एनआरएनएको एकता महाधिवेशन : नेतृत्व चयन सहमति कि चुनावबाट ?

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको छ । एनआरएनएसँग सम्बन्धित विभागीय मन्त्री परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रमुख आतिथ्यता तथा विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिको सहभागितामा महाधिवेशन सुरु भएको हो । महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै बद्री केसी नेतृत्वको समूह भने सहभागी भएको छैन ।
तर, परराष्ट्रमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनलाई साथ दिएकी छन् । एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सबै पक्षलाई यही महाधिवेशनमा जोडिन सुझाव दिइन् ।
‘हामी एउटा मात्रै एनआरएनए रेकोग्नाइज गर्न सक्छौँ । हामीलाई परमादेशले त्यही भनेको छ’, उनले भनिन्, ‘परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयले पनि त्यही अनुसार कामहरू गरिरहेको छ। मेरै मन्त्रालयको सम्बन्धित उपसचिवलाई सोध्दा यही मात्र एनआरएनए हो है भन्नु भएको छ । सबै जनालाई यसमै जोडिनुस् भन्नु चाहन्छु । सानातिना समस्या जहाँपनि हुन्छ । तर, एकता गर्नुस् र एकताबाट जे गर्न खोज्नु भएको छ त्यहीबाटै देशलाई योगदान दिन सक्नुहुन्छ ।’
उनले अदालतले एनआरएनएलाई मिलेर जान भनेको उल्लेख गर्दै नमिल्दा एनआरएनको उद्देश्य पूरा हुन नसक्ने बताइन् ।
उनले राजनीतिले मात्रै देश चल्न नसक्ने भन्दै नेपालमा लगानी आवश्यक रहेकाले भूमिका खेल्न एनआरएनएलाई आग्रह गरिन् । उनले एनआरएनएको एकता महाधिवेशनमा सहभागी नभएको बद्री केसी पक्षलाई समेत एक ठाउँमा उभिन आग्रह गरिन् । ‘जति साथीहरू आज जोडिन आउनु भएन, उहाँहरूलाई पनि भन्न चाहन्छु, पार्टीगत राजनीति आफ्नो आफ्नो संस्थामा गर्नुस् । यहाँचाहिँ इगोलाई पनि प्रवेश गर्न नदिनुस् र एनआरएनएको स्ट्रेन्थलाई बढाइदिनुस्’, उनले भनिन्, ‘यो गर्दा मन्त्रालयलाई पनि सजिलो हुन्छ ।’
उनले एनआरएनएको निर्धारित लक्ष्य पूरा गर्ने क्रममा आफूले सबै भूमिका खेल्ने उल्लेख गर्दै कानुनले भनेअनुसार नै एनआरएनए अघि बढ्ने समेत बताइन् । उनले एनआरएनएको नागरिकता कार्यान्वयनलगायतका विषयमा पनि मन्त्रालयले सकारात्मक पहल लिने सो क्रममा प्रतिबद्धता जनाइन् ।
यस्तै पूर्वप्रधानमन्त्री पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एनआरएनए जस्ता संस्थाहरुमा विवाद भन्दा एक भएर जान र उनीहरूसँग भएको पुँजी तथा सिमलाई नेपालमा प्रयोग गर्न आग्रह गरे ।
उनले एनआरएनएहरूलाई नेपालमा लगानी गर्न कानुन झन्झट भएको गुनासो आएको भन्दै यसमा सरकारले पहल गर्नुपर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवेशन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए । उनले विदेशमा रहेका नेपालीहरुहरुको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए ।
कार्यक्रमका सभापति तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्बोधन गर्दै अव एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए ।
उनले आफूहरूको समय र अहिलेको समय फरक भएकाले अब युवाहरू नेतृत्वमा आकर्षित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सबैले ध्यान दिने सुझाव दिए । घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए ।
उनले निर्वाचन विवादरहित बनाउन सदस्यतादेखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए ।
कार्यक्रममा एनआरएनए अभियन्ताहरू देवमान हिराचन, आरके शर्मा, केशव पौडेल, महेश श्रेष्ठ, रविना थापा, कुल आचार्य, विनोद कुँवर र जानकी गुरुङले सर्वोच्चको परमादेशअनुसार एकता महाधिवेशन भएको बताउँदै एकताबद्ध एनआरएनए अहिलेको आवश्यकता भएको बताए ।
नेतृत्व चयनमा रस्साकस्सी
सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । यद्यपि केसी पक्षले एकता महाधिवेशनमाथि उठाएको वैधानिकतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन भने रहेको छ ।
यस्तो अवस्थामा नयाँ नेतृत्वका लागि आरके शर्मा, महेश श्रेष्ठ, केशव पौडेल, विनोद कुँवरलगायतको नाम अगाडि आएको छ । तर, सहमतिमै नेतृत्व चयन गर्नेगरी जोडबल भइरहेको अभियन्ताहरूले बताएका छन् । यसमा परराष्ट्रमन्त्री आरजु राणाले समेत कार्यक्रममा आफ्नो सहभागिताका लागि सहमतिमा नेतृत्व चयन हुनुपर्ने सर्त राखेको अभियन्ताहरू बताउँछन् ।
शनिबारकै कार्यक्रममा समेत उनले सबैले मिलेर नेतृत्व चयन गर्ने प्रतिबद्धता जनाएकाले आफू कार्यक्रममा आएको समेत भन्न भ्याइन् । ‘मेरो आज तपाईँहरु मिल्ने भएमात्रै कार्यक्रममा आउँछु भन्ने सर्त थियो । तपाईँहरुले इज्जत गरिदिएर एकताबद्ध हुन्छौँ भन्नु भएको छ । आरकेजी (आरके शर्मा), महेशजी (महेश श्रेष्ठ), शेषजी(शेष घले) सबैजनाले अर्गनाइजेसन भन्दा ठुलो देश हो भनेर आइदिनु भएको छ, धन्यवाद भन्नु चाहन्छु’, उनले भनिन् । स्रोतकाअनुसार उनले कांग्रेस निकट एनआरएनएलाई नेतृत्व दिन दबाब दिएको बताइएको छ । तर यसमा मुख्यत: आरके शर्मा खुसी नरहेको बताइन्छ ।
एकता महाधिवेशनको उद्घाटन सत्रमा उनले एकता महाधिवेशनबाट मध्यपूर्वलाई सर्वसम्मत नेतृत्व दिन आग्रह गरे । शर्माले ७५ प्रतिशत रेमिटेन्स पठाउने श्रमिकको क्षेत्रबाट गैरआवासीय नेपाली संघको नेतृत्व हुनुपर्ने बताए ।
एकता महाधिवेशनमा मध्यपूर्वबाटै धेरै प्रतिनिधि आएका छन्। तर परराष्ट्रमन्त्रीको दबाबलगायतका कारण निर्वाचनबाट नेतृत्व चयनको सम्भावना कमजोर रहेको अभियन्ताहरु बताउँछन् । जसका कारण होटल हायातमा भेला भएका प्रतिनिधिहरुमा के हुन्छ भन्नेमा अन्यौलता रहेको एक अभियन्ताले बताए । आइतबार नेतृत्व चयन गरेर सोमबार महाधिवेशन समापन गर्ने तयारी गरिएको उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी