेको भए, उनले चाहेको तरिकाले कुराहरू हुने थियो ।’

दिलीप कुमार लेख्छन्, ‘अताउल्लाह खान मधुलाई म उनीसँग अभद्र व्यवहार गरिरहेको कुरामा विश्वस्त पार्न सफल भए । उनी आफ्नो बुबाको तर्कसँग सहमत देखिन्थिन् । र उनले मलाई विवाह पछि सबै कुरा मिल्नेछ भनेर विश्वस्त पार्ने प्रयास गरिन् । तर मलाई लाग्यो कि म पासोमा फस्नेछु र मेरो करियरलाई आकार दिन मैले अहिलेसम्म गरेको हेरचाह अरूको इच्छा र रणनीतिमा किचिएर नष्ट हुनेछ ।’

दिलीप कुमारका अनुसार मधुबाला यस विषयमा तटस्थ रहिन् । उनलाई आफ्नो समस्याको बारेमा कुनै जानकारी थिएन, त्यसैले दिलीप कुमारले उनीसँग विवाह नगर्ने निर्णय गरे ।

madhu-2

  • मुटुमा प्वाल भए पनि कडा परिश्रम

मधुबालालाई बाल्यकालदेखि नै मुटुको रोग थियो। उनको मुटुमा प्वाल थियो। त्यतिबेलासम्म त्यो रोगको कुनै उपचार थिएन । बिरामी भए पनि उनले फिल्म मुगल–ए–आजमको छायांकन पूरा गरिन् ।

उनको कामप्रति अद्भुत समर्पण थियो । मुगल–ए–आजमका सहायक निर्देशक सुल्तान अहमद भन्छन्, ‘तपाईंलाई फिल्मको पहिलो दृश्य याद होला जसमा मधुबालालाई मूर्ति जस्तै उभिन लगाइएको थियो । मधुबालाले जरीको कामले भरिएको भारी कपडाको तौल लिएर घण्टौँसम्म चर्को गर्मीमा कुनै गुनासो नगरी उभिइन्, जबसम्म सट ठिक हुँदैनथ्यो । फिल्मको अन्तिम दृश्यमा, मधुबाला प्रायः भारी फलामको साङ्लोले बाँधिएको हुन्छिन् ।’

राजकुमार केसवानी लेख्छन्, ‘साङ्लाहरू यति गह्रौँ थिए कि जब उनी ती साङ्लाहरू लगाएर उभिन खोज्थिन्, उनी घुँडा टेकेर लड्थिन्, तर उनले हिम्मत हारिनन् र आफ्नो सम्पूर्ण शक्ति लगाएर काम पूरा गरिन् । यी साङ्लाहरूको बोझ मधुबालाको तौलभन्दा बढी थियो, र ती साङ्लाहरू लगाएर हिँड्नु धेरै गाह्रो र झन्झटिलो काम थियो ।’

उनको उपचार गरिरहेका बम्बईका एक शीर्ष मुटुरोग विशेषज्ञ डा. जल वकिलले उनलाई कडा परिश्रम नगर्न र फिल्ममा कुनै पनि नृत्य दृश्यहरू प्रदर्शन नगर्न चेतावनी दिएका थिए ।

खतिजा अकबर लेख्छिन्, ‘यो अचम्मको कुरा हो कि उनका बुबा अताउल्लाह खान, जसले उनीमाथि धेरै प्रतिबन्ध लगाएका थिए, उनले उनलाई कम फिल्म लिन बाध्य पारेनन् । उनको कामको बोझ कम गर्ने कुनै प्रयास गरिएन । उनले ‘गेटवे अफ इन्डिया’ र ‘मुगल–ए–आजम’ फिल्महरूको लागि उनले रातमा पनि छायांकन गरिन् ।’

कुनै पनि निर्माताले मधुबालाको कामको बोझ घटाएनन् । मधुबालाले सबै काम गर्थिन – नाच्ने, पानीमा भिज्ने र खुट्टामा साङ्लो बाँधेर हिँड्ने । धेरै पटक यस्तो भयो कि उनी काम गर्दा गर्दै बेहोस भइन तर निको हुने बित्तिकै उनले फेरि काम गर्न थालिन् ।

  • किशोर कुमारसँग ‘बेमेल विवाह’

उनले पहिले नै विवाहित किशोर कुमारसँग विवाह गर्ने निर्णय गरिन् । किशोरले उनलाई उपचारको लागि लन्डन लगे । डाक्टरहरूले उनलाई गह्रौँ र तनावपूर्ण काम नगर्न सल्लाह दिए । उनलाई बच्चा नजन्माउन सल्लाह दिइएको थियो।

डाक्टरहरूले उनको निको हुने कुनै आशा देखेनन् । उनलाई भनिएको थियो कि उनी दश वर्ष बाँच्न सक्छिन् वा एक वर्ष भित्र मर्न पनि सक्छिन् । आफूसँग धेरै समय बाँकी छैन भन्ने महसुस गर्दै उनी बम्बई फर्किइन् ।

madhubala

उनले आफ्नो जीवनका अन्तिम नौ वर्ष बिस्तारै र पीडादायी रूपमा मर्दै बिताइन् । मधुबालाकी बहिनी मधुरले खतिजा अकबरलाई भनेकी थिइन्, ‘किशोर कुमारले लन्डनबाट फर्कने बित्तिकै उनलाई हाम्रो घरमा ल्याए । उनले भने कि उनी धेरै व्यस्त छन र मधुबालाको लागि समय छैन । मधुबालालाई यो कुराले धेरै नराम्रो लाग्यो । उनी गम्भीर बिरामी थिइन् । त्यतिबेला उनलाई आफ्नो पतिको आवश्यकता थियो । किशोर कुमारले उनको उपचारको सबै खर्च बेहोर्ने प्रस्ताव गरे । तर के यो पर्याप्त थियो ?’

किशोरले उनीसँग फोनमा कुरा गर्थे तर बिस्तारै उनीसँग भेटघाट कम हुन थाल्यो । खतिजा अकबर लेख्छिन्, ‘यो एउटा बेमेल विवाह थियो जुन हतारमा गरिएको थियो। उनले यस विवाहमा कहिल्यै खुसी पाएनन् । मधुबालालाई किशोरबाट अपार माया चाहिएको थियो जुन उनले उनीबाट पाइनन् ।’

  • सुन्दरता र आकर्षण अन्तसम्म रह्यो

किशोर कुमारकी तेस्रो श्रीमती लीना चन्दावरकरका अनुसार जब मधुबालाले आफ्नो दिलीप कुमारसँग विवाह हुने छैन भन्ने महसुस गरिन्, उनी कसैसँग पनि विवाह गर्न सक्छिन् भनेर देखाउन, उनले एक व्यक्तिसँग विवाह गरिन्, जसलाई उनी राम्ररी चिन्दिन थिइन् ।

मधुबालाले किशोर कुमारसँग विवाह गर्नुको कारण जेसुकै भए पनि, प्रेम कारण थिएन । उनको अन्तिम क्षणमा दिलीप कुमार उनलाई भेट्न गए । दिलीपले बिरामीको समयमा पनि उनी उत्तिकै आकर्षक देखिएको बताए ।

उनलाई भेट्ने बीके करंजियाले लेखेका छन्, ‘उनको अनुहार पहेँलो भइसकेको थियो। उनी कमजोर भइसकेकी थिइन् तर उनी अझै पनि सुन्दर देखिन्थिन् ।’

२३ फेब्रुअरी १९६९ मा, आफ्नो ३६ औँ जन्मदिनको नौ दिन पछि, मधुबालाले मृत्युसँगको संघर्ष त्यागिन् र सधैँको लागि आँखा चिम्लिइन् ।

त्यतिबेला दिलीप कुमार मद्रासमा फिल्म ‘गोपी’ को छायांकन गरिरहेका थिए । त्यो साँझ जब उनी बम्बई पुगे, उनलाई मधुबालाको मृत्युको खबर दिइयो । तर, त्यतिन्जेलसम्म, मधुको शवको अन्तिम संस्कार भइसकेको थियो । 

यसपछि पनि दिलीप उनलाई अन्तिम बिदाइ गर्न चिहानमा पुगे । त्यसपछि त्यहाँबाट उनी मधुबालाको घरमा समवेदना व्यक्त गर्न गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप